विकासन्युज

घरमै बसेर १ सय ४५ देशका नागरिकलाई पढाउने ‘ग्लोकल टिन हिरो’ समिरको कथा

काठमाडौं । यो सूचना प्रविधिको युग हो । दिनप्रतिदिन बढ्दै गएको सूचना प्रविधिको विकास सँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुँदै गएको छ । सूचना प्रविधिको सही सदुपयोग गरे सफल र धेरै ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मोरङका समिर फुयाँल । समिर फुयाँल ग्लोकल टिन हिरो हुन् । यही सूचना प्रविधिको सही सदुपयोग, जिज्ञासु र सूना प्रविधिमा उच्चतम ज्ञान भएकै कारण उनी २०१९ को ग्लोकल टिन हिरो बने । सरल, नम्र र जिज्ञासु स्वभावका समिरको प्रविधि तथा विज्ञान सम्बन्धिको उत्सुकता, कामप्रतिको रुचि, र काममा निरन्तरताले उनी हाल एक प्रख्यात सफ्ट डिजाइनर वा डेभलपर्सका नामले परिचित छन् । समिरले जीवनमा धेरै काम गर्न बाँकी नै छ । उनी भर्खर कक्षा १२ मा पढ्दैछन् । तर, धेरेले पत्याउँदैनन् की उनी कक्षा १२ मा पढ्छन् । उनी अहिले १८ वर्षका भए । भनिन्छ नी–‘भगवानले एउटा–एउटा गुण सबैलाई दिएको हुन्छ’, तर त्यो गुणलाई जिवित राख्नु वा त्यसलाई फलाउनु फुकाउनु भने स्वयमं व्यक्तिको हातको कुरा हो । यस्तै, आफुलाई पनि भगवानले एउटा गुण दिएको हुन सक्ने समिर बताउँछन् । उनी सानैदेखि सूचना तथा प्रविधिमा रुचि राख्ने स्वभावको भएको बताउँछन् । ‘म कक्षा आठमा पढ्थेँ, त्यतिखेर मलाई माईक्रोसफ्ट वर्ड र फोटोसपप्रति एकदमै रुचि लाग्यो, कक्षामा पढे अनुसार नै काम गर्न व्यवहारमा उतार्न थालेँ’, उनले भने । कक्षामा जब शिक्षकले सूचना प्रविधिको बारेमा सिकाउँथे आफु धेरै उत्सुकता जनाएर पढ्ने उनी बताउँछन् । दिन बित्दै गए । त्यो दिन समिरलाई अझैँ याद आउँछ । शिक्षकले कक्षामा प्रोग्रामिङको बारेमा पढाउँदै थिए, यो कुरा तिमीहरुलाई काम लाग्दैन, अर्को पाठ पढौं भने । सूचना प्रविधि र प्रोग्रामिङको बारेमा जान्न एकदमै उत्सुक समिरलाई भने रमाइलो लाग्यो त्यो कुराले । उनी झन उत्सुक भए । नपढ्ने चिज भए त किन किताबमा समावेश गरेको ? उनले त्यो पाठ झन उत्सुक भएर पढेको बताए । उनले त्यो पाठ पढेर प्रोग्रामिङ सम्बन्धि धेरै कुरा सिके । गाउँघरमा कतै पनि कम्प्युटर इन्स्टिच्युट थिएनन् । यसले पनि उनलाई समस्या पारिरहेको थियो । उनले किताब पढेरै धेरै कुराको ज्ञान भयो । अब उनले किताब पढेर मात्र भएन । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्ने अठोट गरे । कक्षा ९मा पढ्दापढ्दै उनले यूटुव र वेबसाइटबाट नै ज्ञान हासिल गर्न सुरु गरे । उनका साथीहरु कम्प्युटरमा गेम खेलेर समय बिताउँथे । आफु भने वेभ डेभलेपमेन्टका कोर्षहरु सिक्दै बस्ने उनी बताउँछन् । त्यही इन्टरनेट समिरको जीवनका लागि एक किसिमको टर्निङ प्वोइन्ट बन्यो । गर्दै–सिक्दै जाँदा उनी प्रोग्रामिङमा दख्खल राख्न थाले । धेरै दक्ष पनि बने । त्यही दख्खलताले उनी २०१९ को ग्लोकल टिन हिरो पनि बने । र, त्यही निरन्तरता र कामप्रतिको जिम्मेवारी बोधले उनी हाल एक शिक्षकको रुपमा चिनिएका छन् । उनी हाल विभिन्न स्थानिय कम्पनीहरुको वेभसाइट बनाउनको साथै विभिन्न एप्सहरु निर्माण गर्दैछन् । उनले अनलाइन विज्ञापन मञ्चको रुपमा ‘नयाँ किनमेल डट कम’ वेभसाइट सुरु गरेका छन् । विज्ञापनलाई डिजिटाइज गरी खरिदकर्ता र बिक्रेताबिचको दुरिलाई घटाउने उद्धेश्यले अनलाईन मन्चको सुरुवात गरेको उनी बताउँछन् । समिर फुयाँले श्रेय पाउने अर्को ठूलो कुरा छ । त्यो हो अनलाइन शिक्षण । उनी हाल अनलाइनमार्फत नै १ सय ४५ देशका १३ हजारभन्दा बढि मानिसहरुलाई युडेमि एपको मार्फत डिज्याङ्गो कोर्ष सिकाउँदै आएका छन् । उनी वेभ एप्लिकेसन कोर्षको बारेमा सरल रुपमा अनलाइनमार्फत ती मानिसहरुलाई सिकाउँदै आएको बताउँछन् । उनी सबैलाई सशुल्क पढाउँछन् । प्रति कोर्षको ९.९९ डलरको हिसाबले पढाउने गरेको उनी बताउँछन् । समिरले धेरै एप्स पनि निर्माण गरेका छन् । समिरले कक्षा १२का विद्यार्थीहरुको लागि म्याजिक अफ बोर्डसको सारांश र प्रश्न उत्तरको एप्स पनि बनाएका छन् । उनी सूचना प्रविधिको प्रयोगलाई बढाई युटुवमा पनि सक्रिय छन् । यसका साथै उनी हालै  आइसीटी ज्ञान (ICT Gyan)नाम गरेको युट्युबमा च्यानल चलाईरहेका छन् । उनी त्यसमा नेपाली भाषामा वेभ डेभलपमेन्ट र प्रोग्रामिङका कोर्ष सिकाउँछन् । उनी हाल पनि मोरङमै बस्छन् । काठमाडौंमा भन्दा बाहिर बसेको कारण अवसरहरु कम आउने समिर बताउँछन् । त्यसैले उनी काठमाडौमां आउने सोच बनाइरहेका छन् । भविश्यमा टेक्नोलोजिको क्षेत्रमा राम्रो योगदान दिने चाहना समिरको छ ।

ठेकेदारको लापरबाहीका कारण अधिकांश निर्माण अधुरै, ९६ भवन अलपत्र अवस्थामा

सुर्खेत । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का विसं २०६८ मा जिएम कन्स्ट्रक्शनले पाएको थियो । विसं २०७० असार मसान्तसम्म निर्माण पूरा गर्ने कार्यादेश पाएको कन्स्ट्रक्शनले निर्धारित समयमा काम सकेन । सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्ततः उक्त ठेक्का रद्द गर्दै नयाँ बोलपत्र गर्न बाध्य भयो । भवन निर्माण ढिलाइले बिरामीको उपचारसहित अन्य प्रशासनिक काम कर्मचारी आवासगृहबाटै भइरहेका छन् । कटकुवाजस्तै कर्णालीका सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र रुकुम पश्चिममा ठेकेदारको लापरवाहीका कारण दर्जनौँ स्थानमा स्वास्थ्य चौकीका भवन अलपत्र छन् । जिएम कन्स्ट्रक्शनले मात्रै ठेक्का लिएका छ स्वास्थ्य चौकी अधुरै छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइले ती सबै ठेक्का रद्द गर्दै नयाँ ठेक्काबाट काम अघि बढाएको छ । कतिपय ठेकेदार तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण सम्पन्न नगरी सम्पर्कविहीन छन् । एकाइका इञ्जिनीयर गोकर्ण थापाले ठेक्का लिने र अधुरै छाड्ने समस्याले निर्धारित मितिमै भवन निर्माण हुन नसकेको बताए । ‘एउटै ठेकेदारले घटाघट प्रक्रियाबाट धेरै ठेक्का लिने चलन छ, यसो गर्दा ठेकेदार घाटामा जाँदा ठेक्का अलपत्र छोड्ने गर्छन्, पुनः ठेक्का आह्वान गर्ने प्रक्रियाका कारण ढिलाइ हुन्छ’, उनले भने, ‘ठेक्का लिने तर काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिसकेका छौँ ।’ इञ्जिनीयर थापाका अनुसार कर्णालीमा ९६ भवन निर्माण ढिलाइले अलपत्र अवस्थामा छन् । सुर्खेतमा २२, दैलेखमा १३, जाजरकोटमा सात, सल्यानमा चार, डोल्पामा आठ, जुम्लामा १०, कालिकोटमा ११, मुगुमा आठ, रुकुमपश्चिममा पाँच र हुम्लामा आठ भवन रहेका छन् । तीमध्ये अधिकांश भवन स्वास्थ्यका छन् । अधिकांश भवनको पुरानो ठेक्का तोडेर नयाँ ठेक्का दिएकाले आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको छ । औषधि उपचार अभावमा वर्षेनी मातृशिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो । सोही नीतिअनुसार स्वास्थ्य विभागले स्वास्थ्य चौकी भवन निर्माणको योजना अघि बढाएको हो । ठेकेदारको लापरवाहीले प्रदेश राजधानीकै स्वास्थ्य चौकी निर्माण समयमै नहुँदा त्यहाँ पुग्ने बिरामीलाई खुला चौरमा जाँच गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य संस्थाका भवन समयमै नबन्दा अन्य बिरामीसँगै गर्भवती तथा सुत्केरीले अझ बढी समस्या भोग्नुपरेको छ । रासस

खानेपानी टेक्निसियन चित्रबहादुर केसी २ लाख घुससहित पक्राउ

काठमाडौं । सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाको तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा केसीलाई नियन्त्रणमा लिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर केसीलाई घुस बापत २ लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम सहित मदानीचौरस्थित उन्नती टोलबाट बिहीबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कालीगण्डकी जलविद्युतगृह मर्मतका लागि ३ दिन २० घण्टा बन्द

काठमाण्डाैं। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो । दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार (१२ फागुन) साँझ पाँच बजेसम्म बन्द रहने प्राधिकरणले जानकारी दिएको छ । स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८/४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ । देशकै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको बताए । ‘विदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले विदाको दिन पारेर मर्मत गर्दैछौंैं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युतगृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरेका छौं, तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ’, उनले भने । बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । त्यसपछि मर्मत सुरु हुने र सोमबार साँझ ५ बजेभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४ सै घण्टा काम भइरहेको गौतमको भनाइ छ । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएका छन् ।

मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ शुरु

काठमाडौं । काठमाडाैं उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) शुरु गरिएको छ । प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली शुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत हाल बिछ्याइएका पाइप कहाँ छ भनी जानकारी दिन सकिने आयोजना निर्देशक भोजविक्रम थापाले बताए । कुनै पनि संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप यस ठाउँमा छ भन्ने जानकारी दिएर क्षति नहुने गरी निर्माण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘ती निकायले सहकार्य गरी काम गर्दा सम्भावित क्षतिलाई रोक्न सकिन्छ ।’ सडक निर्माणका क्रममा वा कुनै संरचनाका लागि सडक भत्काउँदा खानेपानीको पाइप फुट्ने समस्या वर्षेनी दोहोरिरहेकाले त्यो रोक्नका लागि यो प्रणालीको शुरुआत भएको हो । हाल स्तरोन्नतिका क्रममा रहेको गौशाला–चाबहिल खण्डमा पनि सडक मर्मत गर्दा आयोजनाका पाइपमा क्षति पुगेको छ । विगतमा खानेपानी र ढल जमिन मुनि हुने गरेकामा हाल विद्युत् प्राधिकरणले बिजुलीको तार पनि भूगिगत गर्न शुरु गरेको छ । सडकमा अन्तर निकाय समन्वय नहुँदा एउटा निकायले भत्काउने र अर्काेले बनाउने काम भइरहने गरेको छ । यो समन्वयका लागि शहरी विकास मन्त्रालयले गत वर्षदेखि नै ‘युटिलिटी करिडोर’सम्बन्धी कानून बनाउन शुरु गरेको छ ।रासस

नेपाली बजारमा भित्रियो बामरोल लुब्रिकेन्ट

काठमाडौं – भारतको बामर लरी एन्ड कम्पनीले बामरोल लुब्रिकेन्ट नेपाली बजारमा भित्र्याएको छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा बजारमा ल्याएको हो । बिहीबार भएको उक्त कार्यक्रममा बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरेका हुन् । सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारत लगायतका देशमा यसको बजारको अवस्था बारेमा जानकारी प्रदान गरेका थिए । बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैमा गुणस्तरीय र प्रतिष्ठित भएको बताएका छन् । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्ष भित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए । कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे । बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डष्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन् । कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारी साधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउदै आएको छ ।

वर्षको २ सय ५० रुपैयाँ तिरे ५ लाखसम्मको घर बीमा हुने

काठमाडौं । वार्षिक २ सय ५० रुपैयाँ तिर्दा अब ५ लाख रुपैयाँको घर बीमा हुने भएको छ । बीमा समितिले ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकेको छ । यसरी २ सय ५० रुपैयाँ शुल्क तिरेर बीमा गरेपछि तोकिएका जोखिमबाट घरमा क्षति पुग्दा बीमा कम्पनीले क्षतिपूर्ति रकम दिन्छन् । घर लघु बीमामा आगलागी, भूकम्प, बाढी पहिरो, हावाहुरी, चट्यांक जस्ता प्राकृतिक तथा अन्य कारणबाट क्षति पुगेमा बीमा कम्पनीले क्षतिपूर्ति दिन्छन् । २०७२ को शक्तिशाली भूकम्पको कारण देशभरका करिब ८ लाख घर भत्किएका थिए । सो समयमा भत्किएकामध्ये अधिकांश घरको बीमा थिएन । बीमा नभएको कारण सरकारले पीडितलाई घर बनाउन अनुदान रकम दिएको थियो । सरकारले प्रतिघर ३ लाख रुपैयाँ अनुदान दिएको छ भने प्रतिघर २ लाख रुपैयाँसम्म सहुलियतपूर्ण व्याजमा विनाधितो ऋण दिने भनेको छ । सरकारले अनुदान र सहुलियतपूर्ण व्याजमा विनाधितो दिने भनेको ऋणसमेत जोड्दा एउटा घर बनाउन औसतमा ५ लाख रुपैयाँ लाग्ने देखिन्छ । सरकारले एउटा घर बनाउन ५ लाख रुपैयाँ लाग्ने औसत हिसाव देखाएकै कारण बीमा समितिले घर लघु बीमाको बिमांक रकम ५ लाख रुपैयाँ बनाएको हो । बीमा समितिले जारी गरेको लघु बीमा निर्देशिकामा वार्षिक २ सय ५० रुपैयाँ बीमा शुल्क तिरेर ५ लाख रुपैयाँसम्मको घरको बीमा गर्न पाइने व्यवस्था छ । लघु बीमालाई प्रवद्र्धन गरेर बीमाको दायरा बृद्धि गन तथा विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन निर्देशिका जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । निर्देशिकामा जीवन बीमातर्फ सावधिक, म्यादी र अन्य लघुबीमा तोकेको छ । यी ३ वटै किसिमका जीवन बीमाको अधिकतम बीमांक रकम ३ लाख रुपैयाँ छ । यस्तै, निर्जीवन बीमातर्फ सम्पति, घर, दुर्घटना, स्वास्थ, घातक रोग, बाली तथा पशुपन्छी र अन्य लघुबीमा छन् । सम्पति लघु बीमा र घर लघु बीमाको बीमांक रकम ५ लाख रुपैयाँसम्म छ । दुर्घटना लघु बीमाको बीमांक रकम ३ लाख रुपैयाँसम्म छ । घातक रोग लघु बीमाको बीमांक १ लाख रुपैयाँसम्म, बाली तथा पशुपंक्षी लघु बीमाको बीमांक रकम २ लाख रुपैयाँसम्म छ । यस्तै, स्वास्थ लघु बीमाको बींमाक रकम ५० हजार रुपैयाँसम्म छ । [pdf id=197088]

चन्द्रागिरिमा सञ्चालन भयाे १५ शैय्याको नगरस्तरीय अस्पताल

काठमाडाैं । पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकाले १५ शैय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रगिरि नगरपालिकाको रु एक करोड र वाग्मती प्रदेश सरकारको रु एक करोड लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्य सेवाको अधिकारलाई पूरा गर्न नगरपालिकाले नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । अस्पताल भवन साढे तीन तलाको छ । पन्ध्र वडा रहेको चन्द्रागिरिमा गाउँगाउँदेखिका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न र अस्पताल आवतजावतमा सहजताका लागि नगरस्तरीय एम्बुलेन्ससमेत खरिद प्रक्रियामा रहेको नगरप्रमुख गिरीले बताए । एम्बुलेन्स खरिदका लागि चन्द्रागिरि नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको छ । चन्द्रागिरि नगरस्तरीय अस्पतालमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा आएको छ । यस्तै, नगरस्तरीय अस्पतालमा कार्यरत चिकित्सकको आवासका लागि रु एक करोड लागतमा आवासगृह निर्माण गर्न लागिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उक्त अस्पतालमा चन्द्रागिरिका जनतामात्र नभई धादिङका विभिन्न गाउँका जनताले समेत स्वास्थ्य सेवा पाउने नगरपालिकाले जनाएको छ । नगरस्तरीय अस्पताल सञ्चालनका लागि आवश्यक इको मेसिन खरिदका लागि चन्द्रागिरिले चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजनसमेत गरेको छ । चन्द्रागिरि नगर अस्पतालमा वार्षिक एक लाखभन्दा बढी जनताले स्वास्थ्य सेवा पाउनेछन् । क्षेत्रफलका आधारमा चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । रासस