विकासन्युज

भारतको बजेटले नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मुल्याङ्कन गरिने- अर्थ सचिव ढुंगाना

काठमाडौं । नेपाल उद्योग परिसंघका अर्थ सचिव शिशिरकुमार ढुंगानाले भारतको नयाँ बजेटले नेपाली अर्थतन्त्रमा पर्ने प्रभावलाई मुल्याङ्कन गरिने बताएका छन् । उनले सो विषयमा अध्ययन समितिले काम पुरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्ने जानकारी दिएका छन् । परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे आयोजना गरेको छलफल कार्यक्रममा नवनियुक्त अर्थसचिव ढुंगानाले सो कुरा बताएका हुन् । बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानालाई बधाई तथा शुभकामना दिँदै परिसंघको प्रतिनिधि मण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । छलफलको प्रारम्भमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्याङ्कन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सृजना गर्नु पर्ने, चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उत्पन्न परिस्थितीले कच्चा पदार्थ तथा तयारी वस्तुको आयात निर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नु पर्ने अवस्था आएको बताए । यसैगरी निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको तर्फ पनि अध्यक्ष मोरले ध्यानाकर्षण गराएका छन् । अध्यक्ष मोरको ध्यानाकर्षण बारे जानकारी दिँदै अर्थ सचिव ढुंगानाले चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताएका छन् । त्यस्तै, आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन तथा रोजगारी सृजना गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अन्तर्मन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए । परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थ सचिव ढुंगानाले विश्वास दिलाएका छन् ।

नयाँ हवाई नीतिः कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट

काठमाडौं । सरकारले कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट दिने भएको छ । सरकारले पूर्वाधारलाई केन्द्रित गरेर तयार पारको नयाँ हवाई नीति अनुसार कम उमेरका जहाज ल्याउने कम्पनीलाई अयकरमा छुट दिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेका विज्ञहरू सम्मिलित अध्ययन समितिले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेर बुधबार मन्त्रालयसमक्ष बुझाएको छ । जहाज खरिद गरी, लिज वा लिज पर्चेज गरी ल्याइएका वायुयानहरू पैठारी गर्दाको अवस्थामा ५ वर्षसम्मको भए आयात गर्न छुट दिइने भएको छ । १५ वर्षसम्मको पुरानो जहाज ल्याउन नयाँ हवाई नीतिमा समेत छुट दिइन लागिएको छ । खासगरी पुराना १५ वर्ष पुग्न लागेका जहाज कम्पनीहरूले बढी ल्याउन लागेकाले नयाँ व्यवस्था गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । संस्थालाई प्रत्येक वायुयान आयात गर्दाको भन्सार महसुलमा सहुलियत प्रदान गर्ने र त्यस्ता वायुयानको निरन्तर सञ्चालनका क्रममा पहिलो २ वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था नीतिमा उल्लेख छ । यस्तै, नयाँ हवाई नीतिमा निजी जहाज खरिद गर्न चाहने नेपालीलाई अनुमति दिइने भएको छ । विगतमा यस्तो अनुमति दिइएको थिएन । अब धनीले निजी जहाज राख्न पाउने भएका छन्  । यस्तै,  सरकारले तयार गरिरहेको नयाँ हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदामा अन्तर्राष्ट्रिय एयरलाइन्समा ८० प्रतिशतसम्म वैदेशिक लगानी पाइने भएकाे छ । यसअघि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरूमा ४९ प्रतितसम्म मात्रै विदेशी लगानी गर्न पाइन्थ्यो । मस्यौदामा अन्तर्राष्ट्रिय ट्रान्जिटदेखि कार्गो हब बनाउनेसम्मका योजना समेटिएका छन् । सरकारले राष्ट्रिय हवाई नीति २०५० लाई विस्थापित गरी २०६३ सालमा नयाँ नीति जारी गरेको थियो । जसमा अन्तर्राष्ट्रिय वायुसेवा ८० प्रतिशतसम्म, आन्तरिक वायुसेवा ४९ प्रतिशतसम्म, प्रशिक्षण संस्था ७५ प्रतिशतसम्म, मर्मत–सम्भार संस्था ७५ प्रतिशतसम्म विदेशी लगानी खुला गरिने उल्लेख गरेकाे छ । हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले हवाई नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।  

एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंकले महिला उद्यमीलाई सहुलियत कर्जा दिने भएको छ । बैंकले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सजिलै कर्जा दिने भएको हो । उक्त कर्जा दिन बैंकले हेफर इन्टरनेशनल नेपालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तीय पहुँच पुर्याउनका लागि संयुक्त प्रयास गर्नेछ । यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ । एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ । हाल बैंकको कूल ९५ शाखा, १२२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । हेफेरले महिला सहकारीहरुमा वित्तीय पहुँच पुर्याउने काम पनि गर्दै आएको छ । यसैगरी विगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १२५ देशहरुमा सेवा प्रदान गर्दै आएको छ ।

हवाई सेवालाई यात्रुमैत्री बनाउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सेवालाई यात्रुमैत्री बनाउन आग्रह गरेका छन् । बुधबार हवाइ नीति २०७६ को मस्यौदा बुझ्दै मन्त्री भट्टराईले निजी हवाइ सेवा कम्पनीलाई यात्रुमैत्री हुन आग्रह गरेका हुन् । सरकारले हवाइ नीतिमा उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता दिइएको बताउँदै हवाइ सेवा कम्पनीले पनि यात्रुमैत्री हुनु पर्ने उनकाे धारणा छ । निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको भन्दै उनले हवाइ सुरक्षामा कुनै सम्झौता नगर्ने उनकाे भनाइ छ । हवाई क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिने उनले बताए । हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।  

साढे २ अर्बको ऋणपत्र ल्याउँदै सिटिजन्स बैंक, वार्षिक १०.२५ प्रतिशत ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउँदै छ । बैंकले ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामक सो मात्राको ऋणपत्र बजारमा निष्काशन गर्न लागेको हो । बैंकले त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता निष्काशन गर्न लागेको छ । जसमध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब रुपैयाँ ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गरिने बैंकले जनाएकाे छ । बैंकले निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलबाट सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । ईक्रा नेपालले उक्त ऋणपत्र निष्काशन गर्न बैंकलाई आईसीआरएएनपी एलबीबीबी पल्स रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको मानिन्छ ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलमाथि भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले उनीमाथि बुधबार मुद्दा दायर गरेको हाे । पौडेललेमाथि एक लाख रुपैयाँ बिगो कायम गरी घुसररिसवत लिई भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको हो। पौडेलले सूचना‚ सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकमबाट घुस मागेको भन्ने सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले घुस बापत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अख्तियारले पौडेलविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को ९ग० बमोजिम सजायको मागदाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले

काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो । श्रीमान् श्रीमती दुबैको एउटै बीमालेखबाट बीमा गराउँदा जोखिम धरै हुने बीमाको अवधारण विपरितको कार्य हुने भन्दै एक्चुरी भ्यालुएटरले बीमा समितिलाई सुझाव दिदै आएको थियो । तर, समितिले यस्तो बीमा लेखमा रोक लगाएको भने थिएन । समितिले यसअघि स्वीकृति दिएका दाम्पत्य जीवन बीमा पोलिसी पनि बन्द गर्न निर्देशन दिएको छ । यसअघि स्वीकृति लिएर संचालनमा आएका बीमा पोलिसीको हकमा भने के कस्तो व्यवस्था गर्ने भन्नेमा समितिले केही प्रष्ट पारेको छैन ।

रिचार्जरको बिग सेल अफर, ५ हजारमा हेलिकप्टर राइड

काठमाडौं । ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले फेब्रुअरी २० (बिहीबार) पनि बिगसेल अफर संचालन गर्ने भएको छ । बिगसेलका दिन रिचार्जरले २२० रुपैंयामा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयामा हेलीकप्टर राईड, २ हजार २० मा टुर प्याकेज, २० हजार २० रुपैयामा अन्नपुर्ण बेसक्याम्पसम्मको हलिकप्टर राइड, जस्ता आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाईल, ल्यापटप, टिभी, ईलेक्ट्रोक्सि आइटम र टुर प्याकेज उपलब्ध गराउने रिचार्जरले जनाएको छ । नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजदेखि काठमाण्डु उत्पत्यका भित्र उपलब्ध हुनेछ । मुभि टिकट खरिद गर्दा भने सुरुमा पुरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रुपैंया बाहेकको रकम खरिदकर्ताले क्यासव्याक फिर्ता पाउने बताइएको छ । ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सरपाइज अफरहरु पाउने छन् । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाइन्छ । जनवरी २० तारिखमा विगसेल मेला आयोजना गरेको रिचार्जले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध हुनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले पनि भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।