विकासन्युज

ढुक्क हुनुहोस्, आपूर्तिमा व्यवधान छैनः मन्त्री भट्ट

काठमाडाैं । महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन भन्दै सरकारले देशव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । लकडाउनको आज १८ औँ दिनसम्म आइपुग्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था नआएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज नेपाल टेलिभिजनमार्फत सरकारले आवातजावतमा रोक लगाए पनि छिमेकी मुलक भारततर्फबाट खाद्यान्नको आयातमा कुनै समस्या नरहेको बताए । “आयात निरन्तर छ, तथ्याङ्कमा हेर्ने हो भने आपूर्ति सहज छ”, उनले भने, “सीमाबाट व्यवस्थित ढङ्गबाट आइरहेको छ ।” मुलुकभर खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलको सिङ्गो टिम आपूर्ति व्यवस्थामा अवरोध आउन नदिन दिनरात लागिपरेको उनको भनाइ छ । लकडाउनको १७ दिनसम्म आइपुग्दा ३७ हजार ३३४ खाद्यान्न, १४ हजार ५४ मेटन गेडागुडी तथा दलहन, २१ हजार ६२६ मेट्रिक टन तरकारी, पाँच हजार ९६२ मेट्रिक टन फलफूल, ८० मेट्रिकटन दुग्धजन्य पदार्थ र रु १० करोड ८७ लाख सात हजार बरारबरको विभिन्न प्रकारका कच्चा पदार्थ र रु ५६ करोढ ९७ लाख २७ हजार बराबरको तयारी औषधि पनि आयात भएको मन्त्री भट्टले जानकारी दिए । खाद्यान्न तथा अत्यावश्यक वस्तु बोकेर आएका ट्रक तथा कन्टेनरलाई ‘डिसइन्फेक्सन’ गरेर नेपाल प्रवेशको व्यवस्था मिलाइएको बताए । “हामीले आयात गर्न चाहेका खाद्यवस्तु सबै निर्वाधरुपमा आइरहेका छन्”, उनले भने, “खाद्यवस्तु भएको ट्रक तथा कन्टेनरलाई तत्काल भन्सार जाँच पास गरिदिन अर्थ मन्त्रालयसँग छलफल गरिएको छ ।” दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का वाणिज्य सहसचिवस्तरीय ‘भिडियो कन्फ्ररेन्स’मार्फत व्यापारमा सहजीकरण गरिएको जानकारी दिँदै उनले खाद्यान्नको आपूर्तिमा कुनै व्यवधान नआउने प्रष्ट पारे । अत्यावश्यक वस्तुको ढुवानीमा समस्या आउन दिन ढुवानी व्यवसायी महासङ्घसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले ढुवानीको निरन्तरताका लागि ट्रक तथा ट्याङ्कर चालक, सहचालक तथा मजदुरले ठूलो योगदान गरेको बताए । सरकार र निजी क्षेत्रसँग पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको भन्दै उनले खाद्यान्न अभाव हुन्छ भनेर चिन्ता नलिन आग्रह गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ र निजी क्षेत्र एक लाख २५ हजार २९० मेट्रिकटन चामल मौज्दात रहेको उनले जानकारी दिए । त्यसैगरी सात हजार २९४ मेटन चिनी, एक लाख ६० हजार ५४९ मेटन नुन, १६ हजार ८१ गेडागुडी तथा दाल, १६ हजार ८६८ मेटन खानेतेल मौज्दात रहेको मन्त्री भट्टले बताए । खाद्य उद्योगसँग चार महिनालाई नेपालको माग धान्न सक्ने चामल मौज्दात रहेको छ । दाल तथा गेडागुडी र तेल तीन महिनालाई पुग्ने मौज्दात रहेको उनको भनाइ छ । “सरकारले पेट्रोलियम पदार्थको पनि पर्याप्त मौज्दात राखेको छ । नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता पूर्ण रुपमा भरिएको छ । निजी क्षेत्रको पेट्रोल पम्प सबै भरिएका छन्”, उनले भने । “ग्यासको पनि पर्याप्त मौज्दात रहेको छ । उद्योग, सिलिण्डर सबै भरिएका छन् । ग्यासको आयातमा कुनै समस्या छैन । हामीले माग गरेअनुसारकै ग्यास आइरहेको छ ।” ग्यासको आयात निरन्तर रहेको भन्दै मन्त्री भट्टले घरमा अनाश्यक सिलिण्डर थुपारेरर जोखिम ननिम्त्याउन उपाभोक्तालाई आग्रह गरे । “ग्यासको कुनै अभाव छैन । आवश्यक मात्र एक÷दुई वटा सिलिण्डर मात्र राख्नुस्”, उनले भने, “बढी सिलिडर नराख्नुस्, दुर्घटना हुन सक्छ ।”उनले आपूर्ति प्रणालीमा कुनै समस्या आउन नदिइने दृढता व्यक्त गरे । “आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न आपूर्ति मन्त्रालय र मन्त्रालयको सिङ्गो टिम लागेको छ”, उनले भने । चीनतर्फको ततोपानीको नाका खुलिसकेको जानकारी दिँदै उनले त्यहाँबाट अत्यावश्यक समान आउन थालिसकेको बताए । सङ्कटको समयमा उपभोक्ता ठगिमा नपरुन भनेर सरकारले बजार अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै मन्त्री भट्टले कालोबजारी गर्ने एकाध व्यापारीमाथि कारबाही गरिएको बताए । “हिजोका दिनमा भएको जस्तो कालोबजारी अहिले छैन, एकाध मान्छेलाई कारबाही गरेका छौँ”, उनले भने, “खाद्यन्नमा मूल्य बढेको छैन तर फलफूलको अभाव देखिएकाले केही मूल्य बढेको छ ।” दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएको पाइए सरकार कडा कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उपभोक्ताले चर्को मूल्यमा हरियो तरकारी किन्नुपर्ने र किसानले बारीमा फलेका तरकारी नष्ट गर्नुपरेको अहिलेको अवस्थालाई सरकारले नजिकबाट नियालेको बताउँदै उनले किसानको बारीमा फलेको तरकारी बजारसम्म ल्याउने तयारीमा लागिएको जानकराी दिए । “कालिमाटीको भिडभाड कम गर्न राजधनीका १२ ठाउँमा तरकारकी बेच्ने व्यवस्था मिलाएका छौँ”, मन्त्री भट्टले भने, “उपत्यका वरपरका किसानको तरकारी काठमाडौँ ल्याउन गृह र कृषि मन्त्रालयसँग समन्वय गरिरहेका छौँ ।” कुनै पनि व्यक्ति तथा परिवारलाई खाद्यान्नको समस्या परेमा निःशुल्क टोलफ्री नम्बरको व्यवस्था गरिएको बताउँदै उनले अप्ठ्यारो परे ११३७ मा फोन गर्न आग्रह गरे । खाद्य व्यवस्था, साल्ट ट्रेडिङ तथा स्थानीय प्रहरी प्रशासनलाई खबर गरेमा तत्कालै अभाव भएको स्थानमा खाद्यन्न पु¥याउने उनको भनाइ छ । लकडाउनको समयमा खाद्यान्नको वितरणलाई प्रभावकारी बनाउन घुम्ती सेवा सञ्चालन गरिएको उल्लेख गर्दै मन्त्री भट्टले खाद्य व्यवस्था तथा साल्ट ट्रेडिङले अनलाई प्रणालीमा काम सुरु गरिसकेको बताए । “हामीले निजी क्षेत्रलाई पनि प्रेरित गरेका छौँ । समयसमयमा उहाँहरुसँग छलफल गरेका छौँ”, जनतालाई आवश्वस्त पार्दै उनले भने, “तपाईंहरुलाई समस्या प¥र्यो भने हामीलाई भन्नुहोस्, हामी तयार छौँ ।” आवश्यकताअुनसार अहिलेलाई काठमाडौँ उपत्यकामा घुम्ती सेवा सञ्चालनमा ल्याइएको जनाउँदै उनले मुलुकका अन्य ठूला शहरमा पनि सेवा सञ्चालन गर्न सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए। “कहाँ आपूर्तिको व्यवस्था गर्नुपर्छ त्यहाँ गरेका छौँ । हिमाली जिल्लामा हवाई माध्यमबाट पनि खाद्यान्न पु¥याउने गरेका छौँ, उपत्यकामा मात्र खाद्यान्न पु¥याउने होइन, सबै क्षेत्रमा पु¥याउनेतर्फ राज्यको ध्यान गएको छ”, उनले भने । सरकारले अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई ‘लकडाउन’को अवधिमा पनि सञ्चालन गर्न अनुमति दिएको उल्लेख गर्दै उनले औद्योगिक कडिडोरमा रहेका केही उद्योग सञ्चालनमा आइसकेको जानकारी दिए । “अझै पनि ती उद्योग पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेका छैनन्”, उनले भने, “खाद्यवस्तु उत्पादन गर्ने उद्योग पहिलो चरणमा सञ्चालन गर्ने, दोस्रो चरणमा विकाससँग जोडिएका उद्योग र तेस्रोमा निर्यातमुलक उद्योग सञ्चालन गर्ने गरी गृहकार्य गरिरहेका छौँ ।” रासस

अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैनः उद्योग राज्यमन्त्री दुगड

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् । उहाँले केही सञ्चारमाध्यममा आएजस्तो निज अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले कुनै भूमिका निर्वाह नगरेको प्रेस विज्ञप्तिमार्फत प्रष्ट पारेका छन् । हाल कोभिड–१९ जस्तो महामारीले विश्व आक्रान्त परेका अवस्थामा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा रहेको आफ्नो प्रमुख दायित्व आपूर्ति व्यवस्थालाई सहज बनाउने हो भन्ने प्रष्ट गर्दै उनले जुनसुकै अवस्था पहुँचमा भएको व्यक्ति वा निकाय भए पनि यदि कसैले यस्तो मानवीय संकटका समयमा कुनै प्रकारको गैरकानूनी काम कारवाही गरेमा त्यसलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । “सुलभ अग्रवालको सन्दर्भमा पनि पक्राउपश्चात् के भएको हो, त्यसबारे सत्यतथ्य बुझ्ने प्रयास गरेको हुँ, जुन मेरो पदीय जिम्मेवारी पनि हो तर निजलाई छुटाउने उद्देश्यले मैले कसैलाई भेटघाट, भनसुन र दबाब नदिएको कुरा प्रष्ट पार्दै ती समाचारहरुको खण्डन गर्न चाहन्छु ”, आज अपराह्न प्रकाशित विज्ञप्तिमा भनिएको छ । यस्तो विषम परिस्थितिमा कालोबजारी गर्नेलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने आफ्नो पहिलेदेखिकै धारणा रहेको बताउँदै राज्यमन्त्री दुगडले विश्वव्यापी महामारीको विषम परिस्थितिमा खटिइरहेको जिम्मेवार व्यक्तिमाथि कुनै तथ्यविना भ्रामक समाचार सम्प्रेषण गरेर अवाञ्छित लाञ्छना लगाउने कार्य नगरी जिम्मेवार सञ्चारकर्मीको भूमिका निर्वाह गर्नसमेत उनले सबै पत्रकारलाई अनुरोध गरेका छन् । रासस

मुख्यमन्त्री राईद्वारा प्रयोगशाला निरीक्षण

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको आज निरीक्षण गरे । सो अवसरमा मुख्यमन्त्री राईले प्रयोगशाला काठमाडौँ पछिको ठूलो क्षमताको रहेको र दैनिक २०० सम्मको थ्रोट स्वाब नमूना परीक्षण गर्न सकिने जानकारी दिए । सो अस्पतालका प्रमुख डा संगीता मिश्राले आजै साँझदेखि स्वाबको परीक्षण शुरु हुने जानकारी दिए। पहिलो चरणमा ६०० को नमूना सङ्कलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पतालका विज्ञ बलराम गौतमले बताए । यसैबीच क्वारेन्टाइनमा बसेकाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) का लागि प्रदेशका चार स्थानमा टोली खटाइएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोतमा क्वारेन्टाइनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । प्रदेशका १४ वटा जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि आवश्यक सामान, किट र पिपिइ पठाइसक्ने बताउनुभयो । आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट यहाँ ल्याइएको थियो ।

दुई प्रतिशत व्याजमा कर्जा पाए कर्मचारीलाई तलव दिन सकिने व्यवसायीकाे साझा विचार

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रालयमा भेटी कोरोना भाइरसले परेको प्रभावका कारण आर्थिक पुनर्रउद्धारका लागि महासंघको सुझाव पेश गरेको छ । कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि मुलुक लगातार लकडाउनमा जानुपरेका कारण उद्योग, व्यापार तथा व्यवसाय सम्पूर्ण ठप्प रहेको र लकडाउन पश्चात कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतिपूर्ण हुनेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउंदै तत्कालका लागि उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रलाई पुनर्रउद्धार गर्न निम्न सुझावहरु दिएको छ । बैंक तथा वित्तीय पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको लागि २०७६ चैत्र महिना देखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म (प्रतिष्ठान) ले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्नेछ । अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) हरुले २०७६ चैत्र महिना देखि कर्मचारी तथा कामदारको छ महिनाको तलब, ज्याला भुक्तानीको लागि दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्नेछ । बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको कम्पनी तथा फर्म (प्रतिष्ठान)को एक वर्षको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्नेछ । साथै, अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) को छ महिनाको व्याज दुई प्रतिशत ब्याज दरमा हुनेगरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्नेछ । हाल कम्पनी तथा फर्म (प्रतिष्ठान) ले बैंक तथा वित्तीय संस्थाबाट लिएको वर्किङ क्यापिटल लोन, ओभर ड्राफ्ट लोनमा बैंकले १० प्रतिशतले बृद्धि गरि कर्जा दिन सक्ने व्यवस्था गरिनुपर्नेछ । यसरी बृद्धि गरिएको वर्किङ क्यापिटललाई एक वर्ष सम्मका लागि डेप्ट इक्वीटी रेसियोमा असन्तुलन भएपनि मान्यहुने व्यवस्था गरिनु पर्नेछ । नेपाल राष्ट्र बैंकबाट २०७६ चैत्र १६ गते जारी भएको निर्देशन भए अनुसार ऋणीले २०७६ चैत्र मसान्त सम्म बुझाउनु गर्नुपर्ने मासिक÷त्रयमासिक किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था टर्म लोनमा मात्र लागु नगरी वर्किङ क्यापिटल लोन र टीआर लोन लगायतका सबै प्रकारका कर्जाहरुको व्याजमा १० प्रतिशत छुट दिइनु पर्नेछ । उद्योग प्रतिष्ठानको कार्य संचालन गर्न कम्पनी तथा फर्मलाई नगद मौज्दात आवश्यक पर्ने भएकोले हाललाई ऋणीको खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गरिनु पर्ने । कोभिड–१९ को असर हालसम्म सबै भन्दा बढी देखिएको पर्यटन क्षेत्र हो । अवको एक वर्षसम्म पर्यटक आउने सम्भावना पनि नरहेकोले पर्यटनसंग सम्बन्धित व्यवसायको लागि विशेष व्यवस्था गरिनु पर्दछ । पर्यटन क्षेत्रमा आवश्यकता अनुसार कर्मचारी तथा कामदारको संख्या कटैती गर्न सकिने, कामदार कर्मचारीको तलब तथा सुबिधा आवश्यकता अनुसार कटैति गर्न सकिने, होटललाई आवश्यक पर्ने विद्युत तथा एल.पी. ग्या“स सहुलियत दरमा उपलब्ध गराइनु पर्ने, होटलमा संकलन भएको मूल्य अभिबृद्धि करको विवरण र मू.अ. कर रकम छ–छ महिनामा बुझाउने र स्थानीय तहले संकलन गर्ने एकिकृत सम्पत्ति कर ५० प्रतिशतले छुट गर्ने व्यवस्था गरिनु पर्दछ । हालको सीसीडीलाई खुकुलो गर्नु पर्नेपर्नेछ । बचत र ऋण बिचको ब्याजदर अन्तरलाई ०.५ प्रतिशत बिन्दुले घटाइनु पर्ने छ । मौद्रिक उपकरण लगायत अरुकुनै व्यवस्था गरी बैंकको सबै प्रकारको कर्जाको ब्याजदर ३ प्रतिशत बिन्दुले घटइनु पर्नेछ । कोभिड–१९ ले गर्दा विदेशीमा रोजगारीको अवसर घट्ने भएकोले स्वदेशमा नै रोजगारीको संख्या बढाउनु पर्ने सन्दर्भमा लेबर इन्टेन्सिभ र निर्यातमुलक रुग्ण उद्योगलाई सफट लोन प्रदान गरी रुग्ण उद्योग संचालन गर्ने व्यवस्था गरिनु पर्ने छ । विद्युत ः लकडाउन अवधि र उद्योग वन्द भएको अवधिमा नेपाल विद्युत प्राधिकरणले डिमाण्ड चार्ज लिन नपाउने व्यवस्था गरिनु पर्नेछ । उत्पादन बढाउनका लागि नेपाल विद्युत प्राधिकरणले छ महिनाको लागि सस्तो दरमा विद्युत उपलब्ध गराउने व्यवस्था गरिनु पर्नेछ । बीमा ः व्यक्तिको स्वास्थ्य बीमा अन्तरगत कोभिड—१९ ले पर्ने असर बीमा गर्दा पोलिसिमा उल्लेख नभएता पनि हाल महामारीको रुपमा फैलिएको कोभिड १९ संगको लडाईमा कोभिड १९ को असर स्वतः समेट्ने व्यवस्था गरिएमा व्यक्तिलाई काम गर्न र गराउन थप प्रोत्साहन हुने भएकोले स्वास्थ्य बीमा अन्तरगत कोभिड १९ को असर स्वतः समेटिने व्यवस्था गरिनु पर्नेछ । विविध ः कुनै कम्पनी तथा फर्म (प्रतिष्ठान) ले आफ्नो आकार वा क्षमता घटाउन चाहेमा र बन्द गर्न चाहेमा बिशेष कानून बनाई कर्मचारी तथा कामदारलाई न्यूनतम रकम दिई कम्पनी तथा फर्मले आफ्नो आकार वा क्षमता घटाउन सक्ने र बन्द गर्न सक्ने व्यवस्था गरिनु पर्ने । एक वर्षको लागि कम्पनी तथा फर्ममा सामुहिक सैदाबाजिलाई स्थिगित गरिनु पर्नेछ । कानूनको कार्यान्वयन ः मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २४ (३) मा लगातार चार महिनामासम्म मिलान गरेर बा“की रहेको रकम एकमुष्ट फिर्ता दिने व्यवस्था भएता पनि हाल प्राप्त हुन नसकेकोले कम्पनी तथा फर्मको नगद प्रवाहको व्यवस्थापन गर्न तत्काल फिर्ता दिइनु पर्नेछ । सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्र्तगत आपूर्ति हुने वस्तु वा सेवा वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मूल्य अभिबृद्धि कर रकमको ५० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बा“की रहने कर बापतको रकम मात्र भुक्तानी गर्नेछ । यसरी राजस्व जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई दिनु पर्ने व्यवस्था भए अनुसार ५० प्रतिशत राजस्वमा जम्मा भएको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई सात दिन भित्र दिइसक्नु पर्नेछ ।

भारतीय शहरमा नेपाली मजदूरको बिचल्ली,सडकपेटीमै दिनरात बिताउँदै

भीमदत्तनगर। विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उनी यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त हुनुहुन्छ । “घरबाट बुवा/आमाको रातो टीका र धन कमाउने आर्शीवाद लिएर विदा सकेर चार महिनाअघि मात्रै काममा फर्के ।” मुम्बैबाट टेलिफोनमा कुराकानी गर्दै उहाँले निराश हुँदै भने, “अब त धन कमाएर घर पठाउनेभन्दा पनि बाँच्न नै मुश्किल प¥यो ।” उनीसंँग उक्त होटलमा कार्यरत दोधारा चादँनीका चार युवक लकडाउनदेखि आश्रय लिइरहेका छन् । उनले कञ्चनपुर, कैलाली र बैतडीलगायत जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिंए । “धेरैलाई त घरबेटी नै निकाल्दैछन् ।” उनले भने, “जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाउन ।” उनले आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको बताए । “सुदूरपश्चिमका मात्रै यहाँ अलपत्र परेका ३०० जति सम्पर्कमा छन् ।” उनले भने, “सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस ।” कार्कीले दैनिक जसो मुम्बै र आसपासका क्षेत्रमा नेपाली मजदूरहरुले व्यहोरी रहेको समस्या सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । “यहाँ रहेकाको बेदना कसैले सुन्छन् की भनेर सामाजिक सञ्जालको सहारा लिइरहेका छौँ ।” उनले भने, “हामीलाई उद्धारका लागि पहल गर्न आग्रह गर्छौँ ।” उनले सीमा क्षेत्रको अवस्था केही समयका लागि सामान्य बनाएर नेपालीलाई स्वदेशकै क्वारेन्टाइनमा पु¥याउन माग गरे । “कोरोनाको जोखिमप्रति हामी पनि चिन्तित छौँ ।” उनले भने, “नेपालबाट हामीलाई लिन बस पठाइ दिए हामी आफै बस भाडा तिथ्र्यौंै भन्नेमा छौँ ।” बैतडीका जगदीश भण्डारीेले ६० जना मजदूर मुम्बैमा अलपत्र परेको जानकारी दिए । “होटलको स्टाफ रुपमा कोचिएर रात दिन काट्नुपर्ने अवस्था छ ।” उनले भने, “अरु बिरामी पर्दा औषधि लिन सुरक्षाकर्मीले जान दिएको अवस्था छैन ।” त्यसैगरी मुम्बैको अन्धेरीमा होटलमा काम गर्दै आइरहेका कञ्चनपुरको दोधारा चादँनीका राजेन्द्र चन्दले लकडाउनका कारण होटल साहुले घर जान दबाब दिइरहेको बताए । “खान, बस्न त अहिलेसम्म ठिकै थियो ।” चन्दले भने, “हिजो साहुले लकडाउन लम्बिन्छ घर जाउँ भन्यो ।” उहाँले आफू पारिवारिक पस्थितिले तीन महिनाघि मुम्बै आएको बताउँदै उद्धारका लागि सरकारले ध्यान दिनुपर्ने बताए । “भारतीय सरकारसित यहाँ रहेका अलपत्र नेपालीको खानपिन र बसोबासका लागि समन्वय गरिदिए पनि हुन्थ्यो ।” उनले दुखेसो पोख्दै भने, “नेपाली बिरामी परेपनि अस्पताल पु¥याइदिने छाँट छैन ।” त्यसैगरी कञ्चनपुरको बेल्डाँडी–३ का जनकराज भट्ट पनि मुम्बैमा समस्यामा परेका छन् । “अहिलेसम्म त ठिकै थियो, खान बस्न दिएकै थियो ।” भट्टले भने, “अब लकडाउन लम्बिन्छ, घर जाउँ भन्दै छैन ।” उनले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोखे । “दूतावासको फोन नै उठदैन ।” उनले भने, “उठाइहाले पनि कोही बोल्दैनन् ।” यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बै, पुना, बैंग्लोर, पञ्जाव, हरिद्धार, लोहाघाट, पिथौरागढ लगायतका क्षेत्रमा जाने गर्छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको सङ्क्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ४३ हजार नागरिक यहाँका नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ । भारतबाट घर फर्किएकामध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका र कैलालीको लम्की चुहा नगरपालिकाकाका एक÷एक जनामा कोरोनाका सङ्क्रमण देखिएको छ । दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दार्चुलाको सीमावर्ती भारतीय बजार धारचुलादेखि कञ्चनपुरको टनकपुर हँुदै बनवासासम्म गरी करिब एक हजार १०० भन्दा बढी नेपाली त्यहाँ क्वारेन्टाइनमा बसिरहेका छन् । रासस

सनराइज बैंकले अनलाइनबाटै सार्वजनिक गर्यो २०७७ सालको क्यालेन्डर

काठमाडौं । सनराइज बैंकले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषय वस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्फत आफ्ना ग्राहकहरुसम्म पुर्याउने निधो गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लकडाउन र वर्क फ्रम होमलाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कनफिरेन्सिङ मार्फत सार्वजनिक गरेको हो । बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको सुरक्षा र सहज्तालाई प्राथमिकता दिँदै आएको र आउने दिनहरुमा पनि दिँदै जाने जनाएको छ । सर्वसाधारणले बैंकको बेवसाइट https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf बाट क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्ने छन्।

प्रदेश नं २: महामारीमा खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले तिर्ने

जनकपुरधाम । प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडित परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी गराए । त्यसैगरी, सो बैठकले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ । बैठकले कृषि फर्मका लागि किसानले रु पाँच लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । रु पाँच लाखदेखि रु १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, रु १५ लाखदेखि रु ३० लाखसम्म ऋणमा ४० प्रतिशत र रु ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम व्याज तिरीदिने निर्णय गरेको सरकारका प्रवक्ता यादवले बताए । यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा र माछामा यस निर्णय अतिरिक्त राहत उपलब्ध गराउने निर्णय भएको छ ।

कोरोनाको सबै मिलेर सामना गरौंः मुख्यमन्त्री गुरुङ

सो अवसरमा उहाँले कोरोना भाइरस सङ्क्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिए । सो अस्पतालमा दुई जना सङ्क्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ । मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए । “प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ” उनले भने, “अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए । प्रदेश सरकारले धौलागिरी अस्पताललाई अत्यन्त महत्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उनले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह पनि गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना, मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि. पोख्रेल, फिजिसियन डा. प्रदिप श्रेष्ठले सङ्क्रमित बिरामीका बारेमा जानकारी गराउँदै अस्पतालले भोगिरहेको समस्या र चुनौतीका बारेमा मुख्यमन्त्री गुरुङको ध्यानार्कषण गराए । मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गरे । अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा सङ्क्रमितको उपचार भइरहेको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि वजेट विनियोजन गर्ने जनाएको छ । रासस