सनराइज बैंकका ग्राहकलाई क्युएफएक्समा फिल्म हेर्दा पप्कर्न फ्री
काठमाडौं । सनराइज बैंकका ग्राहकले क्युएफएक्स सिनेमामा फिल्म हेर्न जाँदा पप्कर्न फ्री पाउने भएका छन् । बैंकले क्युएफएक्स सिनेमाजसँग सहकार्य गर्दै ल्याएको ‘सनराइज पप्कर्न म्यनिया’ योजना अन्तर्गत ग्राहकले सो सुविधा पाउने भएका हुन् । शुक्रबार क्युएफएक्स सिनेमा, कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्ट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका हुन् । तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट किन्दा प्रतिटिकट एउटा पप्कर्न निःशुल्क पाउने बैंकले जनाएको छ । यस योजना अन्तर्गत ठट प्रतिकारोबार अधिकतम पाँचवटासम्म निःशुल्क पप्कर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जानकारी गराएको हो ।
सिन्धुपाल्चोकका वडाध्यक्षसहित पाँचविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ६ का वडाध्यक्ष कैलाश थापासहित पाँच जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। उपभोक्ता समिति मार्फत निर्माण गरेको आयोजनामा अनियमितता गरेको आरोपमा अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको हो। उक्त कार्यमा गाउँपालिका कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन ,तत्कालीन लेखापाल सरेन्द्र बहादुर तितजुविरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो। यस्तै, उपभोक्ता समितिमा रहेका स्थानीयहरु लिसंखुपाखर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठलाई पनि अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। लिसंखुपाखर ६ का वडाध्यक्ष कैलाश थापाले वडाबासीहरुको समस्यालाई समाधान गर्ने भनी पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान फरक-फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको हो भनी स्वीकृत नभएको आयोजनालाई वडाबासीहरुको भेला गराई आफ्नै अध्यक्षतामा समिति गठन गरेर ६ लाख रुपैयाँ भ्रष्ट्राचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उनीहरुविरुद्ध पनि अख्तियारले ६ लाख नै बिगो दाबी गरेको छ। उनीहरुले पेट्कु खानेपानी वडा नं १ देखि ६ सम्म भुक्तानी माग गर्दा प्राविधिक कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिकै अनुगमन समितिको कार्यसम्पन्न निर्णयको माइन्यूटको प्रतिलिपि र वडा समिति, वडाध्यक्षको कार्यसम्पन्न सिफारिस एवं डोर हाजिरी, बिल, भरपाइको आधारमा भुक्तानी दिएका थिए। यस्ता फर्जी बिललाई सदर गर्ने कार्य उनीहरुले गरेको जिकीर अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ। लिसंखुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन असिस्टेन्ट सव(इन्जिनियर लिलबहादुर पाण्डेसँग पनि ६ लाख रुपैयाँ असुल हुनुपर्ने माग अख्तियारले गरेको छ। अख्तियारले उनीहरुलाई ३ लाख १० हजार बिगो असुल हुनुपर्ने माग गरेको छ। उनीहरुले वडाध्यक्ष कैलाश थापासँग ४ लाख १० हजार लिई उक्त रकम दुवै जनाको सहमतिमा दलबहादुर श्रेष्ठको व्यक्तिगत खातामा राखेको, खानेपानीमा एक लाख खर्च गरी खानेपानी पाइप किनेको बाँकी रकम ३ लाख १० हजार दलबहादुर श्रेष्ठको व्यक्तिगत खातामा राखेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले दियाे सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएकाे छ । कम्पनीले फागुन २ गते आफ्नो प्रधान कार्यालयमा कार्यरत ३५ जना भन्दा बढी कर्मचारीहरुलाई साे सम्बन्धी तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराएकाे हाे । गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्येमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो । प्रधान कार्यालयका सम्पूर्ण कर्मचारी उपस्थित तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र आन्तरिक लेखा परिक्षक चाटर्ड एकाउन्टेन रेनुका खत्रीले तालिम प्रदान गरेका थिए । उक्त तालिममा विभागिय प्रमुखहरु सपना खरेल, योगेश कुमार नेपाल,सिताराम धिमाल, प्रभाकर न्यौपाने, सौरभ पौडेल र सृजन श्रेष्ठको सहभागिता रहेको थियो ।
विराटनगर सडक डिभिजनका तत्कालीन प्रमुखविरुद्ध ३५ लाख भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगले चौधरीविरुद्ध ३५ लाख रुपैयाँ बराबरको विगो दाबीसहित मुद्दा दायर गरेको हो। चौधरीले उक्त कार्यालयमा प्रमुख रहँदा भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट विभिन्न मितिमा श्रीमतीको खातामा रकम जम्मा गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो। चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिका सञ्चालकबाट बाटो निर्माण गर्ने विभिन्न स्वीकृत आयोजनाको काम सुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट ३५ लाख गैरकानूनी तवरले कमिसनको नाममा घुसररिसवत लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारले चौधरीले लिएको घुस रिसवतको रकम समेत जफत गर्ने गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे हाे ।
लक्जरी कारमा छालाको प्रयोग बन्द गरिँदै, कार उत्पादकहरू विकल्पको खोजिमा
काठमाडौं । पछिल्लो समयमा भिगन हुने चलन बढ्दो छ । भिगन भन्नाले पश्चिमी अभ्यास हो जुन हाम्रो साकाहारी सिद्धान्तभन्दा फरक छ । यो केवल साकाहारी खाना खाने वारेमा मात्र होइन कि, पूर्ण रुपमै दुध, दहि, मह, छाला, ऊन लगायत जनावरका कुनैपनि उत्पादनको प्रयोग नगर्नुमा आधारित रहेको छ । पशु कल्याण, स्वास्थ्य र वातावरणीय सरोकार जस्ता कुराले गर्दा यो परम्परा बढ्दो अवस्थामा छ । यहाँसम्म कि कार उत्पादकहरुले यो अभ्यास कारहरुमा पनि गर्न थालेका छन् । कार उत्पादकहरु कारका सिट लगायतमा जनावरको छालाको प्रयोग बन्द गर्ने तर्फ केन्द्रित हुँदै गएका छन् । जनावरको छालालाई लामो समयदेखि कारको इन्टेरिअरको लागि लक्जरी सामाग्रीको रुपमा प्रयोग गरिँदै आइएको छ र यो अझै पनि लोकप्रिय नै रहेको छ । यद्यपी, विगत केहि वर्षयता प्रिमियम कार उत्पादकहरुले जनावरका छालाको विकल्पहरु विकास गर्न विशेष मिहिनेत खर्चिन थालेका छन् । पछिल्ला दिनहरुमा कम्पनीहरुको त्यस्तो निर्णयलाई समर्थन गर्ने खालका सार्वजनिक रायहरु पनि आउन थालेका छन् । ६ पटक सम्म फर्मुला-१ को विश्व विजेता वन्न सफल लुइस ह्यामिल्टनले हालसालै मर्सिडिज बेञ्जलाई उसका कारहरुमा जनावरको छालाको प्रयोग पूर्ण रुपमै बन्द गर्न सल्लाह पनि दिएका छन् । यो नयाँ अवधारणा चाहिँ होइन । उदाहरणका लागि, मर्सिडिज बेञ्जले आफ्ना केहि कारहरुमा सन् २००३ देखि आर्टिको नामको सिन्थेटिक मेटेरियल जडान गर्न थालेको छ । त्यसैगरी टोयोटाले सोफटेक्स भन्ने सामाग्री प्रस्तुत गर्दछ भने फरारीले चाहिँ माइक्रो प्रेस्टिजलाई केहि मोडेलहरुमा छालाको विकल्पको रुपमा प्रस्तुत गरेको छ । टेस्लाले भने पूर्ण रुपमा छालाको सीट कभरको प्रयोग बन्द गरिसक्यो । टेस्लाले क्यालिफोर्नियाको एउटा फर्ममा सेयर किनेपछि पेटा अमेरिकाले यसलाई छालाको प्रयोग बन्द गर्न दबाब दिएको थियो । पेटा पशु अधिकारलाई लिएर लड्ने एक संस्था हो । भोल्भोको इलेक्ट्रिक ब्राण्ड पोलेस्टारले आफ्ना आउँदै गरेका उत्पादनहरुको इन्टेरियरमा केवल गैर-छालाको प्रयोग गर्नेछ । पोलेस्टारको प्रमुख थोमस इन्जेलाथ भन्छन् कि यसले हाम्रो वातावरणको हेरचाह केवल इलेक्ट्रिक वाहन लिएर आउनुमा सिमित छैन भन्ने देखाउँछ । कार्वन उत्सर्जन बढाउन पनि पशु काटमार उद्योगले बढावा दिएको हुनाले छालाको प्रयोगलाई पूर्ण रुपमै बन्द गर्दा फाइदा हुने कार उत्पादकहरु बताउँछन् यद्यपी उनीहरुका लागि यस्तो निर्णय चुनौतीको रुपमा खडा भने हुन सक्छ । कार उत्पादकहरुले हाल सामना गरिरहेको चुनौती भनेको जनावरको छाला समान अनुभव प्रदान गर्ने प्रिमियम सामाग्रीहरु फेला पार्नु हो जुन धेरै मात्रामा उत्पादन गर्न सकियोस् र लामो समय सम्म छाला जत्तिकै टिकाऊ पनि होस् ।
सिद्धार्थ बैंकद्वारा काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा फागुन १ गते उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, करआदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । हाल बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा
काठमाडौं । ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी लगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । ग्लोबल आइएमई बैंकले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै उनले थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरेका छन् । उनले ग्लोबल आइएमई बैंकको उपस्थितिले खोटाङकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताए । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिएका छन् । यसैगरी ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
पत्रकार शर्माको परिवारलाई सम्पादक शिवाकोटीले गरे सहयोग हस्तान्तरण
सुर्खेत। बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुराडटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन्। नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीले सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई २५ हजार रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्। इन्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए। बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कात्तिक २८ गते निधन भएको थियो। शर्माको आमा र बहिनी छन् । परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार पारिवारिक जटिलताबाट गुज्रिरहेको छ ।