नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघ्याे, २४ घण्टामा एक सय ६७ थपिए
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे छ । आईतबार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे हाे । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ६६ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । देवकोटा तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका बताएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ जसमा दुई सय २० जना निकाे भएका छन् भने ८ जनाकाे मृत्यु भएकाे छ ।
तपाईंको पालिकामा यसपाली केन्द्रबाट कति बजेट आयो ? (सबै प्रदेश र स्थानीय तहको विवरणसहित)
काठमाडौं । केन्द्र सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा बढी बजेट प्रदेश १ लाई दिइएको छ । प्रदेशहरुमा सबैभन्दा कम बजेट पाउनेमा गण्डकी प्रदेश परेको छ । स्थानीय तहमध्येमा सबैभन्दा बढी बजेट पाउनेमा यसपाली पनि काठमाडौं महानगरपालिका परेको छ । सबैभन्दा कम बजेट पाउने स्थानीय तहमा मनाङको नार्पाभूमि गाउँपालिका परेको छ । केन्द्र सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश सरकारहरुलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट दिएको छ । स्थानीय तहहरुले भने २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन् । केन्द्रबाट सबैभन्दा बढी बजेट प्रदेश १ ले पाएको छ । सो प्रदेशले १५ अर्ब ११ करोड ३८ लाख रुपैयाँ बजेट पाएको छ । यस्तै, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख, बागमती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख, गण्डकी प्रदेशले १३ अर्ब ३५ करोड ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ केन्द्रबाट पाएका छन् । स्थानीय तहहरुमा सबैभन्दा बढी बजेट पाउनेमा काठमाडौं महानगरपालिका परेको छ । काठमाडौं महानगरले १ अर्ब ८८ करोड २३ रुपैयाँ बजेट पाएको छ । दोस्रमा भरतपूर महानगरपालिका छ । भरतपुर महानगरले १ अर्ब ५६ करोड ५ लाख रुपैयाँ केन्द्र सरकारबाट पाएको छ । यस्तै ललितपुर महानगरले १ अर्ब १० करोड ९९ लाख र विराटनगर महानगरले ९९ करोड ३३ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम बजेट पाउने स्थानीय तहमा मनाङको नार्पाभूमि गाउँपालिका परेको छ । सो गाउँपालिकाले ११ करोड १३ लाख रुपैयाँ बजेट पाएको छ । मनाङका ४ स्थानीय तहमध्ये चामे गाउँपालिकाले १४ करोड ४६ लाख, नासों गाउँपालिकाले १५ करोड ४५ लाख र मनाङ दिछ्याङ गाउँपालिकाले १५ करोड ४३ लाख रुपैयाँ बजेट पाएका छन् । मनाङका सबै स्थानीय तहले पाएको बजेट अन्य जिल्लाका कुनै पनि स्थानीय तहले पाएकोभन्दा कम हो । मनाङपछि सबैभन्दा कम बजेट पाउनेमा रसुवाको आमाछोदिङमो गाउँपालिका रहेको छ । सो गाउँपालिकाले १५ करोड १९ लाख रुपैयाँ बजेट पाएको छ । प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानको कुल रकम हो । तपाईको प्रदेश र स्थानीय तहले कति बजेट पाएका छन् भन्ने विवरण यस्तो छः [pdf id=218622]
लकडाउनको अवधि बढाएकोमा उद्योग वाणिज्य महासंघको चिन्ता, भन्छ- यसबारे पुनर बिचार होस्
काठमाडौं । लकडाउनको अवधि जेठ ३२ गतेसम्म बढाएकोमा नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । यस्तो विषम अवस्थामा लकडाउनको समयसिमा बढाउँदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनुपर्नेमा त्यसो नगरी पुनः लकडाउनको अवधि थप गरिएकोमा महासंघले चिन्ता व्यक्त गरेको हो । पुनः लकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसंग पनि प्रत्यक्ष संवाद हुनुपर्ने महासंघको धारणा रहेको छ । जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाह सम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई विश्लेषण गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउनको थप अवधिमा गम्भीर पुनर विचार गर्न महासंघले जोडदार माग गरेको छ । कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन नेपालमा पनि गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चित समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्वनै लागीरहेको अहिलेको अवस्थामा विश्वका कतिपय देशहरूले लकडाउनलाई विस्तारै खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै गएको कुरालाई हामीले पनि मनन गर्नुपर्ने महासंघको धारणा रहेको छ । किनभने लकडाउनले समस्या स्थगनमात्र गर्न सक्दछ, समस्याको निदान गर्ने यो मात्र उपाय होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पारेको महासंघले जानकारी दिएको छ । त्यसैले नेपालको सन्दर्भमा लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ । लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कूल गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको आर्थिक नोक्सानी भैसकेको छ, लाखौ मानिसहरू बेरोजगार भएका छन्, उद्योग व्यवसाय थला पर्न थालेका छन् र मानिसहरूको न्यूनतम बाँच्ने आधार समेत कमजोर बन्दै गएको महासंघले जनाएको छ ।
नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ
काठमाडौं । काठमाडौं उपत्यकाको चार ठाउँमा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएसँगै सो ठाउँहरुको जग्गाको मूल्यपनि निर्धारण भएको छ । शहर विकास भइसकेपछि अर्कै मूल्य कायम हुने भएपनि डीपीआरमा हालको बजारको अवस्थालाई मध्येनजर गर्दै जग्गाको मूल्य तोकिएको हो । बढ्दो अव्यवस्थित शहरीकरण र जनसंख्याको चापलाई मध्येजर गर्दै निर्माण हुने भनिएका चार शहर भौतिक पूर्वाधारले भरिपूर्ण र सुविधा सम्पन्न हुनेछन् । ती चारै शहरमा बस्ने नागरिकहरु सेवा सुविधा उपभोग गर्ने भाग्यमानी नागरिकमा गनिनेछन् । हाल काठमाडौं उपत्यकामा बढ्दै गएको जनसंख्या, अव्यवस्थित शहरीकरण र दुर्गन्धित वातावरणले आजित नागरिक व्यवस्थित र सुविधा सम्पन्न शहरमा बस्न पाएपछि उत्तिकै खुसी पनि हुनेछन् । तर, यति हुँदा हुँदै पनि ती सुविधा सम्पन्न शहरहरुमा बस्नको लागि कति पैसा तिर्नु पर्ने हो ? जग्गाको मूल्य कति पर्छ भन्ने जिज्ञासा भने आम सर्वसाधारणमा व्याप्त छ । काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणको भनाई छ । सो भन्दा कमको कित्ताकाट गर्न नपाइने डीपीआरमा उल्लेख गरिएको छ । सो डीपीआरमा नागरिकले जग्गा खरिद गर्नु परे न्युनतम आठ आना जग्गा हुनै पर्ने उल्लेख गरिएको छ । प्राधिकरणले सो मापदण्ड उल्लेख गरेसँगै धेरै मानिसमा एउटा प्रश्न खडा भएको छ । आठ आनाभन्दा कम जग्गा भएका मानिसले के गर्ने ? आफुहरुले जग्गा छोड्नु पर्ने कि हो कि नपर्ने ? यस्ता विविधि प्रनहरु आम जनमानसबाट उठिरहेका छन् । तर, आठ आनाभन्दा कम जग्गा भएका जग्गा धनीहरुका लागि प्राधिभकरणले अर्को एउटा मापदण्ड तयार छ । प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले आठ आनाभन्दा कम जग्गा भएकाहरुले जग्गा छोड्नु नपर्ने बताएका छन् । घरधनीहरुले भएको जग्गा छोड्ने नभई न्युनतम आठ आना जमिन बनाउनको लागि आफुसँग भएको जमिनमा थप पैसा तिरेर आठ आना जग्गा बनाउन सकिने उनले स्पष्ट पारे । त्यसका लागि उनीहरुले शहर विकास भइसकेपछि बजारको मूल्य अनुसार जमिनको मूल्य तिर्नु पर्ने उनको भनाई छ । ‘घर–घरमा बाटो जोडिन्छ, जग्गा कम भएकोहरुका लागि उनीहरुले थप पैसा तिरेर थप जग्गा बनाउन सक्छन्,’ उनले भने । आठ आना जमिन पछि विकसित घडेरी फिर्ता आउँदाखेरि जग्गा थप्न नपारेस् भनेर न्युनतम आठ आना मात्र काट्न पाइन्छ भनेको उनको भनाई छ । अहिले डीपीआरमा जति मूल्य तोकिएको भएपनि शहरहरु विकसित भइसकेपछि जसलाई जति सेवा सुविधा हुन्छ त्यही आधारमा र ठाउँको प्रकृति हेरेर जग्गाको मूल्य पनि तोकिने उनले बताए । ‘हामीले अहिले डीपीआरमा हालको बजारको मूल्य तोकेका छौं, त्यसको वास्तविक मूल्य पछि बजारले बोल्नेछ,’ उनले भने । डीपीआरमा भएको मूल्य चारै शहर विकास भइसकेपछि त्यहाँको जग्गाको मूल्य तोकिने भएपनि अहिले प्राधिकरणले हालको बजारको मूल्य हेरेर नयाँ शहरको जमिनको मूल्य कायम गरेको छ । तिवारीका अनुसार हाल ती ठाउँमा मोटरबाटो भएको जमिनको एक आनाकोे २० लाख रुपैयाँ तोकिएको छ । मोटर बाटो भएको र मोटर बाटो भएको नजिकैको जग्गाको मूल्य महँगो नै भएको उनको भनाई छ । तर, मोटर बाटो नभएको जमिनको मूल्य भने अहिले पनि सस्तो नै छ । पछि योजनावद्ध रुपले गइसकेपछि सबैमा बाटो पुगाएर त्यहाँको जमिनको मूल्य पनि तोक्ने उनले बताए । त्यहाँको सेवा सुविधा बढेपछि जग्गाको मूल्य पनि आफै बढ्ने उनले बताए । शहर विकसित भइसकेपछि प्रति आनाको २६÷२७ लाख रुपैयाँ मूल्य पर्न सक्ने उनको भनाई छ । अहिले डीपीआरमा बाटो नभएको ठाउँमा आनाको ५/६ लाख रुपैयाँ रहेको छ, गोरेटो भएको जग्गामा ८९ लाख रुपैयाँ कायम गरिएको छ, मोटर बाटो भएको जग्गा १६÷१७ लाख रुपैयाँ तोकिएको छ,’ उनले विकासन्युजसँग भने । जग्गाको मूल्य परियोजनाले बोल्नेभन्दा पनि बजारले बोल्ने उनको भनाई छ । जग्गाको मूल्य हामीले तोके पनि बजारले नियन्त्रण गर्ने स्पष्ट पारे । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिको २५ गते बस्ने बैठकले चारै शहरको डीपीआर स्वीकृत गर्ने उनले बताए । समितिको जेठ २५ गतेको बैठकले डीपीआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेश हुनेछ र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ । यस्तो बन्नेछन् नयाँ शहर नयाँ शहर भनेको नयाँ तथा आधुनिक शहर हो । जहाँ विभिन्न भौतिक पूर्वाधारदेखि सुविधा सम्पन्न संरचना हुनेछन् । ती शहरहरुमा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकताका साथ निर्माण गरिनेछ । नयाँ शहरहरुमा व्यवस्थित सडक, यातायात, खानेपानी, ढल निकास, विद्युत, फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, विद्यालय, खुला क्षेत्र, बैंक तथा वित्तिय संस्था, सार्वजनिक पार्क, स्वास्थ्य चौकी लगायत भौतिक संरचनाहरु योजनावद्ध किसिमले बन्नेछन् । अहिलेका जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई ती शहरमा भूमीगत गरिनेछ भने फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत हुनेछन् । त्यस्तै, विभिन्न हरियाली पार्क, चिल्ड्रेन पार्क, खेलाडीहरुका लागि खेल मैदानलगायत सुविधा सम्पन्न संरचनाहरु निर्माण गरिने छन् । याे पनि पढ्नुस्: चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने
सरकारको व्यवस्थाले विद्युतिय गाडी किन्नै नसक्ने अवस्था आउँछ- अध्यक्ष दुलाल
काठमाडौं । सरकारको नयाँ व्यवस्थाले आम व्यक्तिले विद्युतिय सवारी साधनहरु खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जनाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेटको प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । सरकारले आफ्नै पूर्व घोषणालाई वेवास्ता गर्दे विद्युतिय सवारी साधनहरुमा पनि डिजेल र पेट्रोलका गाडिहरुमा जस्तै उच्च महशुल दर लगाएको कारण त्यसै पनि महङ्गा विद्युतिय सवारी साधनहरुको मूल्य डिजेल र पेट्रोलका गाडिहरु भन्दा महङ्गो हुन पुगेकोले आम व्यक्तिले उक्त साधनहरु किन्न नसक्ने उनले बताए । यसबाट नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालमा विद्युतिय सवारी साधनको प्रयोगलाई सरकारले फेरी निरुत्साहित गर्न खोजेको हो की भन्ने आशंका उब्जिएको छ । सरकारको यस्तो दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनहरुको व्यवसायमा संलग्न व्यवसायीहरुको ठूलो लगानी डुब्ने अवस्था आएकोले सरकारबाट आवश्यक पहलका लागि नाडाले अनुरोध गरेको छ । ‘सरकारले सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थामा निर्माता कम्पनी वा निजको आधिकारिक विक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरु नेपालस्थित आधिकारिक विक्रेताहरुले मात्र पैठारी गर्न पाउने छन् भनि स्पष्ट लेखिए पनि उल्लेखित शर्त उल्लघंन गरी सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भनि आर्थिक विधेयक २०७७ मा स्पष्ट उल्लेख गरिएबाट उत्पादक कम्पनीद्धारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको छ । जसबाट आयातित सवारी साधनको हकमा उत्पादक कम्पनीको कुनै जिम्मेवारी नरही स्थानिय बिक्रेता मात्रै जिम्मेवार रहन जाने स्थिति आएको छ । ’- नाडाले जनाएको छ । यस्तो अवस्थामा उत्पादक कम्पनीबाट डिलरसिप नियुक्त नभएका एजेन्टहरुले पनि उत्पादक कम्पनीको जानकारी बिना विदेश स्थित स्थानिय बिक्रेता वा डिलरबाट जथाभावी डिलरसिप नियुक्ती पाउँदा सवारी साधनहरुको मूल्यमा एकरुपता नहुनुका साथै न्यून विजकीकरणको उच्च संभावना रहन जान्छ । साथै, पुराना सेकेण्डह्याण्ड गाडीहरु पनि त्यही प्रावधानबाट नेपाल भित्रिने र नेपाल यस्ता सेकेण्ड ह्याण्ड गाडीहरुको डम्पीङ साइट बन्न सक्ने प्रबल संभावना भएकोले हाल भएको व्यवस्थामा आवश्यक संशोधनका लागि नाडाले सरकारसंग अनुरोध गरेको छ ।
नेपालमा नै कोरोना विरुद्धको खोप तयार भएको दाबी, परीक्षण गर्न माग
काठमाडौं । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोराभाइरस विरुद्धको खोप तयार भएको दाबी गरिएको छ । वनविज्ञान अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेको हुन । बागमती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका थिए । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा लगिने बताएका छन् । वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरिएको छ । केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो । कोरोना भ्याक्सिनको गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरेका छन् ।
सिटी एक्सप्रेस र युकेको ग्वाभापेबीच रेमिटान्स कारोबार शुरु
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युकेको रेमिटान्स कम्पनी ग्वाभापेबीच रेमिटान्स कारोबार शुरु भएको छ । जससम्बन्धी सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ग्वाभापेको तर्फबाट निर्देशक तथा सेयरधनी ओरखान नासीबोभले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै, युकेमात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुवाभापेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । साथै, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ । सिटी एक्सप्रेसले विगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।
यसकारण परिवर्तन भयो प्रभु बैंकको खाता नम्बर, नयाँ लिन ग्राहकलाई आग्रह
काठमाडौं । प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माइग्रेशन) को काम सम्पन्न भएकाले उनीहरुको हालको खाता नम्बर परिवर्तन भएको बैंकले जानकारी गराएको छ । त्यसैले, बैंकले सम्पूर्ण ग्राहकहरूलाई नयाँ खाता नम्बर लिन आग्रह गरेको छ । जसका लागि बैंकका ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । ‘हाल प्रयाेगमा आएकाे कोर बैंकिङ्ग सिष्टम माइग्रेशन भएकाले खाता नम्बर परिवर्तन गर्नुपर्ने भएको हो । चेकहरु भने पुरानै चल्ने छ । साथै, यससम्बन्धी जानकारी हामीले एसएमएस मार्फत पनि गराउने छौं ।’ बैंकले एक सूचना मार्फत जनाएको छ । उक्त सिष्टम माईग्रेसन गर्नको लागि कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बन्द भएकाे थियाे ।