काठमाडौं । कतारमा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे चिन्ता नलिन कतारका प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
कोरोनाको संक्रमण बढेसँगै कतारका सरकार प्रमुखसँग टेलिफोन संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको अवस्था बारे चासो राख्दै गर्दा कतारका प्रधानमन्त्री खालिद बिन खलीफा बिन अब्दुल अजीज अल थानीले विभिन्न आरोपमा गिरफ्तार भएका १७ नेपालीलाई रिहाई गरेको जानकारी दिए ।
१७ जना नेपालीहरू विभिन्न कारणले विगत केहि वर्षदेखि गिरफ्तार भएका थिए । काेराेनाकाे कहरसँगै नेपालीहरूलाई रिहाई गरेकाेमा प्रधानमन्त्री ओलीले धन्यवात दिएका थिए ।
बिहीबार बेलुकी भएको कुराकानीमा कतारमा रहेका नेपालीको स्वास्थ्य, सुरक्षा र कल्याणका बारेमा चिन्तित नहुन कतारका प्रधानमन्त्रीले आग्रह गरेका छन् । दिउँसो मात्र प्रधानमन्त्री ओलीले साइप्रसका महामहिम राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
साइप्रसका राष्ट्रपतिले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशामा आवद्ध नेपालीको अवस्था बुझ्दै गर्दा उपयुक्त हेरविचार भइरहेकाे र कुनै अप्ठेराेमा पर्न नदिने जानकारी दिएका थिए ।