आमा भेट्न नपाएका विककाे गुनासाे- अँगालो मारेर बेस्सरी रुने मन छ
‘आमासँग अँगालो मारेर बेस्सरी रुन मन छ । दोस्रो जीवन पाएको अनुभव भइरहेको छ । डाक्टरले एक हप्ता अलग्गै बस्न भन्नुभएको छ, त्यसैले अस्पतालबाट डिस्चार्ज भएको दिन गनेर बसेको छु ।’ उनले रुञ्चे स्वरमा भनिरहेका थिए । कोरोना भाइरस जितेर अस्पतालबाट घर फर्किने सुदूरपश्चिम प्रदेशका पहिलो व्यक्ति कैलालीका लम्किचुहा नगरपालिका-९ प्रतापपुरका राज विकलाई आज आमा खुवाउने मेसो पनि मिलेन । ‘लाखौँ मानिसको ज्यानसमेत लिइसकेको भाइरसको सङ्क्रमण आफूमा फैलिएको थाहा पाउँदा शुरुमा आफ्ना लागि यो जीवन यति नै रहेछ भन्ने सोचेको थिएँ तर कोरोनाको सङ्क्रमण देखिएको भनेर अस्पताल भर्ना गरेको एक हप्ता भइसक्दा पनि कुनै लक्षण नदेखिँदा भने बाँच्ने आशा जागेर आइदियो’, विकले भने, ‘अस्पतालमा चिकित्सकहरूको सल्लाह र नर्सहरूको रेखदेख तथा उहाँहरुले प्रदान गरेको हौसलाबाट मलाई म बाँच्छु भन्ने लाग्न थाल्यो ।’ क्वारेन्टाइनमै परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको आत्मविश्वास अझै बढ्यो । ‘मलाई लाग्न थाल्यो, साँच्चै मलाई केही भएको छैन । सबै डाक्टर तथा नर्सले मलाई अझै आत्मविश्वास बढाउन प्रेरित गर्दाखेरि लाग्थ्यो उहाँहरू मेरा भगवान् भएर आउनुभएको छ । अहिले घरमा पनि म डाक्टरहरूको सल्लाहअनुसार अलग्गै बसिरहेको छु ।’ दोस्रो र तेस्रो पटक रिपोर्ट नेगेटिभ आउँदा उनले पहिलो पटक आमाबुबालाई सम्झिए । ‘एक्लै थिएँ खुशी व्यक्त गर्न भक्कानिएर रोएँ अनि आमालाई फोन गर्दाखेरि आफू कतै सपनामा त छैन कि भन्ने पनि लाग्यो ।’ उनलाई जब अस्पतालबाट घर पठाउने कुरा बताइयो त्यति बेलाको आफ्नो खुशीलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने उनले बताए । अस्पताल बसाइका क्रममा उनले जानेको र बुझेको एउटै कुरा थियो आत्मबल बलियो बनाउनुपर्छ । साथसाथै सरसफाइ तथा सामाजिक दूरी कायम गर्ने कुरा पनि कोरोनाबाट बच्ने महत्वपूर्ण उपाय हुन् । ‘अहिले घर आएको छु । अलग्गै बसिरहेको छु । चिकित्सकले एक हप्ता भन्नुभएको छ त्यस बेलासम्म अलग्गै बस्छु तर लापरवाही गर्दिन । चिकित्सकको समयसीमा सकिएको पहिलो दिन आमालाई अँगालो मारेर बेस्सरी रुने मन छ’, उनले भने । उनी सङ्क्रमित भएर अस्पताल हुँदा आफूभन्दा आफ्नी आमा धेरै पीडामा थिइन् । आमाकै आशीर्वादले आफूले कोरोनालाई जितेको उनको विश्वास छ । छोरा अब फर्केर आउला भन्ने आफूले नसोचेको राजुकी आमा भागादेवीले बताइन् । संसारलाई रुवाइरहेको सो रोग आफ्नो छोरालाई पनि लागेपछि छोरा गुमाउनुपर्ने भयो भन्ने पीडाले उनलाई सताइरहन्थ्यो । जब छोरा सञ्चो भएर घर आउने कुरा थाहा भयो उहाँका आँखाबाट खुशीका आँशु झरे । ‘छोरा आएपछि छोरालाई काखमा राखेर रुने मन थियो तर डाक्टरहरूले भनेअनुसार एक हप्ता अलग्गै बस्नुपर्नेछ छोराले, त्यसपछि एक पटक मन खोलेर छोरालाई अँगालेर रुनेछु ।’ भारतको मुम्बईबाट गत चैत ११ गते आएका विकलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई यही वैशाख ७ गते सेती प्रादेशिक अस्पतालबाट घर फर्काइएको थियो । रासस
अब विलाशी वस्तुमा होइन, उत्पादनशील क्षेत्रमा लगानी गरौं
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वको अर्थतन्त्रलाई निकै असर पारेको छ । यसले नेपालको अर्थतन्त्रलाई पनि ठूलो धक्का दिने अनुमान विज्ञहरुले गरेका छन् । विभिन्न देशहरु र नेपालले पनि आम नागरिकका लागि राहत र उद्योगी व्यवसायीहरुका लागि विशेष प्याकेज पनि घोषणा गरेका छन् । अझै पनि नेपालको अर्थतन्त्र र उद्योग व्यवसायलाई नकारात्मक प्रभाव तथा असर कम गर्नका लागि सबैको समन्वयात्मक भूमिका र सहकार्य आवश्यक छ । यसका लागि नेपाली बैंकहरु पनि अहिले आफ्नो आन्तरिक गृहकार्यमा छन् । कोरोनाले सबै क्षेत्र र वर्ग उतिकै असर पारेको भएपनि कसलाई कति असर पारेको छ भनेर निचोड निकाल्न आवश्यक छ । हामी पनि साना तथा मझौला उद्यमीहरुका लागि र अन्य व्यवसायीहरुका लागि पनि के सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने छलफलमै छौं । यसको बारेका हालसम्म कुनै निर्णय नभइसकेपनि सबैबीच सहकार्य र समन्वय भने भइरहेको छ । सरकारले देशलाई लकडाउन घोषणा गरेको पनि एक महिना भइसकेको छ । यो समयमा धेरै उद्योगधन्दा तथा व्यवसायहरु बन्द छन् । देशमा आर्थिक गतिविधी सुस्त छ । हामीले यी विविध क्षेत्रहरुलाई के कत्ति असर परेको छ ? कस्तो असर परेको छ ? र कुन तरिकाबाट त्यसको समाधान गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र छलफल गर्न उतिकै आवश्यक छ । कोरोनाको कारण विशेष गरेर देशको पर्यटन, उद्योग, व्यवसाय र विभिन्न वस्तु आपूर्तिमा समस्या भइरहेको छ । अहिले यो समय भनेको नाफा गर्ने भन्दा पनि कसरी अर्थतन्त्रलाई पहिलेकै अवस्थामा पुर्याउने वा स्थीर राख्ने भन्ने विषयमा नै सबैले ध्यान दिनपर्छ । यसका लागि विभिन्न बैंकहरुले पनि छलफल गर्दैछन् । हामी पनि छलफलकै क्रममा छौं । कसलाई बढी समस्या परेको छ ? बैंकको तर्फबाट के केसरी सहयोग गर्न सकिन्छ ? भनेर पनि ग्राहकका कुराहरु सुनिरहेका छौं । अहिले निर्माणाधीन परियोजनाहरुको पनि आफ्नै समस्या होला । बीमाको पनि दावी भुक्तानीका कुराहरु होलान् । उद्योग व्यवसायीका आ–आफ्नै समस्या होलान् । ती सबैका समस्याहरुलाई एकिकृत गरेर कसलाई बढी समस्या परेको छ । त्यसको घाउमा मल्हम लगाउने काम बैंकहरुको पनि महत्वपूर्ण हुन्छ । यी सबै विषयमा गर्ने भन्ने हामीले पनि हेरिरहेका छौं । उनीहरुलाई के सुविधा दिन सकिन्छ ? भन्ने गृहकार्य गरिरहेका छौं । कसलाई कति घाटा छ ? बैंकले पनि कतिसम्म धान्न सक्छ ? भन्ने विषय पनि महत्वपूर्ण नै हो । कतिपय नयाँ उद्योगहरु हुन्छन् । उनीहरुलाई अहिले गाह्रो हुन्छ । किनकि पुरानै उद्योग तथा व्यवसाय समस्यामा परिरहेको अवस्थामा नयाँले प्रवेश गरेर ऋण लिनु त्यति प्रभावकारी हुँदैन । तर,पुराना उद्योगहरुलाई कसरी पहिलेकै अवस्थामा राख्ने ? उनीहरुको किस्ता तिर्ने समय बढाएर सजिलो पर्छ कि वा कुनै विकल्प उनीहरुलाई सस्टेन पार्न सकिन्छ भन्ने विषयमा पनि गृहकार्य भइरहेको छ । बैंकमा पनि फण्ड सिमित हुन्छ । त्यसलाई कहाँ प्रयोग गर्ने भन्ने कुरा कसलाई बढी समस्या छ भन्ने विषयले तय गर्छ । यो अवस्थामा धेरै रोजगारी सिर्जना कसरी गर्न सकिन्छ, पर्यटन क्षेत्रको वृद्धि, उत्पादनशीलता र आम्दानी तथा उपभाेगलाई ध्यानमा राखेर पनि लगानी गर्न उचित हुन्छ । अहिले धेरै युवा विदेशबाट स्वदेश फर्केका छन् । उनीहरुलाई कुन क्षेत्रमा लगाउने हो । कसरी स्वरोजगार बनाउने हो त्यसमा पनि सबैले सोच्न आवश्यक छ । देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा जुन क्षेत्रले बढी योगदान गर्न सक्छ, जसले धेरै रोजगारी सिर्जना गर्न सक्छ र जसले उत्पादनशीलतामा बढी सहयोग गर्न सक्छ, त्यसलाई मध्येनजर गर्दै लगानी पनि बढाउनु पर्छ । यो समय विलासिताको मात्र नभएर अब देश विकासमा जसले योगदान पुर्याउँछ त्यस्तो परियोजना र व्यवसायमा सबैले प्राथमिकताका साथ काम गर्नुपर्छ । अब विलासिताभन्दा पनि उत्पादनशीलतामा सबैले लगानी गर्न उचित हुन्छ । बैंकहरुले पनि त्यसतर्फ लगानी बढाउनु पर्छ । यो समयमा कृषिलाई कसरी उत्पादनशील बनाउने ? भन्ने तर्फ पनि सबैको ध्यान जानुपर्छ । अहिले धेरै उद्योग तथा व्यवसायहरु संकटमा छन् । उद्योग बाँच्यो भने बैंक बाँच्ने भएकोले सबैको सहकार्य आवश्यक देखिन्छ । कोरोनाको महामारीले पारेको असरलाई सामाना अर्थात कम गर्नको लागि नाफा र प्रतिस्पर्धाको भावना हटाई समन्वय र सहकार्यको बाटो रोज्नु पर्छ । एकले अर्काका समस्या बुझेर काम गर्नु पर्छ । यसमा पनि बैंकहरु एउटैले धान्न सक्ने अवस्था त छैन । तर, सबैको हातेमालोले यो संकटलाई टार्नुपर्छ । संकटमा परेका उद्योग बनाउनका लागि बैंक नै डुब्यो भने पनि अर्को समस्या आउँछ । त्यसैले सरकार, सबै बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय र आमनागरिक मिलेर यो संकटको सामना गर्नु पर्छ । बैंकले पनि आफु बाँच्न सक्ने अवस्थासम्म लगानी गर्ने हो । यतिखेर आफुसँगको सहयात्री अर्थात ग्राहकलाई पनि सहयोग गर्ने र बैंकहरुलाई पनि नोक्सान नहुने हिसाबमा सरकारले पनि त्यही हिसाबमा नीति नियम ल्याउनु पर्छ । सबैले आआफ्नो हिसाबबाट योगदान गर्नुपर्छ । तब मात्र यो संकटलाई हामी पार लगाउन सक्छौं । कुनलाई प्राथमिकता दिने ? अब बैंकहरुले पनि जो पायो त्यसर्लाइ कर्जा दिने भन्दा पनि उचित व्यवसाय र क्षेत्रलाई अध्ययन गरी कर्जा प्रवाह गर्न आवश्यक छ । जसले बढी रोजगारी सिर्जना गर्न सक्छ, जसले हाम्रो विदेशी आम्दानी बढाउन्छ, देशको निर्यातमा बढी सहयोग गर्छ, त्यस्तो व्यवसायलाई हेरेर बैंकहरुले लगानी गर्न आवश्यक हुन्छ । जसबाट चौतर्फी सन्तुलन हुन्छ । यतिखेर धेरै महँगो गाडीहरु किन्न, धेरै सुनहरुको व्यापार गर्न भन्दा पनि कृषिलाई आधुनिकीकरण अर्थात उत्पादनशीलता, बन्द भएका उद्योगमा लगानी गरेर बढिभन्दा बढी रोजगारी सिर्जना गर्न सकिन्छ । जसले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्छ । र, देशको पनि विकास हुन्छ । आर्थिक गतिविधि पनि बढ्छ । युवालाई उत्पादनशील क्षेत्रमा लगाएर देशको आयात घटाउन सक्यो भने पनि राम्रै हुन्छ । यसका लागि यो क्षेत्रका विज्ञहरुको सल्लाह सुझाव अध्ययन अनुसन्धान गरेर उचित निश्कर्षसहित लगानी गर्नु पनि अहिलेको आवश्यकता हो । अहिले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै संंकटको अवस्था छ । राष्ट्रिय संकटको समय भयो भने त अन्तर्राष्ट्रिय दातृ संस्थाले सहयोग पनि गर्छ भन्ने आशा हुन्थ्यो । अहिले त्यसको सम्भावना पनि न्युन छ । एक आर्थिक वर्ष सरभाइवमा लागियो भने त्यसपछि आर्थिक वृद्धि त अवश्य हुन्छ नै । अब बैंकहरुले पनि उत्पादनशील कर्जाहरु ल्याउन आवश्यक छ । ठूला उद्योगमा सपोर्ट गर्ने खालका गाउँघरमा साना उद्योगहरु हुन्छन् । त्यसमा फोकस गरर गाउँघरकै युवाहरुर्लाइ त्यसतर्फ आकर्षित गर्न सकिन्छ । अहिले धेरै उद्योगहरु बन्द अवस्थामा छन् । उनीहरुको व्यापार पनि धेरै घटेको छ । उनीहरुलाई लक्षित कर्जा ल्याउन आवश्यक छ । उनीहरु सस्टेन हुने कर्जा प्रवाह हुनु पर्छ । यो समयमा कर्जाको व्याजदर घट्नु त अवश्य नै पर्छ । कर्जाको व्याज घटाएर साना तथा मझौला उद्यमीहरुलाई पनि बढी प्राथमिकता दिनुपर्छ । धेरै मानिसहरु व्याजकै निर्भरमा हुन्छन् । यी विविध कुराहरु अध्ययन गरेर उचित नीति नियम बनाई कार्यान्वन गर्नुपर्छ । (राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ अधिकारीसँग सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित)
एनसेल कोसेलीः टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ जसअन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् । एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यी प्याकहरु यहि बिहीबार (वैशाख ११) देखि लागु हुनेछ । एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित मात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले ३ दिन भित्र एनसेल नेटवर्कभित्र उतm भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७ दिन भित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् । डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबी अल नेट, २०० एमबी फोरजी र २०० एमबी नाइट डेटा) मात्र रु ४४.६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् । उतm डेटा प्याक ३ दिनको लागि मान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथिभाई तथा परिवारजनलाई २१०० एमबी डेटा (हरेक दिन ३०० एमबी ७ दिन सम्म) मात्र रु ९७.४ मा उपहार दिन सक्नेछन् । यसका साथै प्रिपेड ग्राहकले १००० वटा एसएमएसको प्याक उपहार स्वरुप मात्र रु २४.२६ मा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् । एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स१७१११ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरी यो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहार वापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन । प्रिपेड ग्राहकले आफ्नो ईच्छा बमोजिम जति पटक पनि उपहार पठाउन सक्नेछन् । कोरोनाभाइरस रोगको महामारीले गर्दा सबैजना सामाजिक दूरी कायम गर्दै घरमा नै बसिरहेको हालको अवस्थामा आमाको मुख हेर्ने दिनको अवसर पारी ल्याईएका योजनाहरुले सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै सम्बन्धहरुलाई थप प्रगाढ बनाउने विश्वास एनसेलले लिएको छ ।
६ हजारको थर्मोमिटर १० हजारमा बेच्नेलाई २ लाख जरिवाना
बाँके । तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारबाही गरिएको हो । लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरिद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिइ बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो । संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई दुई लाख र कमला मेडिसिनलाई रु ५० हजार जरिवाना गरिसकेको छ । रासस
कोरोनाविरुद्ध लड्न प्राइम लाइफ इन्स्योरेन्सको साढे ७ लाख रुपैयाँ सहयोग
काठमाडौं । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिएको छ । यसबाट कोरोनाविरुद्धको लडाईमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।
लाल–सलाम …
कति अर्थपूर्ण छ लाल–सलाम लाल–सलाम लाल अभिवादन हो परिवर्तनकारीहरूको विभेद विरूद्ध उभिनेहरुको क्रान्तिकारीहरूको, मजदुरहरूको । ओ पुँजीपतिहरु हो ओ पश्चिमा शक्ति पुजारीहरू हो तिमीले ह्यान्डशेक गरेर जब निर्धोको हात निचोर्यौ गला मिलेर कमजोरको गला रेट्यौ बोल्न सिकाएर आवाज बन्द गर्न कन्चट्मा पेस्तोल तेर्स्रायौ मजबुरीको फाइदा उठाएर मजदुरको पसिना लुट्यौ नाफा सञ्चय खातिर, पृथ्वीकै आयु घटाउन तल्लिन रह्यौ संयोग भनौं या योजना अनुरूप घातक भनौं या कुकार्यको मानक शाषकहरूलाई घुँडा टेकाउनकै लागी मान्छेहरूलाई असली औकात देखाउनकै लागी फैलिएको हो यो माहामारी फैलिरहेछ ‘कोरोना’ । अब ध्वस्त हुनेछ मानवता विहिन विश्व अर्थतन्त्र बन्द हुनेछ विभेदको कारखाना विलिन हुनेछन् पैसाको आडमा बनेको उपभोक्तावादी संस्कृति उस्तै अहङ्कार हुनेछैन मान्छेमा सहि सावित हुनेछन् समाजशास्त्रीहरू रहने छैन तिम्रो दादागिरी फेरिनेछ विश्व व्यवस्था । लेखक सधैं घरभित्रै थुनिएर बसिरहने छैनन् एकदिन मान्छेहरू सडकमा उत्रनेछन् तर गर्ने छैनन् ह्यान्डशेक मिलाउने छैनन् गला हात र गला मिलाए सरिहाल्नेछ कोरोना फैलिनेछ माहामारी बरू गर्नेछन् लाल अभिवादन मुठ्ठी कसेर लाल सलाम अनि खोजिनेछ मरिसकेको मानवता हुर्काउनु पर्नेछ समानताको संस्कृति भत्काउनु पर्नेछ शोषणको पर्खाल सुधार्नु पर्नेछ मान्छेको बिग्रिसकेको छवि अब यो लडाइँमा पर्दा च्यातिनेछ कैयौं भ्रमको र भण्डाफोर हुनेछ फोहोरी विश्व–राजनीतिको । [email protected] (लेखककाे टिप्पणीः यो कविता ‘कोरोना र यसको प्रभाव’ बारे मार्क्सवादीय–क्रान्तिकारी–समाजवादी दृष्टिकोणमा आधार बनाएर लेखिएको हो ।)
पूर्वसचिव भीम उपाध्याय पक्राउ
काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका हुन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी तयारी गरिरहेका एक श्राेतले जनाएकाे छ ।
कोरोना संक्रमणको पुनः परीक्षणको लागि स्वाव किन काठमाडौं नै ल्याइन्छ ?
काठमाडौं । ‘चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनको संक्रमण देखिएको छ । भरतपुरस्थित प्रयोगशालामा पिसीआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ ।’ यस्ता प्रकृतिका समाचार अहिले धेरै सुन्न र देख्न थालेका छौं । कहिले जनकपुरधामस्थित प्रादेशिक अस्पताल, कहिले सेती प्रादेशिक अस्पताल धनगढी वा अन्य अस्पतालले ‘पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाएको छ’ भन्ने वाक्य जोडिएर आउने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ ओटै प्रदेशमा ७ ओटा तथा चितवन धरान गरी देशभर १५ स्थानमा कोरोना भाइरस संक्रमण भए नभएको यकिन गर्न पिसीआर परीक्षणको व्यवस्था गरिएको छ । प्रदेशतहमा गरिएको पिसीआर परीक्षणबाट आएको नतिजा पुनः पिसिआर प्रविधिबाट नै परीक्षणको लागि काठमाडौं पठाउनुपर्ने हो भने प्रदेशतह तथा अन्य स्थानमा हुने गरेको पिसीआर परीक्षणको औचित्य के ? पुनः परीक्षणको लागि किन पठाइन्छ त काठमाडौं ? भन्ने जस्ता जिज्ञासा पनि हुन सक्छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकारीहरु पनि यसको विस्तृत जानकारी औपचारिक रुपमा बताउँन चाहदैनन् । प्रयोगशालाका अधिकारीका अनुसार पिसीआर परीक्षण भनेको धेरै नै जटिल तथा संबेदनशील प्रकृया हो । यसमा अत्यन्त न्युन मात्रामा मेकानिकल, मानवीय अथवा अन्य कुनै पनि प्रकारको भुल बा त्रुटि भएमा पुरै नतिजामा नै फरक पर्ने हुन्छ । कोरोना जस्तो गम्भिर प्रकृतिको संक्रमणमा कुनै पनि एक जाना मात्रको नतिजा गलत आयो भने त्यसबाट संक्रमणको भयाबह परिस्थिति उत्पन्न हुन सक्ने भएकाले कन्फर्मेसनको लागि फरक उपकरण तथा प्राबिधिक प्रयोग गरेर परीक्षण गर्न काठमाडौं ल्याइने गरेको तथा कन्र्फमेसन पछि केहि नमुना डब्लुएचओले समेत पुन परीक्षण गरेर कन्फर्म गर्ने प्रकृया रहेको ती अधिकारीको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र रहेको कन्फर्मेसको अनुमति अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सेती प्रादेशिक अस्पताललाई समेत दिइएको छ । यो पुन परीक्षण गरेर कन्फर्म गर्ने प्रकृया नेपालमा मात्र नभएर विश्वका संम्पूर्ण देशहरुमा रहेको अर्थात यो विश्वव्यापि प्रकृया रहेको समेत रहेको प्रयोगशालाको भनाइ छ । केहो पिसीआर परीक्षण पिसीआर भन्नाले पोलिमरेज चेन रियाक्सन भन्ने बुझिन्छ । पिसीआर भनेको एक एम्पिलिफिकेशन प्रकृया हो । जसमा एउटा टार्गेट आरएनए वा डिएनएबाट सिलसिलेबार रुपमा बहुसंख्यक मात्रामा प्रतिलिपी जीन उत्पादन गर्ने तथा त्यसबाट अध्ययन अनुसन्धान गर्ने प्रकृया नै पिसीआर हो । पोलिमरेज भन्नाले जिन (कुनै पनि बस्तुको अनुबांशिक गुण भएको सबैभन्दा सानो अंश) को इन्जाइम हो । जस्तै, आरएनए पोलिमरेज, डिएनए पोलिमरेज इत्यादी । पोलिमरेज इन्जाइमले न्युक्यिोटाइपलाई एकअर्कामा जोडेर आरएनए वा डिएनए निर्माण गर्ने काम गर्दछ ।