विकासन्युज

उद्योग राज्यमन्त्री दुगडमाथि ट्रेडमार्क चोरेको आरोप, मुद्दाको छिनोफानो गर्ने जिम्मा उद्योग विभागलाई

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बहुराष्ट्रिय कम्पनीसँगको ट्रेडमार्क विवादमा छन् । बहुराष्ट्रिय कम्पनी पेप्सीको ईन्कले उत्पादन गरिरहेको कुरकुरे ब्राण्डलाई दुगडले नेपालमा ट्रेडमार्क दर्ता गरेपछि कानुनी विवाद सुरु भएको हो । करिब १ दशकअघि बहुराष्ट्रिय खाद्यान्न उत्पादक कम्पनी पेप्सीको ईंकले आफ्नो उत्पादनको ट्रेडमार्क चोरी भएको भन्दै नेपालको उद्योग विभागमा निवेदन दिएको थियो । २०६६ फागुन ६ मा अमेरिकी कम्पनी पेप्सीको ईंकले विभागमा निवेदन दर्ता गराएको थियो । विभागले पेप्सीको निवेदनमाथि छानबिन नगरेपछि कम्पनी कानुनी उपचारको लागि उच्च अदालत पाटन गएको थियो । उच्च अदालतले सो विवाद सल्टाउने जिम्मा पुनः उद्योग विभागलाई नै दिएको छ । विभागले मुद्दाको प्रक्रिया अघि बढाएको छ । उच्च अदालत हुँदै अहिले यो विवाद पुनः उद्योग विभागकै क्षेत्राधिकारमा पुगेको छ । उद्योग विभाग पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै निकाय हो । दुगड सोही मन्त्रालयको राज्यमन्त्री हुन् । ट्रेडमार्क चोरी गरेको आरोपमा मुद्दा खेपिरहेको स्पाइसेज एन्ड फुड प्रडक्ट प्रालिका मालिक मोतीलाल दुगड आफै उद्योग राज्यमन्त्री छन् । उनै दुगडको कम्पनीविरुद्धको मुद्दा छिनोफानो गर्ने जिम्मेवारी उद्योग विभागलाई आएको छ । कुरकुरे ब्रान्डलाई दाबी गर्दै अर्काे कम्पनी मेरिगोल्डले पनि दुगडबिरुद्ध अर्काे मुद्दा सर्वाेच्च अदालतमा दायर गरेको थियो । मेरिगोल्डले कुरकुरे ब्रान्ड आफ्नो हो भन्दै अदालतमा रिट दायर गरेको थियो । यो विषयमा सर्वाेच्च अदालतले उद्योग विभाग, उच्च अदालत हुँदै जानु पर्ने मुद्दा सोझै अदालतमा रिट दायर गरेको भन्दै मेरिगोल्डले दायर गरेको रिट खारेज गरेको थियो । यो मुद्दामा ट्रेडमार्क कसको हो भन्ने निक्र्याेल हालसम्म सरकारले गरेको छैन । २०६६ देखि नेपालमा कुरकुरे उत्पादन गर्ने दुगड स्पाइसेस एन्ड फुड्स र अमेरिकी कम्पनी पेप्सीकोबीच मुद्दा चलिरहेको छ । दुगड गु्रपले २०६३ सालमा कुरकुरे नामको ट्रेडमार्क दर्ता गरेको थियो । भारतमा २०५५ सालदेखि उत्पादन सुरु भएको कुरकुरे उत्पादनको केही वर्षमै नेपाल भित्रिएको थियो । निकै लामो समयदेखि नेपालमा बिक्री गर्दै आएको पेप्सीकोले भने २०६४ सालमा मात्रै ट्रेडमार्कका लागि विभागमा निवेदन दिएको थियो । त्यसपछि कुरकुरे नेपालीको हुने कि पेप्सीकोको भन्ने मुद्दा चलिरहेको छ । केही समय अघि उच्च अदालतले विभागलाई नै फैसला गर्नुपर्ने रायसहित मुद्दा फिर्ता पठाएको थियो । नेपालमा दुगड स्पाइस एन्ड फुड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहू मिल्ने भारतलगायत तेस्रो मुलुकबाट हुने आयतलाई रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो । मुद्दा चलिरहेकै अवस्थामा २०७४ मंसिर ६ गते पाटन उच्च अदालतले कुरकुरे ब्रान्ड नेपाली उत्पादक दुगड गु्रपको भएको भन्दै विदेशी कुरकुरे आयातमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो । तर लामो बहसको केही समयपछि अदालतले विदेशबाट आयात हुने कुरकुरेमा आयत रोक लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिएन । उद्योग विभागका कानूनका उपसचिव टंकबहादुर महतले पेप्सीकोसँग लिखित जवाफ प्राप्तिका लागि प्रयास गरिरहेकोे बताए ।

सञ्चार मन्त्री गोकुल बास्कोटाले मागे ७० करोड कमिसन, अडियो टेप सार्वजनिक

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटामाथि ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएको छ । मन्त्री बास्कोटाले सेक्युरिटी प्रेस छपाईमा ७० करोड कमिसन प्राप्त हुने सम्बन्धी एक एजेन्टसँग गरेको कुराकानीको अडियो टेप हाम्राकुराडटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक भएको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझावसमेत एजेन्ट मिश्रको छ। ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।

शिवरात्रीलाई लक्षित गर्दै ट्राफिक महाशाखाले ५ सय ट्राफिक खटाउने

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई केन्द्रित गर्दै ५ सय ट्राफिक प्रहरी खटाएको छ । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी ५ सय ट्राफिक खटाएको हाे । महाशाखा प्रमुखले शिवरात्री पर्वको अबधिभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएकोर आबश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने बताए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुबिधालाई मध्येनजर गर्दैगौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केहि समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यबस्था मिलाइने बताए । उनले तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाईभने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रबेशमा रोक लगाई बैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइने बताए ।

कामना सेवा विकास बैंकले जित्याे कर्पोरेट सुपर सिजन-६

काठमाडौं । कामना सेवा विकास बैंकले कर्पोरेट सुपर सिजन–६ जितेको छ । क्रिकेट प्रतियोगिताको फाइनलमा बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो । एसएस इभेन्टसद्वारा टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेतले खेलाडीहरुलाई हौसला दिएका थिए ।

उपभोक्तालाई १० युनिट विद्युत निःशुल्क दिने गरी नियमन आयोगले थाल्यो गृहकार्य

काठमाडौं । विद्युत नियमन आयोगले उपभोक्तालाई १० युनिटसम्म विद्युत निःशुल्क दिने गरी गृहकार्य अगाडि बढाएको छ । नियमन आयोगले उपभोक्तालाई १० युनिट विद्युतसम्म निःशुल्क दिने मनासायले विद्युत उपभोक्ता महशुल समायोजनको प्रक्रिया अघि बढाएको हाे । आयोगका अनुसार आगामी चैत मसान्तभित्र महशुल समायोजनको निर्णय हुने छ । फागनु १ गतेदेखि महशुल समायोजनको काम सुरु भएको आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्देशिकामा २ महिनाभित्र महशुल समयोजन गर्ने वा नगर्ने निर्णय हुनुपर्ने व्यवस्था छ । अहिले आयोगले सार्वजिनक सूचना जारी गर्दै त्यसमा आफ्ना धारणा तथा प्रतिक्रिया राख्न आग्रह गरेको छ । आयोगले साना उपभोक्तालाई १० युनिटसम्म निःशुल्क गरेर ११ युनिटदेखि माथि नयाँ महशुल तोक्ने तयारी गरेके छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमा केहीको घटेको र केहीको मात्र बढाउन गरेको आयोगले जनाएके छ । विद्युत प्राधिकरणले प्रस्ताव गरेपनि आयोगको निर्णयबिना महशुल बढाउन पाइँदैन ।

बीमा समितिले किन रोक्यो ‘स्पाउस कभर’ बीमा ?

काठमाडौं । बीमा समितिले एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन रोक लगाएको छ । समितिले नै बीमालेख स्वीकृत गरेपछि कम्पनीहरुले सर्वसाधारणलाई बीमा गराउँछन् । समिति आफैले स्वीकृति दिएको पति/पत्नी (स्पाउस कभर) सुरक्षण लाभ रोक्नुका पछाडि के कारण छ भन्ने प्रश्नले अहिले बीमा बजारमा कौतुहलता बढाएको छ । एउटा बीमा लेखबाट एक जनाको मात्रै जीबन बीमा गर्न सकिने विश्वव्यापी मान्यता अनुसार नै ‘स्पाउस कभर’ बन्द गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईं बताउँछन् । ‘एउटा जीवन बीमालेखले एक जनाको मात्रै बीमा हुने हो, पहिला यो प्रडक्टले धेरै असर पार्ने देखिएको थिएन, तर पछिल्लो समय विकृति बढ्दै गयो, कम्पनीहरु प्रतिस्पर्धा गर्न थाले, यसले जोखिम बढाउने देखिएर नै रोकिएको हो,’ अध्यक्ष चापागाँईंले विकासन्युजसँग भने । बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र बीमा कम्पनीहरुले स्पाउस कभरमा प्रतिस्पर्धा गर्न थालेका छन् । एउटै बीमालेखबाट पति/पत्नीको बीमा गराउने प्रतिस्पर्धा बढ्दै जादा परिवारको नै बीमा हुने पोलिसीको माग बढ्न सक्ने, एउटा परिवारको भएपछि आफूले चाहेको व्यक्तिहरुको सामुहिक बीमाको मागसमेत बढ्न सक्ने सम्भावना देखिएकोले स्पाउस कभर नै रोकिएको समितिको भनाइ छ । कति छ स्पाउस कभर पोलिसी ? एउटै बीमालेखबाट श्रीमान् श्रीमतीकै बीमा हुने प्रडक्ट कम्पनीहरुले धेरै बेचेका छैनन् । जीबन बीमा कम्पनीहरुले ७३ लाखभन्दा धेरै बीमालेख विक्री गरेका छन् । कूल बीमालेखमा स्पाउस कभर बीमालेखको संख्या बढीमा २ प्रतिशत जति रहेको समितिका अध्यक्ष चापागाँईंले जानकारी दिए । बिक्री भएका पोलिसी के हुन्छ ? बीमा समितिले ७ फागुन गते जारी गरेको परिपत्रमा पहिला स्वीकृत भएका स्पाउस कभर बीमालेख पनि रोक्नु भनिएको छ । यसको अर्थ पहिला नै समितिबाट स्वीकृति लिएर स्पाउस कभरको बीमालेख बिक्री गरिरहेका कम्पनीले पनि त्यस्तो बीमा गराउन नपाइने भन्ने हो । तर, कम्पनीहरुले विक्री गरिसकेका बीमालेखको सम्बन्धमा के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । परिपत्र जारी गर्नुअघि विक्री भएका बीमालेख (गराइसकेको बीमा) भने बीमा गराउँदाको शर्त अनुसार नै अघि बढ्ने अध्यक्ष चापागाँईले जानकारी दिए । ‘स्पाउस कभर बीमालेख स्वीकृत गराएका कम्पनीहरुले पनि अबदेखि त्यस्तो बीमा नगराउने भन्ने यो पत्रिपत्रको आशय हो, कम्पनीहरुले आफ्ना प्रोडक्टबाट स्पाउस कभर बीमालेख हटाउनु पर्छ, यसअघि नै बीमा गराइसकेकाको हकमा भने अवधि पूरा नहुन्जेल सो बीमालेखको शर्त अनुसार अघि बढ्छ, यसमा समस्या छैन,’ अध्यक्ष चापागाँईले भने । बीमा कम्पनी भन्छन्ः खासै असर पर्दैन स्पाउस कभर बीमालेख रोक लगाएपनि आफ्नो व्यवसायमा धेरै असर नपर्ने बीमा कम्पनीहरुले बताएका छन् । हाल विभिन्न कम्पनीहरुले श्रीमान्न/श्रीमतीको बीमा गराउँदै आएका छन् । बीमा कम्पनीहरुले भिन्नभिन्न शीर्षकमा राखेपनि उक्त योजनाले श्रीमान् श्रीमती दुवैको जोखिमको रक्षावरण गर्छ । ‘स्पाउस कभर बीमालेखमा रोक लगाउँदा हामीलाई खासै असर पर्दैन, हाम्रो मुख्य व्यवसाय त्यो मात्रै होइन, अन्य प्रडक्टमा हाम्रो व्यवसाय केन्द्रित छ,’ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरत बस्नेतले भने । नेशनल लाइफ इन्स्योरेन्सले दाम्पती अमृत सावर्धिक जीवन बीमा शीर्षकमा स्पाउस कभरको बीमालेख बिक्री गर्दै आएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दम्पती सुरक्षा प्लस योजना संचालन गरिरहेको छ । यस्तै, एलआइसी नेपालले जीवन साथी शीर्षकमा स्पाउस कभर बीमालेख विक्री गरिरहेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा दम्पती बीमा योजना संचालन गरिरहेको छ । सम्बन्धित सामग्री एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले

सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पा जिल्लाको दुनै अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकले बुधबार एक कार्यक्रमकाबीच समितिलाई हस्तान्तरण गरेको हो । यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने कुरा समितिले जनाएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा समितिले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अब पुरानो सामसङ मोबाइलसँग नयाँ साट्न मिल्ने, कहाँ कहाँ पाइन्छ यस्ताे सुविधा ?

काठमाडौं । अब पुरानो सामसङ मोबाइलसँग नयाँ सामसङ मोबाइल साट्न मिल्ने भएको छ । सामसङ प्रयोगकर्ताहरूले अब नयाँ सामसङ स्मार्टफोनकोे लागि आफ्ना पुरानो सामसङ स्मार्टफोनहरू एक्स्चेञ्ज गर्न सक्नेछन् । सामसङ मोबाईलका लागि आधिकारिक विक्रेता, आईएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरूमहरूमा सामसङ एक्स्चेञ्ज सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसङ स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । साथै यस सुविधा मार्फत सामसङ स्मार्टफोन एक्स्चेञ्ज गर्न सक्नेछन् । इच्छुक ग्राहकहरूले केवल आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ ।कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेभ पोर्टल मार्फत दिनेछ साथै एक्स्चेञ्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसङ स्मार्टफोनको सट्टामा नयाँ सामसङ स्मार्टफोन छनौट गर्न सक्नेछन् । उक्त सुविधा आईएमएस स्मार्टकाे ६ वटा शोरुमहरूमा पाइने छ । १. न्यूरोड, पाको, काठमाडौं २. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं ३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं ४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर ५. शेर्पामल, दरवारमार्ग, काठमाडौं ६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधा विस्तार गरिनेछ ।