विकासन्युज

घातक रोग लागेमा कसरी उपचार गर्ने भन्ने चिन्ता छ ? यस्ता छन् विकल्प

काठमाडौं । बीमा कम्पनीहरुले बिमितको स्वास्थलाई लक्षित गरेर विभिन्न किसिमका बीमा योजनाहरु संचालन गरिरहेका छन् । यसमध्ये केही योजनाहरुबाट बिमितले अस्वस्थ भएको बेलामा उपचार खर्च पाउँन सक्छन् । जति ठूलो रोग लाग्यो, खर्च पनि उतिनै धेरै हुने गर्छ । रोग लाग्नुपूर्व बीमा गराएमा रोग लागेको अवस्थामा बिमितको आर्थिक तनाव कम गर्न बीमाले मद्दत गर्छ । हाल जीवन बीमा कम्पनीहरुले घातक रोग (क्रिटीकल इलनेस पोलिसी) शीर्षकमा बीमा पोलिसी बिक्री गर्दै आएका छन् । घातक रोग बीमा पोलिसीलाई राइडर अन्तरगतको बीमा पनि भनिन्छ । ‘राइडर भन्नाले जीवन बीमा गर्दा अन्य सेवा सुविधाहरु समेत थपिनु भन्ने बुझिन्छ, पछिल्लो समय बिमितहरु माझ बीमाको आवश्यकता थपिदै गएकाले यस्ता योजना बढ्दै गएको हो,’ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर शिवराम तिमल्सिनाले बिकास न्युजसँग भने । यी हुन् घातक रोग क्यान्सर, किड्नी फेलर, बोन म्यारो ट्रान्सप्लान्ट, हर्ट अट्याक, कोरोनरी आर्टरी बाइपास ग्राफ्ट, पर्मानेन्ट प्यारालाईसीस अफ लिम्ब्स, ब्रेन ट्युमर, पर्मानेन्ट न्यूरोलोजिकल स्ट्रोक, हाइपर टेन्सन, ग्राफ्ट सर्जरी, कोमा, मल्टीपल स्लेरोसीस, सिक्कल सेल एनिमीया । सिटीजन लाइफ सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस राइडर’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । समयको परिवर्तसँगै मानिसको जीवनशैली समेत परिवर्तन हँुदै जान्छ । सोही परिवर्तनको क्रममा मानिसले नसोचेका रोगहरु लाग्ने गर्छ । त्यस्ता रोगहरु लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिनु कम्पनीको मुख्य उद्देश्य हो । कम्पनीमा घातक रोगको बीमांक रकम ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न सक्छन् । घातक रोगको बीमा गर्दा सिटिजन लाइफमा ५ वर्षदेखि २५ वर्षको अवधि तोकिएको छ । आईएमई लाइफ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २१ घातक रोगको बीमा योजना संचालन गर्दैआएको छ । कम्पनीमा बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । ज्योति लाईफ ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘क्रिटीकल इलनेस’ शीर्षकको बीमा पोलिसी संचालन गर्दैआएको छ । कम्पनीले एउटा प्याकेजमा ३५ वटा तथा अर्को प्याकेजमा १८ वटा घातक रोगको बीमा योजना संचालन गरिरहेको छ । ज्योति लाइफमा घातक रोग बीमा योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्मको छ । बीमा अवधि ५ वर्षदेखि २० बर्षसम्मको छ । १८ वर्षदेखि ५५ वर्ष उमेर समूहले यो बीमा योजनामा सहभागी हुन् सक्छन् । प्रभु लाईफ प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुका लागि घातक रोगको बीमा योजना संचालन गरिहेको छ । कम्पनीमा बीमा गर्ने बिमितले तोकिएका ११ किसिमका रोग लागेमा आर्थिक सुरक्षा प्राप्त गर्न सक्छन् । प्राइम लाईफ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ‘सप्लीमेन्ट्री राइडर’ शीर्षकको बीमा योजना संचालनमा छ । उक्त बीमा योजनाको बिमांक रकम २५ लाख रुपैयाँसम्म छ । रिलायवल लाईफ रिलायवल लाइफले ‘क्रिटीकल इलनेस बेनिफीट’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छ । उक्त योजनामा १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न पाउँछन् । सो बीमा योजना भने ५ देखि २० वर्षसम्मलाई तोकिएको छ । कम्पनीले तोकिएका १५ किसिमका घातक रोगको बीमा गर्छ । रिलायन्स लाईफ रिलायन्स लाईफ इन्स्योरेन्सले ‘रिलायन्स टर्म प्लान’ शीर्षकको बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले सो योजना अनुसार १८ घातक रोगको बीमा गराउँदै आएको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । सानिमा लाईफ सानिमा लाईफले ‘सानिमा क्रिटीकल इलनेस’ शीर्षकको बीमा योजना संचालन गरिरहेको छ । यो योजनाको बिमांक रकम ५० लाख रुपैयाँसम्म छ । उक्त बीमा योजनामा कम्पनीले तोकिएका ११ घातक रोगको बीमा गर्ने जनाएको छ । सन नेपाल लाईफ सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक ५ रुपैयाँभन्दा कममा घातक रोगको बीमा गर्न सकिने योजना संचालन गरिरहेको छ । उक्त बीमाको अवधि ५ वर्ष छ । कम्पनीले तोकिएका १८ रोगमा बीमा गराउँछ भने यो योजनाको बिमांक रकम ५० हजार रुपैयाँसम्म छ ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा धुलिखेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । बैंकको शाखा कार्यालय धुलिखेलमा बैंकले स्थानीय शेयरधनी, जनप्रतिनिधी र बैंकिङ पहुँच बाहिर रहेका ग्राहकहरुका लागि समुदायमा बैंक सम्बन्धि उक्त कार्यक्रम गरेको हो । कार्यक्रम धुलिखेलस्थित चेयर्स लाउञ्ज बारमा धुलिखेलका संस्थापक नगरप्रमुख एवं होटल व्यवसायी बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सेञ्चुरी बैंकले हालैमात्र संचालनमा ल्याएको वीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धि जानकारी शाखा प्रबन्धक दिपक ढुँगानाले गराएका थिए । साथै, बैंकको लगानीमा संचालनमा रहेको शेयर रजिष्टार सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडका अधिकृत सरोजा फुयालले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका हुन् । बैंकको बचत सुविधा सम्बन्धि बरिष्ठ गायक रामहरि न्यौपानेले गीत मार्फत प्रस्तुत गरे । बचत सुविधा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका प्रमुख बजार अधिकृत शेखरराज बस्ताकोटी र कर्जा सम्बन्धि ग्राहकहरुको जिज्ञासाको समाधान बैंकका कृषि तथा विपन्नवर्ग कर्जा विभागका प्रमुख प्रविण कुमार दाहालले गरेका थिए । कार्यक्रम धुलिखेल अस्पतालका मेडिकल डिन डा. राजेन्द्र कोजु, जिल्ला पशु सेवा कार्यालय तथा भेटेरीनरी अस्पतालका पशुविकास अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका लेखा अधिकृत डि.वि. बस्नेत, धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, सहकारीकर्मी  लगायत संस्थापक शेयरधनी र सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख बजार व्यवस्थापक शेखरराज बस्ताकोटीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन धुलिखेल शाखाका बजार व्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए । बैंकले देशभर १ सय ३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको छ ।

बजारमा बढ्दै छ टिसिएल टिभीको माग 

काठमाडौं । नेपालमा पछिल्लो समय टिसिएलका विद्युतीय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्छ । अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । नयाँ पुस्ता प्रबिधिसँग नजिक हुने कारण उनीहरुलाई नयाँ नयाँ प्रोडक्टको फिचरको बारेमा जानकारी हुन्छ । स्मार्ट टिभीको जवानामा थप प्रविधिसहितको युएचडी टिभि आएकाले यसको माग बढ्दै गएको छ । सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको छ । नेपालको ग्रामिण बस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका सामान सजिलै पाइन्छ ।नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा ऋट र एड गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टीभि ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्न मिल्छ । अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो । विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०।१३६ अर्ब आरएमबी रहेकोमा १० वर्षमा बढेर ८०६।५६ अर्ब आरएमबी पुगेको छ । टिसिएलको २३ वटा आरएण्डडि सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरीङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ । कम्पनीले आगामी दिनमा अझ यसका विश्वमा उत्कृष्ट टिभि नेपाली बजारमा ल्याउन लागेको छ ।

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्ताकोटी

भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष निरञ्जन बजगाईंले जानकारी दिए। सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्वितीय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरि दाहाल केसी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधीर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा रामहरि फुँयाल, रोशनकुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुलसीमैया ज्याख्वा चयन हुनुभएको छ । त्यसैगरी अधिवेशनले चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन गरेको छ ।

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षामन्त्री पोखरेल

धनुषा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन् । उनले भने, “३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । मैले सुधार ल्याउन ध्यान दिएको छु ।” धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको शनिबार उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधार गर्न शिक्षकले ध्यान दिनुपर्छ भने । यस्ता विद्यालयले शिक्षक राख्न नपाउने र स्थानीय सरकारले माग गरेका शिक्षक शिक्षक सेवा आयोगले छ महिनाभित्र उपलब्ध गराउने उनले जानकारी दिएका छन् । शहीद रामवृक्ष यादवकै जन्मथलो सो स्थानमा श्रीमाध्यमिक विद्यालयमा रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालय स्थापना गरिएको हो । शिक्षालयमा आगामी आर्थिक वर्ष २०७७/७८ देखि कृषिबाली विज्ञानको अध्ययन अध्यापन प्रारम्भ हुने विद्यालयका प्रधानाध्यापक राजदेव यादवले जानकारी दिए । विद्यालयको संरचना व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल रु २० लाख उपलब्ध गराएको छ । शहीद यादवकी छोरी प्रतिनिधिसभा सदस्य बोधमाया यादव, कान्छी छोरी सुनिता यादव र गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मीनादेवी यादवले शिक्षालय स्थापना गर्न अहं भूमिका निर्वाह गरेकाे बताइएको छ । तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय नेता रामवृक्ष यादवको विसं २०५२ भदौ २ गते हत्या भएको थियो । रासस

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाबाट: मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश न ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताए । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन गरेका हुन् । भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन गएकाले सिँचाइको उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिनु पर्ने जानकारी दिए । “राज्यले अर्बौ लगानी गरेर सिँचाइको व्यवस्था गरिरहेको छ, अब जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ”, मुख्यमन्त्री पोखरेलले भने, “भेरीको पानी बबई हुँदै बर्दियाका खेतमा पुगेको छ, सिक्टा सिँचाइले बाँकेको जमिन सिँचाइ हुँदैछ, अब व्यावसायिक कृषितर्फ लागौँ ।” बाँके–बर्दियाका खेतीयोग्य जमिन बाँझै रहने गरेको प्रसङ्ग जोड्दै उनले आधुनिक प्रविधिबाट खेती किसानी गर्नुपर्नेमा जोड दिए। “कृषि कर्म गर्न धेरै जमिन चाहिँदैन, थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ, त्यसका लागि आधुनिक प्रविधि र इच्छाशक्ति चाहिन्छ”, उनले भने । बाँकेको खजुरा क्षेत्रको बस्ती इजरायली रूपबाट बनेको भएता पनि कृषिमा प्रगति नदेखिएको बेला स्थापना भएको कृषि विद्यालयले बाँके र बर्दियाका किसानलाई विद्यार्थीमार्फत प्रविधि र सीपको विकास गराउनुपर्ने उनको भनाइ छ । “कृषि क्याम्पसले विद्यार्थीलाई कोठामा राखेर शिक्षा दिनुको औचित्य छैन, विद्यार्थीलाई किसानको घरसँग जोडिदिनुस् तब मात्र व्यावहारिक सीप र ज्ञान प्राप्त हुनेछ”, मुख्यमन्त्री पोखरेलले भने, “विद्यार्थीमार्फत किसानलाई आधुनिक कृषि प्रविधिको ज्ञान, सीप दिनुस् त्यसमा सहयोग र समन्वय गर्न प्रदेश सरकार तयार छ ।” कृषि क्याम्पस सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले कलेजको विस्तृत परियोजना प्रतिवेदनको आधारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रदेश सरकारले किसानलाई लक्षित गरी सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको बताउँदै त्यसको सदुपयोग गरी आधुनिक कृषि प्रणाली अपनाएर कृषिबाट आर्थिक समृद्धिको दिशामा लाग्न आग्रह गरे । रासस

लगातार उकालो लाग्दै शेयर बजार : सातामा साढे १८ अर्बको कारोवार

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १८० कम्पनीका चार करोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर कूल रु १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ मा खरिद बिक्री भए । साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि देखियो । आइतबार नेप्से झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुपर्यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो ।सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो । सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए । साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो । सोमबार नेप्से १.९६ ले घट्यो । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रह्यो । सो दिन कूल १७९ कम्पनीका कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भए । सोमबार केही गतिरोध आएको बजारमा मङ्गलबार भने भारी सुधार देखियो । उक्त दिन नेप्से ४३.०२ ले बढ्यो । नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर खरिदक्रिी भए । धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ५०.९३ अङ्क बढ्यो । बुधबार कूल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता शेयर रु चार अर्ब १५ करोड ४८ लाख ८३ हजारमा कारोबार भए । साताको अन्तिम दिन नेप्से ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुग्यो । बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भए । रासस

मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयमा माग राख्दै घिमिरे बसे अनसनमा

 काठमाडौं । युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा आमरण अनसनमा बसेका हुन । उनले राज्यले २० रोपनी भन्दा कम जग्गा जमिन भएका नेपाली किसानलाई मलबिउ विजन निशुल्क ब्यवस्था र वैदेशिक रोजगारीमा गएर मृत्‍यु भएका मृतकका परिवारलाई २० लाख क्षतिपुर्ति, वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा घाईते हुन पुगेका नेपालीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्थाका साथै पीडित परिवारको शिक्षा, स्वास्थ र रोजगारीको पूर्ण ग्यारेण्टि गर्नुपर्ने माग राखेका छन् । यो उनको तेस्रो आमरण अनसन हो । यस अघि उनी २०७४ साल कार्तिक ११ देखी १८ गते सम्म शान्ती वाटिकामा पहिलो पटक आमरण अनसन बसेका थिए । देशमा चुनावको माहौल र स्वास्थ अवस्थाका कारण उनले अनसन तोडेका थिए । त्यस्तै, दोस्रो पटक उनी माइतिघर मण्डलामा २०७५ साल फाल्गुण २५ गते आमरण अनसन बसेका थिए । तर प्रहरी हस्तक्षेपका कारण उक्त अनसन सोही दिन स्थगन भएको थियो । तेस्रो पटक अनसनमा बसेका घिमिरेले यो लडाईं समानताका लागि भएको बताउदै कुनै पनि हालतमा आफूले अघि सारेका माग पुरा गर्न आग्रह गरेका छन् ।