कोरोना रोकथामकाे लागि सहयोग बढाउँदै नेपाल रेडक्रस, देशभरीका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री वितरण
काठमाडाैं । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सबै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट ३ हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ । नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेले भने- ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । समस्याको सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाइयो । सोही अनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको छ ।’ युवा स्वयंसेवकहरु सक्रिय: १ लाख ४२ हजारमा पुगे समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन्। अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख १८ हजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको छ । भावी कार्यक्रमबारे नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भने- क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको छ । सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् ।स्रोतको उपलव्धता अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेरेसोको निशुल्क हटलाईन् ११३० सञ्चालन गरिएको छ जसमा लकडाउन पछि १७५ कलको सम्बोधन गरिएको छ । त्यस्तै मनोबैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको छ । विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन तर्फपनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जस्ता माध्यमबाट सञ्चार भइरहेको छ । कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेशनबाट प्रसारित भैसकेका छन् । युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको र यो “NRCS Social Media Volunteers on COVID-19” मा ७५० वढी स्वयंसेवकहरु आवद्ध भैसकेका संस्थाले जनाएकाे छ । सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हव अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा लगायत सवै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने बित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन् । ३४२ परिवारलाई सरसफाई किट उपलव्ध गराइएको छ । देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्सहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र ग्लोब वितरण गरिएको छ । जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दुर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई शुरक्षा सम्बन्धी दुर शिक्षाबाट जानकारी दिइएको छ । काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सवै संस्थाका एम्बुलेन्सको कन्पार्टमेन्ट नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको छ । शव व्यवस्थापनमा सहयोगः नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा तथा नेपाली सेनालाई ५० वटा व्याग दिइएको छ । पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराईएको छ । जिल्लाहरुको विशेष सहयोग भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक एक लाख सहयोग उपलव्ध गराएको छ । निर्देशिकाहरु तयारीः अहिले काम गर्ने तरीकालाई निर्देशित गर्न काेभिड-१९ रेसपाेन्स गाइडलाइन तयारी गरी निकायहरुमा पठाइएको छ । यसले नेरेसोका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ । त्यस्तै संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यवहारिक कदमको लागि इन्फेक्सन, प्रिभेन्सन एण्ड कन्ट्राेल(आईपीसी) गाइडलाइन तयारी गरिएको छ । यसैगरी पारिबारिक सम्पर्कको पुनस्थापनाको लागि निर्देशिका पनि तयार भएको छ ।
के तरकारी र फलफूलबाट काेराेना भाइरस सर्छ ?
काठमाडौं । कोरोना भाईरस मुखबाट शरिरमा प्रवेश गर्छ भनेर हामीलाई बारम्बार भनिदैँ आएको छ । यो भन्ने बित्तिकै यसले स्वतः खानाको बारेमा प्रश उठाउँछ । के खानाले हामीलाई श्वासप्रश्वासमा समस्या ल्याउँछ त ? संयुक्त राज्य अमेरिकाको कृषि विभागका अनुसार अहिले सम्म खानेकुराबाट कोभिड १९ सरेको कुनै पनि प्रमाण भेटिएको छैन । यस्तै, युनिभर्सिटी अफ जोरजियाको सेन्टर फर फुड सेफ्टस्का निर्देशक फे्रन्सिस्को डिएज गोन्जेल्जको अनुसार्र अन्य खानेकुराको विषादीहरु फाल्ने, फोहोर फाल्ने विधि प्रयोग गरे भाईरसको जोखिमलाई कम गर्दछ । तपाईले ध्यान दिनुपर्ने कुरा यस्ता छन्ः १. हात धुनुहोस भाईरसको जोखिमबाट बच्न खाना तयार गर्नु अगाडि र गरिसकेपछि राम्रोसँग हात धुनुहोस् । यसको मुख्य लक्ष्य शरिरमा भाईरस प्रवेश गर्न नदिनु नै हो । यो धेरै पटक भनिदैं आएको कुरा हो । तर, तपाईले फेरि पनि यो सम्झन जरुरी छ कि हात धुन कति महत्वपुर्ण छ भनेर । २. तरकारी, फलफूल राम्रोसँग धुनुहोस् धेरै जना मानिसहरु तरकारी, फलफुलको सतहमा कति समय भाईरस बस्छ भन्ने कुराको बारेमा अनविज्ञ छन् । तर हालसम्म कतै पनि यसको पुष्टि भएको पाइएको छैन । तरकारी, फलफूलहरुमा विषादीहरु पनि उत्तिकै मात्रामा पाईन्छ त्यसैले जेसुकै भएपनि तपाईले तरकारी, फलफूलहरु राम्रोसँग धाेएर, पखालेर मात्र प्रयोग गर्नुपर्छ । मनतातो पानीमा चिनी अथवा नुन हाल्ने कहिले पनि तरकारीलाई बजारबाट ल्याएको बित्तिकै नखानुहोस् । जहिले पनि तरकारी वा फलफुल ल्याईसकेपछि तातो पानीमा नुन अथवा चिनी हालेर २० मिनेटभन्दा बढि समय राख्नुहोस् । भिनेगरमा भिजाउनुहोस् फलफूल र तरकारीको सतहमा भएको फोहोर र विषादी घटाउन अर्काे उपाय भनेको भिनेगरको प्रयोग हो । पानीको १ चौथाई भनेगर हाल्नुहोस् । र त्यसलाई २० मिनेट भन्दा बढि समय राख्नुहोस् । यसले खानेकुरामा पाईने धेरै प्रकारका ब्याक्टेरीयाहरु हटाउन मद्धत गर्दछ । अंगुरहरु जस्ता पातलो बोक्रो भएको फलफुलहरु राख्दा ध्यान दिनुहोला । बेकिङ सोडा र पानीले सफा गर्नुहोस् पानीमा थारै बेकिङ सोडा प्रयोग गरेर पनि तरकारी र फलफुलको सतहमा भएको फोहोर र विषादीहरु मार्न सकिन्छ । यसमा १५ देखि २० मिनेट तरकारी र फलफुल राखी फेरी पानीले पखालेर प्रयोग गर्न सकिन्छ । चिसो बगिरहेको पानीमा पखाल्नुहोस् विभिन्न अनुसन्धानले चिसो पानीले सतहमा भएको फोहोर र १२ मध्ये ९ विषदीहरु नष्ट गर्न देखाएको छ । यस्तै बगिरहेको पानी जस्तै धाराबाट सिधै फलफुल, तरकारीहरु धुँदा विषदीहरु अझ राम्रोसँग पखानिले विभिन्न अनुसन्धनाले बताउने पोषणविद्ध मिरा शाहा बताउँछिन् । बोक्रो फाल्नुहोस् सतहमा भएको फोहोर र विषदी फाल्ने अर्का उत्तम उपाय भनेको बोक्राहरु फाल्नु हो । बोक्राहरुमा बढि मात्रामा विषदी हुनसक्ने हुनाले त्यसलाई फाल्न सबैभन्दा उत्तम उपाय हो । ३. भान्सालाई सफा राख्नुहोस् जहिले पनि भान्सालाई सफा राख्नुहोस् । पानीमा केही मात्रा साबुनहरु मिसाएर तपाईले सफा गर्नसक्नु हुनेछ । यस्तै रुघो, खोकी लागेको मानिसलाई भान्सामा प्रवेश गर्न बन्देज लगाउनुहोस् । ४. उचित तापक्रममा खाना पकाउनुहोस् भाईरसहरु तातोमा मर्न सम्भावन धेरै हुनेभएकोले उचित तापक्रममा खाना पकाउनुहोस् । ५. बिरामी व्यक्तिले खाना नपकाउनुहोस् कोही पनि बिरामी व्यक्तिले खाना बनाउनु हुँदैन । बिरामी व्यक्ति आफैले आफ्नो जिम्मेवारी महसुुस गरि खाना बनाउनु हुँदैन ।
के तपाई चुराेट र गाँजा लिनुहुन्छ ? ख्याल गर्नुस् कोभिड १९ ले यस्ताे खतरा ल्याउन सक्छ
काठमाडौं । यदि तपाई कोरोनाको त्रासलाई कम गर्नको लागि तपाई गाँजा प्रयोग गरिरहनुभएको छ भने विज्ञहरुले तपाईले दाेहाेराएर सोच्नुपर्छ भन्ने सुझाव दिएका छन् । किनभने यसले फोक्सोलाई असर गर्छ, कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ विशेष गरेर चुरोट र गाँजा प्रयोग गर्नको लागि थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकाका लंग एसोसिएसनका प्रमुख चिकित्सा अधिकारी पल्मनोलोजिष्ट डा. अबर्लट रिज्जो भन्छन्, ‘गाँजा खाँदा तपाईको शरीरमा हावा प्रवेश गर्न मार्ग केही मात्रामा सुनिन्छ जसरी ब्रोनकाईटिज र चुरोटले सुन्नाउने गर्दछ ।’ एकतर्फ तपाईको श्वासप्रश्वास नली सुन्निने र त्यसमा अर्को संक्रमणले तपाईको स्वास्थ्यमा झनै धेरै जाेखिम निम्ताउने विशेषज्ञहरु बताउँछन् । तपाईको शरीर कोरोनासँग लड्नुपर्ने अवस्थामा अर्काे समस्यासँग लडिरहेको छ । गाँजा जसको सेवनले सुख्खा खोकी निम्ताउँछ जसले रोग पहिचानमा पनि समस्या ल्याउँदछ । कोभिड–१९ एक श्वासप्रश्वासको समस्या हो । दिर्घकालिन श्वासप्रश्वास रोगी श्वासप्रश्वास नलीमा कुनै प्रकारको समस्या जस्तै आस्थमा, फोक्सोको रोगीहरु सास फेर्नको लागि भेन्टिलेटरको आवश्यक पर्न सक्दछ । गाँजा सुर्तिहरुभन्दा केही फरक हुन्छ । चुरोटभन्दा गाँजा धेरै कम तापक्रममा जल्दछ । जब कोही व्यक्तिले गाँजा सेवन गर्दछ तब उसले केही नजलेको गाँजा पनि सेवन गरेको हुन्छ जसले श्वासप्रशवास नलीमा गएर एकप्रकारको असजिलोपन सिर्जना गर्दछ । यसरी यसले श्वासप्रशवास नलीमा समस्या ल्याएर काेराेना संक्रमण भएकाे अवस्थामा थप समस्या सिर्जना गर्दछ ।
समस्याका बीचमा काम गर्नुपर्ने वाध्यता छ : मुख्यमन्त्री पौडेल
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण लकडाउन गर्नु पर्दा देशमा समस्या नै समस्या उत्पन्न भएको बताए । आज प्रदेशका सुरक्षा प्रमुखहरुलाई लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले समस्या नै समस्याका बीचमा पनि काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले व्यावहारिक भएर लकडाउनलाई कडा गर्न आग्रह गरे । लकडाउनलाई कानूनको उल्लङ्घन नहुने गरी कडा बनाउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी तथा प्रदेशका १३ वटै जिल्लाका बजारमा भीड बढेको सूचना आइरहेकाले लकडाउनको प्रभावकारितामा नै प्रश्न उठ्ने बताउँदै तत्काल ध्यान दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलले काठमाडौंलगायत देशका विभिन्न क्षेत्रबाट आफ्नो घर पुग्न पैदल हिँडेका व्यक्तिहरुको भने उचित व्यवस्थापनमा गरिनुपर्ने बताए । उनले एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न नै नदिने गरी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिए । मुख्यमन्त्री पौडेलले आवाससहितका उद्योगलाई भने सामाजिक र व्यक्ति व्यक्तिबीचको दूरी कायम गरेर तथा मापदण्डभित्र रही उत्पादन शुरु गर्न दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलले कृषि उपजको उत्पादन, व्यवस्थापन र बजारीकरणलाई भने सहज आपूर्ति तथा बिक्री वितरणको व्यवस्था गर्न निर्देशन दिए । छलफलमा प्रदेशका प्रमुख सचिव तोयम रायले कृषि उपजलाई किसानबाट बजारसम्म पुर्याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताए । मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले लकडाउन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा मकवानपुरका प्रजिअ दीपकराज नेपाल, नेपाली सेना मध्य पृतना हेडक्वार्टरका पृतनापति ताराध्वज पाण्डे, जिल्ला समन्वय समिति वाग्मती प्रदेशका संयोजक रघुनाथ खुलाल, प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल लगायतका व्यक्तित्वले लकडाउनलाई प्रभावकारी बनाउन गर्न सकिने कार्यबारे आ–आफ्नो धारणा राखे । रासस
अभूतपूर्व सिक्ने र झोला थाप्ने वर्ष बन्दै २०७७ साल
काठमाडाैं । तपाईलाई जस्तै मलाई पनि नयाँ वर्ष २०७७ ले खुशी दिएको छैन । किनकी २०७७ सालमा हामी धेरैको आम्दानी घट्नेछ । लकडाउनका कारण अधिकांश कम्पनीहरुले चैत महिनाको कर्मचारीको तलव खातामा हालिदिएका छैनन् । धेरै रोजगारदातालाई कसरी कर्मचारीलाई तलव दिने भन्ने चिन्ता छ । यतिबेला रोजगारदाताहरु खर्च कटौति र कर्मचारी कटौतिका विषयमा जोडघटाउ गरिरहेका होलान् । र, कर्मचारीले तलव आएन भन्ने भन्दा पनि जागिर खोसिएला भन्ने चिन्ता गरिरहेका होलान् । विगतमा तलव वृद्धिको लागि सामूहिक सौदाबाजी गर्ने ट्रेड यूनियनहरु २०७७ सालभर कर्मचारी कटौति वा सुविधा कटौतिको विरोधमा संघर्ष गर्नेछन् । यो साल रोजगारदाता र श्रमिकबीच द्वन्द्वको वर्ष बन्न सक्छ । चैतको पहिलो सातामा २० रुपैयाँमा ३ देखि ५ वटा कागती किन्न पाइन्थ्यो । आज विहान एक दाना कागती २० रुपैयाँ किनबेच भईरहेको मैले देखेँ । बन्दबढी लम्बिदै जादा खाद्यन्यको मूल्यमा व्यापक वृद्धि भएको छ । आम्दानी घट्ने तर अत्यावश्यक बस्तुको सम्भावित मूल्य वृद्धिले आम उपभोक्तालाई ठूलै तनाव हुनेछ । २०७७ सालमा नयाँ उद्योगको कल्पना बेकार हुनेछ । निजी क्षेत्रको भूमिका नियन्त्रण गर्ने वर्तमान सरकारको नीतिका कारण नेपालीहरुले विगत केही वर्षदेखि नयाँ उद्योग खोलिरहेका थिएनन् । कोरोना भाइरस विरुद्धको खोप बजारमा नआएसम्म नयाँ उद्योग खुल्ने छैनन् । यतिबेला विदेशी लगानीको कल्पना नगरे हुन्छ । २०७२ सालको भूकम्पपछि नेपालीलाई संकटबाट माथि उकास्न मित्रराष्ट्र एवं वहुपक्षिय संस्थाहरुले जसरी सहयोग गरेका थिए, अहिले त्यस्तो सहयोग आउने छैन । विश्व बैंक र एशियाली विकास बैंकले पनि ऋण प्रस्ताव गरेका छन्, अनुदान प्रस्ताव शुन्य छ । संकटले नयाँ अवसर मिल्छ । संकटले ठूला उद्योगीहरुलाई संकटमा पार्नेछ । नविनतम सोच, बलियो आँट भएकाहरु नयाँ विकल्पका साथ अगाडि आउनेछन् । सशस्त्र द्वन्द्वपछि रेमिट्यान्स विजनेश मौलाएझै अब अनलाइन विजनेश मौलाउने छन् । आलु प्याजदेखि टिभी,मोवाइल सबै वस्तुको अनलाइन व्यापार बढ्ने छ । विकास भइसकेको तर प्रयोग नभईरहेका प्रविधिको व्यापक प्रयोग हुनेछ । जुमको विकास सन् २०११ मा भएको थियो । ९ वर्षपछि यसको प्रयोग व्यापक भएको छ, त्यो पनि कोरोना महामारीले वाध्य पारेर । आज भन्दा १ महिनाअघि नेपाली समाजमा जुम प्रयोग गरेर बैठक, सभा, सम्मेलन वाहियात कुरा थियो । अहिले नियमित प्रक्रिया भएको छ । गत साता किङ्स कलेजले एउटा अन्तराष्ट्रिय सम्मेलन जुमबाट गर्यो, जहाँ शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले सम्बोधन गरेका थिए । विकासन्युजको नियमित बैठक १०ः३५बजे हुने गरेको थियो अफिसमा पुगेर । अहिले १० बजे नै बैठक हुन्छ जुम प्रयोग, घरमै बसेर । विनोद चौधरी, चन्द्र ढकाल, पशुपति मुरारका, देवि भट्टचन, सिर्जना राणा लगायतले घरबाटै आफ्ना विजनेश मिटिङ सञ्चालन गरिरहेका छन् । सबै प्रकारका किनबेल र सबै प्रकारका भुत्तानी अनलाईनबाट गर्न सकिन्छ । प्रविधिको विकास र प्रयोग भईरहेकै छ । मात्र हामीले नजानेर प्रयोग नगरेका हौ । सिक्ने प्रयास पनि गरेका थिएनौं । २०७७ सालमा जनस्तरमा प्रविधिको प्रयोगबारे अभूतपूर्व सिकाइ हुनेछ, जसरी माओवादी द्वन्द्वकालमा नेपालीको राजनीतिक र सामाजिक चेतना अभूतपूर्व बढेको थियो । लकडाउन लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने प्रयास गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा हुलाक टिकटसहितको कागजी फाइलको व्यवस्था हटाएर अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिइदैछ । चिठ्ठीको बदला इमेललाई मान्यता दिन १० औं वर्ष लगेको थियो नीति निर्मातालाई । कोरोनाको दवावले नेपालका शासकहरु यति गलेका छन् कि अब उनीहरुले डिजिटल सिग्नेचरको महत्व पनि बुझ्नेछन् । २०७७ सालमा नेपाली समाजमा डिजिटल सिग्नेचरले उच्च स्थान पाउन सक्छ । प्रविधिमा आधारित विजनेशहरु मौलाउने छन् । एनसेल, डिस होम, वल्डलिङ्क जस्ता प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले यहि वर्ष विजनेशमा छलाङ मार्न सक्छन् । सेवा क्षेत्र भईकन बैकिङ, बीमाको विजनेशमा गिरावट आउने छ । धेरै क्षेत्रमा आर्थिक संकट पर्ने भएकोले वित्तीय क्षेत्र वर्षभरी नै तनावमा हुनेछ । तर उनीहरुको भूमिका भने झन् बढ्नेछ । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं सेवा क्षेत्रमा शिक्षा क्षेत्र स्थीर रहने छ । तर स्वास्थ क्षेत्रमा ठूलो उथलपुथल आउनेछ । कोरोना भाइरसको त्रासले ज्वोरोको विरामीको पनि उपचार गर्न नमान्ने निजी लगानीका हस्पिटलहरुले जनविश्वास गुमाउने छन् । नीति निर्माता र विचार निर्माताको नजरमा पनि उनीहरु नराम्ररी गिर्दैछन् । २०७७ सालमा हावाई, होटल, रेष्टुरेन्ट, यातायात क्षेत्रलाई माथि उड्न सबैभन्दा बढी संघर्ष गर्नु पर्नेछ । धेरै मान्छे जम्मा गरेर खुशी मनाउने प्रकृतिको व्यवसायलाई पनि गाह्रो छ । सिनेमा हल, बैंक्वेट, खेलकुद, कन्सर्ट लगायतका विजेनशहरु २०७७ सालभर माथि उठ्न सक्ने छैनन् । सहरी क्षेत्रमा बढी कारोबार हुने घरजग्गा, सेयर, सवारीको व्यापार चौपट नै हुनसक्छ । विदेशबाट फर्केका वा सहरी क्षेत्रमा रोजगारी गुमाएका लाखौ ग्रामिण क्षेत्रमा फर्कनेछन् । त्यसले ग्रामिण क्षेत्रमा हुने कृषि तथा कुटिर उद्योग माथि उकास्ने छ । विल गेट्ले भनेजस्तै कोरोना भाइरस विरुद्धको औषधि बजारमा नआएसम्म विश्वभर लकडाउनको अवस्था जारी रहनसक्छ । नेपाल त्यसबाट अलग रहन सक्दैन । ‘नेपाल कोरोना मुक्त देश’ भन्ने मन्त्री योगश भट्टराईका विचारहरु पागलमतमा परिणत हुँदै जानेछन् । अर्थमन्त्री युवराज खतिवडाका अनुसार ३ साता लकडाउन हुँदा जीडीपीमा ४ प्रतिशतको क्षय हुने देखियो । दैनिक अर्बमा उठ्ने राजश्व करोडमा झरिसक्यो । यस्तो संकटको बेलामा सरकारले सहिबाटो लिन सकेको छैन । पवन गोल्यानले १० हजार गार्मेन्ट उद्योग खोल्छु भनेका छन् । उनको परिकल्पना राम्रो छ । उनको परिकल्पनालाई साकार गर्न सरकारले सहयोग गर्ने सम्भावना देखिदैन । सरकारले रोजगारदातालाई प्रोत्साहित गर्ने नीति नलिएर बेरोजगारलाई दाल चामल वितरण गर्ने नीति लिएको देखिन्छ । गरिव मानिसलाई माछा मार्न सिकाएर धनी बनाउनुको साटो माछा मारेर वितरण गर्ने र गरिबीलाई पालिराख्ने सरकारी नीतिका कारण यस वर्ष धेरै नेपालीहरु आफ्नो काम छोडेर झोला थाप्न जानेछन् । राजनीतिककर्मी, गैरसरकारी संस्थाका सञ्चालक तथा कर्मचारी लगायत प्रचारबाजहरूलाई याे वर्ष भ्याइनभ्याइ हुनेछ । यस वर्षकाे सामाजिक सञ्चालमा यस्ता फाेटाे सर्वाधिक देखिनेछन् । माेवाइलका क्यामराहरू दानी र माग्नीहरूकाे फाेटाे खित्न व्यस्त हुनेछन् । राहात थाप्नेले केही छाट टार्नेछन् भने दिनेहरू माला र खादामा सजिने छन् । सरकारले राहत वितरणमा अर्बौ रुपैयाँ खर्च गर्नेछ । त्यसमा सिंहदरवारदेखि वडादरवारसम्म व्यापक भ्रष्टाचार हुने आधारहरु २०७६ सालमै छरपष्ट रुपमा सार्वजनिक भईसकेका छन् । २०७७ सालमा सरकारप्रति जनआक्रोश चुलिने सम्भावना छ । वाध्यताले यो वर्ष प्रधानमन्त्री परिवर्तन हुन सक्छ । तर, फेरी पनि सरकार नेकपाले नै चलाउने छ । अन्त्यमा धेरै मानिसको मुखबाट व्यक्त हुने एउटा भनाई –‘कोरोना महामारीबाट विश्वमा यति धेरै मानवीय क्षति हुँदा पनि नेपालमा कोरोनाका कारण एक जनाको पनि ज्यान गएको छैन । पशुपतिनाथले हाम्रो कल्याण गर्नुहुनेछ ।’ नयाँ वर्ष २०७७ सालको सबैलाई शुभकामना ।
ओपेक, तेल उत्पादक राष्ट्रहरुबीच तेल उत्पादन कटौती गर्न सहमति
दुबई । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका कारण तेलको माग घटे पनि खासगरी साउदी अरेबिया र रसियाले उत्पादन नघटाएपछि खनिज तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा घटेको थियो । अमेरिकी ऊर्जा मन्त्री ड्यान ब्राउलिटले एक दशकयता यतिठूलो परिमाणमा ओपेकले तेलको उत्पादन घटाएको सम्भवतः यो पहिलो पटक रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र रसियाबीच जारी तेलको बजारभाउको युद्ध अन्त्य गर्न मध्यस्थता गरेकै कारण उत्पादन कटौतीमा सहमति जुटेको पनि उनले बताए । कोरोनाभाइरसका कारण विश्वभर मानिसको यात्रामा कमी आएको तथा तेलको उच्च माग हुने उत्पादन क्षेत्रमा काम लगभग ठप्प भएका कारण तेलको मूल्यमा व्यापक गिरावट आएको थियो । यही कारण अमेरिकी तेल उद्योग पनि नराम्रोसँग संकटमा फसेको छ । अमेरिकामा हाल विश्वका अन्य कुनै मुलुकमा भन्दा बढी कच्चा तेल उत्खनन् हुने गरेको छ । तर कतिपय तेल उत्पादकहरु आपूर्तिलाई सहज बनाउन त्यति इच्छुक देखिएका छैनन् । तेल उत्पादकहरुबीच आइतबार भएको सहमतिमा मेक्सिकोलाई प्रति महिना एक लाख ब्यारेल मात्र उत्पादन कटौती गर्न भनिएको छ । ओपेकका सदस्यसहित कूल २३ राष्ट्रबीच भएको सहमति अनुसार मे र जुन महिनामा प्रतिदिन ९७ लाख ब्यारेल तेल उत्पादन कटौती हुनेछ । एसियाली शेयर बजार खुला हुनुभन्दा ठीक अगाडि भएको यस सम्झौताको एसियामा मिश्रित असर परेको देखिएको छ । ब्रेन्ट कच्चातेलको बजारमूल्य प्रति ब्यारेल ३१ अमेरिकी डलरको आसपासमा रहेको छ, तर अमेरिकी कच्चा तेलको मूल्यमा खासै फेरबदल देखिएको छैन । ओपेक, रसिया र अन्य तेल उत्पादकबीच भएको सम्झौतालाई साउदी ऊर्जा मन्त्री अब्दुलाजीज बिन सल्मानले हस्ताक्षर गरे । नाइजेरियाली ऊर्जा मन्त्रालयले जारी गरेको वक्तव्यमा उत्पादन कटौतीपछि तेलको मूल्यमा तत्कालै प्रतिब्यारेल कम्तीमा १५ अमेरिकी डलर वृद्धि हुने उल्लेख छ । उत्पादन कटौतीप्रति शुरुमा बिमती राखेको मेक्सिकोले अमेरिकाले तेल कटौतीबाट उत्पन्न हुनसक्ने प्रभाव न्यूनीकरण गर्न सघाउने आश्वासन प्राप्त भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भने, “ओपेक प्लससँग ठूलो सम्झौता भएको छ । यसले ऊर्जा क्षेत्रमा लाखौं अमेरिकीको रोजगारी जोगिएको छ । म यसका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरेबियाका राजा सल्मानलाई धन्यवाद सहित बधाई दिन चाहन्छु ।” रसियाली राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनले सम्झौताको कार्यान्वयनका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी राजा सल्मानसँग आग्रह गर्न भने । रेमन्ड जेम्समा कार्यरत ऊर्जा विश्लेषक मोहम्मद गुलामले पछिल्लो सम्झौता ऊर्जा उद्योग तथा विश्व अर्थतन्त्रका लागि कम्तीमा एउटा अस्थायी राहत भएको टिप्पणी गरे । उनले भने, “यो उद्योग विशाल छ र गठबन्धनका मुलुकहरुले सम्झौता मार्फत जिम्मेवारी प्रदर्शन गरेका छन् ।” रासस/एपी
२०७७ सालः डिजिटल बैंकिङ अबको आधार
काठमाडौं । एउटा प्रशंगबाट शुरु गरौं । तान्जेनियाका महिलाहरु शल्यक्रियाको लागि अस्पताल जाँदा यात्रा गरिरहेको बसलाई टिकट देखाउनु अर्थात पैसा दिनुको सट्टा एउटा मेसेज देखाउँछन् । यस्तै, पाकिस्तानका बैंकहरु पनि खाली देखिन्छन् । यसको मतलव उनीहरु पैसाको कारोबार नगर्ने भन्ने होइन । उनीहरुसँग बैंकमा गएर लाइन लाग्ने समय छैन । उनीहरु त घरमै बसेर अर्थात काम गरिरहेकै समयमा मोबाइल बैंकिङको भरपुर फाइदा लिइरहेका हुन्छन् । यस्तै, अमेरिकामा ८० प्रतिशत स्मार्टफोन मालिकहरूले विगत छ महिनामा अनलाइनबाटै सामान खरीदको लागि आफ्नो उपकरण (मोबाइल) प्रयोग गरे । सन् २०१९ मा तिनीहरूको बैंक ब्यालेन्स जाँच गर्न तीन चौथाईभन्दा धेरै अमेरिकीहरूले मोबाइलको प्रयोग गरेकाे पाइयाे । यी डिजिटल बैंकिङ प्रयोग गर्ने केही प्रतिनिधि देशहरु मात्र हुन् । घरमै बसेर डिजिटल बैंकिङको भरपुर प्रयोग गर्नेहरूकाे संख्या संसारभर धेरै ठूलाे छ । अनि हामी नेपाली ? सिक्दैछौं । बानी पार्दैछाैं । डिजिटल बैंकिङ शाखा आधारित बैंकिङ मोडेलका साथ सन् १९९०को दशकमा शुरु भयो । त्यो समयदेखि विश्वमा यसको प्रयोग र प्रभाव निकै बढेको छ । त्यो समयदेखि विश्वभर नै नयाँ बैंकहरूले डिजिटल बैंकिङको प्रयोगलाई वृद्धि गर्दै गए । डिजिटल बैंकिंङ प्रणाली देशमा आर्थिक गतिविधिहरुको प्रवर्द्धनको लागि आवश्यक छ । वस्तु तथा उत्पादन खरीद गर्न चाहने ग्राहक र उत्पादक जो वस्तुलाई बिक्री गर्छन् । उनीहरुका लागि पनि डिजिटल बैंकिङ कोसेढुङ्गा सावित हुन पुग्यो र सक्छ पनि । बैंकिंङ क्षेत्रको मुख्य उद्धेश्य भनेको आफ्ना ग्राहकलाई प्रभावकारी ढंगले बैंकिङ सेवा दिनु हो । अहिलेको सन्दर्भमा डिजिटल बैंकिंङ त्यसको एक मात्र आधार र विकल्प हो । नेपाली बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय आफ्ना ग्राहकलाई कसरी सेवा दिने ? कुन खालको सेवा दिने भन्नेतर्फ बढी चनाखाे हुन थालेका छन् । त्यो चासो बढ्नु स्वभाविक हो । बजार हो । बजारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नै पर्छ । प्रतिस्पर्धाका लागि भिजन र मिसन चाहिँन्छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरु पनि अहिले आफ्ना ग्राहकलाई सन्तुष्ट पार्न सक्ने एक मात्र आधार डिजिटिल बैंकिंङमा विशेष जाेड दिइरहेका छन् । डिजिटल बैंकिङबाट सेवाग्राहीले घरमै बसेर वा जुनसकै ठाउँबाट पनि आफ्नो बैंक खाताको कारोबार गर्न सक्छन् । नेपालमा डिजिटल बैंकिङको अभ्यास त्यति लामो छैन । तर, समय, माग र आफ्नो सेवा सुविधाका लागि पनि सर्वसाधारणाले यसप्रति चासो राख्न थालेका छन् । हिजोका दिनहरु जस्तो घण्टौं लाईनमा लागेर दुई हजार रुपैयाँ बैंकबाट झिँक्ने दिन अहिले छैन । यसलाई मध्येनजर गर्दै नेपाली बैंकहरुले पनि डिजिटल बैंकिङका लागि आवश्यक तयारी र पूर्वाधारहरु पनि तयार गरिरहेका छन् । डिजिटल बैंकिंङ प्रयोगको सबैभन्दा ठूलो चुनौती भनेको आम नागरिकलाई यसप्रति बानी बसाल्नु हो । त्यसका लागि अहिले नेपाली बैंकहरु अभ्यासरत छन् । माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ विभागका नायब प्रमुख विनय रेग्मी अहिले नेपाली बैंकहरु सेवाग्राहीलाई डिजिटल बैंकिंङ प्रयोग गर्न सिकाइरहेको बताउँछन् । सबैभन्दा महत्वपूर्ण पाटो ग्राहकले डिजिटल बैंकिंङ प्रयोग गर्न जान्नु भएकाले बैंकहरुले सबैभन्दा बढी ध्यान यसमा केन्द्रित गरेको उनको भनाइ छ । आकर्षण बढ्दो खासगरी ३ वर्षयता बैंकिङ प्रविधिका ग्राहक ह्वात्तै बढेका छन् । २०७३ चैत्र मसान्तसम्म मोबाइल बैंकिङका ग्राहक २४ लाखमात्रै थिए । अहिले १ करोड नजिक पुगेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको मात्रै तथ्यांक हेर्ने हो भने पनि बैंकिङ प्रविधिमा सर्वसाधारणको आकर्षण निकै बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिले डिजिटल बैंकिङबिना ग्राहकलाई छिटो तथा छरितो सेवा सम्भव नभएको बताए । राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्नका लागि विभिन्न रणनीतिहरु बनाइरहेको उनको भनाइ छ । डिजिटल बैंकिङप्रति सर्वसाधारणको चासो, यसको प्रयोग र कारोबार बढ्दै गएको भट्टले बताए । ‘यो समयमा डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने महत्वपूर्ण समय हो, भारतमा पनि अहिले डिजिटल पेमेन्टमा राम्रो आर्कषण बढेको छ, हामी पनि त्यसलाई आत्मसाथ गरी अगाडि बढिरहेका छौं, यसको अन्य विकल्प छैन,’ उनले भने । आव ०७५/७६ को असार मसान्तसम्म मोबाइल बैंकिङका प्रयोगकर्ता ८३ लाख ४७ हजार १ सय ८७ थिए । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार मोबाइल बैंकिङका ग्राहक ९८ लाखभन्दा बढी पुगिगसकेका छन् । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङमा ९ लाख ६९ हजार, एटीएम ३६ हजार ६२, डेविट काडर्का प्रयोगकर्ता ७२ लाख १५ हजार र क्रेडिटकार्डका प्रयोगकर्ताको संख्या एक लाख ४६ हजार पुगेको छ । मोबाइल र इन्टरनेट बैंकिङका प्रयोगकर्तासँगै डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्नेहरूको संख्या पनि वृद्धि भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले यी विभिन्न सेवा तथा सुविधाहरु दिनका लागि विभिन्न रणनीतिहरु पनि अपनाई रहेका छन् । डिजिटल बैंकिङकाे विकल्प छैन राष्ट्र बैंकले समय–समयमा डिजिटल बैंकिङ तथा प्रविधिको प्रयोग बढाउन बैंकहरूलाई निर्देशन दिँदै आएको छ । प्रविधिको प्रयोगबाट छिटो र सस्तोमा धेरै काम गर्न सकिने भएकाले पनि यसको प्रयोग बढाउन केन्द्रीय बैंकले निर्देशन दिइरहेको हो । यद्यपि राष्ट्र बैंककाे निर्देशनकाे परिपालना र विश्वसनियतामा केही समस्या देखिएका पनि छन् । नेपालका लागि यो नयाँ अभ्यास भएपनि कतिपय बैंकहरुले भने डिजिटल बैंकिङलाई एक अवसरका रुपमा सदुपयोग गरिरहेका छन् । यसको प्रत्यक्ष लाभ ग्राहकले लिइरहेका छन् । अझै पनि बैंकिङ प्रविधि विश्वसनीय बन्न सकिरहेका छैनन् । बेला–बेलामा बैंकिङ क्षेत्रमा हुने गरेका ह्याकिङ तथा चोरीका घटनाले सर्वसाधारणमा आतंक सिर्जना हुने गरेको छ । तर, यसमा प्रवक्ता भट्ट भने जहाँ अवसर त्यहाँ चुनौती पनि हुने भएकोले त्यो जोखिम कम गर्नका लागि विभिन्न उपायहरुको अवलम्बन र प्रयास भइरहेको बताउँछन् । डिजिटल बैंकिङमा चुनौती र जोखिम हुने बित्तिकै यसबाट कोही भाग्न नहुने उनको तर्क छ । बैंकिङ प्रविधिको जतिसक्दो उपभोग गर्नुपर्ने भन्दै उनले बैंकहरूले प्रविधिमा लगानी थप बढाउनु पर्ने आवश्यकता औंल्याए । बैंकहरू पनि प्रविधिको प्रयोग बढाउनु पर्नेमै जोड दिन्छन् । प्रविधिमा नेपालमा मात्रै नभएर विश्वभर नै चुनौती रहे पनि यसबाट कोही डराउन नहुने महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछाने बताउँछन् । ‘प्रविधिमा केही चुनौती त हुन्छ नै, यो नेपालमा मात्रै होइन विश्वभर नै हुन्छ, विगतका घटनाबाट पाठ सिकेर मजबुत बन्ने हो, डराउने हाेइन,’ उनले भने । राष्ट्र बैंकका प्रवक्ता भट्ट पनि डिजिटल बैंकिङ बारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर जोखिमरहित बनाउनेमा जोड दिन्छन् । ‘विभिन्न समयमा भएका अध्ययन अनुसन्धानलाई आधार मानेर हामीले संयन्त्र बनाइरहेका छौं, यसको छुट्टै विभाग पनि बनाएर हामी काम गरिरहेका छौं,’ उनले भने । नेपाली बैंकहरुले डिजिटल बैंकिङको विस्तार तथा प्रवद्र्धनका लागि भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको बताउँदै उनले यसको प्रयोगले व्यक्ति मात्र होइन, देश नै लाभान्वित हुने बताए । लकडाउन एक अवसर डिजिटल बैंकिङ प्रयोग तथा सिक्नका लागि लकडाउन एक किसिमको अवसर भएको बैंकर्सको धारणा छ । अहिले धेरै बैंकहरुले लकडाउनलाई एक अवसरका रुपमा लिएर आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सिकाई रहेका छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै सबै मानिसहरु घरभित्रै छन् । दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सपिङ गर्ने काम मानिसहरु घरबाटै गर्न थालेका छन् । तर, धेरै ग्राहकमा डिजिटल बैंकिङ सम्बन्धि ज्ञान नहुँदा बैंकहरुको ध्यान सेवा सिकाउनेतर्फ छ । उनीहरु मोबाइल बैंकिङ प्रवद्र्धन गर्नको लागि रणनीतिक रुपमा लागिरहेका छन् । डिजिटल बैंकिङ सम्बन्धि सचेतना गर्नको लागि बैंकहरुले विभिन्न च्यानलहरुकाे प्रयोग पनि गरिरहेका छन् । रेग्मीले मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने कुराहरुलाई लिएर विभिन्न माध्यममार्फत सम्पर्क भइरहेको बताए । मोबाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र साे एपलाई चलाउन प्रेरित गर्नको लागि आफुहरुले कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेर काम गरिरहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले यो लकडाउनको समय सदुपयोग गरेर डिजिटल बैंकिङ सेवालाई विस्तार गरिरहेका छन् । प्रवक्ता भट्टले पनि यो समय मात्र नभएर यो वर्ष नै डिजिटल बैंकिङमा जानका लागि महत्वपूर्ण हुन सक्ने बताए । ‘यो अवस्थामा घरमै बसेर सपिङ गर्न सकियो, आफ्नै मोबाइलबाट व्यालेन्स टपअप गर्न सकियो भने भोलिको दिनमा ठूलो रकमको कारोबार पनि मोबाइल बैंकिङ मार्फत गर्न सकिन्छ,’ उनले भने । लकडाउनको समयमा सामान होम डेलिभरी गर्ने, अनलाइन कारोबार गर्ने व्यापार पनि बढ्न सक्ने उनको बुझाई छ । पेमेन्ट आधुनिक बनाउन नेशनल पेमेन्ट गेटवे राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवालाई सहज अर्थात आधुनिक बनाउनका लागि नेशनल पेमेन्ट गेटवे सिस्टमको अध्ययनमा जुटेको छ । प्रवक्ता भट्टले देशको पेमेन्ट प्रणालीलाई आधुनिक तथा सहज बनाउनका लागि राष्ट्र बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरु नेशनल पेमेन्ट गेटवेको अध्ययनमा जुटेको बताए । ‘विभिन्न वालेटहरुको संख्या पनि बढिरहेको छ, बैंकहरुले पनि यसलाई प्राथमिकताका साथ काम गरिहेका छन्, हामी क्यास बोकेर सामान किन्न जाने समयबाट छुट्कारा पाउँदैछाैं, अब सहज वाताववरण बन्दैछ , असुरक्षा महसुस हुँदैन,’ उनले भने । अहिले सबैमा डिजिटल बैंकिङलाई विस्तार गर्नु पर्छ भन्ने सन्देश पनि प्रवाह भएको बताउँदै उनले अहिले भइरहेको नीतिगत व्यवस्थाहरु अत्यन्तै महत्वपूर्ण भएकोले त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए । ‘नेपालमा ५ वर्ष अगाडि पेमेन्टका विषयमा यति धेरै बहस हुँदैनथ्यो, तर, अहिले याे विषयमा धेरै चासो बढेको छ,’ उनले भने । डिजिटल बैंकिङका लागि यो वर्ष कोसेढुङ्गा सावित हुन सक्छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले यसको प्रवद्र्धनमा जुट्नु पर्ने उनको धारणा छ ।
लकडाउनमा पढाइः अनलाइन क्लास कसरी लिने ?
एक्कासौ शताब्दीमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० केबि र्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए। कुनै बेला र्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्दैन भन्ने कुरा जुन आज आएर ८ जीबीसम्म बजारमा पाउन थाल्यो । आवश्यकताअनुसार १६ जिबी ३२ जिबी पनि पर्सनल कम्प्युटरको मागमा आउन थाल्यो । गेमिंग सिस्टम अनि सर्भरमा र्यामको प्रयोग धेरै नै हुन्छ, आवश्यकता अनुसार कस्टमाइजेसन गरेर ब्रान्डेड वा एसेम्बल्ड सिस्टम किन्न पनि पाइन्छ, साथै ल्यापटप नयाँ किन्दासमेत र्याम थपेर अनि हार्ड डिस्क ड्राइभको सट्टामा सोलिड इस्टेट ड्राइभ परिवर्तन गरेर लिन सकिन्छ । प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्डडिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिद योग्य हुदै गएको छ । आज कम्प्युटरले धेरैनै क्षेत्रलाइ ठुलो सहयोग गरेको छ । कम्प्युटर भन्नाले डेस्कटप कम्प्युटर मात्र नभई ल्यापटप, स्मार्ट मोबाइल फोन, साथै कम्प्युटरकृत ठुला ठुला परियोजनाका मेसिन अनि स्वचालित इन्जिन आदि पनि हुन् जसले डाटाहरुलाई निक्कैनै द्रुत गतिले प्रोसेस गर्दछन । र्याम कम वा धेरै चाहिने हो भन्ने कुरा येहि डाटा प्रोसेस गर्नको लागि हुने प्रक्रियाले निर्धारण गर्दछ । एक स्तरमा चली रहेको सुचना प्रबिधिको प्रयोगलाई कोरोना भाइरस माहामारीको लक् डाउनले यसै प्रबिधिलाइ अनेक तरिकाले प्रयोग गर्न सकियो । यो फेशबुक, इन्सटाग्राम, टिकटक वा भनौ सोसल मिडियामा मात्र सिमित नरही वा व्यक्तिगत च्याट, भिडियो कलिंग, व्हाट्सयाप, भाइबर, इमो वा इस्काईप देखि अलग्गै पनि संसार छ भनेर प्रस्तुत गर्न थाल्यो । गुगलको ह्यांगआउट (गुगल मिट), माइक्रोसफ्टको टिम (इस्काईप), भिडियो कन्फ्रेंशकलिंग कल गर्ने जुमका युजरहरु रातारात बढ्न थाले । वर्कफ्रम होम : सुरु सुरमा नेपालमा खासै प्रयोग नभएपनि सन् २०२० को मार्च महिना देखि वर्क फ्रम होमले निक्कै नै प्राथमिकता पायो । वर्क फ्रम होम कुनै नयाँ शब्द भने अवश्य थिएन । नेपालमै पनि केहि संस्थाहरुले यसलाई शुरु देखि नै अङ्गीकार गर्दै लागेका थिए । एन सेल, स्ट्यानडर्ड चार्टर्ड बैंक आदिले यसलाई शुरुदेखि नै प्राथमिकता दिदै आएका थिए । वर्डप्रेसका संस्थापक म्याट मुलेंवेगले यसबिषयमा २०१९ फेब्रुअरी ५ मा टेड टक मार्फत एउटा भाषणमा वर्क फ्रम होमको बारेमा निक्कै रोचक कुरा भनेका थिए जुन भिडियो १८ लाख ८६ हजार भन्दा बढी पटक हेरिएको छ, अहिले आएर संसारको हरेक कुना कुनामा वर्क फ्रम होमको विकास गइरहेको हुदैछ । वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसै अनुसार केहि परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थानपाउने छ । स्टडी फ्रम होम : जब कुनै पनि अफिशमा काम गर्ने व्यक्तिले घरमै वा कुनै स्थानमा बसेर काम गर्न सक्छभने बिध्यालय, कलेज अनिकुनैपनि शैक्षिक संस्थाले येही कुरालाइ केहि हद सम्म अगाडी बढाएर स्टडी फ्रम होमको अबधारणालाइ मुर्त रुप दिन पनि सक्नेछन । अनलाइनबाट क्लास गराउने, होमवर्क दिने, चेक गर्ने, हाजिरीगर्ने, भिडियो कल र कन्फ्रेंस मार्फत बिद्यार्थीले शिक्षकलाइ सोध्ने, शिक्षकले बिद्यार्थीलाइ सोध्ने, आदि गर्न पनि सकिन्छ । त्यसले गर्दा शुरु शुरुमाअसहजपर्न सक्ला तर यसले फाइदा भने अवश्य पुर्याउछ । नेपालमा यो कुरा नयाँ नै हो भन्ने छैन । लक् डाउनको अवस्थामा पनि शुरु देखि नै ब्रिटिश कलेजले आफ्ना बिद्यार्थीका लागि अनलाइन मार्फत कक्षा संचलान गर्न थाल्यो । यहि कुरा लाई केहि अन्य कलेज तथा शैक्षिक संस्थाहरुले अंगीकार गर्दै अनलाइन मार्फत कक्षाहरु संचालनमा लिएर आइरहेकाछन् । अनलाइन मार्फत कक्षा र अनलाइन पठनपाठन भिन्नै कुरा भने हैनन तर अनलाइन कक्षा भन्नाले अनलाइन मार्फत पढाउने अनि अनलाइन पठन पाठन भन्नाले भौतिक कक्षाजस्तै हाजिर गर्ने, होमवर्क दिने, आदि पर्दछन । अनलाइन कक्षा कसरी संचालन गर्ने? इन्टरनेट मार्फत गुगल क्लासरुम, मुडल, माइक्रोसफ्ट टिम्स, ब्लाकबोर्ड अनि तेस्तै केहि अन्य ई-लर्निंग म्यानेजमेन्ट सिस्टमको प्रयोगबाट अनलाइन कक्षासंचलान गर्न सकिन्छ । भिडियो कन्फ्रेंसिंग गर्ने योग्य भएको इन्टरनेट स्पिडबाट सजिलै संग यस्ता कक्षासंचालन गरिन्छ । जसमा बिद्यार्थी र शिक्षक बीचमा हुने हरेक क्रियाकलापलाइ यस्ता लर्निंग म्यानेजमेन्टका प्लाटफर्मले सहज बनाउछन । बिकशित राष्ट्रतिर फर्केर हेर्ने हो भने मुडल, ब्लाकबोर्ड, क्यानभास आदिले आफ्नो प्रभुत्व जमाई सकेकाछन । माइक्रोसफ्टले आफ्नो प्रडक्ट माइक्रोसफ्ट टिम्स मार्फत यस्तो लर्निंग म्याजेंमेंटको सिस्टम उपलब्ध गराउछ । येडोबले पनि येडोब क्यापटिभेट मार्फत लर्निंग म्यानेजमेन्ट सिस्टम संचलान गर्न सहयोग पुर्याउछ । लर्निंग म्यानेजमेन्ट सिस्टम कुनै ओपन सोर्स पनि हुन्छन जसलाई आफ्नै सर्भरमा होस्ट गर्नु पर्दछ भने कुनै फ्रिमियम मोडलका हुन्छन भने कुनै लाइसेन्स भर्सन हुन्छन जसलाई बार्षिक रुपमा केहि रकम बुझाउनु पर्ने हुन्छ । यस्ता लर्निंग म्यानेजमेन्ट सिस्टमले होमवर्क दिने, त्यसका बारेमा जानकारी लिने, बिद्यार्थीहरुलाइ ग्रेडिंग गर्ने, विध्यार्थी र शिक्षक बिचमा कम्युनिकेसन, रिपोर्टको ओर्जिनालिटी हेर्ने, कही बाट कपि गरेको हो कि, हुबहु सारेको हो कि, त्यसको सोर्स हेर्ने, कुनै पनि शुरु गरेको कोर्सलाइ कोर्स सकिएपछि आर्काइभ गर्ने, मोबाइल याप्सबाट एक्सेस गर्न सकिने प्राबधान मिलाइएको हुन्छ, परीक्षा बनाउन सकिने, अभिभावकलाइ जोड्ने अनि अभिभावकले दैनिक वा साप्ताहिक रुपमा बिद्यार्थीको रिपोर्ट हर्न सक्ने, शिक्षकले क्लास वा कोर्स बनाउने सक्ने, क्लास वा कोर्स मै प्रस्नोतर गर्ने, कुन कुन बिद्यार्थीले गृहकार्य गरेको नगरेको आदि जस्ता धेरैनै फिचर हुन्छन, साथै मोड्युल अनुसार के के फिचर लिने भन्ने पनि आफै निर्धारण गर्न सकिन्छ । लर्निंग म्यानेजमेन्ट सिस्टम मार्फत कक्षा, ट्रेनिंग, परीक्षा साथै सर्टिफिकेटहरु बनाउन सकिने हुन्छ । यस्तो लर्निंग म्यानेजमेन्ट सिस्टममा विभिन्न युजर रोलहरु हुन्छ जसले गर्दा कुन कक्षामा के भैरहेको छ, कस्तो पर्फर्मनेंस छ, कक्षाकोफ्लो कस्तो जादै छ भन्ने बिषयमा एडमिनका रोल अनुसार हेर्ने प्राबधान हुन्छ । लर्निंग म्यानेजमेन्ट सिस्टमले शिक्षक वा प्रशिक्षकलाइ सजिलो तरिकाले बिषयबस्तुको कन्टेन्ट बनाउने, बिद्यार्थीलाइ मनिटर गर्ने, छलफलहरुको लागि प्राबधान मिलाउने, भिडियो कन्फ्रेंसिंगहरु संचलान गर्न सक्ने व्यवस्था मिलाउछ । सास(SaaS सफ्टवेयर एज अ सर्भिस) मा आधारित लर्निंग म्यानेजमेन्ट सिस्टम क्लाउडमा होस्ट भएको हुन्छ सफ्टवेयर एज अ सर्भिसका सबै प्लाटफर्महरू क्लाउडमा होस्ट भएका हुन्छन जसले गर्दा ग्लोबल एक्सेस मार्फत सि डी यन टेक्नोलोजीमा आधारित भै नजिकको सर्भर लोकेसन मार्फत एक्सेस गर्न सकिन्छ । ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टमका कोडलाइ आफ्नै लोकल वा कुनै पनि रिमोट सर्भरमा आफ्नो आवश्यकता अनुसारको र्याम, अपटाइम, डिस्क स्पेसछानेर भी पी यस सर्भरमा होस्ट गरि संचालन सकिन्छ, गुगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता अरु विभिन्न सब्स्क्रिप्सन बेस्ड या फ्रिमियम (बेग्ला बेग्लै प्लान मद्धे कुनै एक निशुल्क र अन्य शुल्क लाग्ने) बेस्ड लर्निंग म्यानेजमेन्ट सिस्टमको सब्स्क्रिप्सनहरु निश्चित माशिक वा बार्षिक रकम तिरेर मात्र लिन सकिन्छ । गुगल क्लासरुम: गुगलले गुगल क्लासरुम को प्रिभिउ ६ मे २०१४ मा आफ्नो जी सुइट अन्तर्गत गुगल येजुकेसनमा उपलब्ध गरायो, अनि २०१७ मा सबै गुगल युजरका लागि खुल्ला गरिदियो साथै सोहि वर्ष अप्रिलमा सबै गुगल युजरलाइ क्लास बनाउन र कक्षा संचालन गर्ने प्राबधान मिलायो । गुगल क्लासरुमले गुगल ड्राइभ, गुगल डक्स, गुगल शिट्स, अनि जिमेल सबैलाई मिलाएर शैक्षिक संस्थालाइ पेपरलेस बनाउन सक्ने बनायो । गुगल क्लासरुमका कक्षाहरु स्वत गुगल ड्राइभमा आएर कोर्स र क्लास अनुसार फोल्डरहरु बनेर बस्छ। माइक्रोसफ्ट क्लास रुम : माइक्रोसफ्ट टिम मार्फत संचालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम बिद्यार्थी र शिक्षक बीचमा होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि येसाइनमेन्टको वर्कफ्लो हेर्न सकिने हुन्छ । यसै मार्फत माइक्रोसफ्टको क्लाउडड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमांईडर निश्चित गर्न सकिने छन् । माइक्रोसफ्ट क्लासरुम संचालन गर्न अफिश ३६५ को शैक्षिक सब्सक्रिप्सन हुनु पर्दछ । मुडल : मुडल ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टम हो, जुन आफुलाइ चाहिए जस्तै गरि परिमार्जन गर्न सकिन्छ । तर त्यसका लागि केहि अतिरिक्त ज्ञानको आवश्यकता भने पर्दछ । आफ्नै सर्भरमा होस्ट गर्ने वा आफ्नै स्कुल कलेजमा होस्ट गर्ने समेत गर्न सकिन्छ । जति नजिकको सर्भर लोकेसनमा होस्ट गर्यो यो एक्सेस गर्न त्यतिनै सजिलो र छिटो हुन्छ । बिद्यार्थीको वा युजरहरुको संख्याको आधारमा यसको लोड क्यालकुलेसन गरेर यसलाई कस्टम सर्भरमा राख्न सकिन्छ । मुडल विन्डोज बेस्ड वा वेब बेस्ड इन्स्टलरमा पनि उपलब्ध छ । जसले केहि क्लिकको भरमा नै त्यसलाई इन्स्टल गर्ने ब्यवस्था मिलाई दिन्छ । मुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न लर्निंग म्यानेजमेन्ट सिस्टमका सास बेस्ड, फ्रिमियम बेस्ड र ओपन सोर्स बेस्ड टुलहरु उपलब्ध छन् । एड मोड़ो यल यम यस (Edmodo LMS) टिचर (Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट यल यम यस (Talent LMS), क्लास लाईफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology)लर्न ड्यास (LearnDash), सि स यल यम यस (Seesaw) LMS, लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल Teachable आदि छन् जुन आवश्यकता अनुसार उपयोग गरि अनलाइन क्लासरुम संचालन गर्न सकिन्छ । (लेखक सुचना प्रबिधिका विद्यार्थी हुन्)