विकासन्युज

मेगा बैंकका ग्राहकलाई विशेष छुटसहित घरमै औषधि, आवश्यक परे यी नम्बरमा कल गर्न सकिने

काठमाडाैं । मेगा बैंक नेपालका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा-सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको हो । औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । मेगा बैंकका ग्राहकहरुले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको ०१-४१०६८६०, ९८४९०९८०० मा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक औषधि खरिद गर्न सक्नेछन् । कोरोनाभाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग यो सम्झौता गरेको मेगा बैंकले जनाएको छ । घरमै बसेर बिना झन्झट औषधि खरिद गर्ने सुविधा उपभोग गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । यसका साथै, मेगा बैंकले लकडाउनमा पनि देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

भारतले दियाे नेपाललाई २३ टन औषधि सहयाेग

काठमाडाैं । भारतले काेराेना भाइरससँग विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । बुधबार साे औषधि सहयाेग दिएकाे बताइएकाे छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेकाे बताइएकाे छ । भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज छन् ।

गैरआवासीय नेपाली चिकित्सकको सुझाव- बन्दाबन्दी कायम राखौँ

काठमाडाैं । नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा. मोदास्सिर आलमले सकारात्मक हुने बताएका छन् । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ । स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले पनि यसबाट सिक्नुपर्नेमा जोड दिएका छन् । सामाजिक दूरी कायम गर्नका लागि लकडाउनले बल पुग्ने बताउने डा. आलम नेपालले समयमै लकडाउन गरेकाले तुलनात्मक रुपमा सङ्क्रमण कम देखिएकाले यसतर्फ सबै गम्भीर हुन सुझाव दिएका छन् । तर लकडाउनसँगै जनतालाई अत्यावश्यक सेवा र खाद्यान्नको प्रत्याभूति गर्न र दुई/तीन महिनापछि आउनसक्ने समस्याप्रति पनि आवश्यक मात्रामा सचेत रहेर काम गर्नुपर्ने आवश्यकता देखिएकाे छ । लकडाउनलाई व्यवस्थित गर्दै जानुपर्ने र पछि आउनसक्ने खाद्य सङ्कटप्रति पनि चिन्तन जरुरी रहेको उनको भनाइ छ । ‘सुपरीवेक्षणको कामलाई पनि प्रभावकारी बनाउनुपर्दछ । लकडाउन भए पनि स्वास्थ्य उपचार सेवालगायतका अत्यावश्यक सेवालाई भने सञ्चालन राख्न आवश्यक छ’- उनी भन्छन् । नर्वेमा कार्यरत अर्का नेपाली चिकित्सक डा सुरज थापालाई पनि लकडाउनले केही समस्या आए पनि अहिले अर्को विकल्प छैन भन्ने लागेको छ । डा थापा २० वर्षदेखि नर्वेमा हुन्छन् । महामारीका रूपमा रहेको कोभिड-१९ को सङ्क्रमण नियन्त्रण गर्न अपनाइने लकडाउनको प्रयासलाई गलत नबुझ्न पनि उनी आग्रह गरेका छन् । विकासको हिसाबले र पूर्वाधारको व्यवस्थालाई हेर्दा सुसम्पन्न मुलुकहरु अमेरिका, इटली, स्पेन, फ्रान्स, चीनलगायतले पनि अहिले यसको सङ्क्रमण रोक्नुलाई नै चुनौतीका रूपमा लिएका छन् । ओस्लो युनिभर्सिटी अस्पतालमा कार्यरत काठमाडौंका डा थापा भन्छन्, ‘लकडाउन एक प्रकारले बाध्यताजस्तो नै बनेको छ तर लकडाउनसँगै सरकारले जनतालाई दिनुपर्ने आवश्यक सेवा र खाद्यान्नको प्रत्याभूति भने गर्नुपर्दछ ।’ जापानमा सेन्ट लुक इन्टरनेशनल युनिभर्सिटीमा सामुदायिक स्वास्थ्यमा विद्यावारिधि गरिरहेकी एलिजा केसी अधिकारीलाई कोभिड-१९ एक जनामा पुष्टि हुनेबित्तिकै नेपाल सरकारले लकडाउनको निर्णय गरेर सही गरेको लागेको छ । उनी विश्वका अन्य विकसित मुलुकको तुलनामा नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधारको व्यवस्था न्यून रहेकाले पनि कोभिड–१९ को यो कठिन परिस्थितिमा सामुदायिक स्वास्थ्यको क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउनको नीतिलाई गलत टिप्पणी गर्न नहुने बताउँछन् । स्वास्थ्यप्रति जापान सरकार र जनता निकै सचेत छन् । गत तीन वर्षदेखि जापानमा बस्दै आएकी अधिकारी भन्छन्, ‘मास्क र हातमा पञ्जा नलगाउने व्यक्ति यहाँ भेटिँदैनन्, सबै सामाजिक दूरी बनाएर आफ्ना काम गर्ने गर्छन । तर यस्ता कार्यहरु नेपालमा हामीले गर्दैनौँ, यो अवस्थामा लकडाउन गर्नु नै नेपालका लागि अनिवार्यजस्तै देखिएको छ ।’ उहाँ अस्पतालमा जाने अवस्था आउन नदिनेतर्फ नै सबैको जोड हुनुपर्ने भन्दै सबैले आफ्नो स्वास्थ्यप्रति संवेदनशील बनेर कोरोनाविरुद्धको लडाइँमा साथ दिनुपर्ने बताउनुहुन्छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको मेरिल्याण्ड स्टेट युनिभर्सिटीमा कार्यरत डा सुरेश बस्नेत लकडाउनको निरन्तरतासँगै जनजीवनलाई पनि व्यवस्थित गराउनेतर्फ जोड दिन नेपाल सरकारलाई सुझाव दिनुहुन्छ । समयसँगै कोभिड–१९ को महामारीसमेत कम हुने र औषधिसमेत पत्ता लाग्ने तथा विश्व नै यसका विरुद्व लडिरहेकाले यो समयमा रोकथामका लागि नै राज्यको जोड रहनुपर्ने उहाँको भनाइ छ । डा बस्नेत लकडाउनसँगै परीक्षणको काम पनि तीव्ररूपमा गर्नुपर्ने बताउनुहुन्छ । जतिधेरै परीक्षण हुनसक्छ, त्यतिनै काम गर्न सजिलो हुने डा बस्नेत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नियमित बिरामीका साथै अहिलेको यो महामारीबीच कोभिड–१९ का बिरामी बढ्न पुगे स्वास्थ्य सेवामा चुनौती हुनसक्नेतर्फ सचेत हुनुपर्छ । स्वास्थ्य सेवामा दबाब कम गर्न र चिकित्सकलाई दबाब हुन नदिन प्रथम चरणमा नै बढी ध्यान दिनुपर्छ । कोभिड–१९ को सङ्क्रमण देखिए पनि आत्तिइहाल्न नहुने उहाँ बताउनुहुन्छ । अमेरिकाकै नर्थ क्यारोलिनामा रहेको केप फियर भ्याली अस्पतालमा कार्यरत डा भास्कर कुँवर क्षेत्री पनि लकडाउनलाई अहिलेको अवस्थामा बाध्यात्मक विकल्पकै रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । समयमै लकडाउन हुँदा नेपालमा सङ्क्रमण फैलिन नपाएको बताउनुहुने रुपन्देहीका डा क्षेत्री रोकथामको प्रयासको रूपमा गरिएको यो लकडाउनसँगै दु्रतगतिमा परीक्षणको काम गर्न सुझाव दिनुहुन्छ । चेन अफ कमाण्डमा रहेर यो अवधिमा काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले त नेपालमा तीन तहको सरकार छ, सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने भोलिका दिनमा आउन सक्ने अप्ठ्यारा पनि समाधान गर्न सकिन्छ उहाँ भन्नुहुन्छ । रोकथामका साथै सङ्क्रमण देखिएकाहरुको स्वास्थ्यप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै उपचार सेवाप्रति तथा लामो समयसम्म लकडाउन भएको खण्डमा मानिसमा यस कारण हुनसक्ने असरप्रति पनि सचेत बन्न आग्रह गर्नुहुन्छ । उता पोल्याण्डमा रहनुभएकी डा अलिनी पोखरेल सुवेदी पनि तत्काल लकडाउन खोल्न नहुने सुझाव दिनुहुन्छ । “अहिले नै खोल्दा अलि हतार हुनसक्छ । यसले जोखिम बढाउनेछ । सङ्क्रमण बढ्न सक्छ”, पोल्याण्डमा कार्यरत डा सुवेदी भन्नुहुन्छ । अहिले विश्वमा सुरक्षित देशका रूपमा नेपाल पनि पर्छ तर यही बेला हामीले लकडाउन खोल्यौँ भने नेपाल जान चाहनेहरु बढ्न सक्छन्, बिदा मनाउन जाने पनि हुनसक्छन्, यसले नेपालमा चहलपहल बढ्ने हुँदा जोखिम पनि उत्तिकै बढ्न सक्छ भन्नुहुन्छ । पोल्याण्ड पनि लकडाउनलाई चरण–चरणमा खोल्दै जाने सरकारको तयारी रहेको उहाँले बताउसनुभयो । “शहरभित्र बसहरु चलाइएको छ तर सीमित सङ्ख्यामा मात्र यात्रु राखिन्छ”, डा सुवेदीले भन्नुभयो, “आवश्यकता हेरेर लकडाउनलाई खुकुलो बनाइ दैनिकीलाई सहज बनाउँदै लानुपर्दछ, लकडाउन खोल्नु हुँदैन, सामाजिक दूरी कायम गर्दै अगाडि बढ्नुपर्दछ ।” उहाँले अस्पतालहरुमा बहिरङ्ग सेवा बन्द नगर्न पनि सुझाव दिनुहुन्छ । यसो गर्दा भोलि पनि अस्पतालहरुमा बिरामीको चाप बढ्न सक्ने उहाँको भनाइ छ । यसैगरी दक्षिण अफ्रिकामा रहनुभएका डा पुष्पराज भट्टराईलाई पनि लकडाउनले गर्दा नेपालमा सङ्क्रमणको दर कम भएको लागेको छ । दक्षिण अफ्रिकाको एक अस्पतालमा कार्यरत अर्घाखाँचीका डा भट्टराईले अहिले विश्वकै विकसित मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढी देखिएको छ त्यहाँसमेत उपचार सेवामा समस्या देखिएका खबरहरु आइरहेको सन्दर्भमा नेपालले रोकथाममै बढी जोड दिनुपर्ने बताउनुहुन्छ । “सङ्क्रमण हुन नदिन हामीले जोड गर्नुपर्दछ, अस्पतालमा जानु नपर्ने उपायमा नै अहिले हाम्रो बढी ध्यान हुनुपर्दछ”, उहाँले भन्नुभयो । आफू कार्यरत अस्पतालमा एउटा छुट्टै विभाग बनाएर अहिले परीक्षणको प्रबन्ध मिलाइएको जानकारी गराउँदै एनआरएनए दक्षिण अफ्रिकाका अध्यक्षसमेत रहनुभएका डा भट्टराईले परीक्षण गर्दा पोजेटिभ देखिए उपचारकोे प्रक्रिया अघि बढाइने गरिएको बताउनुभयो । अस्पतालका अन्य सेवा भने सञ्चालन नै रहेको उहाँले बताउनुभयो । अमेरिकाको न्यू मेक्सिकोको राज्यमा रहेको लभलेस हेल्थ सिष्टमका मेडिकल डाइरेक्टर डा केशव पौडेल अहिले हामीले गर्ने भनेको नै सामाजिक दूरी बनाउने हो । यसका लागि लकडाउनले नै बल पुग्ने बताउनुभयो । संसारभर नै अहिले यही अभ्यासमा जोड गरिएको छ । एनआरएनए अमेरिकाका पूर्वअध्यक्षसमेत रहनुभएका डा पौडेलले भन्नुभयो, “लकडाउन गर्दा सङ्क्रमण फैलनबाट रोक्न सकिन्छ । नेपालमा पनि अहिले यसले काम गरेको छ भन्ने मलाई लागेको छ ।” तर उहाँ लकडाउनसँगै आइपर्ने समस्याप्रति पनि चिन्तित बन्नुपर्ने बताउनुहुन्छ । सङ्क्रमण हुन नदिनका लागि नै पहिलो प्रयास हुनुपर्ने बताउँदै उहाँ सङ्क्रमण भएको खण्डमा पनि नआत्तिन र यो निको नै नहुने खालको हो भन्ने गरी त्रासमा नरहन अनुरोध गर्नुहुन्छ । आफू कार्यरत अस्पतालको तथ्याङ्क र विभिन्न अन्य आधिकारिक निकायहरुले निकाल्ने गरेको तथ्याङ्कलाई हेर्दा समेत सङ्क्रमण देखिएकामध्ये ८० प्रतिशतभन्दा बढी घरमै आइसोलेसनमा बसेर निको हुने गरेको, उपचार गराउन आउने २० प्रतिशतमध्ये पनि अइसीयूमै राखेर उपचार गर्नुपर्नेको प्रतिशत निकै कम हुने र त्यसमा पनि अति जोखिममा केही व्यक्तिहरु मात्र हुने देखिने गरेकाले कोभिड–१९ लाग्दैमा मरिहालिन्छ भनेर मनमा डर नपाल्न उहाँ आग्रह गर्नुहुन्छ । उता इङ्गल्याण्डमा कार्यरत डा सुनिल साह नेपालमा भइरहेको लकडाउनले सङ्क्रमण रोक्न सहयोग गरेको बताउनुहुन्छ । “विश्वका विकसित मुलुकहरु हेरेर पनि हामीले धेरै सिक्न सक्छौँ, पूर्वाधारले भरिपूर्ण देशले पनि अहिले जोड दिएको लकडाउनलाई नै हो । नेपालमा यसलाई हेरेर पनि कम्तीमा पनि अप्रिल महिनाभर लकडाउन हुनु जरुरी छ”, उहाँले भन्नुभयो । गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य विभागका प्रमुख डा सञ्जीव सापकोटासमेत अस्पतालमा जति कम बिरामी जाने अवस्था हुन्छ, त्यति नै अस्पतालमा कामको दबाब कम पर्ने भएकाले सबैको ध्यान कोरोना सङ्क्रमण हुन नदिनमा नै हुनुपर्ने बताउनुहुन्छ । विभिन्न देशमा कार्यरत नेपाली चिकित्सकहरुले नेपाल–भारत सीमासमेत खुला रहेकाले अन्तर्राष्ट्रिय हवाईसेवा बन्द गराउनुका साथै खुला सिमानाबाट हुनसक्ने आवातजावतमा समेत ध्यान दिन आग्रह गर्नुहुन्छ । लकडाउनका बीच पनि जनताको दैनिकीलाई ख्याल गर्न आग्रह गर्दै चिकित्सकहरुले अस्पताल बन्द नगर्न तथा त्यहाँबाट दिइने बहिरङ्ग सेवा पनि सञ्चालनमा राख्न अनुरोध गर्नुहुन्छ । जोखिमको यस घडीमा निजी अस्पतालहरुलाई सरकारले उपयोग गर्नुपर्ने र ती अस्पतालको समेत दायित्व भएकाले त्यसप्रति गम्भीर बन्न सम्बन्धित सबैमा उहाँहरुको आग्रह छ । –––

नाडाका अध्यक्ष दुलाल भन्छन्-जेठदेखि लकडाउन अन्त्य गर्नुपर्छ

काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथामा तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउनको घोषणा गरेको छ । लकडाउनको कारणले अति आवश्यक उद्योग तथा व्यापार बfहेक अरु बन्द रहेका छन् । सरकार अझै पनि लकडमउन खाेल्ने मनसायमा देखिदैँन । लकडाउनको समय बढाएर बैशाख १५ गतेसम्म यथावत राखिएको छ । नाडा अटोमोवाइल एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले अब लकडाउन बढाउन नहुने बताएका छन् । व्यापारी तथा उद्योगीहरुको बैंकमा व्याज बढ्दै गहिरहेको र बैंकको व्याज र सावाँले व्यवसायीहरुलाई समस्या पर्दै गएकाले लकडाउन बढाउन नहुने उनको भनाइ छ । ‘अटोमोवाइल क्षेत्रले सरकारलाई १ खर्ब राजस्वा बुझाउने गरेको थियो, लकडाउनको कारणले त्यो घटेर ५० अर्ब हुने देखिन्छ,’ उनले भने । सबै किसिमका सवारीले २० लाखलाई रोजगारी दिएको उनको भनाइ छ। ‘अहिले सबै सवारी थन्किएर बसेका छन्, बैंकमा किस्ता थपिदै गहिरहेको छ, यसले व्यवसायी उद्योगीलाई समस्या परिरहेको छ,’ उनले भने । ‘समयमा नै सोचौं, धेरै गम्भीर भएर सोचौं, एक पटक होइन हजार पटक सोचौं, हामी नेपाली कति बसेर खान पुग्ने छौं, हामीसगँ कती दिन पुग्ने खाना सञ्चित छ ? र कहाँ छ? भोको पेटले सुत्ने ब्यक्तीको जनसंख्या जब करोड पुग्छ बाँकीले के खान पाउलान ? हाम्रो बजेट कती हो ? कती घाटा हुँदैछ, त्यसपछि के हुन्छ भनेर अध्ययन गरेर लकडाउनलाई जेठ सरु भए पछि अन्त्य गुर्नुपर्छ,’ दुलालले भने । लकडाउनको कारणले पेन्सन बन्द, बृद्धा भत्ता बन्द, निजामती कर्मचारी, सैनीक, पुलीसको तलब बन्द भयो भने देशको हालत के हुन्छ ? लकडाउन धेरै लम्बिदै जाँदा विकास त परको कुरा, उद्योगले आयात गरेको कच्चा पदार्थको भुक्तानी बन्द हुन्छ, अनि देशको हालत के हुन्छ ? उनले प्रश्न गरे । लकडाउन बढ्दै जाँदा बैंकमा भुक्तानीको विश्वास टुट्ने उनको बुझाइ छ । एटिएमबाट पैैंसा निक्लिन छोड्छ, अनलाइन भुक्तानी पनि बन्द हुन्छ अनि देशको आर्थिक अवस्था विग्रिदै जाने उनको भनाइ छ । ‘उद्योगीहरुको निक्षेप जति उद्योग र ब्यवसायमा लगानी गरेका छन्, सरकारको सञ्चिती केही महिना तलब र भत्ता खुवाउन पुग्ला रेमीट्यान्स बन्द छ, देशका आर्थिक गतिविधीहरु नै बन्द हुँदा समस्या बढ्दै जान्छ, उनले भने । दुलालले भने जेठ १ गतेबाट लकडाउन नखुले देशको अवस्था आँकलन गरेको भन्दा फरक हुने बताए । उनले भने,‘पुरानो इतिहास पढ्दा ५ औं शदाब्दीमा खाना अभाव भएर मान्छेले मान्छे खाएको इतिहास गुगलमा भेट्न पाइन्छ अब के हुन्छ हाम्रो पुस्ताले पनि पढ्ने छन् ।’ अब कोरोनाको कारणले पनि भोकभोकै मर्ने हुन् की भन्ने डर बढेको छ त्यसैले जेठ १ बाट लकडाउन अन्त्य गर्नु पर्ने उनको धारणा छ । ‘लकडाउनले सबैको अवस्था विग्रिएको छ, स्थानीय सरकार पनि अहिले शक्तीशाली सरकार हो, गाउँपालीका, नगरपालिका र महानगरपलिकामा जो जहाँबाट आएको भए पनी मानवताको नाता मात्र चेक गर्यौ, राहात दिउँ, खाना दियौं घर हिडेका मजदुरलाई मद्दत गरौं,’ दुलालले भने । अब विस्तारै उद्योग पनि खोल्नु पर्ने उनले बताए । ‘सुरक्षा अपनाएर काममा लाग्नु पर्छ, किन कि खान नपाइ बाँच्न गाह्रो हुन्छ, बैशाख ३० पछि लकडाउन पूर्ण रुपमा लागु भएमा देशमा ठूलो विरोध हुन सक्छ, भोको पेट धेरै सहन गर्न सकिँदैन, त्यसैले लकडाउन खोलौं,’ उनले भने ।

सार्कमा काेराेनाः कुन देशमा कति संक्रमित ?

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण विश्वभर तीव् रूपमा फैलिरहेकाे छ । काेराेना भाइरस लागेर निकाे भएर जाने सँसँगै संक्रमित हुनेकाे संख्या पनि दैनिक बढ्दै गएकाे छ । सार्क देशहरूमा सबैभन्दा बढी भारतमा छ । पछिल्लाे समय भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाे   छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्। कोरोनाको जोखिम कम गर्न भारतमा झण्डै एक महिनादेखि लकडाउन जारी छ। तर संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। भारत जस्तै दक्षिण एशियाली अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको छ। पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यस्तै, बंगलादेशमा ३ हजार ७ सय ७२ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२० जनाको मृत्यु भएको छ। अर्को दक्षिण एशियाली देश अफगानिस्तानमा १ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जनाले ज्यान गुमाएका छन्। श्रीलंकामा अहिलेसम्म ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी माल्दिभ्समा ८६, नेपालमा ४२ र भुटानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

श्री एयरलाइन्‍सले पायाे एसिया क्षेत्रमा कार्गो उडानको अनुमति, बिहिबार सिंगापुरका लागि उड्ने

काठमाडौँ । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले एसिया क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ ।एयरलायन्सले पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको हाे । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति आइतबार दिएको बताइएकाे छ । अब श्रीले यी ठाउँका जुनसुकै ठाउँमा पनि जान पाउने छ । यो अनुमति पाएसँगै एयरलाइन्सको एउटा सीआरजे विमान बिहीबार सिंगापुर जाने श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बताए  । उनले नेपालबाट सिंगापुरसम्म उड्दा ७ वटा मुलुकहरुको आकाशको रुट अनुमति लिनुपर्ने भएकाेले जहाज ल्याण्डिङका लागि अनुमति पाउन बाँकी रहेकाे बताए । यसकाे बुधबार साँझसम्म नै अनुमति पाउन सक्ने उनकाे भनाइ छ ।      

कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : मन्त्री ढकाल

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौंले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पीपीई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उनले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताए । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पीपीई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए । रासस

कोभिड–१९ : रोगभन्दा भय बढी हुँदा मानसिक समस्या

काठमाडौं । लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ती व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने सन्देश सुनेरै कतिपय दिनभर हात धुने काम मात्रै गरेको पनि अस्पतालले जनाएको छ । बीस सेकेण्डसम्म मिचीमिची हात धुनु भन्ने सन्देश सुनेरै उनीहरु दिनभर अधिकांश समय हात धोएरै बिताउने गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नेपालमा पनि थपिरहँदा त्यसकै भयका कारण मानसिक रोगको जोखिम बढिरहेको छ । कतिपय यसअघि नै औषधि खाइरहेका बिरामी त कतिपय नयाँ बिरामीमा मानसिक समस्या देखिन थालेको अस्पतालले जनाएको छ । कतिपय बिरामीमा सामान्य रुघाखोकी पनि कोरोना भाइरस नै हो भन्ने रूपमा लिने गरेको पाटन मानसिक अस्पतालका प्रमुख मनश्चिकित्सक डा अनन्तप्रसाद अधिकारीले बताए । उनका अनुसार कतिपय व्यक्ति भने रोगको रोकथामका लागि तीन–चार मास्क एकैपटक लगाउने गरेको पाइन्छ । उनले भने, “धेरै मास्क लगाउँदा बढी सुरक्षित हुन्छु भन्ने भ्रम ती व्यक्तिमा रहेको पाइन्छ ।” कोभिड–१९ का त्रासका कारण नरम र कडा दुवै किसिमका मानसिक समस्या भएको पाइएको छ । यस समयमा व्यक्तिमा साइकोसिस (वास्तविक र अवास्तविक छुट्याउन नसक्ने अवस्था), एन्जाइटी, डिप्रेसन (नैराश्यता) लगायत मानसिक रोग देखिरहेको छ । ती व्यक्तिमा डराउने, झस्कने, जुनसुकै कुरालाई शङ्काका रूपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिन थालेको उनले बताए । रोगकै त्रासका कारण कतिपयमा अल्कोहलको प्रयोग अत्यधिक बनाएका छन् । यो समयमा मानसिक समस्या महिला र पुरुष दुवैमा बराबर रहेको अस्पतालमा आउने बिरामीको सङ्ख्याले देखाएको छ । लकडाउनका कारण बिरामीको सङ्ख्या कम हुनु स्वभाविक भए पनि अहिले पनि बिरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी उपचारका लागि आउने गरेकामा अहिले झण्डै ३०/३५ जना आइरहेका छन् । उपचारका लागि आउनेमा काठमाडौं उपत्यकाकै बिरामीको सङ्ख्या बढी रहेको अस्पताल निर्देशक डा मोहनराज श्रेष्ठले बताए । कतिपय भने बाहिरी जिल्लाबाट पनि आकस्मिक सेवाका लागि आएका छन् । कोभिड–१९ का बारेमा राम्ररी नबुझेर पनि व्यक्तिमा त्रास बढी भएको उनले बताए। कतिपयमा रोग लाग्नासाथ मरिहाल्छु कि भन्ने भय पाइन्छ । उनले भने, “सावधानी अपनाएपछि रोग लाग्दैन र लागेपछि पनि निको हुने सम्भावना बढी छ भनी बुझाउनुपर्छ ।” मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधोपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् । ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या पाइन्छ । बालबालिका पनि रोगको जोखिम रहने डा अधिकारीले बताए । उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ । बालबालिकालाई रोगबारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उनको सुझाव छ । उनले भने, “जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन्,परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हुँदा डिप्रेसनको जोखिम कम हुन्छ ।” अहिलेसम्म मानसिक रोगको औषधिको समस्या भने भइनसकेको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना गरेर उपचार गर्न ५० श्यया रहेकामा अहिले पनि झण्डै ४० जनाको हाराहारीमा बिरामी छन् । अस्पतालमा धेरै कर्मचारी करारमा रहेकाले लकडाउन लम्बिँदा तिनलई तलब दिन भने समस्या आउनसक्ने देखिएको अस्पताल निर्देशक डा श्रेष्ठले बताए । अस्पतालमा ३१ जना करारका कर्मचारीलाई अस्पतालले नै तलब दिँदै आएको छ । रासस