विकासन्युज

बागलुङमा चट्याङ लागेर ५५ वर्षीया महिलाको मृत्यु

काठमाडाैं । बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बाग्लुङको गलकोट नगरपालिका-१ दुधिलाभाटीमा चट्याङ लागेर स्थानीय ५५ वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो। घरमा सुतिरहेको बेला परेको चट्याङबाट बेहोस भएको महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हाे।  

चीनबाट साढे आठ करोडका के-के सामान ल्याइयाे ?

काठमाडाैं  । कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चीनको तिब्बत सरकारले उपलब्ध गराएका दुईवटा पीसीआर मेशिन र त्यसका २० हजार किट सहितका स्वास्थ्य सामग्री बुधवार प्राप्त भएको बताइएकाे छ । ती स्वास्थ्य सामग्री झन्डै ५१ लाख चिनियाँ युआन अर्थात साढे आठ करोड नेपाली रुपियाँको रहेको बताइएको छ। हाल कतिपय अत्यावश्यक किटहरूको अभाव हुन सक्ने विवरण आइरहेका बेला ती सामग्री नेपाल आइपुगेका हुन्। बुधवार नै भन्सार प्रक्रिया गरी ती सामग्री काठमाडाैं ल्याउने लक्ष्य राखिएको बताइएकाे छ । सामग्रीमा के के छन्? सहयोगमा आएको सामग्रीमा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने एन९५ मास्क र पीपीई १० हजार थान रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रमेश पोखरेलले कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्न प्रयोग गरिने दुईवटा पीसीआर मेशिन र त्यसमा प्रयोग हुने रिअजेन्ट र स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएम २०,००० थान रहेको बताए। परीक्षणका लागि नाक र घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने भीटीएमको अभाव हुन लागेको विवरण आएका थिए। सरकारी अधिकारीहरूले ५०० देखि १,००० को सङ्ख्यामा मात्रै भीटीएम बाँकी रहेको बताएका थिए। त्यसबाहेक एक हजार वटा ज्वरो नाप्न प्रयोग गरिने इन्फ्रारेड थर्मामिटर पनि तिब्बतले सहयोग दिएको उनले जानकारी दिए। बुधवार बिहान चिनियाँ पक्षले तातोपानीको सीमावर्ती मितेरी पुलमा नेपाली पक्षलाई ती सामग्री उपलब्ध गराएको थियो। चीनबाट थप सामग्री ल्याउने प्रयास प्रादेशिक तहमा पनि यी सामग्रीहरू पठाउनुपर्ने आवश्यकता रहेको र यसबारे अध्ययन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि अघिल्लो हप्ता सरकारले चीनको अलीबाबा फाउन्डेशनबाट सहयोग प्राप्त गरेको थियो। बीबीसी नेपाली

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

प्रिटोरिया । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्ने भएको छ । राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको स्थानीय संचार माध्यमहरुले बताएका छन् । उनलेआर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्नु हुनेछ जानकारी दिए । दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा तीन साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोनाभाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो । दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या तीन हजार ५ सय नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ । रासस–एएनआई

भारतले लगायो र्यापिड टेस्टमा रोक

काठमाडौं । भारतमा र्यापिड डायग्नोस्टिक टेस्टको माध्यमबाट कोरोना भाइरसको परीक्षणमा रोक लगाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरको तर्फबाट संयुक्त रुपमा भएको पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्यापिड टेस्टबाट कोरोना परीक्षणमा रोक लगाइने निर्णय गरेको हो । आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्यापिड टेस्ट किटबाट लिएको परीक्षणको नतिजा फरक आएसँगै विश्वसनीयतामा प्रश्न उठेको भन्दै अगामी दुई दिन र्यापिड टेस्ट नगर्ने जानकारी दिए । आईसीएमआरले गहन छानबिन पछि परीक्षणका लागि निर्देशन जारी गर्ने जानकारी दिँदै सो राज्यमा आफ्नो टोली पठाउन लागेको जनाएको छ । पछिल्लो २४ घण्टा यता भारतमा १ हजार १ सय ९३ कोरोना संक्रमित फेलापरेसँगै हालसम्म २० हजार १ सय ७८ जना भारतिय नागरिकमा कोरोना संक्रमित छन् भने ६ सय ४५ जनाको मृत्यु भईसकेको छ ।

सिंगापुरमा आंशिक लकडाउनको अवधि जुन १ तारिखसम्म थप

सिंगापुर । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पु–याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ । प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताए। उनले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मूल्याँकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट गरे । समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने उनले बताए । प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यसका लागि बाध्यकारी भएको बताए । “खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ । तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ” प्रधानमन्त्री लूङले भने । सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । हालसम्म सिंगापुरमा १० हजार १ सय ११ जना कोरोना संक्रमित छन् भने ११ जनाको मृत्यु भईसकेको छ । रासस/एएनआई

लकडाउन कहिले सम्म भन्ने विषय नेपालको मात्र परिस्थितिमा निर्भर नरहने

काठमाडौं । लकडाउन कहिलेसम्म राख्ने/नराख्ने भन्ने विषय नेपालको मात्रै परिस्थितिमा निर्भर नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणले उत्पन्न हरेक परिस्थितिको नियमित विश्लेषण गर्दै आवश्यक नीति र योजनाका साथ सरकारले काम गरिरहेको भन्दै थप परिस्थतिलाई हेरी काम गर्नु पर्ने अवस्था पैँदा भएको जानकारी दिए । सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने भन्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको कुनै औषधि र खोप विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नु नै पहिलो विकल्प भएको बताए । सङ्क्रमणविरुद्ध सावधानी नअपनाएका मुलुकमा देखिएको सङ्कट र शुरुदेखि नै यसको नियन्त्रणमा जुटेका मुलुकको अभ्यासबाट शिक्षा लिँदै नेपाल सरकारले कोरोनाको नियन्त्रण र जोखिम व्यवस्थापनमा योजनाबद्ध ढङ्गले काम गरेको उनले स्पष्ट पारे । कोरोना भाइरसविरुद्ध सञ्चालन गरिएको सचेतना अभियानदेखि हालसम्म सरकारले अपनाएका विधि सफल भएको र यसलाई अन्तर्राष्ट्रिय सङ्घसस्थाले समेत राम्रो ठानेको उनको भनाइ छ । यसैबीच कोरोनाको सङ्क्रमणले नेपालको अर्थतन्त्र, पर्यटनलगायत क्षेत्रमा नकारात्मक प्रभाव पु¥याएको भन्दै यसलाई उकास्न नयाँ ढङ्गले काम गर्ने मन्त्री भट्टराईको भनाई छ । आर्थिक अवस्थालाई सुधार गर्न सरकारले बैंकको ब्याजदर घटाउने, बैंकको ऋण बुझाउने म्याद थप गर्ने, व्यवसायीलाई सस्तो ब्यजादरमा ऋण प्रवाह गर्नेजस्ता कुरामा ध्यान दिने बताए । रासस

कोरोना  नियन्त्रण कोषमा २ अर्ब ११ करोड

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २ सय ७५ रूपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मङ्गलबार मात्र एक करोड ३५ लाख तीन हजार ४ सय २० रूपैयाँ कोषमा जम्मा भएको छ । मङ्गलबार एभरेष्ट बैंकले ६० लाख रूपैयाँ, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २ सय ३०रूपैयाँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९ सय १३ रूपैयाँ, भेरी प्राविधिक शिक्षालय दुई लाख ९४ हजार ८ सय ५५ रूपैयाँ, न्याय हेल्प नेपाल दुई लाख ७१ हजार २०रूपैयाँ , नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट र ४५ लाख ५८ हजार ५९ रूपैयाँ सङ्कलन भएको छ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ । रासस

र्यापिड टेस्टमा पोजेटिभ देखिएको दुई नर्सको पिसिआर नजिता नेगेटिभ

काठमाडौं । काठमाडौंमा र्यापिड टेस्ट गर्दा दुई जना नर्समा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने नेगेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोनाको संक्रमण नदेखिएको जानकारी दिएको छ। आइसोलेसनमा भर्ना गरिएका नर्सलाई अस्पतालले आजै डिस्चार्ज गर्ने जनाएकाे छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई नर्सलाई सोमबार र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाले टेकु अस्पतालमा भर्ना गरिएको थियो ।