विकासन्युज

बाल अस्पताल बनाउन बैंक अफ काठमाडौंकाे एक करोड सहयोग

काठमाडौं ‍। मुटु रोग विशेषज्ञ डा. भगवान् कोईरालाकाे अगुवाईमा बन्न लागेको बाल अस्पताललाई बैंक अफ काठमाडौंले १ करोड सहयोग गरेको छ। बैक अफ काठमाडौंले आफ्नो २५ औं वार्षिकउत्सवको अवसरमा बाल अस्पताललाई १ करोड सहयोग गरेको हो ‍। गर्भनर चिरन्जिवी नेपालले बुधबार बैंकको तर्फबाट डा. कोईरालालाई १ करोडको चेक हस्तान्तरण गरेका हुन्। डा‍. कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । किओचले  अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको छ ।

कोका–कोला नेपालद्वारा निकुञ्जको फोहोर व्यवस्थापनमा २५ कलेक्शन बिन हस्तान्तरण

काठमाडौं । कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापन गर्न २५ वटा ठुला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ । यस निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा सो मात्रामा कलेक्शन बिन सहयोग गरेको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानिय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए । राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरुबाट पीईटी बोतलहरु नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ जहाँ रिसाइक्लर साथीले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ । यो अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ भइरहेको छ । कोका–कोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिंगको १००% बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ र देशप्रतिको प्रतिबद्र्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियशनसंग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन नारायण रुपाखेतीले भने, देशको गौरव र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी छन् । यो संयुक्त प्रयासले वन्यजन्तु र प्रकृति संरक्षणमा सहयोग गर्नेछ । हाम्रो उद्देश्य भनेकै देशको प्राकृतिक वासस्थानलाई यथावत राखेर एउटा उदाहरण बन्नु हो ।” बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा बोटलर्स नेपाल (तराई) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले जिम्मेवार अभ्यासको माध्यमबाट वातावरणको राम्रो रेखदेख गर्नु सदाझै हाम्रो व्यवसाय भएको बोटलर्स नेपाल (तराई) यो अभियानको हिस्सा बन्न पाएको गर्व गर्दै नेपाल सरकार र हाम्रा पार्टनरहरुलाई जारी साझेदारीका लागि आभारी भएको बताए ।

पर्वतमा ढुङ्गाखानीको अध्ययन गरिँदै

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाले अनुमति नलिई सञ्चालित ढुङ्गाखानीलाई वैधता दिन उपयुक्त भए/नभएको विषयमा अध्ययन गराउने भएको छ । अनुमति दिएर करको दायरामा ल्याउन सके आन्तरिक स्रोत वृद्धिका साथै व्यवस्थित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ । यहाँका ढुङ्गाखानी वर्षौंदेखि अव्यवस्थित ढङ्गले सञ्चालन हुँदै आएका छन् । कानूनी दायरामा ल्याएपछि व्यावसायिक तवरले ढुङ्गा उत्पादनलाई उद्योगका रूपमा विकास गर्न सहयोग पुग्ने जनप्रतिनिधिले बताएका छन् । जलजलाको माझफाँट, लेकफाँट, बाँसखर्क, बनौलगायतमा दर्जनौँ ढुङ्गाखानी छन् । अवैध रूपले सञ्चालन भइरहेका ढुङ्गाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गराएपछि उपयुक्तलाई वैधता दिने भएको हो । प्राविधिक र विज्ञको टोलीले गर्ने मूल्याङ्कनको प्रतिवेदनका आधारमा ढुङ्गाखानीलाई कानूनी दायरामा ल्याउने अथवा बन्द गर्ने भन्ने विषयमा निर्णय लिइने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । ‘ढुङ्गाखानी सञ्चालन अनुमतिका लागि वातावरणीय मूल्याङ्कन पहिलो जरुरी शर्त हो’, शर्माले भने, ‘गाउँपालिकाको क्षेत्रभित्र पर्ने खोलाजन्य पदार्थ उत्खननको ठेक्का दिनुअघि कालीगण्डकीका बगरको समेत प्रारम्भिक वातावरणीय मूल्याङ्कन गरिनेछ ।’ उनले प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने दायित्व रहेकाले आफूहरू खानीको खोजी र वैज्ञानिक उत्खननमा लाग्ने बताए । कसैले अनुगमन र कडिकडाउ नगर्दा निजी जमिन, सार्वजनिक चौर तथा वन क्षेत्रमा समेत अवैध रूपले ढुङ्गाखानी सञ्चालन भएका छन् । यस्ता ढुङ्गाखानीका कारण भू्क्षय र पहिराको जोखिमसमेत बढ्दै गएको छ । खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग, वन कार्यालय र भूसंरक्षण कार्यालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्था छ । हालसम्म सञ्चालित कुनै पनि खानीले अनुमति लिने र जिल्ला समन्वय समितिमा कर बुझाउने गरेका छैनन्, शर्माले भने, ‘स्थानीयस्तरमा रोजगारी सिर्जना र आम्दानीका हिसाबले प्रभावकारी माध्यम बनेको ढुङ्गाखानी कानूनी दायरामा नआउँदा राज्यका निकायले राजस्वको स्रोत गुमाउनुपरेको छ, अब हामी यसलाई व्यवस्थित गर्न लागिपरेका छौँ ।’ बाँसखर्क, लेखफाँट र माझफाँटमा निकालिएका ढुङ्गा व्यवसायीले पोखराका बजारमा घर निर्माणका लागि पठाउने गरेका छन् । घर सजाउन यस्ता ढुङ्गाको माग बढेपछि धमाधम नयाँ खानी सञ्चालन बढेका छन् । ढुङ्गाखानीको अध्ययनका लागि गाउँपालिकाले गत पुसमा वडा नं ३ का अध्यक्ष देवेन्द्र भण्डारीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको थियो । कानूनी अड्चनकै कारण समितिले अपेक्षित काम गर्न नसकेको संयोजक भण्डारीले बताए । सञ्चालित उद्योगले वातावरणलाई असर नगर्ने भए कानूनी दायरामा ल्याएर व्यवस्थित गर्न स्थानीय तहले सहयोग गर्ने गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले उल्लेख गरे । आधुनिक भवनमा आकर्षक सजावट, घरको गारो लगाउन मात्रै नभएर यस्ता ढुङ्गाखानीले स्थानीयस्तरमा रोजगारी र आम्दानी बढाउनसमेत प्रभावकारी हुन्छ । यस्ता खानीलाई कानूनी दायरामा ल्याएर सञ्चालन गर्न सके स्थानीय सरकारको आम्दानीमा पनि ठूलो हिस्सा बढ्ने अनुमान जनप्रतिनिधिको छ । रासस

८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन छः उपाध्यक्ष कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन भएको बताएका छन् । अर्थ समितिले बुधबार आयोजना गरेको एक कार्यक्रमा उनले सो कुरा बताएका हुन् । चालु आर्थिक वर्षको हालसम्म पुँजीगत तर्फ १९ प्रतिशत मात्र वित्तीय खर्च भएको बताउँदै उनले चालु आर्थिक वर्षको अन्तिमसम्म सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन हुने उनको भनाइ छ । ‘पुँजीगत खर्च अभावमा काम गर्ने कर्मचारी र राजनीतिक दलका नेताको क्षमता अभाव हुन सक्छ, गत वर्षभन्दा पुँजीगत खर्चमा सुधार भएपनि चालु आर्थिक वर्षमा सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन गाह्रो छ,’ उनले भने । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक भएको स्विकार्दै उनले यो हिसावले चालु आर्थिक वर्षमा ५२ प्रतिशत सम्म पुँजीगत खर्च हुन सक्ने उनकाे भनाइ छ  । यो वर्षकाे चौमासमा दशैं तिहार परेकोले पनि पुँजीगत खर्च कम देखिएको उनको भनाइ छ ।  चालु आर्थिक वर्षको हालसम्म चालुगत तर्फ ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ २५ प्रतिशत खर्च भएको छ । सरकार भने ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेटाएरै छोड्ने दावीमा गर्छ ।

चीनबाट ल्याईएका १७५ नेपालीमा कोरोनाकाे संक्रमण छैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले  चीनबाट आएको नेपालीमा कोरोन भाईरस नेगेटिभ भएको आधिकारीक जानकारी दिएको छ । मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै चीनबाट आएका १७५ नेपालीमा नतिजा नेगेटिभ भएको जानकारी दिएको हो । ३ दिन अघि सबै वुहानबाट आएका नेपालीहरुको थ्रोट स्वाब चेक गर्न पठाईएको थियो । कोरोनानले १४ दिन सम्म कुनै प्रकारको लक्षण नदेखाए क्वारेन्टाईनमा राखेका नेपालीहरुलाई घर पठाईनेछ । हालसम्म २ सय १० जनामा कारोणको जाँच हुँदा १ जनामा मात्र पोजेटिभ देखिएको छ ।

देवः विकास बैंकको जोरपाटी शाखा कार्यालयको उद्घाटन

काठमाडौं । देवः विकास बैंककाे गोकर्णेश्वर नगरपालिका, जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन  बैंकका संचालक समितिका सदस्य भरत बहादुर हमालले गरेका हुन् । कार्यक्रममा संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे । यस बैंकका संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरीक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।

सडकमा नाचगान गरेर भ्रमण वर्ष सफल हुँदैनः डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा नाचान गर्दैमा भ्रमण वर्ष सफल नहुने बताएका छन् ।बुधबार अर्थसमितिले गरकाे एक कार्यक्रममा बाेल्दै उनले साे कूरा बताएका हुन् । विदेशी पवर्यटकलाई स्वदेशमा भित्र्याउनका लागि भौतिक पूर्वाधारको आवश्यक पर्ने बताउँदै उनले पूर्वाधार निर्माण नगरी सडकमा नाचगान र रमझमले भ्रमण वर्ष २०२० सफल नहुने बताएका हुन् । पूर्वाधार बनाएर विदेशी सञ्चारमाध्यममा विज्ञापन गरे पर्याप्त पर्यटक आउने उनको भनाइ थियो । रणनीति बनाएर अगाडि बढ्नु पर्ने उनको भनाई छ । ‘देशदले २२ आयोजनालाई राष्ट्रिय परियोेजनालाई गौरवको आयोजनाका रुपमा लिएको छ, तर हाल सम्म एकको पनि निर्माण कार्य सम्पन्न भएको छैन, यसबाट पनि थाहा हुन्छ की सरकारले पूर्वाधार निर्माणमा कत्तिको ध्यान दिएको छ,’ उनले भने ।

शान्ति समाजको भवन निर्माण गर्न एक करोड दान

विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौँमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन् । समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेबित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले रकम प्रदान गरेकाे  जनाएको छ ।