विकासन्युज

दुनियाँले अझ लामो बाटो तय गर्नु छः डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले कोरोना महामारीसँग सामना गर्नका लागि दुनियाँले अझै पनि एउटा लामो बाटो तय गर्नुपर्ने बताएका छ । डा. टेड्रोसका अनुसार एकतर्फ जहाँ पश्चिमी युरोपका धेरै देशहरुमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ भने अर्कोतर्फ अफ्रिका, मध्य र दक्षिण अमेरिका तथा पूर्वी युरोपमा प्रकोप बढ्दै गएको देखिएको छ । यस्ता छन् विश्वभरका प्रमुख घटना संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या बढेर साढे २६ लाख नजिक पुगेको छ । त्यसैगरी यस भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार भन्दा बढि मानिस निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सवैभन्दा बढि प्रभावित देशहरुमध्येको स्पेनले घोषणा गरेको छ कि त्यहाँ मई महिनाको अन्तिम दुई हप्तामा लकडाउन हटाउने योजना बनिरहेको छ । जर्मनीले कोभिड–१९ को भ्याक्सिन मानवमा परीक्षण गर्नका लागि स्वीकृति दिएको छ । १८ वर्ष देखि ५५ वर्ष उमेरसमूहबीचका करीब २ सय जनामा यो परीक्षण गरिनेछ । बेलायमा अफिस फर नेशनल स्ट्याटिस्टिक्सको तर्फबाट जारी गरिएको तथ्यांकलाई आधार बनाउँदै फाइनेन्सियल टाइम्सले आशंका जाहेर गरेको छ कि बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ४१ हजार भन्दा बढि हुन सक्छ । यी तथ्यांकको आधार यो हो कि सार्वजनिक रुपमा अस्पतालमा भएका मृत्युलाई मात्र गणना गरिएको छ जबकि त्यसका बाबजुद पनि मृत्यु हुनेको संख्या धेरै बढि हुन सक्छ । फ्रान्सका श्रम मन्त्री मुरिल पेनेइकुदका अनुसार देशमा काम गर्ने करीब आधा जनसंख्याले देशको अस्थायी बेरोजगारी योजनामा हस्ताक्षर गरेका छन् । निजी क्षेत्रमा काम गर्ने करीब १ करोड २० लाख मानिसले मद्दका लागि आवेदन दिएका छन् । पेनेइकुदको भनाइ छ कि हरेक दुईमध्येको एउटा कर्मचारीले तथा हरेक दशमध्येको छ कम्पनीले मद्दका लागि आवेदन दिएका छन् । (श्रोतः बीबीसीडटकम)

खाडीमा रहेका राजदुत भन्छन्ः यहाँ नेपालीको रोजगारी गुम्ने भाे, नेपालमा तयारी गरौं

काठमाडौं । कोरोनाको संक्रमणको कारण विश्व अर्थतन्त्रमा गम्भीर संकट देखिएसँगै नेपालीको बैदेशिक रोजगारीमा धक्का लाग्ने भएको छ । खाडी देशमा रहेका नेपालीको रोजगारी गुम्ने अवस्था देखिएको नेपालमा त्यसको तयारी गर्नुपर्ने राजदुतहरुले बताएका छन् । ओमानमा करिब १८ हजार नेपाली कामदार छन् । ओमानमा रहेका नेपालीमा कोरोना संक्रमण भएको छैन । तर, ओमानमा संक्रमण बढेसँगै त्यहाँ कार्यरत नेपाली नेपाल फर्कन चाहेका ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुलीले जानकारी दिईन् । कोरोनाको संक्रमण बढेसँगै नेपाल फर्किन चाहनेको संख्या उच्च रहेको भन्दै उनले कोरोना कहरसँगै धेरैको रोजगारी गुम्ने हुँदा देशमा नै रोजगारी तय गर्ने विषयमा सरकारले योजना बनाएर अगाडी बढ्नु पर्ने धारणा राखिन् । कोरोनाको संक्रमण फैलिएसँगै केही कम्पनीले विदेशी कामदारलाई उनीहरुकै देश फर्काउन थालेकोले त्यसको असर नेपालीमा पनि पर्ने राजदुत पराजुलीको भनाइ छ । त्यस्तो अवस्थामा आफ्नो खर्चले नेपाल फर्कन नसक्ने कामदारको लागि सरकारले उद्धार गर्नुपर्ने उनले राजदुत पराजुलीले बताइन् । करिब ३५ हजार नेपाली कामदार रहेको बहराइनमा पछिल्लो समय ४९ जना नेपालीमा कोरोना संक्रमण पनि फैलिएको छ । करिब १ हजार ९ सय ७३ जना कोरोना संक्रमित रहेको बहराइनमा ७ जनाको सोही कारण मृत्यु भएको छ । सबै संक्रमित नेपालीको अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली राजदुत पदम सुन्दासले जानकारी दिए । ‘धेरै कामदारको श्रम कटौती भईसकेकाले एक प्रकारको त्राससँगै वैदेशिक रोजगारीमा भयावह स्थिति आएको छ’ उनले भने । बहराइनमा गत आइतबार हेटौंडाका एक युवकले आत्महत्या गरेको जानकारी दिँदै सो शव लकडाउनपछि नेपाल पठाउने राजदुत सुन्दासले बताए । कोरोनाको कहर फैलिएसँगै ज्यानसँगै आफ्नो जागिर (रोजगारी) के हुने हो भन्ने कुरामा विदेशमा रहेका नेपाली केन्द्रित भएको गैरआवाशीय ननेपाली संघ (एनआरएनए) कतारका सचिव आरके शर्माले बताए । ‘अहिलेसम्म त विदेशमा भएका नेपालीलाई खान बस्न देऊ भनेर हारगुहार गर्नुपरेको अवस्था छैन, तर परिस्थिति यस्तै रहने हो भने त्यस्तो गुहार माग्नुपर्ने अवस्था पनि आउन सक्छ,’ सचिब शर्माले भने । खाडी मुलुकमा १६ देखि १८ लाख नेपाली कार्यरत छन् । पछिल्लो समय पेट्रोलियम पदार्थ ३ दशकयताकै कम मूल्य कायम भएसँगै खाडी मुलुकका धेरै कामदार कटौती हुने सचिव शर्माले बताए । वैदेशिक रोजगारीबाट फर्किएकालाई सिप अनुसारको काम दिने भन्ने विषयमा सरकारले योजना तय गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । कोरोनाको कहरसँगै पैदा हुने वेरोजगारीलाई व्यवस्थापन गर्न तत्काल रोजगार दिन सक्ने अवस्था सिर्जना नभए पनि रोजगारीमुलक सेवा तथा कृषिजन्य उत्पादनलाई जोड दिएको प्रवक्ता घिमिरेले बताए । वैदेशिक रोजगारीबाट फर्किने सबैको सिप क्षमताको तथ्यांक राख्नुका साथै सरकारले कोभिड १९ नलागेको प्रमाण भएपछि मात्र नेपाल आउन दिने निर्णय गरेको प्रवक्ता घिमिरेको भनाइ छ । कोरोना संक्रमण भई मृत्यु भएको शव नेपाल ल्याउन नपाईने भन्दै सबै देशको दूतावासमा परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ । हालसम्म कोरोना बाहेक अन्य कारणले मृत्यू भएका ८० नेपालीको शव विदेशमा रोकिएको छ । विश्वमा एक हजार दुई सयभन्दा बढी नेपाली कोरोना संक्रमित छन्, भने ३० जना नेपालीको मृत्यु भइसकेको छ । वैदेशिक रोजगार पत्रकार समाजसँग डिजिटल कन्फरेन्समा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

कोरोना अपडेटः निको हुनेको संख्या ७ लाख १७ हजार नाध्यो

काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)

राहत वितरणकाे फाेटाे खिच्न र सामाजिक सञ्जालमा पाेष्ट गर्न प्रतिबन्ध   

राहात वितरण गरी फेसबुकमा राखिएका प्रतिनिधिमुलक फाेटाेहरू खोटाङ  । हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ । तस्वीर खिचाएर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको समयमा नगरपालिकाले तस्वीर खिच्न प्रतिबन्ध लगाएको हो । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई उनीहरुको वडामै लगेर राहत सामग्री वितरण गर्न स्वयं वडाध्यक्षलाई जिम्मा दिइएको नगरप्रमुख इवन राईले बताए ।  “दुई–चार छाक पुग्ने चामल र दुई पोका तेल बाँड्दै गरेको तस्वीर खिचाएर जनतालाई हैरान बनाउनु हुँदैैन”, उनले भने, “नगरपालिकाले दिने राहतले उनीहरुको गर्जो टर्ने पनि होइन । थोरै सामग्री दिएर धेरै प्रचार गर्दा आफ्नो लोकप्रियता बढ्छ भन्ने सोच्नु गलत भएकाले तस्वीर खिच्न रोक लगाइएको हो ।” नगरस्तरीय समन्वय समितिको बैठकको निर्णयअनुसार विनियोजन गरिएको रु १२ लाख ५० हजार बजेटबाट खाद्यान्न खरिद गरेर बिहान–बेलुकाको छाक टार्न कठिन भएका परिवारलाई वितरण शुरु गरिएको जनाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा राहत वितरण कार्यक्रम शुरु भएपछि स्थानीय बासिन्दालाई थोरै भए पनि सहज भएको पाइएको छ । गत वर्ष भएको लामो समयको खडेरीले खाद्यान्न अभाव भएपछि सो नगरपालिकाका अधिकांश युवापुस्ता दैनिक ज्यालादारी काम गर्न भारत गएका छन् । लामो समय भएको खडेरीका कारण सो नगरपालिकाका कतिपय किसानले मकै छर्नसमेत पाएका थिएनन् । मकै छर्ने समय गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मात्रै मकै छरे तर उत्पादन राम्रो भएन । जिल्लाको प्रमुख बालीका रूपमा लगाइने मकै छर्ने समयमा नगरपालिकाले मकैको बीउ खरिद गरेर खडेरी पीडित किसानलाई निःशुल्क वितरण शुरु गरेको छ । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट खरिद गरेर ल्याइएको मकैको बीउ ११ वटै वडाका किसानलाई निःशुल्क वितरण शुरु गरिएको जनाइएको छ । खडेरीका कारण जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको सो नगरपालिकाका स्थानीय बासिन्दाका लागि यसअघि राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । नगरपरिषद्बाट विनियोजित रकमबाट चामल तथा दाल खरिद गरेर वितरण गर्ने काम भइरहेको जनाइएको छ । गत वर्षको खडेरीले जिल्लाका १० वटै स्थानीय तहमा असर गरेको थियो । खडेरीका कारण गत वर्ष अधिकांश स्थानीय तहमा ५० प्रतिशत मात्र खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा समाचार सङ्कलन एवं प्रसारणमा खटिएका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिने पिपिइ, मास्क, स्यानिटाइजर, सोडियम क्लोराइडलगायतका स्वास्थ्य सामग्री बुधबार प्रदान गरेको हो । नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले सङ्कटका घडीमा पनि टेलिभिजन, रेडियो, अनलाइन र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका सञ्चारकर्मी जोखिम मोलेर भए पनि समाचार सङ्कलन एवं प्रसारण गरिरहेकाले उनीहरुको सुरक्षाका लागि सामग्री उपलब्ध गराइएको नगरप्रमुख रिजालले बताए । जिल्लाका १० वटै स्थानीय तहले यसअघि नै आ–आफ्नो क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ ।  रासस

केही उद्योग उठ्नै नसक्ने गरी थला पर्ने भएः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना भाइरस संक्रमणको कारण उत्पन्न परिस्थिति नेपालको निजी क्षेत्रका लागि सबैभन्दा ठूलो चूनौती रहेको बताएका छन् । यसअघि पनि निजी क्षेत्रले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरता भोगेको थियो । त्यो बेला निजी क्षेत्र केही समय भित्रै पुरानै अवस्थामा आए पनि अहिलेको परिस्थिति असाध्यै चुनौतिपूर्ण रहेको उनको भनाइ छ । ‘अहिलेको समस्या विश्वव्यापी महामारीको रुपमा आएको हो, कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र तहसनहस पारेको छ, यही समस्याका कारण ९० प्रतिशत निजी क्षेत्र छिट्टै रिकभर हुन नसक्ने अवस्था देखियो’, गोल्छाले भने । अन्र्तराष्ट्रिय मुद्रा कोष लगायतका निकायहरुले २/३ प्रतिशतसम्म आर्थिक वृद्धि कम हुन्छ भनेका विषय उल्लेख गर्दै गोल्छाले निजी क्षेत्रले यस वर्षको आफ्नो वृद्धि शून्यमै राखेर ऋणात्मक नभए पनि आफूलाई भाग्यमानी सम्झने बताए । कोरोनाको महामारीले निजी क्षेत्रलाई मात्र नभई सकारलाई पनि ठूलो क्षती भएको गोल्छाको भनाइ छ । वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली युवा स्वदेश फर्किन लागेका भन्दै उनले ती सबैलाई नेपालमा कसरी रोजगारी दिने भन्ने मुख्य चूनौती रहेको बताए । गोल्छाले नेपालमा कोरोना अगाडी सञ्चालनमा रहेका उद्योगहरुलाई कसरी बचाउने भन्ने अर्काे ठूलो चूनौतीको रुपमा रहेको बताए । ‘निजी क्षेत्रलाई बचाउन नसके देशको अर्थतन्त्रमा ठूलो समस्या आउँछ, स्वदेशमा भएका र विदेशबाट आएकाहरुलाई रोजगारी सिर्जनाको पक्षमा पनि निजी क्षेत्रको भूमिको ठूलो भुमिका हुन्छ, त्यसमा सहयोग गर्न हामी तयार छौं’, गोल्छाले भने । सरकारको ठूलो परिमाणमा राजश्व गुमाउने भएकोले निजी क्षेत्रलाई जोगाउन सरकारले विशेष प्याकेज ल्याउनु पर्ने सुझाव दिइएको पनि उनले बताए । कठिन समय भएकाले नेपालको सबै निजी क्षेत्रका छाता सगठन मिलेर त्यो प्याकेज तयार पारेका र सरकारलाई बुझाएको उनको भनाइ छ । प्याकेज तयार पर्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका अन्य संघ संस्थाहरुको सहभागित रहेको गोल्छाले जानकारी दिए । सरकारलाई बुझाएको सुझावसहितको प्याकेजमा आगामी दिनमा कसरी अगाडी बढ्दा देशको निजी क्षेत्रलाई बचाउन सकिन्छ भनेर ४ वटा सुझाव दिइएको छ । उद्योग व्यवसाय र निजी क्षेत्रलाई कसरी बचाउने, श्रमिकको व्यवस्थापन कसरी गर्ने, वैशाख महिना पुरै लकडाउन भयो भने श्रमिकलाई ५० प्रतिशत मात्रै पारिश्रमिक दिर्ने र उद्योगले प्रयोग गर्ने बिजुलीको महशुलको बारेमा सुझाव छ । सरकारले उद्योग सञ्चालनका लागि बैंकको व्याजलाई ५ प्रतिशतसम्म ल्याउनु पर्ने गोल्छाको भनाइ छ । किन सकिँदैन सबै पारिश्रमिक दिन ? चैतमा १० दिनसम्म उद्योग चलेका थिए । सरकारले चैतको सबै तलब दिनुपर्छ भनेर घोषणा गरेपछि केही उद्योग÷व्यवसायीहरुले पुरै तलब पनि दिए । अब उद्योगसँग मौज्दात पैसा नभएको दिन नसकिने उनको भनाइ छ । धेरै क्षेत्र (होटल पर्यटन लगायत उद्योग) को व्याज धेरै हुने र आम्दानी शून्य हुने भएकोले आधा मात्रै तलब दिन सकिने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले नेपालको आर्थिक अवस्था सबैले बुझ्नु पर्ने बताए । समग्रमा आर्थिक अवस्था सन्तुल कसरी कायम गर्न सकिन्छ भनेर सबैले काम गर्नुपर्ने डा. भट्टको भनाइ छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कुन क्षेत्रमा धेरै समस्या परेका छन् भनेर अध्ययन भइरहेको बताए । बैंकले उद्योगी व्यवसायीहरुसँग बसेर पनि छलफल गरिरहेको भन्दै उनले बैंकले पनि बिजनेस गरेको हो भनेर विर्सन नहुने बताए ।

२५ सय दोलखाबासी काठमाडौंबाट उद्धार, विदुर शर्मा एक्लैले व्यहोरे २० लाख रुपैयाँ

काठमाडौं। जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता विदुर शर्मा र बागमती प्रदेश सचिवालय सदस्य शंकर लामाको मुख्य पहलमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका दोलखा जिल्ला मेलुङवासी (मजदुर, विद्यार्थी, विपन्न, असहाय तथा श्रमिक वर्ग) करिब पच्चीस सयलाई गाउँ फर्काउने अभियान सफल भएको छ । उनीहरुलाई गाउँ फर्काउन करिब २२ लाख रुपैयाँ खर्च भयो भएको थियो । जसमा शर्मा एक्लैले २० लाख ६० हजार व्यहोरेका छन् । उक्त अभियान सफल भएपछि भक्तपुरको गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफूहरुले यही बैशाख ८ र ९ गते गरी दुई दिन लगाएर ५५ वटा यात्रुवाहक बसमा उनीहरुलाई कुशलतापूर्वक घर पुर्याईएको जानकारी दिए । उनले भने,“नेकपाको ईमानदार कार्यकर्ता र जिल्ला समन्वय समिति दोलखाको सदस्य समेत भएको नाताले यो कार्यमा मैले सकेको भूमिका निर्वाह गरेको छु । संकटको यो घडीमा मेलुङ गाउँपालिकावासीलाई निःशुल्क यातायातको व्यवस्थासहित घर पठाउने अभियानमा ५५ वटा यात्रूवाहक बस रिजर्भ गरेबापतको २२ लाख भाडा खर्चमध्ये मैले २० लाख ६० हजार व्यक्तिगत रुपमा व्यहोर्ने निर्णयसहित यातायात व्यवसायीलाई एकमुष्ट भुक्तानी दिएको छु ।” आफूले मानवीयताको नाताले यो सहयोग गरेको पनि शर्माको भनाई छ । उनले थप भने,“मेरो यो सहयोग मानवीयताको नाताले, आफू मेलुङ गाउँपालिकावासी भएको हैसितयले सामाजिक दायित्वबोधका साथ गाँउपालिकावासीको उद्धारमा खर्च गरेको व्यहोरा सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।” उनकाअनुसार गाडी भाडावापत मेलुङ गाउँपालिका वडा नम्बर २ का घ्याङसुकाठोकर निवासी नेकपा जिल्ला कमिटी दोलखाका सदस्य शैलेन्द्र खड्काबाट एक लाख र मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोकर निवासी युवा व्यवसायी वसन्त लामा ४० हजार सहयोग उपलब्ध भएको छ । शर्मा आफैंपनि मेलुङ गाउँपालिका वडा नम्बर ३ घ्याङसुकाठोकरका स्थायी निवासी हुन् । अलपत्र परेका नागरिकहरुलाई आवश्यक समन्वय गरि सुरक्षित ढंगले घरगाउँसम्म पुर्याउन भएको निर्देशनबमोजिम आफूहरुले सो व्यवस्था गरेको पनि शर्माद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । नागरिकलाई सुरक्षित ढंगल गाउँ फर्काउने अभियानमा आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् बाग्मती प्रदेशका सांसद विशाल खड्का, नेकपा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य शंकर लामा, नेकपा मेलुङ गाउँपालिका ईन्चार्ज रवीन्द्र कार्की, स्थानीय सरकारका जनप्रतिनिधिहरु अ.ने.यातायात मजदुर संघ केन्द्रीय उपाध्यक्ष सुन्दर केसी, नेकपाका युवा नेताहरु शैलेन्द्र खड्का, छिरिङ लामा, सज्जन लामा, सरोज तामाङ, वासु भण्डारी, लोप्साङ लामा, विकल श्रेष्ठ, राजु कार्की, श्रीराज पोखरेललगायत नेकपाका नेता तथा कार्यकर्ताहरु, ५ नम्बर वडा सदस्य नारायण मगर, युवा व्यवसायी वसन्त लामालगायतका व्यवसायीहरुप्रति पनि शर्माले हार्दिक आभार प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै शर्माले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मेलुङ गाउँपालिकाका विद्यार्थी, मजदुर तथा श्रमिक वर्गलाई आफूहरुले उद्धार गरेको सुनाए । उनले भने, ‘लकडाउनका कारण ठूलो मारमा परेका र विपत परेकाहरु जो हामी गाउँमै जान्छौं भन्नेहरुलाई हामीले यसरी सकुशल उद्धार गर्यौं । हामीले आफ्नो कर्तव्य पूरा गरेका हौं । काठमाडौंमा रहँदा उहाँहरुले गाउँमै जान उपयुक्त ठान्नुभयो । र, हामीले पनि सरकारले लगाएको लकडाउन पालना गर्दै लग्यौं । यहाँबाट यत्रो संख्यामा उद्धार गरेर उहाँहरुलाई गाउँमा लगियो । सम्बन्धित वडाअध्यक्षलाई उहाँहरुलाई सुरक्षित साथ घरघरमै बस्न आग्रह गरिएको छ।’ त्यस्तै, आफूहरुले विशेष कारणवश यसअघि जान नपाएकाहरु जो काठमाडौंमै भएका मेलुङवासीरुलाई, केही दिनमा अर्को गाडी भरिने भयो भने फेरि पठाउने पनि उनले जानकारी दिए । उने भने, हामीले काठमाडौंमा लकडाउनका कारण कोही भोकै नपरुन भनेर खानाको पनि व्यवस्था गरेका छौं । म यही कार्यक्रममार्फत यदि कोही भोकै पर्नुभएको छ भने फोन गर्न अनुरोध गर्दछु । उनकाअनुसार भक्तपुरको गठ्ठाघरमा रहेको बर्गर हाउसमा दैनिक विहान १० देखि २ बजेसम्म खाना खुवाउने व्यवस्था छ ।उक्त बर्गर हाउसका सञचालकयद्धय श्रीभक्त काशीछवा (काठमाडौंका समाजसेवी) र वसन्त लामा हुन् । शर्माले आफूले खानाको व्यवस्था (मेस सञ्चालन) गर्न ५० हजार सहयोग गरेको पनि जानकारी दिए । आफूहरुले बर्गर हाउसमा लकडाउनका कारण मारमा परेका र खानाको अभाव भएकाहरुलाई निःशुल्क खुवाएको उनले बताए । त्यस्तै, कार्यक्रममा नेकपा बाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य तथा मेलुङ गाउपालिका ३ का नेता शंकर लामाले आफूहरुले लकडाउनका कारण प्रभावित भएकाहरुलाई निःशुल्क उद्धार गरेको सुनाए । तर, आफूहरुले सरकार र अदालतको निर्देशनअनुसार नै अलपत्र परेकाहरुलाई उद्धार गरेको पनि उनको भनाई छ । उनले उद्धार अभियानमा ठूलो आर्थिक सहयोग गरेको भन्दै शर्मालाई धन्यवाद दिए । लामाले भने,“यो बेलामा सरकारलाई सहयाेग गर्नुपर्छ । जनतालाई खुवाउनुपर्छ । रोगसँग लड्नको लागि खाना त खानुपर्छ । हामीले यो अभियानमा साथी, नाता हेरेको छैन् । हाम्रो गाउँपालिकाजस्तो अरुलेपनि काम गर्नुपर्यो । सेवा गर्ने काम गर्नुपर्छ । आपतविपत परेकाहरुलाई पहिलो र ठूलो राहत भनेको उहाँहरुलाई गाँउ पुर्याउने ठानेर यो कदम चाल्यौं । एकै दिनको बैठकले यो निर्णय गर्यौं । जान नमिल्नेहरुलाई हामीले यहीँ खानाको व्यवस्था पनि गर्यौं ।” उनले मान्छे बाँचे नै विकास चाहिने, नबाँचे के विकास चाहियो ? भनेर आफूहरुले गाँउपालिकावासीलाई काठमाडौंबाट उद्धार गरेको पनि स्मरण गराए । उद्धार गरेर लगिएकाहरुलाई वडास्तरमा क्वारेन्टाईनको व्यवस्था गरिएको पनि उनको भनाई छ । उनले भने,“लकडाउन उल्लंघन गरेको होईन् । हामीले त उच्च सतर्कता अपनाएका हौं । आखिर मान्छेलाई गाउँ चाहिने रहेछ । अहिले उत्पादन बढाउनुपर्ने रहेछ भन्ने चेतना आएको छ । आत्मनिर्भर बनाउन सक्छौं । अब सरकारलाई गाली गरेर केही हुनेवाला छैन् । भुकम्पको बेलामा हिजो सबैले सहयोग गरेका थिए । अहिले कसैले सहयोग गर्दैन् । हामी सबै मिलेर काम गरौं ।” कार्यक्रममा नेकपा मेलुङ गाउँपालिका ईन्चार्ज रवीन्द्र कार्कीले आफूहरुले सफलतापूर्वक उनीहरुलाई आ आफ्नो घरसम्म पुर्याएको स्मरण गराए । उनले भने,“उहाँहरुको यात्रा सफल भयो । व्यवस्थित् भएर बस्नुभएको छ । सचेतनापूर्वक बसेका छन् । अनुशासित र व्यवस्थित् ढंगले काम गरेका छौं । ठूलो काम गर्यौं भन्ने लाग्दैन् । हामी सबैलाई थाहा छ । धन ठूलो हो भन्नेहरुले केही गर्दैनन् । तर, यो टिम फरवार्ड भएर काम गरेको हो । आकस्मिक ढंगले अघि बढ्यौं । विदुर शर्मा धनी व्यक्ति होईन् । किसानको छोरो हो । तर, उहाँले केही प्रतिशत समाजको लागि योगादन गर्नुभएको छ । हामी सबैले उहाँलाई धन्यवाद दिनैपर्छ ।”

कुवेतमा २९ जना नेपाली कोरोना संक्रमित

काठमाडौं । कुवेतमा बुधबार मात्र ५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म २९ जना नेपाली कोरोना संक्रमित रहेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ । कोरोना संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावास बताएको छ ।  पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दैसँगै दूतावासमा समस्या राख्ने नेपालीको संख्या बढेको छ । कुवेतमा हालसम्म २ हजार २ सय ४८ जना कोरोना संक्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।

‘लकडाउनमा सबै काम ठप्पै पार्नु हुँदैन, साना उद्योग व्यवसाय सञ्चालन गर्न पाउनु पर्छ’

काठमाडौं । उद्योगी व्यवसायीहरुले लकडाउनको यो अवधिमा पनि घरेलु कम्पाउण्डभित्र चल्ने साना उद्योगहरु सञ्चालन हुनुपर्नेमा विशेष जोड दिएका छन् । लकडाउन भनेर चुप लागेर बस्नु देशकै लागि प्रत्युत्पादन हुनसक्ने भन्दै उनीहरुले सरकारको ध्यान त्यसतर्फ आकर्षित गराए । युवा व्यवसायी समाज नेपालका केन्द्रिय अध्यक्ष विश्वराम कवाँंले लकडाउनको नाममा सबै कामकुरा ठप्पै पारेर मात्रै बस्नु बुद्धिमानी हुन नसक्नेतर्फ ध्यान आकर्षित गराए । ‘लकडाउन मात्रै सबै समस्याको समाधान हुन नसक्ला, समाजका अध्यक्ष कवाँले थपे, ‘यो बेला पनि खान लाउन त पर्यो, त्यसको लागि आम्दानीको श्रोत त चाहियो नै । यसैको लागि कि त सरकारले राम्रो वन्दोवस्त गरिदिनु पर्यो नभए काम गर्ने वातावरण बनाइदिनुपर्यो ।’ सरकारमा बस्नेहरु दुरदर्शी नभएको भन्दै उनले लकडाउन पछिको उद्योग व्यवसाय फस्टाउन के गर्ने हो स्पष्ट नीति आवश्यक रहेको खाँंचो औंल्याए । लकडाउनको यो बीचमा भएको सबै कार्यहरु बन्द हुँदा त्यसलाई पूर्ति गर्नसक्ने नयाँं नीति आवश्यक भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । लकडाउनको यो अवधिमा सामान्य खेतमा जाने किसानलाई पनि रोक लगाइएको अवस्था भन्दै किसानहरु खेतको बारीमा भएको तरकारी पनि लिन जाने अवस्था नभएको बताए । यही कारण खेतमा फलेको तरकारी पनि खेतमै कुहाउन दिनुपर्ने अवस्था सृजना भएको उनको भनाई छ । यसले भोलिका दिनमा भोकमरीको सृजना हुन सक्दैन भन्न नसकिने उनको धारणा छ । लकडाउनको योवीचमा विशेष गरी सामान्य नागरिक बिचल्लीमा छन् । सामान्य नागरिकलाई सरकारले राहत वितरण गरिरहे पनि धेरै नागरिक खान नपाएरै सुरक्षा संयन्त्रबाट भागीभागी आफनो जन्मथलो गाउँंठाउँं जानुपर्ने अवस्था छ । आफूसँंग भएको खर्च सकिसक्दा पनि राहत नपाउनुलगायतका कारण उनीहरु सहरबाट भागेर गाउँं जान विवश छन् । एकजना मजदुर सूर्यबहादुर सार्की आफू जस्ता धेरै मजदुरहरु चाहेर खुशीले गाउँ नगएको सुनाए । ‘यो हाम्रो रहर होइन, बाध्यता हो, उनले भने, ‘रहरले मलाई लाग्छ कोही पनि गाउँं गएका छैनन् ।’