दाङबाट १ सय ७५ जनाले लिए अङ्गीकृत नागरिकता
तुलसीपुर । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङ जिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उनले जानकारी दिए । संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । रासस
सञ्चारमन्त्रीको ७० करोडको अडियो सार्वजनिक भए पछि ओली-प्रचण्ड छलफलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार दुई नेतावीचको छलफलमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो विषयमा छलफल भएको छ । मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । बिहीबार बिहान ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो बुधबार राति सार्वजनिक भएको थियो ।
दुई लाख घुससहित इन्जिनियर सुरेशराज भट्ट प्रहरीको नियन्त्रणमा
काठमाडौं । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर सुरेश राज भट्ट दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख भट्टलाई एक लाख रुपैयाँ घुसवापतको रकम लिएको अवस्थामा थप एक लाख स्रोत नखुलेको रकमसहित बुधबार साँझ पक्राउ गरेको हो। इन्जिनियर भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ। उनलाई कार्यालयस्थित निवासबाट रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला ७७ हजार ६ सयमा कारोबार
काठमाडौं । बिहीबार सुन प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन ५ सय रुपैयाँ बढेको छ । पछिल्लाे समय सुनकाे मूल्य क्रमश बढ्दै गएकाे छ । बुधबार प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन प्रतितोलामा ५ सय रुपैयाँ बढेर ७७ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै बाँके राष्ट्रिय निकुञ्ज
नेपालगञ्ज । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये बाह्य विदेशी पर्यटकको सङ्ख्या आठ मात्र रहेको छ । अन्य निकुञ्जका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले बताए । बाँके जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीमलाल कँडेलको जानकारी दिए । उनका अनुसार, भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको छ । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ । करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोबार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पुर्याउने सकिने अध्यक्ष कँडेलले बताए । सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाँढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ । आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको सङ्ख्या २१ पुगेको निकुञ्जका प्रमुख भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार, पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढेको छ । गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ । बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन् । भ्रमण वर्षलाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिका–२२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीय स्थलका रुपमा निर्माण गर्नका लागि धमाधम काम अगाडि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट तालको पुनःनिर्माण भइरहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए । विगतमा यो ताल पुरैना, पुरैनी तालको नामले चिनिन्थ्यो । नेपालगञ्जदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको छ । कान्तिताल एउटा प्राकृतिक ताल हो । यो तालको पानी पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अगाडि बढाएको हो । यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आएर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशक अघिसम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज वडा नं ८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताएका छन् । पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । नेपालगञ्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयुर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइने निर्णय गरेअनुरुप सोहीअनुसार नेपालगञ्ज उपमहानगरपालिकाले पनि यहाका पर्यटकीयस्थललाई आकर्षक बनाउने अभियान नै सञ्चालन गरेको नगर प्रमुख राणाले बताए । उनका अनुसार, नेपालगञ्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, नेपालगञ्जकै कान्तिताल र वाटरपार्कको निर्माण धमाधम भइरहेको छ । यसका साथै नेपालगञ्ज फोहरमुक्त बनाउन प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनलाई पनि नगरपालिकाले आफ्नो कार्यक्रममा समेटेको छ । नेपालगञ्ज उपमहानगरपालिका जस्तै यहाका आठवटै पालिकाले पनि भ्रमण वर्षमा आआफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन योजनाअनुसार कार्यक्रम तय गरेका छन् । “हामीले राप्तीसोनारी गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल भुँवरभवानीमा पर्यटकको पहुँच बढाउन सबैखाले संयन्त्र प्रयोग गरेका छौँ”, सो गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भने । रासस
फागुन १४ र १५ गते पहिलो लगानी सम्मेलन हुँदै
रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहने छ । जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागेको नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । उनले जिल्लामा लगानीको राम्रो सम्भावना रहेकोे र सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने बताए । जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजनक रहेका छन् । सम्मेलनले ऊर्जा तथा पर्यटन क्षेत्रको लगानीको ढोका खुल्ने विश्वास लिएको आयोजक समितिका सहसंयोजक विश्वकुमार चन्दले बताए । रासस
विद्युत् राष्ट्रिय प्रसारण लाइन विस्तार गरिँदै, २३ कराेडमा ठेक्का
बैतडी । बैतडी जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पुर्याउने काम शुरुआत गरिएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पुर्याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए । ती स्थानमा सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिसँग गत जेठ ७ गते एकवर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित ठेक्का सम्झौता भइ काम शुरु भएको छ । पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ । यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि एक वर्षभित्र सक्ने गरेर अमृत इन्द्रधनु जेभीसँग रु दुई करोड १४ लाखमा ठेक्का सम्झौता भएको प्रमुख कर्णले जानकारी दिए । सो सम्झौताअनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि शुरु भइसकेको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो । यस्तै नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो वर्ष विद्युत् बाल्ने हिसाबले काम गरिरहेको विद्युत् प्राधिकरणका सुपरभाइजर माधवप्रसाद लेखकले जानकारी दिए । रासस
बलेफी हाईड्रोपावरले सर्वसाधारणमा शेयर निष्काशन गर्दै, प्रत्याभूतिकर्तासँग भयाे सम्झौता
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ लाख ५५ हजार ९ सय ४० कित्ताशेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल , हिमालयन क्यापिटल र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्ति गरी मंगलबार सम्झौता गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरु एनएमबि क्यापिटलका श्रीजेश घिमिरे,सनराइज क्यापिटलका विजयलालश्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कम्पनीले १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ लाख २७ लाख ९ सय ७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जानकारी दिएको छ । वाग्मतीप्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमाअवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशतसम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ । आगामी२०७७ असार सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादनहुने विद्युत नेपाल विद्युतप्राधिकरणको प्रसारण लाइनमा जडान गरी बिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यस कम्पनीको कुल लागत जम्मारु.६ अर्ब ७८ करोड रहेको (७०ः३०–कर्जाःपूँजीअनुपात) र प्रति मेगावाट रु.१६ करोड ९० लाख रहेको,जुन औषतमा अन्य हाइड्रोपावर कम्पनीको लागतभन्दा कम रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२८ वर्ष र आयोजनाको डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १६.५९ वर्ष रहेको छ । आइसीआरए नेपालले यस कम्पनीद्वारा जारी गर्न लागेको शेयर निष्काशनलाई ‘आइसीआरएएनपी फाेर प्लस ‘ प्रदान गरेको छ । कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथाआयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिलाे वर्षमा नै लाभांश वितरण गर्ने भएकाे छ । हाइड्रोपावर क्षेत्रको एउटा राम्रो कम्पनीले बजारमा शेयर निष्काशनगर्दा पूँजीबजार तथा लगानीकर्ताहरुलाई फलदायी हुने कम्पनी तथा प्रत्याभूतिकर्ताले जानकारी गराएको छ ।