विकासन्युज

मोम्स मन्टेश्वरीद्वारा पोषणसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । ‘स्वस्थ जीवनको आधार , सन्तुलित आहार’ को मूल नारालाई अँगाल्दै बानेश्वरस्थित  अब्स्त्तित मोम्स मन्टेश्वरीले पोषणसम्बन्धी कक्षा संचालन गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुर बर्न अस्पतालमा कार्यरत पोषणविज्ञ मिरा शाहले पोषणको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण दिएकी हुन् । अहिलेको व्यस्त जीवनमा उचित खानपानको तथा सन्तुलित पोषिलो खानेकुराको बारेमा सबैलाई जानकारी हुनु यो एउटा सरल मार्ग हो। आफ्ना बालबालिकाको पोषण स्तर कस्तो छ , के कस्ता खानेकुराहरु स्कुलमा खाइरहेका छन , त्यो सबैको बारेमा सहजै जानकारी पाउनु आफ्नो दायित्व मात्रै होइन अधिकार पनि भएकाे उपस्थित सबै अभिभावकले बताए । बाहिरका जन्क फुड , कुरकुरे , चाउचाउ, मःमः चाउमिन, रियल जुस, हर्लिक्स, मैदाको प्रयोगले स्वास्थमा नराम्रो असर पारिरहेको पोषण विज्ञले जानकारी दिइन् । आफ्नो घरमा पकाएको पोषिलो खाना नै स्वस्थको लागि राम्रो हो, साथै लिटो,जौ, कोदो, फापर , मकै आदिको प्रयोग गर्नुपर्ने र मौसमी फलफूल , सागपात, तरकारी , आदिको प्रयोग दिनहुँ आफ्नो गक्ष अनुसार खानामा समावेश गर्नुपर्ने डा. शाहले बताइन् । स्कुलका प्रिन्सिपलले अब हरेक स्कुलमा पोषणको कार्यकर्म संचालन हुनु पर्नेमा जोड दिए । अभिभावकहरु पनि अब आफ्नो नानी बाबुहरु अब ढुक्कसँग स्कुलमा शिक्षा मात्र नभई पोषिलो खानेकुरामा पनि विश्वस्त रहेको बताए । पोषण विशेषज्ञ शाहले अब हरेक क्षेत्रमा पोषणको एउटा अभियान थाल्नुपार्ने समेत जानकारी दिएकी छन् । यस स्कुल विगत ६ वर्षअघिदेखि शिक्षण क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । स्कुलमा डे केयरको पनि सुविधा भएको यस स्कुलमा ४५ जनाको संख्यामा विद्यार्थीहरु रहेका छन् ।

ट्राफिक सचेतना अब सारङ्गी धुनले

काठमाडाैं । सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ । यस क्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुलाई व्यवहारमा लागू गर्न सजिलो हुने बताए । साङ्गीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकार हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वलगायतले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतनामुलक गीत गाएका थिए । गीतको माध्यमबाट जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग, सडक सङ्केतको पालना, मापसे गरी सवारी नहाक्न, तीव्र गति र लापरवाहीका साथ सवारी नचलाउन अनुरोधसमेत गरिएको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आगामी दिनमा अभियानलाई उपत्यकाका सबै चोकमा सञ्चालन गर्ने जानकारी दिए । सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा लिने विश्वास महाशाखाले लिएको छ ।

युवतीहरुलाई लोभ्याउँदै कोड रश, टार्गेट स्नातक पढ्ने विद्यार्थी

काठमाडौं । युवतीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा अन्य प्राविधिक सीपमा लोभ्याउने गरी कोड रशले नयाँ योजना ल्याएको छ । स्नातक तहमा आईटी तथा इन्जिनियरिङ्ग विषय अध्ययनरत तथा भर्खरै स्नातक उत्तीर्ण गरेका युवतीहरुले आकर्षित गर्ने गरी सफ्टवेयर डेभलपमेन्ट स्टार्टअप ‘कोड रश’ ले ‘कोड लाईक हर’ फेलोशिप संचालन गर्ने भएको छ । फेलोशिप छ महिना अवधिको हुनेछ । फेलोशिपका लागि आवेदन दिने मध्ये १२ जना उपयुक्त आवेदकलाई ’कोड लाईक हर फेलो’ का रुपमा छनोट गरिनेछ । आवेदन फेब्रुअरी २० सम्म गरिसक्नुपर्नेछ । अहिले नेपालमा सूचनाप्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको सख्या ज्यादै न्यून छ । आइटी उद्योगमा काम गर्न आवश्यक पर्ने उपयुक्त सीपको अभाव नै महिलाहरुको करिअर अगाडि नबढ्नुको एउटा मुख्य अड्चनको रुपमा देखिएकोले निःशुल्क रुपमा संचालन गरिने यस फेलोशिपले उनीहरुलाई सफ्टवेयर डेभलपमेन्ट तथा नेतृत्व विकास सम्बन्धि विभिन्न सीप प्रदान गरी क्षमताअभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । यस फेलोशिपमा सहभागीहरुले मुख्य गरी अहिले उद्योगमा अति नै माग गरिएको फुल स्ट्याक डेभलपमेन्ट, फ्रन्टएन्ड (रियाक्ट जेएस), ब्याकएन्ड (नोड डट जेएस, एक्सप्रेस जेएस), डाटाबेस आदि सीप सिक्नेछन् । फेलोहरुलाई यस्ता विभिन्न सीपका साथै नेपालका सूचना प्रविधी क्षेत्रका विशेषज्ञहरूबाट उचित मार्गदर्शन र सल्लाह पनि प्रदान गरिनेछ ।

 वैशाखदेखि राती ११ बजेसम्म सार्वजनिक बस चल्ने, १५ रूटमा ६० वस गुड्ने

काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । आज कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुना पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो । बैठकमा कामपाका प्रमुख शाक्यले नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिनापछि सेवा बन्द भएको थियो । प्रमुख शाक्यले शुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालीन सेवा दिने गरी योजना बनाएर तयार रहन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई आग्रह गरे । बैठकमा पहिलो चरणमा रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पुर्याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६० ओटा बस दैनिक सञ्चालन गर्न सकिने जनाइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालीन गर्ने कुराको सुनिश्चित महासङ्घले गर्नुपर्नेमा जोड दिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए ।  कामपाका शहरी सु–व्यवस्था विभागका प्रमुख हरि कुँवरले पनि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने बताए ।

३० वर्ष टिक्ने सडक बनाउँदै सरकार

काठमाडौं । नेपालमा सडक बनेको केही समयमा नै भत्किरहेको छ । कहिले काहिँ त सडक बनाउँदा बनाउँदै पनि भत्किने गरेको छ । सरकारले दिगो विकासको लक्ष्य अनुसार थोरैमा पनि ३० वर्ष टिक्ने गरि निमार्ण गर्ने भएको छ । सरकारले विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि कंक्रिट सडक बनाउने योजना अघि सार्ने भएको छ । धेरै लोड बोकेका गाडी गुड्दा र कालोपत्रे सडक एक झर पानीले नै क्षतविक्षत बनाउन थालेपछि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सारेको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विटुमिन प्रयोग भएको सडक बनाउँदा बनाउँदै वा बनेको केही समयमा नै भत्किने भएकोले सडकको आयुलाई हेरेर कंक्रिट सडकको योजना अघि सारेको बताए । विटुमिन प्रयोग गरेर निमार्ण गरिएको सडक कति समय टिक्छ भन्न सकिदैन तर कंक्रिट सडक थोरैमा पनि ३० वर्ष टिक्ने बताए । घुम्ती, उकालो, ओरालो र पानी जम्ने र चिसो भैरहने ठाँउमा कंक्रिटनै प्रयोग राम्रो हुने छ । यसभन्दा पहिले पनि सडक विभागले कालोपत्रे नखप्ने त्यस्ता सडकको पहिचान गरेर कंक्रिट सडक निर्माण गरिरहेको थियो । ‘कंक्रिट नमूना सडक बनाएर त्यसको टिकाउ हेर्ने काम विभागले अगाडी बढाएको छ । त्यसका लागि सिमेन्टको उत्पादन क्षमता बढ्नुपर्छ भने मूल्य पनि घट्नुपर्छ’– शर्माले  भने । सिमेन्ट उत्पादक सघंका अध्यक्ष धुब्रकुमार थापाले विटुमिन नेपालमा उत्पादन नहुने भएकाले सिमेन्टको प्रयोग गरेर कंक्रिट सडक निमार्ण गर्दा सरकार र सिमेन्ट उद्योगी दुबैलाई फाइदा हुने बताए । निर्माण भएका सडकहरुको दिगोपन तथा गुणस्तर सुनिश्चित गर्न सके मात्र अपेक्षा गरे अनुसार सवै सेवाग्राहीले उचित फाईदा लिई देशको चौतर्फी विकासमा योगदान दिन सक्नेछन् । सडक निमार्ण र मर्मत शुम्भारम्भको लागी हाल प्रयोग गरिने विटुमिन लगायतका कच्चा पदार्थ विदेशवाट आयात गर्दा नेपाली पैसा विदेशी जाने गरेको छ ।

नार्कद्धारा १९ मध्यपहाडी जिल्लाका २१ युवालाई कृषि यान्त्रीकरण तालिम

काठमाडौं ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतकाे कृषि इन्जिनियरिङ महाशाखाले १९ मध्यपहाडी जिल्लाका २१ जना युवालाई कृषि यान्त्रिकरण सम्बन्धि तालिम प्रदान गरेको छ । १० दिनसम्म भएको उक्त तालिममा प्रदेश नम्बर २ बाहेकका मध्यपहाडी जिल्लाका उद्यमी, किसान,  वेरोजगार युवा तथा वैदेशिक रोजगारबाट फर्किएका युवाकाे सहभागिता रहेकाे थियाे । पहाड छोडेर शहर तथा तराईमा बसाइ प्रवृत्तिले जग्गा बाँझिने क्रम बढेसँगै त्यहाँका कृषकले त्यहीँ नै केही गर्न सक्छन् भन्ने खालको उत्प्रेरणा दिने यो कार्यक्रम आयाेजना गरिएकाे कृषि मन्त्रालयका सह सचिव डा. हरिबहादुर केसी बताए । यान्त्रिकरण तालिमले धेरै वेरोजगार युवा तथा निर्वाहमूखी किसानलाई व्यवसायी बनाउन सहयोग गर्ने उनले बताए । सहभागी सबैलाई आफ्नो क्षेत्रमा गएर सरकारले प्रदान गरेको तालिमको सही उपयोग गरेमा उपलब्धि हासिल गर्न धेरै समय नलाग्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा. रामचन्द्र अधिकारीले बताए । नेपालमा नै केही गर्छु भन्ने युवालाई लक्षित गरेर संचालन गरिएको उक्त तालिमले आफूमा आत्मविश्वास बढेको रसुवाका योभेन्द्रो घले बताउँछन् ।  १० दिनको छोटो अवधिमा नै आफूमा केहि गर्नु पर्छ भन्ने उर्जा जागेको उनकाे भनाइ छ । त्यस्तै, रोल्पाका मधु केसी काठमाडौं आएर कृषि यान्त्रिकरण तालिमले आफूलाई नेपालमा बसेर उद्यमी बन्ने रहर जागेको बताउँछन् । वैदेशिक रोजगारबाट फर्किएका उनी सरकारले यस्तै खालको तालिम  प्रदान गरे विदेशिनु पर्ने बाध्यता हराउँदै जाने बताउँछन् ।

हिमालयन बैंकको अध्यक्षमा गौतम

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बुधबार सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हाे । बैंकलाई प्रतिस्पर्धी बनाउन आफूले सक्दो प्रयास गर्ने अध्यक्ष गौतमले बताए । ‘बैंकलाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो, ठूलो बैंक बनाउने भन्दा पनि प्रतिस्पर्धी र अब्बल बैंक बनाउन सक्दो प्रयास गर्छु’, अध्यक्ष गौतमले विकासन्युजसँग भने । बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणकाे सेयर हिस्सा कम्तिमा ३० प्रतिशत बनाउन निर्देशन दिईसकेको छ । बैंकले प्रमोटर सेयर साधारणमा परिणत गरेर साधारण सेयरको हिस्सा बढाउने रणनीति लिएको छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदको निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।

हिमालयन बैंक भन्छ- ‘तत्काल मर्जमा गईन्न, सर्वसाधारणको स्वामित्व बढाउन संस्थापकको सेयर परिवर्तन गर्छौ’

काठमाडौं । हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताएका हुन् । सीईओ राणाले बुधबार बैंकको २७औं वार्षिक साधारणसभामा मर्जरसम्बन्धि सेयरधनीहरुमा रहेकाे जिज्ञासालाई प्रष्ट पार्दै सो कुराकाे जानकारी दिएका हुन् । ‘नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि बैंक तथा वित्तीय संस्थालाई फाेर्स मर्जरमा लगिन्न, उनीहरुको स्वेच्छा हो भनेकाले हामीले अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग कुरा गरेका छैनौं,’ उनले भने । त्यस्तै, सर्वसाधारणको सेयर स्वामित्व बढाउन बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो । जसको लागि बैंकसँग संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने दुई विकल्प थियो । त्यसमध्ये बैंकले एफपीओ जारी नगरी १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने विकल्पलाई रोजेर अन्तिम निर्णय गरेको जानकारी गराएको छ । त्यस्तै, मलेसियाको म्याक्स मनिसँग कारोबार गर्दाको लेनदेन विवादमा हिमालयन बैंकको ४९ करोड रुपैयाँ फसेको थियो । जसमा ३१ करोड रुपैयाँ बैंकले पाइसकेको छ । बाँकी १८ करोडमा १६ करोड रुपैयाँ आउन बाँकी छ । जुन चैत मसान्तको क्लोजिङ् भित्र आइसक्ने सीईओ राणाले जानकारी दिए । बैंकको दरबारमार्गको जग्गाको बारेमा स्पष्ट पार्दै सीईओ श्रेष्ठले भने- ‘जग्गाको लागि ७ वटा टेण्डर परेको छ । त्यसको छानबिन गरेर साढे एक महिना भित्र कन्ट्रयाक गरेर भवन बनाउने काम अघि बढाउने छौं ।’