विकासन्युज

कोरोनाको कहरमा विद्युत महसुलमा राहतका लागि ऊर्जामन्त्री पुनसँग आग्रह

काठमाडौं । कोरोना भाइरसको महामारीमा व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहतका लागि ऊर्जामन्त्री पुनसँग आग्रह गरेका छन् । निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले बढ्दो संकटलाई थेग्ने गरी व्यवसायिक लागत कम गर्न विद्युतको महसुलमा राहतका लागि ऊर्जामन्त्री वर्षमान पुनसँग आग्रह गरेका हुन्। सो छलफलका अवसरमा निजी क्षेत्रका तिनवटै प्रमुख संस्थाले संयुक्त रुपमा तयार गरेको कोरोना भाइरसको महामारी तथा लकडाउन बाट उद्योग व्यवसाय तथा व्यापार क्षेत्रमा परेको समस्या समाधान सम्बन्धी सुझाव प्रतिवेदन समेत ऊर्जामन्त्री पुनलाई हस्तान्तरण गरेका थिए । सो प्रतिवेदनमा विद्युतका महशुल कम्पनी तथा फर्मको लागतको एक महत्वपूर्ण हिस्सा रहन गएको सन्दर्भमा व्यवसायिक लागत कम गर्न विद्युतको महसुलमा राहतका लागि आग्रह गरिएको छ । विद्युतका क्षेत्रमा चार महिनाको लागि डिमाण्ड चार्ज मिनाहाको व्यवस्था गरिनु पर्ने, बिजुलीको महशुल तिर्ने समय सीमा चार महिनाको लागि पछाडि सार्नु पर्ने र बिजुलीको महशुलमा पन्ध्र महिनासम्म २० प्रतिशत छुटको व्यवस्था गर्न समेत आग्रह गरिएको छ । प्रतिवेदन बुझ्दै ऊर्जामन्त्री पुनले लकडाउन लम्बिने समय यकिन नभएकाले विद्युत महशुलमा दिन सकिने राहतका विषयमा लचिलो हुन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बोर्डले अधिकार दिइसकेको जानकारी दिए । अन्य मागका विषयमा थप छलफल गर्ने र निर्माण क्षेत्रका ठुला आयोजनाको काम सकेसम्म छिटो सूचारु गराउन प्रयास भइरहेको पनि ऊर्जामन्त्री पुनले बताए । यसअघि निजीक्षेत्रका तीनवटै संस्थाहरुले तत्काल आर्थिक पुनर्उत्थान प्याकेज घोषणा गर्न आग्रह गर्दै मुख्यसचिव र सरकारका अन्य निकायमा संयुक्त सुझाव प्रतिवेदन पेश गरेका थिए। विषम आर्थिक संकटको सामना गर्न मौद्रिक, श्रम तथा रोजगार, विद्युत र नीतिगत सुधारसँग सम्बन्धित सुझावहरु प्रतिवेदनमा समेटिएको छ । सो छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेपाल उद्योगवाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफकमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन अर्थविद्को सुझाव

काठमाडौं । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा परिचालन र एग्रो इण्डष्ट्रियल लिङ्केज हुने नीतिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । सरकारले अविलम्ब अल्पकालीन र दीर्घकालीन नीति ल्याएमा चुनौतीलाई अवसरका रुपमा परिणत गर्न सकिने उनीहरुको धारणा छ । अर्थशास्त्री डा भेषप्रसाद धमलाले यसअघिका सम्पूर्ण योजना, नीतिलाई पुनरावलोकन गरी आगामी योजना तर्जुमा गर्नुपर्ने, संरचनात्मक परिवर्तन गर्नुपर्ने र आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनुपर्नेमा जोड दिए । अर्थशास्त्री डा अर्जुन बरालले विश्व आर्थिक मन्दीको अवस्थाबाट पार पाउन सम्पूर्ण नीतिमै परिवर्तन ल्याइ एग्रो प्रोसेसिङ, एग्रो इण्डष्ट्रियल लिङ्केजमा जोड दिनुपर्ने धारणा राखे । अर्थशास्त्री डा पिके झाले वैदेशिक रोजगारीबाट फर्केर आएका जनशक्तिलाई तत्काल कृषि क्षेत्रमा खपत हुने वातावरण बनाइ कृषि अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताए । अर्थशास्त्री डा वेदराज आचार्यले अन्य कुराको साथसाथै शासन सञ्चालनमा पनि सुधार गरेर अगाडि बढनुपर्नेमा धारणा राख्दै नीति–नियम जतिसुकै राम्रो भए पनि कार्यान्वयन प्रभावकारी नभए नीतिको औचित्य नहुने भएकाले शासन प्रणालीमा सुधार ल्याउनुपर्ने सुझाव दिए । प्राध्यापक विजु थपलियाले आर्थिक एवं उद्योग÷व्यवसाय क्षेत्रलाई वर्तमान अवस्थाबाट पुनःजीवन दिन कार्यगत योजना बनाउनुपर्ने, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नुपर्ने धारणा राखे । प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने नीति बनाउन प्रदेश सरकारले ल्याउन ध्यान पुर्याउने बताए । रासस

दक्षिण कोरियाको एक गोदामघरमा आगलागी हुँदा ३८ जनाको मृत्यु

 सियाेल। दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटको एक गोदामघरमा आगलागी हुँदा ३८ व्यक्तिको मृत्यु भएको छ। राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको जनाएका छन् । कम्पनीमा आगलागी हुनु भन्दा अगाडी ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए । यस आगलागीमा परी ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य १० जना घाइते भएका छन् जसमा ८ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्टिय संचार माध्यमले जनाएको छ ।

ट्वीटरमा व्हाइट हाउसले मोदीलाई गर्यो अनफलाे, के भारतप्रति अमेरिकाको धारणा बदलिएको हो ?

काठमाडौं । अमेरिकाको व्हाइट हाउसले आफ्नो ट्वीटर ह्याण्डलमा केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित केही भारतीय ट्वीटर ह्याण्डलहरुलाई फलो गरेको थियो । तर अब एक पल्ट फेरी अनफलाे गरिदिएको छ, जुन विषयलाई लिएर चर्चाहरु शुरु भएका छन् । कोरोना भाइरस महासंकटका बीच जब अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्वीन दवाईको मद्दत चाहिएको थियो तब भारतले अघि बढेर उसलाई मद्दत गरेको थियो । त्यसको केही दिन पछि अर्थात् गत १० अप्रिलमा व्हाइट हाउसले सोशल मिडियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवन, अमेरिका स्थित भारतिय दूतावास तथा भारत स्थित अमेरिकी दूतावास लगायत ५ ट्वीटर ह्याण्डलहरुलाई फलो गर्न शुरु गरेको थियो । तर त्यसको केही दिन पछि नै व्हाइट हाउसले एक पल्ट फेरी ती सवै ह्याण्डललाई अनफलाे गरिदिएको छ । हाइड्रोक्सीक्लोरोक्वीन दवाई अमेरिका लगायत संसारका धेरै देशहरुलाई भारतले ठूलो संख्यामा उपलब्ध गराएको छ । यद्यपी, वितेका दिनमा अमेरिकाबाट एउटा रिपोर्ट आएको थियो कि कोरोना विरुद्ध जति आशा सो दवाईबाट गरिएको थियो, त्यो आशा अनुरुप सो दवाईले काम गर्न भने सकेन । (आजतक बाट साभार)

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

काठमाडाैं । काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिएका छन् । स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए । यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घ र भक्तपुर ट्रक व्यवसायी सङ्घले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी सङ्घ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका हुन् । रासस

ज्योति लाईफ इन्स्योरेन्सकाे बीमा शुल्क ९७ प्रतिशतले वृद्धि

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रोत्रयमा ९७ प्रतिशतले वृद्धि भएको छ । लकडाउनको अवधिमा नै  इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रोत्रय प्रकाशित गरेको थियो । प्रकाशित सो वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको तेश्रोत्रयमा समाकुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धि गर्दै १.१४अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । व्यवसाय वृद्धिसंगै जीवन बीमा कोष ज्योति लाईफ इन्स्योरेन्स बलियो बनाउँदै गएकाे छ । कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ । त्यस्तै अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धिको बाबजुद कम्पनीले खुदनाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्किय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । व्यवसाय तथा बीमितको संख्या वृद्धीसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भईदाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धि, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रोत्रय मासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भइ ३७.३९ करोड रुपैयाँ कायम हुन गएको देखिन्छ । भने जिवनबीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ १.४० अर्ब रुपैयाँ रहेकोे देखिन्छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामी दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।

फोन गर्नुहोस्, घरमै आइपुग्छ अत्यावश्यक सामान

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन काठमाडौं। घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउनेत अब के गर्ने कसरी सामान खरिद गर्ने घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने बालबालिकालाई के पढाउने किचेनमा तरकारी लगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने औषधि सकियो । अब के गर्ने भन्ने समस्या हुनुहुन्छ भने दिएकाे स्थानमा सम्पर्क गर्न सकिन्छ । युवालाई स्वदेशमै उद्यमी बनाउने सारथी : आइडिया स्टुडियो आइडिया स्टुडियोले आइडिया निकाल्यो। चारवटा बिज्नेस कम्पनीलाई एकै ठाउँमा ल्याएर उपभोक्तालाई सेवादिने । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेडर केयूल्याबले उपभोक्तालाई सेवा दिन तयार भए । सेवा दिने कसरी त ? आइडिया स्टुडियोले नेतृत्व लियो । यसमा ४वटै कम्पनी तयार भए । एउटा नम्बरमा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने गरीकाम अगाडि बढ्यो । जसलाई ‘वानकल ४ सर्भिसेज’ भनिएको छ । अहिले लकडाउनको सययमा उपभोक्तालाई सहज भएको छ। के–के सेवा पाइन्छ ? सजिलो ममर्त सेवा : सजिलो मर्मत सेवाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर लगायतका सामग्री बनाउँछ । घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रियो भने बनाउने टेक्निसियन उपलब्ध गराउँछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ । जहाँ समस्या, त्यहाँ सजिलो मेट्रोतरकारी : मेट्रोतरकारीले किचेनमा चाहिने तरकारी देखि खाद्यान्न लगायतको सामग्री उपलब्ध गराउँछ । आफूलाई चाहिने सामग्री अडर गर्यो भने घरमै मेट्रोतरकारीले ल्याइदिन्छ । जसका कारण कोरोना भाइरसको जोखिम मोलेरतरकारी किन्न बाहिर जानु पर्दैन । कसरी सुरु भयो मेट्रोतरकारी ? केयूल्याब : केयूल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूको पठनपाठन नरोकियोस्, घरमै बसेरपनि सिक्न भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको छ, जसबाट विद्यार्थीलाई फाइदा पुगेको छ । नेपाल मेड नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन्, ती सामग्री नेपाल मेडले उपलब्ध गराउँछ । यदि बिरामी भएमा वा नियमित खानुपर्ने औषधि सकिएमा बिरामीका लागि सहज भएको छ । ‘आइडिया स्टुडियोले नेतृत्व लिएर सुरु गरेका हौँ,’ स्टुडियोकी सञ्चार निर्देशक श्रद्धापालने भनिन्, ‘कोभिड १९ का कारण असहज भएपछि उपभोक्तालाई सहज हो : भनेर सुरु गरेका हौं।’ यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ। ‘सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आइडिया स्टुडियोले नयाँ नयाँ आइडियालाई प्रोत्साहन गर्दै आएको छ।’ ‘लकडाउनको समयमा के गर्न सकिन्छ ? कसरी सेवा दिने भन्ने सोच्दै थियौँ,’ सजिलो मर्मत सेवाका संस्थापक कविश श्रेष्ठले भने, ‘४वटा बिजनेसलाई एकैठाउँमा राखेर फोनबाट उपभोक्तालाई सेवादिन सफल भएका छौँ।’ आइडिया स्टुडियोले प्रत्येक वर्ष आइडिया हन्टको आयोजनाका साथै नयाँ नयाँ आइडियालाई बिजनेसमा रुपान्तरण गर्न सहयोग गर्दै आएको छ । अहिलेसम्म ४ वटा आइडिया हन्टको आयोजना गरेको छ । जसमा सयौँ आइडियाहरू आएका छन् । १ सयभन्दा बढी आइडियाले सफल रूपमा व्यवसाय गरिरहेका छन् ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहान सम्मको ताजा तथ्यांक

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख १६ हजार ८ सय ८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख २७ हजार ९ सय ६ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ९९ हजार २ सय ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६१ हजार ६ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ६३ हजार ३ सय ५१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ भने अहिलेसम्म १ हजार ७९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५७ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)