कतारका सरकारसँग प्रधानमन्त्रीको संवाद, नेपालीको अवस्थाबारे चिन्ता नलिन आग्रह
काठमाडौं । कतारमा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे चिन्ता नलिन कतारका प्रधानमन्त्रीले आग्रह गरेका छन् । कोरोनाको संक्रमण बढेसँगै कतारका सरकार प्रमुखसँग टेलिफोन संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको अवस्था बारे चासो राख्दै गर्दा कतारका प्रधानमन्त्री खालिद बिन खलीफा बिन अब्दुल अजीज अल थानीले विभिन्न आरोपमा गिरफ्तार भएका १७ नेपालीलाई रिहाई गरेको जानकारी दिए । १७ जना नेपालीहरू विभिन्न कारणले विगत केहि वर्षदेखि गिरफ्तार भएका थिए । काेराेनाकाे कहरसँगै नेपालीहरूलाई रिहाई गरेकाेमा प्रधानमन्त्री ओलीले धन्यवात दिएका थिए । बिहीबार बेलुकी भएको कुराकानीमा कतारमा रहेका नेपालीको स्वास्थ्य, सुरक्षा र कल्याणका बारेमा चिन्तित नहुन कतारका प्रधानमन्त्रीले आग्रह गरेका छन् । दिउँसो मात्र प्रधानमन्त्री ओलीले साइप्रसका महामहिम राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए । साइप्रसका राष्ट्रपतिले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशामा आवद्ध नेपालीको अवस्था बुझ्दै गर्दा उपयुक्त हेरविचार भइरहेकाे र कुनै अप्ठेराेमा पर्न नदिने जानकारी दिएका थिए ।
सिमानामा अलपत्र किरिया पुत्रीको उद्वार
काठमाडौं । भारतीय सिमानामा अलपत्र परेका किरियापुत्रीसहित दुई जनालाई पाणिनी गाउँपालिकाले उद्धार गरी घरमै किरिया बस्ने व्यवस्था मिलाएको छ । लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका वडा नं ४ पटौटीको निगाली निवासी धनिश्वर विकको उद्वार गरिएको हो । उनका बुबा उदयबहादुर विकको यही वैशाख ८ गते राति निधन भएपछि किरिया गर्न उद्वार गरी ल्याइएको हो । बुबाको निधनपछि एक्ला छोरा धनीश्वर किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर दुई जनालाई घरमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । हिन्दू धर्म र संस्कृतिअनुसार छोरा बिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर धनिश्वर र उनका छोरा राजुलाई घर ल्याइएको अध्यक्ष गौतमको भनाइ छ । “कसैसँग नछोइकन घरमा ल्याएर किरिया बसालेका छौं, र्यापिड टेस्ट र स्वाब परीक्षण गराउँदा सबै रिपोर्र्ट नेगेटिभ देखिको छ”, अध्यक्ष गौतमले भने । बुबाको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका धनिश्वरले स्थानीय तहको सक्रियतामा किरिया गर्न पाएको बताए । छोरालाई लिएर रोजगारीका लागि भारत गएका धनिश्वर लकडाउन भएपछि स्वदेश फर्किए पनि २२ दिनदेखि सिमानामै अलपत्र परेका थिए । रासस
सुदूरपश्चिममा चौथो संक्रमित महिलाले पनि जितिन् काेराेना
काठमाडाैं । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले बताएकाे छ । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्। अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्।
राहत वितरणमा पक्षपात गर्नेलाई कारवाही हुन्छ : मुख्यमन्त्री भट्ट
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लकडाउनका समयमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई वितरण गरिने राहतमा पक्षपात गरिए कारवाही गरिने चेतावनी दिए। मुख्यमन्त्री भट्टले गरीब, विपन्न र असहायलाई वितरण हुने राहतमा राजनीति र पक्षपात नगर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको राहतमा यहाँका स्थानीय तहले पक्षपात गरी वितरण गर्न थालेको भन्ने व्यापक गुनासो आएपछि मुख्यमन्त्री भट्टले मापदण्ड बनाई राहत वितरण गर्न सुझाव दिएका हुन् । “ अन्याय भयो वा पाउनैपर्ने मान्छे अटाउन सकिएन भने त्यस्ता कुरा तत्काल सच्चाउनुहोस्”, उनले भने, “राहत वितरणमा कमजोरी नहोस्, गरीब जनताको घरमा चुल्हो नबल्ने स्थिति नआओस् ।” त्यस्तै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको राहत वितरणमा सहज वातावरण बनाउन सबै स्थानीय तह र नागरिकलाई आग्रहसमेत गरे । राहत वितरणमा कतै कमजोरी रहे वडाध्यक्ष, सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सरकार मुख्यमन्त्री कार्यालयको निःशुल्क हटलाइन नम्बर ११४८मा सम्पर्क गर्न मुख्यमन्त्री भट्टले अनुरोध गरेका छन् । अर्को प्रसङ्गमा उनले भने, “कोरोना जोखिम न्यूनीकरणका लागि ‘लकडाउन’ एक मात्र अस्त्र भएका कारण सबैले यसको पालना गर्नुको विकल्प छैन, सबै मिली कोरोनाको सामना गरौं ।” पहाडी जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि डोटी र बैतडीका जिल्ला अस्पताल छनोट भइसकेकाले उपकरण पाउनेबित्तिकै काम शुरु हुनेसमेत मुख्यमन्त्री भट्टले जानकारी दिए । रासस
तानसेन सिमेन्टले चाल्यो कोभिड-१९ विरुद्ध कदम
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सिमेन्टद्वारा पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ । सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानी मा अवस्थित पाल्पा तान्सेन सिमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा बिषादी छरिएको छ । खानी स्थलप्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट चार लाख एक हजारको चेक माथागढी गाउपालिकाका कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेका हुन् । साथै, सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि पाल्पा सिमेन्ट प्रा.लि.ले दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा , वडा नम्बर ३ र ५ का अध्यक्ष कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर जीवन प्रकाश निरौलालगायतका पदाधिकारीहरुले मिति गत चैत २७ गते हस्तान्तरण गरेका थिए ।
पञ्चकन्या समुहमा कार्यरत कर्मचारीद्वारा एक सय २० जनालाई राहत
काठमाडौं । पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले एक सय २० जनालाई राहत प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको हो । लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै उद्योगमा कार्यरत ६० जना मजदुरलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् । टोल विकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजी चामल, ५ केजी आटा, ५ केजी आलु, २ केजी चिउरा, २ केजी दाल, नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो । पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागितामा राहत बितरण गरिएको हो । उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् ।
काेराेना संक्रमितमुक्त बन्याे काठमाडाैं
काठमाडौं । आजदेखि काठमाडौंमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएकाे छ । आज पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राज भण्डारीले आज देखि काठमाडौंमा कोरोना संक्रिमतकाे संख्या शुन्य पुगेको बताएका छन् । ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्, काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ,’ उनले भने । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए । सबै संक्रमित निको भएर घर फर्किसकेको अवस्थामा एक प्रकारको आनन्द महसुुस भएको बास्तोला बताउँछन् । आफुहरु थप आउन सक्ने चरणको लागि तयारी गरिरहेको उनले जानकारी दिए । हालसम्म नेपालमा ४७ जना काेराेना संक्रिमत पुष्टि भएका छन् । जसमा ९ जना निकाे भएर घर फर्किसकेका छन् । आज मात्रै थप दुई जनामा काेराेना देखिएकाे छ । काठमाडाैंमा नयाँ काेराेनाका बिरामी नदेखिए पनि काठमाडाैं बाहिर भने दैनिक बढ्दै गएका छन् ।
भारतबाट आएका सबैलाई र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने
बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक (आरडिटी) टेष्ट गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार एक सय २२ जनाको आरडिटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए । चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५ सय ३१, पुर्चौंडीमा ३ सय ४३, मेलौलीमा ४ सय ४९, पाटनमा ४ सय ८२ र सुर्नयामा ४ सय ५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २ सय ६५, दोगडाकेदारमा ४ सय १, पञ्चेश्वरमा ८ सय ९५, सिगासमा १ सय ३९ र शिवनाथ ९ सय १२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् । जिल्लामा अहिले एक हजार ६ सय र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ । यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए । यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । रासस