विकासन्युज

हुम्लामा भारी हिमपात

काठमाडौं । हुम्लामा पुन: हिमपात सुरु भएकाे छ । बिहानैबाट आकाशमा बादल लागे पनि अहिले हिमपात सुरु भएको हो। हिमपातसँगै चिसो बढेको छ। हिमपात सुरु भएपछि जमिनमा तीन इन्च हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको बताइएकाे छ । शिवरात्रि भएका कारण बिहान मानिसको चहल पहल शिव मन्दिर जाने बढी भएपनि हिमपात सुरु हुँदा सिमकोट बजारमा मानिसहरुको उपस्थिति निक्कै कम रहेको छ। अग्ला क्षेत्रमा हिमपात बढी भएको छ। वनमा चराउन लगिएका पशुवस्तुहरु पनि हिमपात सुरु भएपछि दिउँसै घरमा ल्याइएको थियो। हुम्ला जिल्ला नवौं पटकको हिमपात हो। गत वर्ष फागुन पहिलो हप्ता ठूलो हिमपात भएको थियो।  

नेपालमा हुने भनिएकाे बिमस्टेक र साफ्टा बैठक कोरोना भाइरसको कारण स्थगित

काठमाडौं । याे वर्ष काठमाडौंमा हुने भनिएकाे बिमस्टेक र साफ्टा बैठक स्थगित हुने भएकाे छ । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएकाे कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित भएकाे जनाइएकाे छ । साफ्टाको बैठक  फेब्रुअरी १९ र २० र बिमस्टेक व्यापार सहजीकरणको बैठक पनि २० फेब्रुअरीमा नै हुने भनिएको थियो ।  बिमस्टेक र साफ्टाले आधिकारिकरूपमा यसबारे केही नबताए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै बैठक स्थगित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्रोतले बताएको छ । बिमस्टेक सचिवालयले माघको अन्तिम साता परराष्ट्र मन्त्रालयलाई पत्र काटेर बैठक स्थगित भएको जानकारी दिएको थियो । सचिवालयले भने यसै साता परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित गर्ने निर्णय सुनाएको छ । बिमस्टेकले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइसकेको छ । साफ्टाले लेखेको पत्र भने मन्त्रालय पुगिसकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले केही दिनमा नै साफ्टाको पत्र पनि आइपुग्ने बताए । बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा आगामी २० फेब्रुअरी २०२० मा काठमाडौंमा आयोजना गर्ने भनिएको वर्कशप फर दी स्टडी अन ट्रेड फ्यासिलेटेसन एजेन्डा फर बिमस्टेक हाललाई स्थगन गरिएको भनिएको छ । उक्त पत्रमा मिति तोकेर मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिएको छ । पहिलो पटक हुन लागेको बिमस्टेकको व्यापार सहजीकरण बैठक स्थगित हुनुको कारण कोरोना भाइरस नै भएको बताइएको छ । साफ्टाको बैठक रोकिनुलाई भने कोरोनाको डरसँग मात्र लिन नहुने मन्त्रालय स्रोत बताउँछ । यसमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिनुलाई समेत एउटा कारण मानिएको छ । यसपटक कोरोनाको कारण बैठक रोकिए पनि यसअघि भारतकै कारण पटक पटक साफ्टाको बैठक रोकिएको थियाे ।

आज रातभर पशुपतिनाथको चारै ढोका खुला हुने

काठमाडौं । आज रातभर दर्शनार्थीका लागि पशुपतिनाथको चारै ढोका खुला हुने भएकाे छ । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेकाेले उक्त व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए । साथै, पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।  उनका अनुसार शुक्रबार दिउँसो २ः३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरकाे दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनमा आएकी रमा शर्मा यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको उनले बताइन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले थपिन् । कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिर्यो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताए । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाइन् । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरेका छन् । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । बिहान आधा घण्टामै दर्शन गरेर फर्केका दर्शनार्थीले दिउँसो भने एक घण्टासम्म समय लागेको बताए । मन्दिर क्षेत्र प्रवेशका लागि मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरीरुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले बताए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको थियो । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड बढ्दै गएको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षा निकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी पाँच हजार स्वयंसेवक पनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ । दुई वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए । बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गर्नुहुने कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ गई पूजा आराधना गर्ने परम्परा प्राचीनकालदेखि चल्दै आएको छ । रासस

जीवननै समाप्त भयो भनेर सोच्नेहरुको पनि उपचार सम्भव बनायौंः रुपेश अधिकारी

काठमाडौं । स्पार्क हेल्थ होम आफ्नो स्थापनाको २७औं  वर्ष पूरा गरी २८ औं  वर्षमा प्रवेश गर्दैछ । सिमित श्रोत साधन र सानो कोठाबाट सुरु भएको यो संस्थाले नेपालमा प्राकृतिक चिकित्सालाई सुरु गरेको थियो । वि.स २०४८ सालबाट निरन्तर सेवा संचालन गरिरहेको छ । २८ वर्षको यो अवधिमा धेरै मानिसले सेवा लिइसकेका छन् । हाल अस्पतालले के कस्ता सेवाहरु दिइरहेको छ ? र सेवाग्राहीको उपस्थिति कस्तो छ भन्ने लगायतका विषयमा आधारित भएर विकासन्यूजकी डोमी शेर्पाले विगत १५ वर्षदेखि कार्यरत स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीसँग कुराकानी गरेकी छन् । प्राकृतिक चिकित्सक पद्धति र फिजियोथेरापी भनेको के हो ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी एक अर्काका परिपुरक हुन् । फिजियोथेरापी पनि स्वतन्त्र किसिमले उपचार गरिने पद्धति हो । फिजियोथेरापीमा एकदमै न्यून औषधिको प्रयोग गरेर उपचार गरिन्छ । यी दुवैमा मानिसलाई हानीरहित उपचार पद्धतिको प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक चिकित्सा पद्धतिमा माटो, पानीबाट उपचार गरिन्छ । व्यायम, मसाज थेरापीबाट उपचार गरिन्छ । यी विभिन्न किसिमको उपचार पद्धतिहरु राखेर फिजियोथेरापीले प्राकृतिक चिकित्सा पद्धतिले फरक तरिकाले उपचार गरिन्छ । कुन–कुन स्थानमा हाल स्पार्कले सेवा दिदैँछ ? काठमाडौंमा मात्र स्पार्क हेल्थ होमको सतुंगल, चाबाहिल, सुर्यबिनायक र सोल्टीमोडमा गरेर ४ वटा शाखा रहेका छन् । सोल्टीमोडमा यसको प्रमुख कार्यलय रहेको छ । काठमाडौंबाहिर विराटनगर, बिर्तामोड, धरान, कास्की र दमौलीबाट यसले सेवा दिँदै आएको छ ।  यहाँहरुले प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापीबाट हुने उपचार  गर्नु पर्छ भन्ने मनासाय कसरी बनाउनु भयाे ? यो संस्था सुरुमा योग तथा प्राकर्तिक अनुसन्धानको रुपमा सुरु भएको थियो । अध्यक्ष टंकनाथ पौडेल, प्रबन्ध निर्देशक हरिशरण रिजाल र ईन्चार्ज संगिता श्रेष्ठले संस्थाको सुरुवात गरेका थिए । जुन उद्धेश्यले सुरुवात भएको थियो त्यही अनुरुप अगाडि बढाइरहेका  छौं । कस्तो रोग लागेको मानिसलाई यो उपचारको पद्धतिबाट सञ्चो हुन्छ ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी हुने उपचार धेरै किसिमको हुने गरेको छ । विशेष गरेर हाल अस्पतालको सेवामा मानिसहरुले नर्सने रोगहरु जस्तै प्यारालाईसिस,   पक्षघात, हाडजोर्नी, नशाका समस्या, हड्डी खिइने, युरिक ऐसिड, पेटसँग सम्बन्धित विभिन्न समस्याहरु, स्पोर्टस ईन्ज्युरीको रिहाबिलिटेसनका प्याकेजहरु सबैभन्दा बढि रुचाएका छन् । उनीहरुले यो पद्धतिबाट उपचार गराएपछि सञ्चो भएका छन् । तपाईले एकदमै सम्झन लायक केसहरु केही छन्, जसको उपचार यहाँ आएपछि मात्र सम्भव भयो ? त्यस्ता केसहरु धेरै ने छन् । हामीले लगभग एक वर्षमा ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिन्छौं । त्यसमा ९० प्रतिशत सेवाग्राही हामीबाट सन्तुष्ट छन् । कहिले उठेर हिँड्न नसकेर आएका मानिसहरु हिँडेर गएका छन् । जिवन नै समाप्त भयो भनेका मानिसहरु हाँसी खुसी घर फर्किएका छन् । अन्य प्राकृतिक उपचार पद्धतिबाट सेवा दिने अस्पतालहरुको दाँजोमा तपाईहरु कहाँ हुनुहुन्छ? पछिल्ला समय चिकित्सा पद्धतिबाट उपचार गर्ने  संस्था खोल्न बाढी नै आए जस्तो भएको छ । हामीसँग रजिस्टर्ड प्राविधिक, चिकित्सक, कर्मचारीको राम्रो टिम छ । राम्रो वातवरण, राम्रो उपकरणहरुको प्रयोग गर्दै हामीले सेवा दिइरहेका छौं । विभिन्न देशबाट यही विषयमा मास्टर्स सिध्याएर आएका एकदमै पोख्त चिकित्सकहरु एकै छानामुनि रहेको कारण हामी अन्यको दाँजोमा धेरै माथि छौं । हामी सरह पनि केही संस्थाहरु हुनुुहुन्छ । त्यही पनि फिजियोथेरापी पद्धतिमा सबैभन्दा धेरै कर्मचारी, पुर्वाधार र लगानीको कारणमा नेपालकै नम्बर एक र सबैभन्दा पहिला रजिस्टर्ड संस्थामा पर्दछौं । अगामी दिनमा के गर्ने योेजना छ ? आगामी दिनमा हामीले अत्याधिक व्यस्त रहेका मानिसहरुलाई केन्द्रित गर्दै आउँदो बैशाखबाट डिलक्स उपचारको सेवा सुरु गर्ने भएका छौं । यस अन्तगर्त अति व्यस्त रहने मानिसले अपाेइमन्६ जुन पनि समयमा सेवा लिन पाउनेछन् । यस्तै स्पा थेरापी भनेर भिन्नै स्पाका प्याकेजमाहरु हामी ल्याउँदैछौं । प्राकृतिक चिकित्सा र अकुपन्चर जियोथेरापीलाई सिटिइभिटी सँग समन्वय गरेर त्यसका कक्षाहरु संचालन गर्न तयारी गर्दैछौं । काठमाडौंमा  थप शाखा  विस्तार गर्नलाई ठाउँहरु हेर्दैछौं । यो सेवालाई अझ व्यवस्थित किसिमले संचालन गर्न ऐलोपेथी, आर्युवेदका विज्ञहरु, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागहरुसँग समन्वय गर्न र सर–सल्लाह लिने र वृहत तयारीमा छौं ।

प्रतिकूल मौसमले अधिकांश हवाई उडान अवरुद्ध

काठमाडाैं । प्रतिकूल मौसमका कारण शुक्रबार मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँ विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ । विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी भएको छैन । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार मौसममा आएको खराबीले खासगरी हिाली र पहाडी क्षेत्रका विमानस्थल तथा तराईका केही विमानस्थमा उडान सञ्चालनमा कठिनाइ भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा २९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अहिले काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ । आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम नौ दशमलव छ र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस

बागलुङ्गमा मोटरहेडकाे नयाँ शोरुम, विभिन्न ५ मोडलका बाइक पाइने

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेडले बागलुङ्गमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन प्रमुख अतिथि झपेन्द्र बहादुर जि.सी. र कम्पनीका बिजनेश डेभलपमेन्ट हेड साइमन रसाईलीले संयुक्त रुपमा गरेका हुन् । राजेश जि.सी.को स्वामित्वमा रहेको उक्त ‘सावित्री अटोमोबाईल डिलरसिप’ मा मोटरहेड कम्पनीका सबै प्रकारका मोडेलहरु उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यस शोरुममा हाल ५ थरी मोडेलका मोटरसाईकलहरु उपलब्ध रहेको छ । जसमा १५० सीसीदेखि २५० सीसीसम्म रहेको सावित्री अटोमोबाइल्सका सञ्चालक राजेश जि.सी.ले जानकारी दिएका छन् । नेपाली भौगोलिक बनावटलाई लक्षित गर्दै बनाइएको उक्त मोटरसाईकलहरुले न्यूनतम मूल्यमा ग्राहकहरुको चाहनालाई पूरा गरिरहेको मोटरहेड ब्राण्डका विजनेश डेभलपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।

विद्युतीय बसमा यात्रुको आकर्षण बढ्दाे, छिट्टै नै थप २५ बस ल्याउने तयारीमा सुन्दर यातायात

काठमाडाैं । सुन्दर यातायात प्रालीले काठमाडौँ उपत्यकामा सञ्चालन गरिरहेको विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको पाइएको छ । चक्रपथका रुटमा दैनिक धेरै सङ्ख्यामा सवारीसाधन गुड्ने भए पनि यात्रु यही बस कुरेर चढ्ने गरेको पाइएको हो । डिजेलबाट चल्ने गाडीभन्दा यसमा यात्रा आरामदायी हुने यात्रु बताउँछन् । विशेष गरी युवापुस्ता कुरेर पनि विद्युतीय बस चढ्ने गरेको पाइएको प्रालीले जनाएको छ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन शुरु गरेको सुन्दर यातायातले छिट्टै नै थप २५ बस ल्याउने भएको छ । बसमा यात्रुको आकर्षण बढिरहेको प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताए । यात्रुको आकर्षण बढिरहेकै कारण र डिजेलभन्दा विद्युतीय बसमा नाफा हुँदा बस थप गर्ने प्रालीले जनाएको छ । चीनबाट खरिद गर्न लागिएको बसका लागि रकम भुक्तानी भइसके पनि उसले पछिल्लो दिनमा सामान निर्यात नगर्दा बस आउन नसकेको हो । गत भदौमा नै रकम भुक्तानी भइसकेको प्रालीका अध्यक्ष थापाले बताए । उनले भने, “कम्पनीले बस निर्माण गरिसकेकाले समस्या हल हुनासाथ आउनेछ ।” गत असोजमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका थिए । ती चारै वटा बस हाल चक्रपथमा गुडिरहेका छन् । डिजेलबाट चल्ने बसभन्दा यी बसमा औसत रु दैनिक तीनदेखि चार हजार बढी नाफा हुन्छ । डिजेलबाट चल्ने गाडीले दैनिक झण्डै रु चार हजारदेखि चार हजार ५०० सम्मको पेट्रोलियम पदार्थमा खर्च हुन्छ । विद्युतीय बस चार्ज गर्दा दैनिक ९०० देखि एक हजार १०० सम्म खर्च हुने थापाले बताए । उनले भने, “कर्मचारीलाई तलबलगायतका कुरामा बराबर खर्च भए पनि डिजेल नचाहिँदा सञ्चालन खर्च कम लाग्छ ।” बस सञ्चालन खर्च कम हुने भन्दै प्रालीले पहिलो चार महिनामा यात्रुलाई भाडामा छुट दिएको थियो । प्रालीले २० प्रतिशत भाडा कम लिने गरेकामा अरु यातायात व्यवसायी र यातायात व्यवस्था विभागले हालका लागि बराबर नै लिन भनेको अध्यक्ष थापाले बताए । हाल भाडाका लागि कुनै मापदण्ड नभएको भन्दै विभागले बराबर लिन भनेको हो । उनले भने, “कतिपय यात्रुले भाडा कतै बढी कतै कम भनेकाले पनि एउटै बनाउन डेढ महिना पहिलेबाट अरुले लिने जतिकै लिइरहेको हो ।” अहिले सञ्चालन भएका र निर्माण भइरहेका बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेको अध्यक्ष थापा बताउँछन् । युरोपमा चल्ने जस्तो बस हुँदा यहाँको सडकमा उपयुक्त नहुने भन्दै यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उनले बताए । बस काठमाडौँका अहिलेको सडकमा गुड्न उपयुक्त रहेका छन् । कतिपयले सडक खाल्डाखुल्डी हुँदा वा उकालो हुँदा गुड्न कठिन हुने भने पनि त्यसले समस्या नभएको बताउँछन्। ब्याट्रीमा पानी पर्नसक्ने अवस्थामा मात्रै समस्या आउनसक्ने उनले जानकारी दिए । उनले भने, “सडकमा पानीको मात्रा धेरै हुँदा डिजेलबाट चढ्ने गाडीको इञ्जिनमा समस्या पर्छ भने विद्युतीय बसको ब्याट्रीमा समस्या आउँछ ।” सञ्चालनमा रहेका र आगामी दिनमा भित्रने बस आधुनिक र सुविधासम्पन्न रहेको बताइएको छ । बसमा तीन वटा ‘एयर कन्डिसन’, सात वटा ‘सिसिटिभी’ रहेको थापाले बताउनुभयो । बसमा भाडा तिर्दा मोबाइलबाट समेत तिर्नसक्ने व्यवस्था रहेको छ । उनले भने, “यात्रुले बसबाट झर्दा बिल पाउने र उक्त बिलमा यात्रु चढेको र झरेको समेत उल्लेख हुनेछ ।” अहिले सञ्चालनमा रहेका बस ४० र ३५ सिट क्षमताका छन् । १० दशमलव ५ मिटरको ४० सिट क्षमता भएको बसको खरिद मूल्य रु एक करोड ६२ लाख रहेको छ । त्यस्तै ३५ सिट क्षमता भएको बसको लम्बाई आठ दशमलव पाँच मिटर र खरिद मूल्य ५२ लाख रहेको छ । यी बसहरु एक पटक पूरै चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ । तीन सय बस खरिद प्रक्रिया अघि बढेन विद्युतीय बस सञ्चालनमा निजी क्षेत्रको अघि सरिरहे पनि सरकारी बस खरिद प्रक्रिया अन्योलमा छ । सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएको ३०० बसको प्रक्रिया अघि बढ्न नसकेपछि सरकारले सो रकम फिर्ता लिएको छ । सो रकमले सरकार आफैँले बस किन्ने वा अरु संस्थालाई दिने भनी टुङ्गो लाग्न सकेको छैन । वाग्मती प्रदेश सरकारले पनि बस खरिदका लागि साझालाई दिने भनिएको रु ३० करोड नदिने निर्णय गरिसकेको छ । विद्युतीय बस खरिदका लागि तीनै तहका सरकारले निर्णय गरेका थिए । यसका लागि नेपाल सरकारले रु तीन अर्ब, प्रदेश ३ ले रु ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाखको शेयर खरिद गरेका थिए । रासस

महिलाद्वारा महिला माथि हुने दमन ८० प्रतिशत, कर्पोरेट सिँढी चढ्न महिला नै बाधक

काठमाडाैं । कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएकाे छ । संस्थाले सन् २०१७ मा गरेको अध्ययनले साे कुरा बताएकाे हाे । उक्त अध्ययनले कार्यालयभित्र दुई तिहाइ (३० प्रतिशत) महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसैगरी, सन् २००६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ ले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत पूरुष कर्मचारीहरु बुलिईङ्ग क्रियाकलापमा संलग्न भएको र उनीहरुको शिकार महिला कर्मचारी भएता पनि यस्ता क्रियाकलापमा संलग्न महिलाहरुको संख्या पनि कम नभएको र उनीहरुको प्रत्यक्ष शिकार आफूभन्दा तल्लो तह र तप्काका महिला सहकर्मीहरु नै हुने गरेको देखाएका छन् । ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप जस्ता अभियानले सामाजिक विकास तथा संसारभरका महिलालाई एकतावद्ध गराउने लहरको थालनी गरेको छ । त्यसो त विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला कर्मचारी तथा व्यवसायिक व्यक्तित्वहरुले पूरुष सहकर्मीबाट खेप्नुपरेको यौन हिंसा, अश्लिल छेडछाड तथा अन्य विविध स्वरुपका शाेषणबारे खुलेर बोल्न थालेता पनि महिलाद्धारा महिला कर्मचारीहरुमाथि हुने शाेषण र दमनबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन । हालसालै प्रकाशित एक जर्नलले त ७० प्रतिशत जति महिला अधिकृतहरुले कायस्थलमा अन्य महिला कर्मचारीहरुद्धारा कुनै न कुनै रुपमा शोषण, हिंसा, दमन तथा थिचोमिचो झेलिरहेको र सोहि कारण पीडित महिलाहरुले यथोचित रुपमा ‘प्रोफेसनल ग्रोथ’ हासिल गर्न नसकिरहेको डरलाग्दो तथ्य उजागर गरको छ । आफ्ना पुरुष सहकर्मीहरुसँग बराबरीको हैसियत हासिल गर्न तथा समानरुपमा अधिकार एवं शक्तिको अभ्यास गर्नका लागि महिलाहरुले दशकाैंदेखि संघर्ष गरिरहेता पनि यस्ता संघर्षहरुले सोहि अनुरुपको चुनौती ल्याउने गरेको फोब्र्सले जनाएको छ । ‘कार्यालयमा उँचो स्थान हासिल गर्न सफल महिला कर्मचारीहरुले प्रायजसो सो वातावरणमा टिकिराख्न र आफूलाई जोगाइराख्न थप आक्रामक नेतृत्वको शैलीको अवलम्बन गर्दछन्,’ यस्तो आक्रामक नेतृत्व शैलीलाई टक्सिक मास्कुलिनीटी (हानिकारक पुरुषत्व) नाम दिएको फोब्रसले अगाडी लेखेको छ । के हो टक्सिक मास्कुलिनीटी ? अमेरिकी मानव संशाधन व्यवस्थापक ऐञ्जिलिक हेमिल्टनले सफलरुपमा नेतृत्व प्रदान गर्न जब महिला कर्मचारी, सुपरिवेक्षक वा व्यवस्थापकहरुले आफ्ना समान तहका पूरुष कर्मचारीहरुको व्यवहारको सिको गर्ने प्रवृत्ति नै टक्सिक मास्कुलिनीटी भएको बताएकी छिन् । शुरु-शुरुमा आफूलाई कडारुपमा प्रस्तुत गर्नका लागि टक्सिक मास्कुलिनीटीको आचरण अंगिकार गरेतापनि यो अन्तत नेतृत्वको नकारात्मक शैलीको रुपमा विकसित हुन्छ । कन्फ्लिक्ट रिजोलुसन सेन्टरकी संस्थापक बिना पटेलका अनुसार महिलाहरुले उपल्लो दर्जाका नेतृत्वकर्ताहरुको नजरमा टिकिराख्नका लागि उनीहरुको वास्तविक भावनात्मक अवस्थालाई त्याग्ने गर्दछन् । अझ यदि उनीहरु काम वा पदमा नयाँ भर्ती भएका हुन् भने सो कार्यस्थल संस्कृतिमा उपयुक्त हुनका लागि जस्तोसुकै आवश्यक कदम पनि लिन सक्छन् । नरम र मिलनसार हुँदा अरुले हेप्ने र असक्षम देखिने सोचका कारण आफ्नो भावनात्मक बौद्धिकतालाई कम गरी टक्सिक महिलाहरुले अधिकरुपमा कठोर पूरुषको स्वभाव अनुशरण गर्दछन् । माइरुफपाल नामक एक अमेरिकी कम्पनीको संचालन प्रमुख कोवोर्टनी केनेले पूरुष सहकर्मीहरुसँग आफ्नो तालमेल मिलाइराख्न महिला कर्मचारीहरुलाई थप आक्रामक र निर्मम व्यवहार देखाउन दबाब परिरहेको हुन्छ जसको कारण उनीहरु नारीजन्य स्वभावको प्रदर्शनको कारण आफूबाट अरुले लाभ लिने वा आफूलाई अन्य कर्मचारीहरुले हलुका रुपमा लिने गलत सोचको शिकार हुन पुग्दछन् । एक अध्ययनअनुसार कार्यालय वा संस्थामा मध्य तहसम्म पुगेका महिला अधिकृत तथा व्यवस्थापकहरु अझ माथिल्लो स्थानमा उक्लने लक्ष्य राख्दछन् र सोक्रममा उनीहरुले आफू अन्य महिला कर्मचारीहरुभन्दा कडा र सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । उनीहरुले कर्पोरेट सिँढी चढ्न असफल अन्य महिला कर्मचारीहरु भन्दा आफूलाई गतिशिल, सफल र सर्वोच्च मान्न थाल्छन् । टक्सिक मास्कुलिनीटीको स्वरुप कस्तो हुन्छ ? खासमा संस्था तथा कार्यालयप्रतिको उनीहरुको नियत सफा र सकारात्मक भएता पनि आफूभित्र भएको शंसय तथा असुरक्षाको कारण यस्ता महिलाहरु टक्सिक लिडर (हासिनकार नेतृत्वकर्ता) हुन पुग्छन् । आफूभन्दा तल्लो तहका अन्य महिला कर्मचारीहरुलाई सघाउन वा सशक्त बनाउनतर्फ लाग्नुको सट्टा उनीहरुले ती कमजोर कर्मचारीहरुलाई आफ्नो निशाना बनाउने गर्दछन् । सोउलस्टाइस कन्सलट्यान्सिका संस्थापक डक्टर फ्रउजा बुकरका अनुसार यस्तो टक्सिक वोमनले कुरा गर्दा अन्य महिला कर्मचारीहरुको अवमूल्यन र आफ्नो बढावा गर्नु सामान्य कुरा हो । उनको भूतपूर्व फिमेल बोसले ‘आफूले गर्न बाँकी (महत्वपूर्ण) काम केहि नरहेको र आफूजस्तो क्षमतावान कोहि नभएको’ बताउने गरेको उनी सम्झिन्छन् । फोब्रसका अनुसार भिन्न मत तथा रायलाई ठाडै अस्विकार गर्नु, आफू अगाडी बढ्न कार्यालयभित्र फोहोरी राजनीतिक खेल खेल्नु र कसैस“ग पनि झुक्न वा माफी माग्न नपर्ने सोच पाल्नु टक्सिक वोमनका केहि चरित्रहरु हुन् । जसको परिणामस्वरुप उनीहरुले अन्य महिला कर्मचारीहरुलाई समूहबाट अलग्याउने, उनीहरुको कामको जिम्मेवारीलाई विना कारण नै अत्याधिकरुपमा बढाइदिने वा घटाइदिने, कार्यालयजन्य वा कामबारेको सूचना नियोजित ढंगबाट लुकाउने वा गलत सूचना प्रवाह गर्ने लगायत समग्र कार्यालयको माहोलमा नकारात्मक असर पर्ने खालको गलत अभ्यासहरु थाल्दछन् । संस्थाको माथिल्लो तहको पदसम्मको यात्रामा यस्ता टक्सिक महिला नेतृहरुले कामप्रति प्रतिवद्ध छु भनेर प्रमाणित गर्ने क्रममा आफ्नो वर्क-लाइफ सन्तुलनलाई बिगार्दछन् । उनीहरु सप्ताहन्त, छुट्टी मनाउँदा वा यति सम्म कि सुत्केरी बिदामा बस्दा पनि काममै सक्रिय भैरहेका हुन्छन् । यसैगरी, उनीहरुले अन्य महिला कर्मचारीहरुमाथि पनि ‘मात्र काम गर्नका लागि बाँच’ भन्ने नीति लाद्छन् र जसले सो गर्न चुक्छ, उनीहरुलाई दण्डित पनि गर्दछन् । आफूभन्दा माथिका  व्यवस्थापहरुका लागि टक्सिक वोमनले कामप्रति देखाएको लगाव तारिफयोग्य हुनसक्ला तर बास्तविकता के हो भने यो उनीहरुको अरुमाथि नियन्त्रण गर्ने सोच र समूहमाथिको विश्वासको अभावको प्रतिविम्ब हो । किन महिलाहरु एक अर्काको खेदो खन्न तल्लीन छन् ? कार्यालयभित्र महिलाहरुले आफूजस्तै महिलाहरुको कारण त्रसित एवं असुरक्षित महसुस गरेका कारण उनीहरु एकअर्का बिरुद्ध खनिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा भएको सबैभन्दा ठूलो डर भनेको कतै मैले हासिल गर्न खोजेको कुर्सी वा पद अरु महिला कर्मचारीहरुले हात पार्ने त हैन भन्ने सोच हो । सबैजनासँगै मिलेर संस्थाको उद्देश्य हासिल गर्न तर्फ लाग्नुपर्नेमा टक्सिक महिलाहरु अरु महिलाहरुलाई प्रतिद्वन्दि मानी उनीहरु विरुद्धको काम थाल्दछन् । मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्ने टक्सिक नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो । ‘सबैभन्दा खतरनाक कुरा के हो भने जब महिलाहरुले आफूलाई अन्य महिला सहकर्मीहरुभन्दा नीच सोच्दछन् अथवा त्रसित महसुस गर्छन्, त्यस्तो अवस्थामा उनीहरुले जस्तोसुकै क्रुर र हानिकारक काम गर्न पनि पछि पर्दैनन् ।’ सम्थिङ्ग मेजर नामक संस्थाका निर्देशक राण्डि ब्राउनले बताए । अध्ययनहरुले धेरै नै संख्यामा र छिटोछिटो महिला कर्मचारीहरुले जागिर छाड्ने गरेको बहुसंख्यक कार्यालयहरुमा महिला नै निर्णायक वा प्रमुख तहको कर्मचारी भएको पाइएको देखाएका छन् । अरुलाई शोषण गर्न शक्तिको दुरुपयोग गर्ने टक्सिक वोमनबाट अरुले पनि नेतृत्वमा बसेर काम गर्ने हो भने आफूहरु पनि त्यसैगरी कठोर हुनुपर्छ भनेर सोच्न थाल्दछन् जसले भविष्यमा टक्सिक लिडरहरुको संख्यामा उल्लेख्य वृद्धि ल्याउनेछ । सामना गर्ने उपायहरु लैङ्गकिताको बाबजुत मनमा सबैप्रति सद्भाव र माया भएको व्यवस्थापकसँग सुरक्षित, सम्मानजनक, स्वस्थ र उत्साहजनक वातारणमा काम गर्न पाउने अधिकार सबैमा निहित हुन्छ । परिस्थिती झन् बिग्रने डरका कारण शोषण वा थिचोमिचोको शिकार भएका असंख्य पीडितहरुले आफ्नो अवस्थाबारे खुलेर कुरा गर्न सकिरहेका छैनन् । यस्तो मौनताले कार्यालयभित्रको बुलिईङ्गको संस्कारलाई झन् संस्थागत गर्न सघाउँदछ । यदि आफू अरु महिला कर्मचारीहरुका कारण अनावश्यक रुपमा समस्यामा परेको छु भन्ने लाग्छ भने सो अवस्थामा ‘सबैलाई यस्तै त हो नि’ भनेर सहेरै बस्नुभन्दा पनि आफूमाथि किन अन्याय भइरहेको छ भनेर सोधीखोजी गर्न थाल्नु पर्दछ । यदि यसका लागि तपाईं एक्लै तयार हुनुहुन्न भने पिडामा पारिएका अन्य सहकर्मीहरुसँग मिलेर समूहको गठन गर्न सक्नुहुन्छ जसले तपाईंहरुको आवाज बुलन्द गर्न र कार्यालयभित्र सुमधुर वातावरणको निर्माण गर्न पनि सहयोग गर्दछ । बुलिईङ्गको घटनालाई रोक्न वा कम्तिमा कम गर्न प्रमाणहरुको संग्रह गर्नुपर्दछ जसमा घटनाको सकेसम्म सबै विवरण हुनुपर्दछ । उदाहरणको लागि, कसले, कसलाई, किन, केका लागि, कसरी, कुन अवस्था र परिस्थितीमा बुलिईङ्ग गर्यो र यदि सोको कोहि प्रत्यक्षदर्शी थिए भने उनीहरुको नाम पनि उल्लेख गर्ने । प्रमाणको यस्तो संग्रहलाई अरु कसैले नदेख्ने वा नभेट्ने गरी गोप्य तरिकाले राख्ने जुन भोली कम्पनीको मानव शंसाधन प्रमुख, कम्पनी प्रमुख वा बोर्डका अध्यक्ष लगायतलाई पेश गरी न्याय पाउन सकिन्छ । आफूमाथि किन शोषण भइरहेको छ भनेर बुझ्नु पनि फाइदाजनक हुन्छ । हुनत जुनसुकै बहानामा गरिएको भएता पनि बुलिईङ्ग पूर्णत गलत कार्य हो । तर कहिलेकाही आफूले यथोचित कार्यसम्पादन गर्न नसकेको र सो कुरा सिधै नभनेर वा भन्न नसकेर कतै तपाईंको टक्सिक नेतृले तपाईंलाई बुलिईङ्ग गरिरहेकी त छैनन्, सो बुझ्न सक्नुभयो भने आफ्नो सम्पादनलाई सुधार गरी तपाईं शोषणबाट जोगिन पनि सक्नुहुन्छ । सबै उपायहरुले काम नगरेको अवस्थामा तपाईंले कम्पनीका प्रमुख वा बोर्ड अध्यक्ष सामू उजुरी हाल्न सक्नुहुन्छ । तर सो अवस्थामा फेरी पनि टक्सिक लिडरले तपाईंस“ग बदला लिने प्रयास गरेका छन् भने तपाईंले कानूनी उपचारको साहार लिनुपर्दछ ।