विकासन्युज

शिक्षा मन्त्रालयले भन्योः पठनपाठन सुरु गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गर्नेछ

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरुमा पठनपाठन सुरु गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गरेको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो । शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै काेराेना भाइरस जाेखिम नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिकाे सिफारिसमा मन्त्रिपरिषद्ले पठनपाठन सुचारुबारे निर्णय गर्ने बताइएकाे छ । साथै, लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न उनले निर्देशन दिएका हुन् । दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् । ‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् । यसैवीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दावी गरेका छन् । उनले सो भनेका छन्, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ ।’   – यसअघि प्रकाशित समाचारमा अन्यथा हुन गएकोमा सच्चाइएको छ । 

साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञहरूको सुझाव

काठमाडौं । साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । पछिल्लाे समय भारतीय ह्याकारहरूले दर्जनौं नेपाली सरकारी तथा निजि क्षेत्रका वेबसाइटहरू ह्याक गरेकाे भन्दै विज्ञहरूले यसकाे सुरक्षाका लागि सुझाव दिएका हुन् । केही नेपाली ह्याकरहरूले पनि भारतीय वेबसाइटहरू ह्याक गर्ने प्रयास गरे । नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय ह्याकरहरू वेबसाइट तथा सिस्टमहरू बिगार्न सक्रिय रहेको देखिन्छ । केही महिनाअघि नेपालमा एटिएम ह्याक गरेर करोडौं रकम चोरेको घटना सेलाएको छैन । यसैबीचमा केही नेपाली सेलिब्रेटी हिरोइनहरूको फोटो प्रयोग गरेर भारतीयहरूले अश्लील सामग्रीको रूपमा प्रचार गरेको पनि पाइयो । वर्षौंदेखि पटक पटक नेपाली सरकारी तथा निजी वेबसाइट तथा एप्लिकेशनहरू ह्याक भइरहेको कुरा नौलो होइन । तर, पछिल्लो समय अन्तरदेशीय ह्याकरहरू सक्रिय भई देशको स्वाभिमानका लागि भन्दै सिस्टमहरू ह्याक गर्न थालेपछि साइबर डिफेन्सका लागि नेपालको तयारी के छ भन्ने बारेमा धेरैको चासो देखियो । वेबसाइट, वेब एप्लिकेशन, सिस्टम, बैंकिङ प्रणालीहरूको सुरक्षा प्रणाली मजबुत बनाउँदै सबै पक्षको सहकार्यमा देशको लागि नै साइबर डिफेन्स तयारी अवस्थामा राख्नुपर्ने विज्ञहरूको सुझाव थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले अब हामी डिजिटल नेपालतर्फ अघि बढिरहेको तर सुरक्षा अवस्था मजबुत नहँुदा इकोसिस्टम नै बिग्रने भन्दै सबै पक्षले यसमा ध्यान दिएर अघि बढ्न आग्रह गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले साइबर सुरक्षाको लागि सरकारले यस वर्ष बजेटमा प्राथमिकता दिएको जानकारी दिए । साइबर इन्फ्रास्ट्रक्चरको विकास गर्दै फरेन्सिक ल्याबसँगै सेक्युरिटी केन्द्र बनाउनेतर्फ मन्त्रालयले समन्वय गर्ने दत्तले बताए । सेक्युरिटी एक्सपर्टसँगै सबै सरकारी निकायको समन्वयमा विभिन्न सर्टहरूको व्यवस्था गर्दै कार्यान्वयनमा अघि बढ्ने दत्तको भनाइ थियो । साइबर सुरक्षा र डिफेन्सको लागि तयारी कम रहेको स्वीकार्दै दत्तले अब सबैको सहकार्य र समन्वयमा अघि बढ्ने बताए । साइबर डिफेन्सको लागि नेपालको तयारीको बारेमा आयोजना भएको डिजिटल संवादमा बोल्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका २०७५ अनुसार काम भइरहेको बताउँदै अझ धेरै काम गर्न बाँकी रहेको बताए ।  सुझावहरू यस्ता छन्: १. सरकारले यस क्षेत्रमा आवश्यक लगानी गर्दै साइबर सुरक्षा र डिफेन्सको लागि आवश्यक इन्फ्रास्ट्रक्चर, ल्याब, सेक्युरिटी सेन्टर, फरेन्सिक ल्याबहरू विस्तार गर्दै काम गर्नुपर्ने । २. दक्ष जनशक्ति तयार गर्न नेपालभित्र रहेका विज्ञहरूलाई एक ठाउँमा ल्याएर समन्वय गर्दै तत्काल काम सुरु गर्ने । थप जनशक्ति तथा भविष्यका लागि विश्वविद्यालयहरूमा आवश्यक कोर्सहरू तयार गरी वर्षे्नि हजारौं जनशक्ति तयार गर्नुपर्ने । ३. सरकारले विभिन्न क्षेत्रमा साइबर सेक्युरिटी रेस्पोन्स समूहहरू बनाएर उच्चस्तरीय समितिबाट अनुगमन हुनेगरी काम गर्नुपर्ने । ४. यस क्षेत्रमा राम्रो काम गरिरहेकाहरूलाई प्रोत्साहन गर्न रिवार्ड र साइबर अपराधमा संलग्नहरूलाई उपयुक्त कानूनको प्रयोग र जरिवाना गर्दै कारबाहीको दायरामा ल्याउनुपर्ने । ५. आवश्यक पोलिसी, नियम, गाइडलाइन्स ल्याउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिने । ६. सरकारी वेबसाइट तथा सिस्टम, फाइनान्सियल संस्थाका सिस्टमहरू अनिवार्य रूपमा नियमित रूपमा सेक्युरिटी अडिट गराउनुपर्ने । ७. सेक्युरिटी, डेटा प्राइभेसी र इन्नोभेसन तथा आइरहेका नयाँ प्रविधिहरूको त्रिपक्षीय ब्यालेन्स गर्दै अघि बढ्ने । ८.डिजिटल लिट्रेसी एक अभियानको रूपमा सञ्चालन गर्दै प्रयोगकर्तालाई थप सजग र सचेत बनाउनुपर्ने । ९ साइबर सेक्युरिटी गर्भनेन्सको रूपमा सरकार अघि बढ्नुपर्ने । १०. साइबर वारको अवस्था आउन सक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक एक्सपर्ट टास्कफोर्सहरू बनाउने । सरकारी निर्णय, काम र कार्यान्वयनलाई छिटो, सरल र पारदर्शी बनाउँदै अघि बढ्नुपर्ने ।  

डिलरले आफूखुसी बढाए सिमेन्ट र डण्डीको मूल्य, कारबाहीको तयारीमा उद्योग र सरकार

काठमाडौं । लकडाउनको अवधिमा सिमेन्ट र डण्डीको उत्पादन नभए पनि सरकारको ध्यान अन्यत्रै गएको मौका छोपी डिलरले मूल्य बढाएका छन् । डिलरहरुले आफूखुसी मूल्य बढाए पनि लकडाउनलाई कारण देखाउने गरेका छन् । लकडाउनकै बीचमा विकास निर्माणका काम अघि बढाउने सरकारी निर्णयमा टेकेर बढी फाइदा लिन डिलर यस्तो हर्कत गरेका हुन् । पछिल्लो समय विकास निर्माणमा प्रयोग हुने सिमेन्ट र स्टीलको मूल्य बढेको हो । सिमेन्ट उद्योग संघ र आइरन तथा स्टील उद्योग महासंघ नै उद्योगमा मूल्य नबढेको र डिलरले आफ्नै तरिकाले मूल्य कायम गरेर बिक्री गरेको जानकारी प्राप्त भएको बताएका छन् । लकडाउनअघि उत्पादन भएको स्टक सामानको मूल्य बढाइएको उद्योगीको भनाइ छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले उद्योगले सिमेन्टको मूल्य वृद्धि नगरेको बताए । डिलरले बजारमा नयाँ सिमेन्ट नआएपछि स्टक सिमन्टको मूल्य वृद्धि गरेको बिक्री गरेको थापाले बताए । उनले भने सबै डिलरलाई पत्र पठाएर पुरानै मूल्यमा सिमेन्ट बिक्री गर्न निर्देशन दिने तयारी भएको जानकारी दिए । ‘हामीले पनि बजारमा सिमेन्टको मूल्य बढ्यो भनेर सुनेका छौं, उद्योगमा सिमेन्ट थोरै मात्रामा उत्पादन भएको छ, मूल्य बढएर बिक्री गर्ने डिलरलाई पत्र काटेर पुरानै मूल्यमा बिक्री गर्न निर्देशन दिने तयारी भएको छ, बजारमा हल्ला भए जस्तो प्रतिबोरा १ सयदेखि २ सय मूल्य वृद्धि भएको छैन, १० देखि ३० रुपैयासम्म मात्रै डिलरले वृद्धि गरेका छन्, त्यसलाई पनि संघले रोक्ने छ,’ थापाले भने । मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरु एकदिन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ६० करोड रुपैयाँ नोक्सान हुने गरेको छ । सरकारले जारी गरेको देशव्यापी लकडाउनको कारण उद्योग बन्द भएको ६९ दिन भइसकेको छ । सरकारले चुनढुङ्गा खानी सञ्चालन गर्न दिए पनि स्थानीय तहको अबरोधको कारणले खानी सञ्चालन गर्न नसकिएको थापा बताउछन् । भारतमा क्लिङ्कर प्रतिटन २ हजार मूल्यवृद्धि भैसकेको अध्यक्ष थापाले जानकारी दिए । खानी संचालन गर्नुपर्ने समयमा लकडाउनका कारण उद्योग बन्द गर्नुपरेकोले भारतबाट चुनढुङ्गा ल्याउनु पर्ने अवस्था आएमा सिमेन्टको मूल्य बढ्ने उनको भनाइ छ । सरकारले विकास निमर्माणको कार्य अगाडी बढाउन सिमेन्ट, स्टील लगायतका उद्योग सञ्चालन गर्ने भने पनि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु भने सञ्चालन भएका छैनन् । पास नभएर मजदुरको तलबदेखि आफ्नो उद्योगसम्म जान नपाएको उद्योग बताइरहेका छन् । नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा शाख स्टीलका डाइरेक्टर किरण शाखले उद्योगबाट नयाँ डण्डी उत्पादन नभएको बताए । डिलरले लकडाउनभन्दा अगाडी नै उत्पादन भएको स्टील आफुखुसी मूल्य तोकेर बेचेको उनको भनाइ छ । ‘सरकारले उद्योग सञ्चालन गर्ने मात्रै भनेको छ, तर उद्योग सञ्चालनका लागि केही व्यवस्था गरेको छैन, बजारमा बस्तु अभाव भएपछि डिलरहरुले सकेजति मूल्य लिएर बिक्री गरिरहेका छन्, नयाँ बस्तु उत्पादन नभएकोले बजारमा समस्या देखा परेकोछ,’ शाखले भने । उद्योग, वाणिज्य तथा आपूर्ति संरक्षण विभागका प्रवक्ता रविन्द्र आचार्यले सिमेन्ट र स्टीलको मूल्य वृद्धिको बजार अनुगमन तथा निरीक्षण भहिरहेको बताए । सिमेन्ट र स्टीलका बिक्रेता डिलरहरुलाई कारवाही गर्ने तयारीमा विभाग रहेको उनको भनाइ छ । यस्तो लकडाउनको समयमा पनि कालोबजारी गर्ने डिलरहरुलाई विभागले कारवाही गर्ने आचार्यले बताए । नेपालमा सिमेन्ट उद्योग नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । अहिले नेपालमा ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ वटा छन् । ग्राइन्डिङ उद्योग ४० वटा छन् । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर ६१ वटा उद्योग मात्रै संचालनमा छन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् । नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको अध्यक्ष थापाले बताए । स्टीलको बजार नेपालमा प्रतिमहिना करिब १ लाख मेट्रिक टन स्टील बिक्री हुने गरेको छ । आइरन तथा स्टीलको करिब १ खर्बको बजार रहेको संघले जानकारी दिएको छ । प्रतिवर्ष १३ लाख मेट्रिक टल आइरन तथा स्टील बिक्री हुने गरेको छ । ठूला लगानीका १४ वटा स्टील उद्योगहरु सञ्चालित छन् ।

एचआइडिसिएलले सरकारलाई दियो ५० लाख रुपैयाँ

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले सरकारलाई ५० लाख रुपैयाँ दिएको छ । एचआइडिसिएलले कारोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा उक्त रकम सहयोग गरेको हो । एचआइडिसिएलले उक्त रकम बराबरको चेक आइतबार (जेठ १८ गते) कोषलाई हस्तान्तरण गरिएको छ । कम्पनीका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका छन् । हालसम्म कोरोना कोषमा करिब २ अर्ब ३० करोड रुपैयाँ जम्मा भएको छ ।

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरेका थिए । नीति तथा कार्यक्रमको प्रारम्भमा प्रदेश प्रमुख शेरचनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विधिता युक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताए । समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध भएको बताउँदै उनले सीमित स्रोत साधनको उपयोगमार्फत अघि बढेका अवस्थामा कोरोना भाइरसले समग्र गतिविधि प्रभावित पारेको बताए ।

ग्लोबल आइएमईद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेका हुन् । बैंकमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए । उनले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गरे । नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए । उनले ज्याकेट सहयोगको लागि बैंकलाई धन्यबाद समेत ज्ञापन गरे ।

आपूर्ति प्रणालीमा सुधार नआए सामाजिक द्वन्द्व बढ्न सक्छ: विनोद चौधरी (भिडियाे सहित)

काठमाडौं । संघीय संसदका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले कोभिड-१९ का कारण आपूर्ति प्रणाली (सप्लाई चेन) भत्किएकाले यसमा तत्काल सुधार नआए सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन् । ‘किसानका उत्पादन खेतमै कुहिने अवस्था छ । तर बजारमा आपूर्ति हुन सकेको छैन ।’ आईतबार संघीय संसदमा आगामी बजेटमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले भने-बजार श्रृंखलालाई कायम राख्न नसके असामाजिक क्रियाकलाप शुरू हुने र यसले सामाजिक द्वन्द्वलाई बढावा दिनेछ । सांसद चौधरीले लकडाउनका कारण देशको समग्र आर्थिक क्षेत्रमा परेको असरका बारेमा गहिरो विश्लेषण प्रस्तुत गरे । बजेटमा साना तथा मझौला उद्योग केन्द्रित एक सय अर्बको रिफाइनान्सको कार्यक्रम आएको बताउदै उनले राष्ट्रिय अर्थतन्त्रका आधारका रूपमा स्थापित हुदै गरेका हाईड्रो, सिमेन्ट, शिक्षा, यातायात, होटल, अस्पताल लगायत ठूला पूर्वाधार परियोजनालाई भने समेट्न नसकेको बताए । ‘अर्बौं ऋण लिएर चलिरहेका परियोजना सबैजसो बन्द छन् । उद्योग, स्कुल, यातायात, होटलदेखि अस्पलतालसम्म बन्द छन्’, चौधरीले भने, ‘चालू छन् त केवल ब्याजका मिटर, वेजका मिटर र बिजुलीका मिटर ।’ यी क्षेत्रका समस्यालाई बजेटले सम्बोधन नगरेसम्म अर्थतन्त्र सहि दिशामा आउन नसक्ने विश्लेषण चौधरीको छ । बजेट अघि नेपाली कांग्रेसले सांसद चौधरीको नेतृत्वमा लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति गठन गरि यि क्षेत्रमा रहेका समस्या र समाधानका लागि सुझाव मागेको थियो । उक्त विशेष समितिले देशको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन बजेटमार्फत् २५० अर्बको आर्थिक प्याकेज ल्याउन आवस्यक रहेको सुझाव दिएको थियो । संसदमा बोल्दै सांसद चौधरीले आफ्नो समितिको यो सुझावलाई बजेटले कार्यान्वयन गरेको भए संकटको अवस्थामा समेत अर्थतन्त्रलाई चलायमान बनाउन संभव रहेको बताए । https://bikashnewscdn.prixacdn.net/uploads/2020/05/10000000_253730422566265_74741184093749248_n.mp4 सरकारले ल्याएको बजेटलाई चौधरीले ‘आशावादको उत्कर्ष’को टिप्पणी गरे । ‘चालू आर्थिक वर्ष १० महिना बजार चलायमान हुँदा ८ खर्बको राजस्व लक्ष्य थियो । अहिले त बजार ठप्प छ । राजस्व संकलनका बाटाहरू बन्द छन् । साउन १ बाट कोरोना पूरै साम्य भए पनि राजस्व लक्ष्य पूरा नहुने अवस्थामा १० खर्बको राजश्व लक्ष्य राखियो,’ उनले भने, ‘आशावादी हुनु त पर्छ तर धरातल पनि बिर्सनु हुँदैन ।’ उत्पादनमूलक उद्योगसँगै मुलुकको भरपर्दो आम्दानी स्रोत रेमिट्यान्स रोकिँदा आर्थिक चक्र तोडिएको भन्दै चौधरीले यसको प्रत्यक्ष प्रभाव गरिखाने वर्ग र अन्ततसम्म बजारमा पर्ने बताए । ‘बेरोजगारसँगै बिहान–बेलुका काम गरेर हातमुख जोर्ने वर्गको खल्ती रित्तिइसक्यो,’ उनले भने, ‘त्यसमाथि बाहिरबाट नेपाल फर्किने क्रम झनै बाक्लिएको छ । यस्तो अवस्थामा बजारको गति रोकियो भने यसले दीर्घकालसम्म प्रभाव पार्नेछ ।’ बेरोजगारी समस्या हल गर्न बजेटमा कृषिलाई महत्व दिइनु सकारात्मक भएको भन्दै चौधरीले ठूलो संख्यामा देश फर्किएर आउने युवालाई कृषिमा सहभागी बनाउन बृहत्तर योजना तय गर्नुपर्ने सुझाव दिए । ‘सरकार आफैंले बजार र यातायातको प्रबन्ध गरिदिनुपर्छ । भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धी बनाउन मूल्यको व्यवस्था गरिदिनुपर्छ । बेरोजगारलाई सीप र पुँजीसँग जोड्ने योजना ल्याउनुपर्छ,’ सांसद चौधरीले भने ।

बाजुराकी २ वर्षीया बालिकाकाे मृत्युकाे कारण कोरोना भएकाे पुष्टि

काठमाडौं । बाजुराकी दुई वर्षीया बालिकाको मृत्युकाे कारण कोरोना भाइरस भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको पनि मन्त्रालयले पुष्टि गरेकाे छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।