विकासन्युज

सुनको मूल्यले इतिहास रच्यो, प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं । सुनको मूल्यले दिन प्रति दिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा बिक्री भएको सुन शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिनमा ५ सय रुपैयाँ बढेर ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै साताको अन्तिम दिन चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

छ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

परासी । छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो । आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। ‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ’, उनले भने । उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताए । रासस

लायन्स क्लबको दुई करोड सहयोगमा सम्पन्न विद्यालय भवनकाे उद्घाटन

दमौली । लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । रु दुई करोड सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण भएको हो । गत वर्ष फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गभर्नर इन्दु लम्सालले उद्घाटन गरे । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता हुने जानकारी दिए । लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ । यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास –१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो । सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भीमाद नगरपालिका–८ कोखेस्थित हिमालयन माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ पोखरा ग्रिन हिल र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि ग्रिनहिल र मोनाराम फाउण्डेशनले रु एक लाख ५० हजार सहयोग गरेका छन् । पुस्तकालयमा रु ५० हजार बराबरको पुस्तक सहयोग गरिएको छ भने थप पुस्तक खरिद र पुस्तकालयको स्तरोन्नतिका लागि रु एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स क्लब अफ पोखरा ग्रिनहिलका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार अक्षयकोषबाट प्राप्त हुने व्याजबाट पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक खरिद गर्न सकिनेछ । उक्त पुस्तकालयको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे । सो अवसरमा उनले पुस्तकले मानिसलाई अध्ययनशील बनाउने भएकाले विद्यालयमा स्थापना गरिएको पुस्तकालयको सदुपयोग गर्न आग्रह गरे । पुस्तकालयमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई मध्यनजर गरी विभिन्न ज्ञानमूलक पुस्तक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद शर्माले जानकारी दिए । विद्यालयमा २५० विद्यार्थी, २० शिक्षक तथा कर्मचारी छन् । रासस

आज महाशिवरात्रि पर्वः पशुपति लगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । पशुपतिका चार ढोका तीन बजे नै खुल्यो पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए । यसैगरी, तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ । दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताएका छन् । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यसपटक नेपाल भ्रमण वर्षको अवसर समेत परेकाले पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । लाखौँ भक्तजनलाई पशुपति क्षेत्रको भ्रमण गराउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत ११ उपसमिति पनि गठन गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । ११ वटै उपसमितिको सक्रियतामा आज रातभर पनि भक्तजनले पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको छ । रासस

अवैध चल्लासहितकाे ट्रक प्रहरीकाे नियन्त्रणमा

लहान । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । यस्तै प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरस्थित मगरटोलमा चार हजार लिटर कच्चा घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले एक हजार तयारी मदिरा नष्ट गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । रासस

एनएमबी बैंकले लम्जुङ्गकाे जलविद्युत आयोजनामा एक अर्ब १२ करोड लगानी गर्ने

काठमाडौं । एनएमबी बैंकले लम्जुङ्गकाे चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ । आशुतोष इनर्जी प्रा. लि.द्धारा प्रवद्र्धित लम्जुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको उक्त आयोजनामा बैंकले सो मात्राको लगानी गर्न बुधबार एक सम्झौता गरेको छ । ८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ५० करोड रुपैयाँ रहनेछ । जसमध्ये बैकको लगानी कुल एक अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ । यससँगै एनएमबि बैकको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ । चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हँुदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति आगामी २०७८ फागुन ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।

प्रधानमन्त्री ओलीले गरे डेपुटी गभर्नर शिवाकोटीको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ पुस्तक विमोचन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो पुस्तकले समृद्ध नेपालको परिकल्पना कार्यान्वयनको स्पष्ट दिशानिर्देश गरेको बताए । नेपालमा भएका प्राकृर्तिक स्रोत साधनको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सो पुस्तकमा देशको आर्थिक वित्तीय अवस्था, राष्ट्रिय अन्तराष्ट्रिय परिवेश जस्ता विषय सरल ढंगले प्रस्तुत गरिएको ब्याख्या गरे । राष्ट्र बैंकको व्यस्त जागिरको वाबदुत पनि डेपुटी गभर्नरले पुस्तक लेख्न भ्याएको तथा उनका कृति राम्रा र उपयोगी हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आफ्नो समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दै रातारात कुनै पनि काम सम्भव नहुने र विस्तारै परिणाम देखिदै जाने बताए । डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित समृद्ध नेपाल सुखी नेपाली बोलको गीत पनि सो अवसरमा सार्वजनिक गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित पुस्तकले नेपालको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा जानकारी दिन उपयोगी हुने विचार व्यक्त गरे । सो पुस्तकका बारेमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल र आर्थिक पत्रकार गोकर्ण अवस्थीले समीक्षा गरेका थिए ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १६ गतेदेखि शुरू, ११ वटा देश सहभागी हुने

काठमाडौं । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त मेलाकाे सम्पूृर्ण तयारी पूरा भएको जानकारी गराएको हो । ग्रुपले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित दशौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्न लागेकाे हाे । कल्चरल ग्रुपमा अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले निजी क्षेत्रले यति ठूलो कार्यक्रम गर्दैगर्दा पनि सरोकारवाला निकायले भने खासै सहयोगात्मक हात अगाडि नबढाए पनि सांस्कृतिक मेलालाई भव्य रूपमा सम्पन्न गरेर देखाउने अठोट व्यक्त गरे । ‘नवौं अन्तर्राष्ट्रिय मेला भव्य रूपमा सम्पन्न गरेको अनुभवले पनि दशौं मेला अझ भव्य रूपमा सम्पन्न गर्नेछौं’ संयोजक कोइरालाले भने । उनले उद्घाटन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको हलमा हुने पनि जानकारी दिए । मेलामा इन्डोनेसिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपाल गरी ११ देशले सहभागिता जनाउने ग्रुपले जानकारी गराएकाे छ ।