विकासन्युज

सिटिजन्स बैंकले गर्याे उदयपुरको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले उदयपुरको तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उदयपुरको वेलकानगरपालिका स्थित गल्फडियामा रहेको उक्त विद्यालयमा बैंकले ६० हजार रुपैयाँ सहयोग गरेको हो । विद्यालयमा भएको एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस विद्यालयले निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिगर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ । मुलुकभरी सिटिजन्स बैंकको ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामानवा सुविधा खरीदगर्दा २०% सम्म क्यास ब्याक(नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाख फाइदा, कसरी हुन्छ ?

काठमाडौं । बैंकमा खाता खोल्दा ग्राहकहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाइ नहोला भन्न सकिदैन । ग्राहकको सोही रोजाइलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंकले न्यू चमत्कारिक बचत खाता योजना सञ्चालनमा ल्याईरहेको छ । बैंकले ल्याएको यो योजना अन्तर्गत विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रुपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ । जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ । जस्तै, बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् । मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधी खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुने छन् । योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्छन् भने उनलाई करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्ने बैंकले बताएकाे छ । यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई-कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रूपैयाँसम्मको फाइदा हुन्छ । स्वीप इन-स्वीप आउट सुविधा बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकलेस्वीप इन– स्वीप आउट सुविधा ल्याएको छ । यो सुविधामा ग्राहकले खोलेका न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नेछन् । यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजार रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने बैंकले जनाएको छ । साथै, बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेका ग्राहकले मुद्धती खातामा जाने बित्तिकै ९.७५ प्रतिशतसम्मको ब्याज पाउने बैंकले जानकारी गराएको छ ।

अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति कार्यालयले खतिवडालाई बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै खतिवडालाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे विज्ञप्ती मार्फत जनाइएको छ । ‘आज मिति २०७ट साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा‍. युवराज खतिवडाले सम्हाल्ने गरी ताेक्नु भएकाे छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । यस्तै, राष्ट्रपति कार्यालयले  सहरी विकास मन्त्रालयको कार्यभार  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गलाई सुम्पेकाे छ ।

स्वास्थ्य मन्त्री ढकालले एकैदिन गरे ९ डाक्टरको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नौं डाक्टरको जिम्मेवारी हेरफेर गरेका छन् । बिहीबार मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न अस्पतालमा कार्यरत डाक्टरको जिम्मेवारी फेरबदल गरेका हुन् । कान्ति बाल अस्पतालको प्रमुखकाे जिम्मेवारी डा.कृष्ण पौडेलले पाएका छन् । यसअघि डा.आरपी विच्छाले अस्पतालको प्रमुख जिम्मेवारी सम्हालेका थिए । डा. बिच्छा सोही अस्पतालमा छन् । पौडेल कान्ति अस्पतालका बरिष्ठ चिकित्सक थिए । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरीटेन्डेट डा.सन्तोष पौडेल भएका छन् । त्यस्तै, टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा नियुक्त भएका छन् । सो अस्पतालको डा. विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक पदको जिम्मेवारी दिएको छ । वीर अस्पतालका डा. रविन खड्का सारिएको छ भने कोशी अस्पतालको मेडिकल नियन्त्रकमा डा. चुमनलाल दासलाई नियुक्त गरिएको छ । त्यस्तै भेरी अस्पतालको मेडिकल नियन्त्रक पदको जिम्मेवारी डा. प्रकाश थापालाई दिएको छ ।

एमसीसी अनुमोदन गराउन अमेरिकी सांसदको नेपालमा दौडधुप, अर्थमन्त्रीले भने–’पास हुन्छ’

काठमाडौं । नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुमोदन गराउने लविङ गर्दै अमेरिकी सांसदहरुको एक टोलीले नेपालका उच्च अधिकारीहरुसँगको भेटघाट तिब्र पारेका छन् । संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले नेपालका उच्च सरकारी अधिकारीहरुसँग छलफल गरिरहेका छन् । यसै क्रममा उनीहरुले विहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्नु हुँदै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएका छन् । अमेरिकी कंग्रेसका सदस्यद्वयले माननीय अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका छन् । भेटका अवसरमा अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका छन् । अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्नु हुदै यसमा थप सहयोग आवश्यक भएको बताएका छन् ।

गोकुल बास्कोटालाई गिज्याउने त्यो सचिवालयको पर्चा

काठमाडौं । ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिवद्धता गर्दछु ।’ यही वाक्य लेखिएको छ निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको निजी सचिवालयको प्रवेश द्वारमा । बिहीबार दिनभर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘इस्यु अफ दि डे’ बनेको छ गोकुल काण्ड । सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटाले ७० करोड कमिसनका लागि सेटिङ मिलाउँदै गरेको अडियो मिडियामा हिजो रातिदेखि भाइरल बनेको छ । अडियोमा दुई जनाको आवाज सुनिन्छ । एउटा आवाज सेक्युरिटी प्रेस खरिदका लागि स्थानीय एजेण्ट विजय मिश्रको र अर्को आवाज मन्त्री बाँस्कोटाको हो भनेर दावी गरिएको छ । विभिन्न सभा समारोहमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गरेको प्रमाणित भएमा जुनसुकै सजाय पनि भोग्न तयार छु भन्ने गोकुल बाँस्कोटाको त्यही भाषणले पनि उनलाई अहिले लल्जित पारिरहेको छ । नागरिक समुदाय, विभिन्न निकाय तथा राजनीतिक दलहरुबाट घटनाको छानबिन गर्न माग गरिरहेको बेला उनले नैतिक रुपमा भन्दै राजीनामा दिएका छन् । अहिले उनको कार्यकक्षमा कसैलाई पनि पस्न दिइएको छैन । उनले बिहीबार अपरान्ह बालुवाटार पुगेर राजीनामा बुझाइ सकेका छन् । पोलिटिकल मान्छेलाई प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्ने भन्दै आफूले राजीनामा दिएको उनले बताएका छन् । म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीकाे मुखै हेर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नै सरकारका निवर्तमान प्रवक्ताको मुख हेर्लान् कि कडा कारबाहीमा उत्रिएलान् ? त्यो भने हेर्न नै बाँकी छ ।

एनएमबी बैंकले प्रोजेक्ट स्वरोजगार कार्यक्रम गर्दै, के हाे र कसरी हुने सहभागी ?

काठमाडौं । एनएमबी बैंकले सिराहामा ‘प्रोजेक्ट स्वरोजगार’ कार्यक्रम गर्ने भएको छ । बैंकले दीगो विकासको लागी दीर्घकालिन उद्देश्यको साथ अवसरहरुको सिर्जना तथा प्रवर्द्धन गर्न उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । बैंकले उक्त कार्यक्रम आगामी चैत ५ गतेदेखि ८ गतेसम्म ४ दिन गर्दै छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गतको यस परियोजना नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिती तथा क्षमता विकास गर्न आयोजना गर्न लागिएको हो ।  सो परियोजनाको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रा.लि.को साझेदारीमा गरिएको हो । यो परियोजना अन्तर्गत सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गरिन्छ । जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्दछ । तालिमको लागि उद्यमी संलग्नता, रुची र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गरिने छ । यस तालिम निःशुल्क रुपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकहरूले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनको लागि आवेदन आगामी फागुन २७ गतेसम्म फारम भर्न सकिन्छ । छनौट मापदण्ड क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) । ख) सहभागी सिरहा जिल्ला निवासी हनपर्ने । ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने । घ) सहभागी २०७६ चैत ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने । सहभागीले के प्राप्त गर्न सक्छन् ? क) अनुभवी प्रशिक्षकहरुद्वारा उद्यमशीलता विकास तालिम निःशुल्क प्राप्त गरी व्यावसायिक ज्ञान वृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त गर्न सक्ने । ख) वित्तीय पहुँचका लागि सहजता। ग) बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने ।

नाडाले भन्सार र करका सम्बन्धमा प्रशिक्षण कार्यक्रम गर्दै, मन्त्रालयबाटै विज्ञ पठाउने

काठमाडौं । नाडाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले सो कुरा बताउँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन दिएका हुन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले आयोजना गरेको उक्त भेटमा अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले सो कुरा बताएका हुन् । नाडा प्रतिनिधि मण्डलले भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती हुनु भएका शिशिर ढुङ्गानालाई बधाई तथा शुभकामना दिए । उक्त भेटघाटमा नाडाका उपाध्यक्ष करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका सम सामयिक समस्याहरु बारे आ-आफनो धारणा राखेका छन् । सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे पनि आफनो धारणा राखे । सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।