विकासन्युज

सीमामा अलपत्र नेपाली महाकाली तरेर आए

दार्चुला । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो । लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क्षेत्रमै पनि भोकभोकै बस्नुपरेको थियो । ठेकेदारले घर जाउ भन्यो, बस्ने खाने पैसा थिएन्, भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिडेर उनीहरु बिहीबार साँझ बालुवाकोट गाउँ आइपुगें । १४ जनाको समूहमा रहेका उनीहरुले शुक्रबार बिहान दत्तुको बेतमा एक हजार रुपैयाँ भारु (नेपाली एक हजार छ सय रुपैयाँ) तिरी जोखिम मोलेर महाकाली नदी कटाए । भारतीयले ट्युबमा महाकाली नदी तारेबापत एक हजार रुपैयाँ भारु लिएको हो । “ठेकेदारले काम रोक्यो, प्रतिव्यक्ति दुई÷तीन हजार रुपैयाँ ज्यालाबापत दिएर घर पठाएको हो,” लालबहादुर नेगीले भने, “किनेर खान पनि नपाइने । भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौला भनेर ट्युब तरेर जोखिम मोलेरै भएपनि स्वदेश आयौं ।” “हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्ने गरी जोखिम मोलेरै आएका हौं । हामीले घरमा फोन गर्दा पनि विद्यालयका क्वारेन्टाइनमा बसेर आउनुहोला भनेका हुन्”, उनले भने, “२० वर्ष बढी भयो, भारतमा काम गर्दै आएको । अहिलेसम्म कुनै बेला पनि यस्तो समस्या आइलागेको थिएन् ।” “अहिलेको लकडाउन भनेर खान बस्नै नपाइने अवस्था आयो । मजदूरी गरेर परिवार पाल्नेलाई समस्या भयो । पाँच छोरा र तीन छोरी र दुई जना आफू गरी १० जनाको हाम्रो परिवार छ, आफ्नो गाउँघरमा परिवार पाल्न नसकिने भएर भारतमा मजदूरी गर्न गएका हौं ।” “रहरले भारतमा गएका थिएनौ, तर आउँदा अपराधी जस्तो गरेर आउनु पर्याे”, उनले भने, “पुल नखुल्ने भएपछि नदीको सहारा लिनुपरेको हो ।” हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौ । हामीसँगैका २ जना भागेर समेत गए । तर हामीे आफैले प्रहरीलाई खबर गरेर यहाँ आएका हौ । सबैभन्दा जेठो छोरा (दिपेन्द्र)लाई समेत भारतमै मजदूरी गर्न लगे । घरमा श्रीमती जानकी नेगी र ७ छोराछोरी छन्, उनले । गाउँको उत्पादनले तीन महिना खान पुग्दैन् । वर्षमा दुई पटक भारतमा गएर मजदूरी गर्ने गरेको उनका छोरा दिपेन्द्रले बताए । भारतमा काम गरेको पैसाले घरका खाना खर्च र भाइबहिनी पढाउन खर्च जुटाउने गरेको उनको भनाइ छ । उनले भने, “आफूले आर्थिक अभावका कारण पढ्न पाएनौं, भाइबहिनीलाई पढाउन भारतमा मजदुरी गर्दैछौं ।” भारतमा प्रतिदिन रु ४५० देखि ६ सयसम्म यालादारी दिने गरेका छन् । नेगीका घरमा भरत कक्षा १०, भुवन कक्षा ७, सीता कक्षा ७, पार्वती कक्षा ६, नरेन्द्र कक्षा ५, संगिता कक्षा ४ र श्याम कक्षा १ मा पढ्ने गरेका छन् । डिलाशैनी १ का सुनिल कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपर्ने बताए । सडकमा मजदुरी गथ्र्यौ देश लकडाउन भयो काम बन्द गर्नु भनेपछि समस्यामा परेर हिडेरै आएको उनले बताए । काम गर्ने ठाउँमा खानलाई केहि नभएपछि हप्तौ दिनसम्म भोकभोकै बस्नुपर्यो, डिलाशैनीका लोकेन्द्र कार्कीले भने । जे भएपनि नेपाल पुग्नुपर्छ भनेर हिडेर आयौं । मदकोटबाट जङ्गलको बाटो भएर धारचुलाको बालुवाकोट पुगेको उनको भनाइ छ । आफ्नो देशका क्वारेन्टाइनमा पुगिए खाना खान त पाइएला भनेरै आएका हौ । “हामी जस्ता सयौं भारतीय क्वारेन्टाइनमा छन् भनेर सुनेका थियौ,” कार्कीले भने, “गाउँबाट आउन सकिन्छ भने आउनुहोस्, यतैका क्वारेन्टाइनमा बस्नुहोला भनेपछि जन्मभूमीको माया लागेर आयौ । ” उनीहरुसँगै बैतडीका १२ जना र नौगाड दार्चुलाका २ जना नेपाल आएका हुन् । जसमा १० जना मात्रै दार्चुलाको महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुसँगै ट्युब तरेर नेपाल छिरेका बैतडी डिलाशैनी १ का धिर्के राना र प्रसाद राना भने भागेर गएका छन् । महाकालीमा ट्युब तरेर आउनेहरुमा बैतडी डिलाशैनी—७ का सुशिल कार्की, डिलाशैनी— ४ का लालबहादुर नेग, दिपेन्द्र नेगी, दोगेडाकेदार गाउँपालिका—१ का जितबहादुर कार्की, डिलाशैनी—३ का केशव भण्डारी, खड्ग बहादुर नेगी, डिलाशैनी—७ का लोकेन्द्र कार्की, डिलाशैन—१ का अमरसिह धामी, वकिल धानुक, डिलाशैनी—२ का गणेश हरडे, दार्चुला नौगाड— ३ का राजेन्द्र ठगुन्ना र नविन ठगुन्ना रहेका छन् । नेपाल भारत जोड्ने झोलुङ्गे पूल नखुल्दा हालसम्म एक सय नेपाली ट्युब र महाकालीमा तरेर नेपाल आइसकेका छन् । भने धार्चुलाका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमै बसेका छन् । ट्युब तरेर भारतबाट आएका उनीहरुलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरिएको नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले बताए । स्वास्थ्य चेकजाँचपछि उनीहरुलाई महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले १४ जनालाई भने २१ दिनपछि घर पठाएको छ । महाकाली नगरपालिका— ९ दत्तु चुच्चैबाट नेपाल भित्रिएका १० जना बैतडीका र २ जना दार्चुलाका नेपाली मजदुरलाई महाकाली नगरपालिकाको गाडीमा राखेर क्वारेन्टाइनमा पुर्याइएको हो । नेपाल भारत लकडाउनपछि लेकमको लालीदेखि व्यासको दुम्लीङ नाका भएर नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आउने नेपालीलाई अवैध रुपमा छिर्न नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएपनि आउने क्रम भने रोकिएका छैनन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र बहादुर शाही नेपालतिरका ट्युबहरु प्रहरीले नियन्त्रणमा राखेर बन्द गरेको भएपनि भारततिरबाट रोक नलगाउँदा समस्या भएको बताए । भारतसँग सीमा जोडिएका क्षेत्रमा थप कडाई भारतसँग सीमा जोडिएका क्षेत्रमा सरकारले थप कडाइ गर्दै लगेको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाउँदै लगेको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारको निर्देशनानुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । सोही अनुसार सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाले लेकमको लाली देखि व्यासको डोकटसम्मका आठ स्थानमा अस्थायी पोष्ट स्थापना गरेको हो । महाकाली नदी तरेर भारतबाट मजदुर धमाधम नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बलियो उपस्थिती जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्मरबहादुर विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली, मालिकार्जुनको बाकु, उकु, डिन्सी, महाकालीको काकडा, व्यासको धौलाकोट स्याकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको छ । महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश गर्ने व्यक्ति रोक्नका लागि सशस्त्र प्रहरी ठाउँ ठाउँमा राखिएको डिएसपी विष्टले बताए । नयाँ स्थापना गरिएका ७ पोष्टमा १० जनाका दरले ७० सशस्त्र प्रहरी खटाइएको छ भने उकुमा १५ जना खटिएका छन् । रासस

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई कोरोना संक्रमित निको भएर घर फर्किएका बताएका हुन् । पेप्सिकोला सनसिटी अपार्टमेन्टमा फेला परेका संक्रमित दुई आमा (८१ वर्षीय)–छोरा (५८ वर्षीय) निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा निकाे भएर ९ जना घर फर्किएका छन् ।

कोरोनाको दुई नयाँ संक्रमित थपिए

काठमाडौं । कोभिड–१९ को थप दुई संक्रमितको पहिचान भएको छ । कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई संक्रमितको पहिचान भएको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे पिसिअार परीक्षणमा उदपयुरकी ५५ वर्षिया महिला महिला र जनकपुरकाे १४ वर्षिय किशाेरमा काेराेना संक्रमण पुष्टि भएको हाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४७ पुगेकाे छ जसमा ९ जना निकाे भएर घर गइसकेका छन् ।

ठूला निजी अस्पताल भन्छन्ः सेवा रोकेका छैनौं, उपचार गरिरहेका छौं

काठमाडौं । कोरोना भाईरस संक्रमणबाटा जोगिन सरकारले जारी गरेको लकडाउनमा सेवा बन्द गरेको आरोप लागेका निजी अस्पतालले सेवा नरोकेको दाबी गरेका छन् । अत्यावश्यक सेवा अन्तरतको स्वास्थ्य सेवा प्रवाहमा आफूहरुले कुनै कटौति नगरेको अस्पतालहरुको भनाइ छ । सरकारले कोरोना भाइरसबाट लाग्ने रोग कोभिड–१९ को संक्रमण फैलिन नदिनको लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेको समयमा निजी अस्पतालहरुले आफ्नो सेवा बन्द गरे भन्ने आरोप लागिरहेको बेला अस्पताल प्रशासनको यस्तो भनाइ आएको हो । लकडाउनको समयमा सरकारले अस्पतालहरुलाई सरकारले ईमरजेन्सी सेवालाई मुख्य प्राथमिकतमा राखेर सेवा सुचारु गर्न आग्रह गरेको थियो । तर, सरकारको आग्रह विपरित निजी अस्पतालहरु बन्द भएका गुनासो आइरहेको छ । सरकारको आग्रह अनुसार नै आफूहरुले केही सेवाहरु कटौती गरेको र केही सेवालाई बढि प्राथमिकतमा राखिएको उनीहरुको भनाइ छ । सुमेरु अस्पातल, धापाखेल धापाखेलस्थित सुमेरु अस्पतालमा अहिले पनि सबै सेवाहरु सुचारु रहेको अस्पताल प्रशाशनका दिनेश आचार्यले बताए । दैनिक प्रवाह गर्ने ईमरजेन्सी, आईसियु, ओपिडी सेवाबाहेक अस्पतालले अहिले सरकारले निर्देशनमा फिभर क्लिनिक संचालन गरिरेहको छ । अस्पतालले ज्वरो, खोकी लागेको बिरामीलाई ४ घण्टा निगरानीमा राखेपछि ज्वरो कम नभएको अवस्थामा फिभर वार्डमा राखेर सन्चो भएपछि घर फर्काउने गरेको आचार्यको भनाइ छ । ‘अस्पतालमा अहिले दैनिक ओपिडीमा ४० देखि ५० जना, ईमरजेन्सीमा पनि ४० देखि ५० जना, निरन्तर डायलसिस सेवाहरुको लागि विरामी आउने आउने गरेका छन्,’ आचार्यले भने । यद्यपि अस्पतालमा पिपिई निकै नै कम भएको आचार्यले गुनासो गरे । अस्पतालमा देशको विभिन्न भागबाट मानिसहरु डायलासिसको लागि आउने गरेको र उनीहरुमा ज्वरो देखिएमा कोरोना छ कि छैन भनेर परीक्षण गर्न आफूहरुसँग उपकरण नभएको उनको भनाइ छ । अहिले कोभिड १९ संक्रमणलाई जाँच्न प्रयोग भईरहेको र्यापिड डायगोनेस्टिक किट मात्रै भईदिए रोग पहिचानमा धेरै सहज हुने उनी बताउँछन् । तर स्वास्थ्य मन्त्रलायले उक्त किट प्रदान नर्गेने र आफुखुसी किनेर प्रयोग पनि गर्न नपाउने व्यवस्था गरेको आचार्यको भनाइ छ । नर्भिक अस्पताल, थापाथली थापाथलीस्थित नर्भिक अस्पतालले अहिले विशेष गरेर अत्यावश्यक सेवाहरुलाई मुख्य प्राथमिकतामा राखेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अत्यावश्यकमा अस्पतालले तत्काल डेलिभरी मिति भएकाहरुलाई सेवा दिनको साथै, ईमरजेन्सी सेवा र थोरै मात्रामा ओपिडी सेवाहरु संचालन गरिरहेको अस्पताल प्रशासनको भनाइ छ । अस्पतालले हाल कोभिड–१९ को बिरामीको लागि फिभर क्लिनिकका साथै १५ वटा आईसोलेसन बेड संचालनमा ल्याएको छ । अस्पतालले कोभिड–१९ का बिरामीहरुलाई निशुल्क उपचार गर्ने समेत बताउँदै आएको छ । ह्याम्स अस्पताल, धुम्बाराही धुम्बारहीस्थित ह्याम्स अस्पतालले अहिले पनि सबै सेवा संचालन गरिरहेको अस्पताल प्रशासनका रोशन अधिकारीले जानकारी दिए । आफूहरुले कुनै पनि सेवाहरुलाई नरोकेको उनको भनाइ छ । अहिले अस्पतालले सरकारको निर्देशनमा फिभर क्लिनिक संचालन गरेसँगै कोभिड १९ का संभावित लक्षण देखाउने बिरामीहरुको लागि २७ वटा आईसोलेसन बेड पनि तयारी अवस्थामा राखेको उनले जानकारी दिए । अन्य समयको जस्तो बिरामीको चाप नभए पनि दैनिक ओपिडीमा ६० देखि १ सय जनासम्म आउने गरेको उनले बताए । हालसम्म अस्पतालले कोभिड–१९ को लागि ६८ वटा स्वाब राष्ट्रिय प्रयोगशाला टेकु पठाईसकेको र त्यसमा ४ जनाको नतिजा आउन बाँकी रहेको र बाँकी सबैको नतिजा नेगेटिभ आएको अधिकारी बताउँछन् । ग्राण्डी इन्टरनेसनल अस्पताल, टोखा टोखास्थित ग्राण्डी अस्पतालले पनि कुनै पनि प्रकारको सेवाहरु बन्द नगरेको अस्पतालका प्रशासनले जानकारी दिएकाे छ। प्रशासन हाल बिरामीको चाप तुलनात्मक रुपमा कम भएको तर सेवाहरु भने सबै संचालन भइरहेको बताएकाे  छ । अस्पतालले पनि हेल्थ डेस्कको साथै फिभर क्लिनिक संचालनमा ल्याएको छ । अस्पतालले सन् २०१४ बाट नै संक्रमण हुने रोगहरुको लागि ईन्फेक्सन कन्ट्रोल डिपार्टमेन्ट संचालन गर्दै आएको छ । उक्त डिपार्टमेन्ट मार्फत आफुहरुले ह्यान्ड हाईजिन प्रोग्राम संचालन गर्दै आएको छ । अस्पतालले ३० शैयाको क्वारेन्टाईन वार्ड सहित ११ शैयाको कोभिड–१९ संक्रमित कक्ष बनाएको छ । अल्का अस्पताल, पुल्चोक पुल्चोकस्थित अल्का अस्पतालले हाल डेन्टल सेवा बाहेक सबै प्रकारको स्वास्थ्य सेवा संचालन गरिरहेको अस्पताल प्रशाशनले जानकारी दिएको छ । अस्पतालमा दैनिक ५० देखि १ सयको हारहारिमा बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । हाल अस्पतालले फिभर क्लिनिक संचालन गर्नुको साथै कोभिड १९ का बिरामीहरुको लागि आईसोलेसन बेड पनि तयारी अवस्थामा राखेको छ ।

कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने

काठमाडौं । कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने भएको हो । महामारी र लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिएको बैंकको अध्ययनले देखाएको हो । बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा कोरोनाका कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा कमी आउने जनाएको छ । आप्रवासी कामदार रहेका रोजगारदाता देशसमेत कोभिड–१९ को सङ्क्रमणविरुद्ध लडीरहेको, बेरोजगारी बढेको तथा सम्पूर्ण रुपमा आर्थिक गतिविधिसमेत बन्द भएका कारण त्यसको मारमा रोजगारीमा रहेका र रोजगार दिने देश तथा कम्पनी परेकाले विप्रेषणमा ठूलो गिरावट आउन लागेको हो । अध्ययनअनुसार विप्रेषणको आप्रवाहमा कमी आउँदा गरिबी बढ्ने र विशेष गरी त्यसको सबैभन्दा बढी मार कम तथा मध्यम आय भएका मुलुकमा पर्नेछ । त्यसले खाद्य सङ्कट तथा जीवन यापनका लागि समेत थप कष्टकर बनाउनेछ । विप्रेषण विकासिल तथा विकासोन्मुख देशका लागि प्रमुख आयस्रोत हो । बैंकका अनुसार दक्षिण एसियामा कोभिड–१९ का कारण २२.१ प्रतिशतले विप्रेषण आप्रवाहमा कमी आउने देखिएको छ । यूरोप तथा मध्य एशियामा २७.५ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा १९.३ प्रतिशत र पूर्वी तथा एशिया प्रशान्त क्षेत्रमा १३ प्रतिशतले ह्रास आउने देखिएको छ । वैदेशिक रोजगारीमा नेपालका झण्डै ४० लाख कामदार रहेको तथ्यांक वैदेशिक रोजगार विभागमा छ भने अन्य प्रयोजनबाट जानेको संख्या १५ लाख भन्दाबढी रहेका अनुमान छ । कोभिड–१९ का कारण नेपाली कामदार रहेका खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत देशमा पनि लकडाउन जारी रहेका कारण विप्रेषण आप्रवाहमा झण्डै एक खर्ब रुपैयाँले गिरावट आउने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा मात्रै पाँच खर्ब ९२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने राष्ट्र बैंकको समेत विश्लेषण छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यही चैत ५ गते आयोजना गरेको छलफलका क्रममा केन्द्रीय बैंकका प्रवक्ता गुणाखर भट्टले झण्डै रु एक खर्ब बराबरको विप्रेषण आप्रवाहमा कमी आउने जानकारी दिए । बैंकका अनुसार आर्थिक वर्ष २०७५ र ७६ मा कूल आठ खर्ब ८९ अर्ब रुपैयाँ विप्रेषण आयात भएकोमा चालु आर्थिक वर्षमा कोरोनाका कारण आठ खर्ब रुपैयाँ पनि नपुग्ने अवस्था सिर्जना भएको छ । नेपाली कामदार बढी रहेका कतार, साउदी अरब, कुवेतजस्ता देशमा कोरोनाका कारण पछिल्ला दिनमा काम बन्द भएको र कामदार काम विहिन हुन पुगेका छन् । जसका कारण देशभित्र विप्रेषण पठाउन सक्ने अवस्थामा रहेका छैनन् । प्रवक्ता भट्टका अनुसार हालसम्मको अवस्थामा कूल १० प्रतिशतको हाराहारीमा विप्रेषण घट्ने अवस्था देखिएको छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विशेषगरी कतार, साउदी अरब, यूइए, कुवेतमा अर्थतन्त्रको वृद्धिदर नकारात्मक हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ । त्यस आधारमा नेपाली कामदारको रोजगारी समेत खोसिने छ । रोजगारीको अवसर खोसिँदा त्यसले नेपालले अपेक्षा गरेको आर्थिक विकासको लयलाई समेत प्रभाव पार्ने देखिन्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म झण्डै नौ खर्ब बराबरको विप्रेषण भित्रने अनुमान गरिएको भएपनि कोरोनाले ठूलो प्रभाव पारेको छ । सामान्य अवस्था रहेको भए विप्रेषण आयमा पाँच प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । सम्बन्धित मुलुकमा कामदारले पुनः काम गर्न पाएको खण्डमा आगामी असार मसान्तसम्म केही सुधार हुन सक्ने अनुमान भने गर्न सकिन्छ । गत आर्थिक वर्षमा सरकारले केही नीतिगत सुधार गरी हुण्डी कारोबारलाई निरत्साहित गरेको थियो । यस्तै बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदरमा नै उल्लेख्य वृद्धि गरेका कारण पनि विदेशमा नै राखिएको पैसा स्वदेश पठाएका थिए । गत फागुन मसान्तसम्म विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५९२ अर्ब ४२ करोड रुपैयाँ भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेको थियो । आठ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ७१ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो । रासस

काेराेना विरूद्द लड्न चीनले डब्लूएचओलाई थप ३ कराेड अमेरिकी डलर सहयाेग गर्ने

काठमाडाैं ।  चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई थप ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) सँग लड्न चीनले संगठनलाई साे रकम सहयाेग गर्ने बताइएकाे छ । बिहीबार चीनको विदेशमन्त्रालयले  चीनले फेरी डब्लूएचओलाई सहयोग गर्ने जानकारी दिएकाे छ । यसअघि पनि चीनले डब्लूएचओलाई कोरोनाविरद्धको अभियानमा २ करोड अमेरिकी डलर सहयोग गरेको थियो। अमेरिकाले डब्लूएचओलाई सहयोग रोक्ने घोषणा गरेकै समयमा चीनले फेरि सहयोग गर्ने घोषणा गरेको हो। एजेन्सी

आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका हुन् । उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।” इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।” गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । रासस–एएनआई

राहत पनि पाइएन र काम गर्न पनि पाइएन : वादी समुदाय

काठमाडौं । दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् । कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । “राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्”, टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भने, “म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।” उनले अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । “सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न दुई महिना मात्र पुग्छ”, रेखा भने, “घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।” वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । “आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ”, उनले भने, “सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?” अमृता नेपालीका चार सन्तान छन् । “छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन”, उनले भने, “के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।” सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिए । “राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन”, उनले भने, “लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।” उनका अनुसार कैलालीमा एक हजार पाँच सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ । वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए । रासस