सञ्चय कोषका ऋणिलाई व्याजमा १० प्रतिशत छुट, कोरोना पीडितलाई २ लाख क्षतिपूर्ति
काठमाडौं । कर्मचारी सञ्चाय कोषबाट कर्जा लिएको ऋणिले चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । कोषबाट घर सापटी, घर मर्मत कर्जा, शैक्षिक कर्जा र सरल कर्जा लिएका सञ्चयकर्ताले चैत, बैशाख, जेठ र असार चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका हुन् । कोरोना भाइरसको संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्नको लागि कोषले उक्त छुट दिन लागेको हो । साथै, कोषले २०७७ असार मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता रकम साउनसम्म बुझाउन सकिने गरि समय वृद्धि गरेको काेषका सहप्रशासक राजेन्द्र काफ्लेले जानकारी दिए । यस्तो छुट सुविधा कोषका संस्थागत ऋणिको लागि पनि भएको उनले विकासन्युजलाई बताए । साथै, कोषमा नियमित सञ्चय कोष कट्टी गरिरहेका सञ्चयकर्ताको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्ति बापत २ लाख रुपैयाँ पनि दिने निर्णय गरेको छ ।
सिटिजन्स बैंकले बढैयाताल गाउँपालिकाको काेराेना कोषमा दियो १ लाख रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । यस अघि पनि बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा ४९ लाख रुपैयाँ सहयोग गरेको थियो । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा न्युन आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
भारतमा तहल्काः कोरोना फैलाउन नेपालबाट मान्छे पठाइएको आरोप
भारतकाे एक टेलिभिजनमा देखाइएकाे तस्वीर काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन नेपालबाट मान्छे पठाइएको भारतले आरोप लगाएको छ । भारतको पश्चिमी चम्पारण (बेतिया) जिल्लाका प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले माथिल्लो निकायमा एक गोप्य पत्र लेख्दै नेपालबाट भारत छिरेको एक समुहले भारतमा कोरोना सारिरहेको आरोप लगाएका छन् । नेपालको सीमावर्ती क्षेत्रबाट भारतको बिहारमा योजनाबद्ध तरिकाले कोरोना भाइरस फैलाउन खोजिएको रिपोर्ट सार्वजनिक भएपछि यसले भारतीय सुरक्षाबल भित्र ठूलो भूईंचालो ल्याएको छ । पत्रमा प्रहरी अधिक्षकका माध्यमबाट सीमा सुरक्षा बलको ४७ औं बटालियनलाई सीमा पारीबाट कोरोना संक्रमित मानिसहरुलाई भारतमा प्रवेश गराइएको उल्लेख छ । उनीहरुको उद्देश्य एउटा रणनीति अन्तर्गत भारतमा संक्रमण फैलाउने लेखिएको छ । यसरी प्रवेश हुनेमा सबै मुस्लिम रहेको समेत पत्रमा उल्लेख छ । पत्रका अनुसार पर्सा जिल्लाको जगनाथपुर गाउँ निवासी जालिम मुखिया नाम गरेका एक जना हतियार तस्करले उनीहरुलाई भारत पठाएको उल्लेख छ । बेतियाका जिल्ला प्रमुख अधिकारीले सीमा सुरक्षा बलसँग सीमामा गस्ती बढाउन समेत अनुरोध गरेका छन् । पत्रबारे भारतका गृह उपसचिवले प्रतिक्रिया दिँदै सबै कोणबाट जाँच भइरहेको बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ । गृह उपसचिव अमिर सुबानीका अनुसार, नेपालसँग जोडिएको विषय भएपनि अधिकारीहरुलाई अलर्ट गरिएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार, कुनै पनि शंकाष्पद व्यक्ति भारतमा घुसपैठ भने नगरेको तर सम्भावना रहेको उनले बताए । देखें, बिहार में नेपाल से 30-40 कोरोना संक्रमित मरीज घुसने की खबर पर क्या बोले गृह विभाग के अपर सचिव आमिर सुबहानी pic.twitter.com/UANLaH2Fby — NBT Hindi News (@NavbharatTimes) April 10, 2020 बेतियाका प्रमुख जिल्ला अधिकारीले भने आफूले विश्वस्त जासुसी श्रोतबाट सुचना पाएको दावी गरेका छन् । भारतीय मिडियामा प्रकाशित टिप्पणी अनुसार, विगत दुई दिन यता बिहारमा अचानक संक्रमितहरुको संख्या बढेको छ । अहिलेसम्म बिहारमा ६० जनामा संक्रमण देखिएको छ । भारत र नेपालका प्रधानमन्त्रीबीच आज मात्रै टेलिफोन संवाद भएको थियो । यो विषयमा भारतले कुनै चासो व्यक्त गरे या नगरेको कुरा भने नेपालको कुनै पनि निकायले सार्वजनिक गरेको छैन । (नवभारत टाइम्स डटकममा प्रकाशित समाचारका आधारमा तयार पारिएको) न्युज 18 बिहारमा प्रसारण एक रिपाेर्ट #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #IndiaFightsCOVID19 | #TotalLockdown | #StayHome Gepostet von News18 Bihar am Donnerstag, 9. April 2020
अब एसईई परीक्षाका तयारी डिसहोमबाट गर्नुहोस्
काठमाडौं । एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएको छ । स्याटेलाइट टेलिभिजन प्रशारक डिसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम संचालन गर्नभएका हो । कम्पनीले अंग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा हरेक दिन बिहान ७ः३०, मध्यान्ह १२ः३० र बेलुका ६ः३० बजेको समयमा च्यानल नम्बर १०१ बाट प्रशारण हुनेछ । कोरोनाभाईरसको महामारी फैलिएसँगै नेपाल हाल लकडाउनमा छ र चैत ६ गतबाट हुने भनेको एसईई परीक्षा अर्का सुचना नआएसम्मको लागि स्थगित भएको थियो ।
प्रभु लाइफ इन्स्योरेन्सले प्यूठानका अस्पताललाई वितरण गर्यो ५० थान पीपीई
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
कोरोना सङ्क्रमित ८ जनाकै अवस्था सामान्य: स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए । उहाँले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिए । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १२५ रहेको छ । प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो । सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपत्मा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँडः संस्थागतलाई ९५ प्रतिशत र सर्वसाधारणलाई ५ प्रतिशत वितरण
काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड भएको छ । जसमा सर्वसाधारण समूहबाट आवेदन दिने सबैले माग गरेजति पाएका बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरेलका अनुसार रितपूर्व आवेदन दिनेमध्ये संस्थागत लगानीकर्तालाई ९५ प्रतिशत र सर्वसाधारण लगानीकर्तालाई बाँकी ५ प्रतिशत ऋणपत्र वितरण गरिएको छ । उक्त ऋणपत्रमा ३१७ जना आवेदकहरुले रितपूर्वक आवेदन दिएका थिए । ‘त्यस्तै, म्युचअल फण्ड अन्तर्गत माग गर्ने सबैले शतप्रतिशत बैंकको ऋणपत्र पाएका छन्’ उनले विकासन्युजसँग भने – ‘मागभन्दा १२ करोड रुपैयाँ बढी आवेदन परेकाले उक्त रकम चाँहि फिर्ता गरिने छ ।’ कम्पनीले फागुन २० गतेदेखि चैत ४ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । जसमा २ अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमध्ये सर्वसाधारण तर्फबाट माग गर्ने सबैले माग गरेजति पाएका छन् । साथै, व्यक्तिगत तवर मार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका डिबेन्चर वापत बाँकि रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा चैत ३० गते आइतबारदेखि आईपीएस मार्फत सिधै बैंक खातामा रकमान्तर गरिने सीईओ पोखरेलले बताए । १०.२५ प्रतिशत व्याजदर तोकिएको यस ऋणपत्रको अवधि भने १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये १५ लाख कित्ता विभिन्न संघ संस्थालाई र बाँकी १० लाख कित्ता सर्वसाधारणलाई बिक्रीमा राखेको थियो । त्यस्तै, सर्वसाधारण मध्येबाट ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको थियो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको थियो । बैंकले जारी गरेको ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६’ ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एलबिबिबि प्लस’ ग्रेड दिएको छ । जसले बैंकको वित्तीय अवस्था औषत भन्दामाथि अर्थात सुरक्षित रहेको बुझाउँछ ।
लकडाउनको मौकामा चोरीतस्करी
दाङ। दाङ र आसपासका जिल्लामा लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् । तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरेका छन् । जिम्मेवार तहका व्यक्ति नै रुख फँडानीमा संलग्न रहेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । यसपटक अधिकांश नयाँ ठाउँमा तस्करले काठ कटान गरेका छन् । कार्यालय प्रमुख दीपक ज्ञवालीले बन्दाबन्दी शुरुभएदेखि हालसम्म छ वनका वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौँ क्युफिट काठ, तीन ट्रयाक्टर तथा रुख काट्न प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठ मुचुल्का तयार गरी सुरक्षितसाथ राखिएको प्रमुख ज्ञवालीले बताए। चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउन अवधिमा बढेको काठ तस्करी, चोरी निकासी र वन्यजन्तु शिकारका घटना बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरिएको कार्यालयले जनाएको छ । वन गस्ती शुरु अर्घाखाँची– शीतगंगा नगरपालिका वडा नम्वर ११ खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी कपिलवस्तुसँग सिमाना जोडिएको क्षेत्रमा तस्करले काठ चोरी गरेका हुन् । विश्वमा फैलिएको कोराना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको समयमा खयरभट्टीमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनाश र तस्करी बढेको हो । लुकीछिपी काठको तस्करी बढेपछि वन कार्यालयले वन गस्ती शुरु गरेको छ । गस्ती गर्दा सालका ठूला सात रुख काटेर झण्डै रु डेढ लाख मूल्यको चोरी भएको भेटिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताए । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसंँग हेरविचार गर्नसमेत आग्रह गरिएको डिभिजन वन प्रमुख शर्माले बताए । नदीजन्य वस्तु पनि शिकार जीतपुर–लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनाँै सवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ । नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत चूरामणी पन्थी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशी, सञ्चारकर्मीसहितको टोलीले स्थलगत अध्ययन गर्दा चोरी गरेको पाइएको हो । बाणगङ्गा –८ वालापुरको नदी किनारमै रातभर थुपारिएको नदीजन्य पदार्थ जफत गरिएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएको बताए । उपप्रमुख अर्यालले यस्तो राष्ट्रिय संकटका बेला रातभर नदी उत्खनन गर्नेलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष जानकारी गराइएको बताए । सो क्षेत्र ठेक्का नलागेको क्षेत्र भएको पनि उहाँले प्रष्ट्याए । उक्त क्षेत्रमा करीब चार सय ट्रयाक्टर मिश्रण रातभरमा थुपारिएको थियो । केही दिनयता बाणगङ्गा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको बाणगङ्गा–५ मधौलियाका स्थानीयवासीले बताएका छन् । रासस