
काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड भएको छ । जसमा सर्वसाधारण समूहबाट आवेदन दिने सबैले माग गरेजति पाएका बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरेलका अनुसार रितपूर्व आवेदन दिनेमध्ये संस्थागत लगानीकर्तालाई ९५ प्रतिशत र सर्वसाधारण लगानीकर्तालाई बाँकी ५ प्रतिशत ऋणपत्र वितरण गरिएको छ । उक्त ऋणपत्रमा ३१७ जना आवेदकहरुले रितपूर्वक आवेदन दिएका थिए ।
‘त्यस्तै, म्युचअल फण्ड अन्तर्गत माग गर्ने सबैले शतप्रतिशत बैंकको ऋणपत्र पाएका छन्’ उनले विकासन्युजसँग भने – ‘मागभन्दा १२ करोड रुपैयाँ बढी आवेदन परेकाले उक्त रकम चाँहि फिर्ता गरिने छ ।’
कम्पनीले फागुन २० गतेदेखि चैत ४ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । जसमा २ अर्ब ६२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमध्ये सर्वसाधारण तर्फबाट माग गर्ने सबैले माग गरेजति पाएका छन् । साथै, व्यक्तिगत तवर मार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका डिबेन्चर वापत बाँकि रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा चैत ३० गते आइतबारदेखि आईपीएस मार्फत सिधै बैंक खातामा रकमान्तर गरिने सीईओ पोखरेलले बताए ।
१०.२५ प्रतिशत व्याजदर तोकिएको यस ऋणपत्रको अवधि भने १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये १५ लाख कित्ता विभिन्न संघ संस्थालाई र बाँकी १० लाख कित्ता सर्वसाधारणलाई बिक्रीमा राखेको थियो । त्यस्तै, सर्वसाधारण मध्येबाट ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको थियो ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको थियो । बैंकले जारी गरेको ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र-२०८६’ ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एलबिबिबि प्लस’ ग्रेड दिएको छ । जसले बैंकको वित्तीय अवस्था औषत भन्दामाथि अर्थात सुरक्षित रहेको बुझाउँछ ।