तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले तोकिएभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने बताए । सरकारले दसैँका लागि असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो । महासंघले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य संघ–संस्थासहित काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्न पनि महासंघले निर्देशन दिएको छ । दसैँको भीड व्यवस्थापनका लागि असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक लाग्ने छैन । घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका मार्गको अनुमति खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले सम्पर्क व्यक्तिसहितको टोली परिचालन गर्नेछ । महासंघका तर्फबाट गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ । यात्रुवाहक सवारीसाधनको सवारी परीक्षणलाई पनि प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क सवारी परीक्षणको व्यवस्था मिलाइने महासंघले जनाएको छ ।
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
काठमाडौं । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको गोवास्थित निवासमा हृदयाघात भएपछि निधन भएको हो । पाटेकरलाई बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत घोषणा गरिएको जनाइएको छ । उनलाई बचाउन चिकित्सकले करिब ४५ मिनेटसम्म लगातार मुटुको पुनर्जीवन प्रक्रिया (सीपीआर) गरेका थिए । नाना पाटेकर हिन्दी र मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र नभई चलचित्र निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय थिए । भारतीय चलचित्रका प्रभावशाली अभिनेतामध्ये गनिने पाटेकरले आफ्नो फरक अभिनय शैली र दमदार संवाद प्रस्तुतिका कारण छुट्टै पहिचान बनाएका थिए । उनले सन् १९७८ मा ‘गमन’बाट हिन्दी चलचित्रमा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै चलचित्रमा काम गरे । सन् १९८९ मा आएको ‘परिन्दा’ उनको अभिनय यात्राको महत्वपूर्ण मोड बन्यो । उक्त चलचित्रमा उनले निर्वाह गरेको भूमिकाका लागि राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । लामो अभिनय यात्रामा पाटेकरले विभिन्न किसिमका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन् । गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका पाटेकरले हास्य तथा व्यावसायिक चलचित्रमा पनि प्रभाव छाडेका थिए । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको हास्य अभिनयको अर्को पक्षलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो । पाटेकर पछिल्लो समय पनि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनको पछिल्लो चलचित्रमा ‘ओ’रोमियो’ पनि रहेको थियो, जसमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । उक्त चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए ।
दुर्घटनामा परेको हेलिकोप्टर २५.२० करोडमा बिक्री
काठमाडौं । अल्टिच्युड एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२४ प्रतिशत अर्थात् ४ करोड १० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष पर्यटन क्षेत्रमा आएको अवरोधका कारण कम्पनीको व्यवसाय प्रभावित भएको हो । गत वर्ष भदौमा भएको आन्दोलनका कारण नेपालमा पर्यटन गतिविधिमा असर परेको थियो । त्यसको प्रत्यक्ष प्रभाव कम्पनीका लक्षित ग्राहक तथा हेलिकोप्टर सेवाको मागमा परेको जनाइएको छ । अल्टिच्युड एयरले दुईवटा एच१२५ एयरबस हेलिकोप्टरमार्फत विभिन्न प्रकारका हवाई सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ अगस्टमा स्थापना भएको कम्पनीले सन् २०१६ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, आकस्मिक स्वास्थ्य उद्धार तथा तीर्थयात्रा उडानलगायत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, कम्पनीले चलचित्र तथा भिडियो छायांकन, पछ्याउने उडान तथा स्लिङ उडानजस्ता विशेष हवाई सेवा पनि सञ्चालन गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ भने इन्जिनियरिङ तथा सञ्चालनसम्बन्धी कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेलिप्याडमा रहेको छ । तेस्रो हेलिकोप्टर थप्दै कम्पनीले आफ्नो सञ्चालन क्षमता विस्तार गर्न तेस्रो हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको छ । प्रस्तावित हेलिकोप्टर खरिदमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने योजना रहेको छ । खरिदका लागि आवश्यक ऋणको व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८६ करोड ८० लाख रुपैयाँ कर्जा लिएको छ । यसमध्ये ८२ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र करिब ४ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ । नयाँ हेलिकोप्टर सन् २०२७ देखि सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । तेस्रो हेलिकोप्टर थपिएपछि सञ्चालनको आकार बढ्ने भएकाले त्यसलाई समयमै सञ्चालनमा ल्याउने र व्यवसायलाई स्थिर बनाउने चुनौती कम्पनीसामु रहनेछ । नयाँ हेलिकोप्टरबाट अपेक्षित आम्दानी तथा नगद प्रवाह हासिल गर्न नसके कम्पनीको वित्तीय जोखिम बढ्न सक्ने देखिएको छ । चार्टर उडानमा बढी निर्भर अल्टिच्युड एयरले विभिन्न प्रकारका हेलिकोप्टर सेवा सञ्चालन गरे पनि कम्पनीको अधिकांश आम्दानी चार्टर उडानबाट हुने गरेको छ । कम्पनीका प्रमुख गन्तव्यमा सगरमाथा आधार शिविर, लुक्ला, मुक्तिनाथ र पोखरा रहेका छन् । यी गन्तव्यमा हुने पर्यटकीय तथा चार्टर उडान कम्पनीको व्यवसायका लागि महत्वपूर्ण आम्दानीको स्रोत हुन् । कम्पनीको आम्दानी पनि पर्यटकीय मौसममा बढी हुने गरेको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म तथा फेब्रुअरीदेखि मेसम्म पर्यटकको आवागमन बढ्ने भएकाले उक्त अवधिमा उडान तथा आम्दानी बढ्ने गरेको छ । यसले कम्पनीको आम्दानीलाई पर्यटन क्षेत्रको मौसमी अवस्था र पर्यटक आगमनसँग प्रत्यक्ष जोडेको छ । पर्यटक आवागमनमा अवरोध आएमा कम्पनीको आम्दानी तथा नगद प्रवाहमा समेत असर पर्न सक्ने देखिन्छ । अल्टिच्युड एयरको समग्र नेतृत्व कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले गर्दै आएका छन् । शेर्पासँग पर्यटन तथा साहसिक पर्यटन व्यवसायमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ । उनले नेपाल पर्वतारोहण संघ तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । कम्पनीले हेलिकोप्टर सञ्चालनलाई व्यवस्थित बनाउन सफ्रान हेलिकोप्टर इन्जिन्ससँग ‘सपोर्ट बाई द आवर’ सम्झौता गरेको छ । सम्झौताले हेलिकोप्टर इन्जिनको सञ्चालन सहयोग, मर्मत तथा पुनःस्थापना सेवासमेत समेट्ने जनाइएको छ । यसबाट नियमित तथा आकस्मिक मर्मतका कारण हुने सञ्चालन अवरोध र सेवा बन्द रहने समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भूराजनीतिक द्वन्द्वका कारण हवाई इन्धनको मूल्य उच्च रहँदा कम्पनीको सञ्चालन नाफामा दबाब परेको छ । फलस्वरूप ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको ३२ प्रतिशतबाट घटेर गत आर्थिक वर्ष २२ प्रतिशतमा सीमित भएको छ । तर, दुर्घटनामा परेको हेलिकोप्टरलगायत सम्पत्ति बिक्रीबाट कम्पनीले एकपटकको ठूलो आम्दानी गरेको छ । सन् २०२५ अक्टोबर २९ मा दुर्घटनामा परेको ९एन–एएमएस हेलिकोप्टर तथा ढुवानीका क्रममा क्षति भएको अर्को हेलिकोप्टर इन्जिनसँग सम्बन्धित सम्पत्तिबाट कम्पनीले २५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले दुर्घटनासँग सम्बन्धित बीमा रकमसमेत प्राप्त गरेको छ । सम्पत्ति बिक्रीबाट भएको उक्त गैरआवर्ती आम्दानीका कारण कम्पनीको खुद नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको १२ प्रतिशतबाट बढेर गत आर्थिक वर्ष ३३ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको कुल नगद आर्जन क्षमता पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १२ करोड ८० लाख रुपैयाँ रहेको कुल नगद आर्जन क्षमता गत आर्थिक वर्ष २२ करोड ५० लाख रुपैयाँ पुगेको छ । यद्यपि, नाफा मार्जिन र नगद आर्जन क्षमतामा देखिएको सुधार कम्पनीको मूल सञ्चालन व्यवसायमा आएको सुधारका कारण भने होइन । दुर्घटनामा परेको हेलिकोप्टर तथा अन्य सम्पत्तिबाट भएको २५ करोड २० लाख रुपैयाँको गैरआवर्ती आम्दानीले नाफा र नगद प्रवाहमा ठूलो योगदान गरेकाले यसलाई कम्पनीको नियमित सञ्चालन प्रदर्शनको सूचकका रूपमा लिन नसकिने देखिन्छ ।
८ संस्थापक सेयर बेचेर प्रभु बैंकबाट बाहिरिने
काठमाडौं । प्रभु बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी जमुना कुमारी श्रेष्ठले १ लाख ३१ हजार ७४७ कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार ४४ कित्ता, भेन्चर होल्डिङ्स प्रालिले १ लाख २६ हजार ५३६ कित्ता र हिमानी शाहले ५ हजार २६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । त्यस्तै, रन्जीता श्रेष्ठले २८ हजार १३३ कित्ता, मन दाहालले ५ हजार ९४९ कित्ता, कमला अधिकारी सापकोटाले १४ हजार ९०० कित्ता र बेलबहादुर भण्डारीले १ लाख २७ हजार २३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकको संस्थापक सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
छाया देवी कम्प्लेक्सले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । छाया देवी कम्प्लेक्स लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले करसहित चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ करोड ४६ लाख ८७ हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक १३ गते दिउँसो १ बजे होटल एलफ्ट काठमाडौं ठमेलमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
नयाँ कार्यसमिति चयनका लागि आज मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, वर्षा र केही प्राविधिक समस्याका कारण तीन घण्टा ढिलो गरी मतदान सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् । बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिका लागि खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिले प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न दिइने निर्वाचन समितिले जनाएको छ ।
नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला प्रस्तावित, नोट भर्वल परराष्ट्र पठाइयो
काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई प्रस्ताव गरेको छ । भारतले दलेलाको नियुक्तिको स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा नोट भर्वल पठाएको परराष्ट्र स्रोतले जनाएको छ । नेपाल सरकारले गृह मन्त्रालय र मन्त्रिपरिषद्बाट औपचारिक प्रक्रिया पूरा गरी सहमति जनाएपछि भारतले राजदूत नियुक्तिका लागि एग्रिमो पठाउनेछ । नेपालका लागि भारतका २६औं राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी १ अक्टोबर २०२६ मा स्वदेश फर्किएपछि दलेला नेपालका लागि भारतको २७औं राजदूतका रूपमा आउन लागेका हुन् । भारतीय विदेश सेवा (१९९३ ब्याच) का अनुभवी कूटनीतिज्ञ दलेला हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको भूमिकामा कार्यरत छन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका दलेलाले यसअघि सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका छन् । नेपाल र भुटान मामिलाका विज्ञ मानिने दलेलाले विदेश मन्त्रालयको उत्तर विभागमा निर्देशक र सहसचिवका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । यसका साथै उनले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा निर्देशक, वासिङ्टन डीसीस्थित दूतावासमा डेपुटी चिफ अफ मिसन तथा विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको डेपूटी स्थायी प्रतिनिधिका रूपमा समेत काम गरिसकेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्वजनिक गरे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिलो गरी मतदान प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ । महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना प्रतिनिधिहरूले आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन वटा प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् । जसअनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यसैगरी कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले भने प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र भोट हाल्न दिइने निर्वाचन समितिले जनाएको छ ।