गोल्छा ग्रुपका ११७५ कर्मचारीको कोरोना बीमा शिखर इन्स्याेरेन्समा
काठमाडौं । गोल्छा ग्रुपमा कार्यरत ११७५ कर्मचारीको कोभिड–१९ बीमा गएिको छ । ग्रुप अन्तरगत रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी, हुलास इन्भेष्टमेन्ट, हुलास अटाे र हिम इलेक्ट्रोनिक्समा कार्यरत सबै कर्मचारीको कोभिड बीमा शिखर इन्स्योरेन्समा गरिएको कम्पनीले जनाएको छ । सबै कर्मचारीको प्रतिव्यक्ति एक लाख बीमाङ्क रकमको कोभिड–१९, बीमा भएको कम्पनीले जनाएको छ । एक लाखको सामूहिक बीमा गर्दा प्रति व्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्छ । त्यसमा ५० प्रतिशत सरकारले अनुदान दिने घोषणा बजेटमा गरिएको छ । याे साउन पछि मात्र लागु हुनेछ । काेराेना महामारी पछि नेपालले शुरू गरेकाे याे माैलिक प्रकृतिकाे बीमामा पीसीआर रिपाेर्ट पाेजेटिभ आएपछि बीमितलाइ बीमाङ्क रकम बराबर बीमा कम्पनीले भुक्तानी दिने गरेकाे छ । हालसम्म करिब ३ लाख नेपालीकाे काेभिड-१९ बीमा भएकाे छ ।
सीएनआईले सार्वजनिक गर्याे पोष्ट वेबिनार रिपोर्ट, अर्थतन्त्रमा देखिएका संकटकाे समाधान गर्ने
काठमाडाैं । नेपाल उद्योग परिसंघ(सीएनआई)ले यही जेठ ५ देखि ८ सम्म आयोजना गरेको इकोनोमिक सरभाइभल सिरिजको पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेको छ । वेबिनार मार्फत परिसंघका अध्यक्ष सतिशकुमार मोर र आर्थिक पत्रकारहरुले रिपोर्टको स्क्रिन सेयर गरी पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेका हुन् । सो रिपोर्टमा कोभिड-१९ बाट अर्थतन्त्रलाई कसरी बचाउने भनी इकोनोमिक सरभाइभल थिममा रहेर यही २०७७ जेठ ५ देखि ८ गते सम्म आयोजना गरिएको वेबिनारमा भएको छलफल र विचारहरु समेटिएको छ । वेबिनारको पहिलो सेसनमा रेष्क्युः बैंकिङ एण्ड फाइनान्स, दोस्रो सेसनमा रिइन्फाेर्स इनर्जी एण्ड एग्रीकल्चर, तेस्रो सेसनः रि-स्टार्स इन्डष्ट्री एण्ड लेवर र चौथो सेसनः रेस्पेण्ड इकाेनाेमीमा छलफल भएको थियो । वरिष्ठ आर्थिक पत्रकारहरु समेतको सहभागितामा रिपोर्ट सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अहिलेको विषम परिस्थितीमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्न नसक्ने उल्लेख गर्दै सवै मिलेर आर्थिक संकटको सामना गर्ने र पुनरुत्थानमा जुट्न आवश्यक रहेको निष्कर्ष यो रिपोर्टले प्रस्तुत गरेको बताए । रिपोर्ट प्रस्तुत गर्दै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वेबिनार छलफलमा उठेका विचार तथा सुझावका आधारमा कोभिड-१९ र लगातारको लकडाउनबाट सिर्जना भएको आर्थिक संकटबाट जोगिन अल्पकालीन राहत तथा दीर्घकालीन व्यवस्था मार्फत् अर्थतन्त्रलाई बचाउने (इकोनोमिक सरभाइभल) उपायहरु रिपोर्टमा प्रस्तुत गरिएको बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले रिपोर्ट सार्वजनिक वेबिनारका सहभागी आर्थिक पत्रकार परिसंघका साझेदारहरुलाई धन्यवाद व्यक्त गरेका छन् । उपाध्यक्ष अग्रवालले प्रस्तुत रिपोर्टले कोभिड-१९ ले अर्थतन्त्रमा देखिएका संकट समाधान गर्ने तर्फ अघि बढ्न सघाउने विश्वास लिइएको उल्लेख गरे । परिसंघले सम्बन्धित निकायहरुमा पनि यो रिपोर्ट प्रस्तुत गर्ने छ । सो वेबिनार तथा पोष्ट रिपोर्टको साझेदार फ्रस्ट एण्ड सुलिभान रहेको छ ।
काठमाडौं महानगरले रेडियोमार्फत विद्यार्थीलाई पढाउने, शिक्षक खोजिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही हप्ताबाट रेडियोमार्फत कक्षा १ देखि १० को कक्षा संचालन गर्ने भएको छ । महानगरपालिकाले रेडियोमार्फत कक्षा संचालन गर्न तयारी गरिरहेकाे काठमाडौं शिक्षा विभागका शिक्षा अधिकारी तारापति खरेलले जानकारी दिए । हाललाई अवधाराणा पत्र बनिरहेको र यसमा शिक्षा समितीलगायत सबैको सहमति भएको पनि उनले जानकारी दिए । अबको लगभग एकहप्तामा कक्षाहरु संचालन हुने उनले जानकारी दिए । उक्त कार्यक्रमलाई फेसबुकमार्फत पनि लाईभ गरिने र पछि युट्युबहरुमा पनि राखिने उनले बताए । गणित पढाउन केही समस्या हुने हुनाले अहिलेको लागि अंग्रेजी, नेपाली, विज्ञान, सामाजिक र स्वास्थ्य तथा जनसंख्या गरेर पाँच विषय पढाइने उनकाे भनाई छ । कक्षा ७ देखि १० को कक्षा शिक्षकहरु व्यवस्थापन गर्ने जिम्मा पाएका विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानध्यापक हेरम्बराज कडेँलले बताए । महानगरले कक्षा १ देखि ६ कक्षाको शिक्षकको व्यवस्थापनको जिम्मा सरस्वती निकेतन मावि ब्रम्हटोलकी प्रधानाध्यापक रविना महर्जनलाई दिइएको छ ।
कुमारीले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ १९ गते(सोमबार) सम्पन्न देवः विकास बैंकको १३औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको हो । विशेष प्रस्ताव अन्तर्गत यस बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा यस बैंकको १ (एक) कित्ता सेयर बराबर कुमारी बैंकको ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता सेयर दिने गरी सेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव लगायत प्राप्तिसँग सम्बन्धित स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको संस्थाले जनाएको छ । उक्त सभा संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्ग (अ.प्रा.)को अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको छ । कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका सेयरधनीहरु अनलाइन मार्फत भरच्यूअली सभामा सहभागी भएका थिए । साथै, सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वसम्मतिबाट पारित गरेको छ ।
जनजीवन सहज हुने गरि लकडाउनको उपाय निकाल्न विज्ञापन संघको माग
काठमाडौं । नेपाल विज्ञापन संघले जनजीवन सहज हुने गरि लकडाउनको उपाय निकाल्न माग सरकारसँग माग गरेको छ । संघले लामो समयसम्मको लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरि विस्तारै सुरक्षित तवरवाट जनजीवनलाई सहज बनाउन सरकार समक्ष अनुरोध गरेको हो । सरकारले जारी रहेको लकडाउनलाई पुनः २०७७ जेठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेको छ । यससँगै आम नागरिकको जनजिवनलाई सहज हुने गरि केहि खुकुलो पार्न आवश्यक भएकाले उनीहरुको स्वास्थ्य एवं जनजिविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न संघका अध्यक्ष रविन्द्र कुमार रिजाल “शशि’’ ले अनुरोध गरेका छन् । उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरि रहदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगिलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौको लगानी समेत डुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि बढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य देखिन्छ । राज्यको सामु अहिले दुई प्रमुख चुनौति रहेका छन् । एक आम सर्वसाधारणको बचाउ र अर्कोतर्फ आर्थिक कृयाकलापको सुचारु जसका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मीको परिचालन र अधिक भन्दा अधिक संक्रमित व्यक्तिहरुको जाँच परिक्षण गर्न जरुरी छ । साथै, यस कार्यमा सर्वसाधारण र उद्योगी व्यवसायीको सहकार्य जरुरी छ । साथै, संघले नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत अनुरोध गरेको छ । अन्यथा देश गहिरो आर्थिक संकटमा परि आमनागरिक भोकमरीको शिकार हुन सक्नेतर्फ सचेत रहन समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्व स्वास्थ्य सचिवहरुको बजेट प्रतिक्रियाः चेत खुलेर राम्रै भयो, कार्यान्वयन प्रभावकारी बनाउन ध्यान दिऊँ
काठमाडौं । स्वास्थ्यको लागि छुटाईएको बजेट अंकको आधारमा बढेको भएपनि कार्यानयनमा शंका कायमै रहेको पूर्व स्वास्थ्य सचिवहरुले बताएका छन् । पूर्व स्वास्थ्य सचिव दीर्घसिंह बमले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि छुटाइएको बजेट सकारात्मक भएपनि कार्यान्वयन पक्षमा भने सधैंको झैं शंका नै भएको बताए । विगतका वर्षहरुमा विनियोजन गरिएको बजेट जता पनि मोडिनसक्ने नजिर स्मरण गर्दै उनले सम्बन्धित क्षेत्रमा नै खर्च गर्नको लागि खासै तयारी र उचित योजना नभएको उनको भनाइ छ । पूर्व सचिव बमले बजेटमा अंक बढाउँदैमा सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएको भन्न नमिल्ने पनि बताए । ‘यो बजेट सरकारको विपद व्यवस्थापनको रुपमा मात्र आएको छ, अंक बढाएकै भरमा सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्न मिल्दैन,’ उनले भने । अध्ययन अनुसन्धानका लागि कुनै योजना र कार्यक्रम नै नआएको भन्दै उनले बजेट विनियोजन भएर पनि रकम त्यसमै खर्च हुन्छ भनेर मान्ने आधारहरु नरहेको बताए । यसअघि स्थानीय सरकार र प्रदेश सरकार बनाएर छुट्टयाइएको बजेट कहाँ गयो त भन्ने प्रश्न गर्दै उनले त्यसरी छुट्टयाइएको रकम कुनै कार्यकर्तालाई खर्च भएको र कुनै त्यसै बाटोमा नै हराएर गएको आरोप पनि लगाए । बजेट व्यवस्थापनमा सरकार चुकेको पनि उनले आरोप लगाएका छन् । यो विपदको समयमा सरकार, विपक्षी दल, नागरिकहरु सबै एकै ठाउँमा उभिनु पर्नेमा बाँडिएको र यो सरकारको कमजोरी भएको पूर्व सचिव बम बताउँछन् । यस्तै, अर्का पूर्व स्वास्थ्य सचिव खगराज बराल कोरोना संक्रमण सन्त्रासको कारण यसपालिको बजेटमा स्वास्थ्य प्राथमिकतामा परे पनि अझै पर्याप्त नभएको बताए । ‘बजेट जसरी आयो, त्योभन्दा पनि अझ राम्रो आउनु पर्ने हो,’ पूर्व स्वास्थ्य सचिव बरालले भने । सरकारले हालको लागि अस्पताल थप्नेभन्दा पनि भएका अस्पतालमा नै ठूलो बनाएर संचालन गर्नसके अझ प्रभावकारकारी हुने उनको धारणा छ । ‘नयाँ अस्पताल बनाउनेभन्दा पनि भएकाहरुलाई तत्काल थप ठूलो बनाउँदा निकै राम्रो हुन्छ,’ बरालले भने । कोरोना भाइरस संक्रमणले हाम्रो स्वास्थ्य क्षेत्रको समस्या छर्लङ्ग पारेको छ भन्दै उनले पूर्वाधार तथा जनशक्तिमा ठूलो प्रश्न चिन्ह खडा भएको बताए । नयाँ रोग फेला परेको समयमा बजेट थप गर्ने र अरुबेला ध्यान नदिने परिपाटीले स्वास्थ्य पूर्वाधार प्रभावकारी बनाउन सहयोग नगर्ने उनको भनाइ छ । काठमाडौंमा मात्र नभएर हरेका प्रदेशमा २ सयदेखि ३ सय शैयासम्मको अस्पताल बनाउनु पर्ने उनले बताए । ‘अब राजधानीमा मात्र केन्द्रित हुनुहुँदैन, सबै क्षेत्रमा २ सयदेखि ३ सय शैयाको अस्पताल बनाउनु पर्छ, हरेक प्रदेशलाई यसको खाँचो छ, अहिलेको अवस्थाले पनि यो देखाएको छ’, उनले भने । स्वास्थ्यमा प्रशासनिक नेतृत्व स्थीर नहुँदा पनि समस्या आएको बराल बताउँछन् । १ वर्षमा एउटै पदमा ६–७ जना बद्लिरहनाले पनि स्वास्थ्य क्षेत्रको काममा समस्या भइरहेको उनको भनाइ छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत बिहीबार आर्थिक वर्ष २०७७÷७८ मा कुल १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । यसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको लागि ९० अर्ब ६९ करोड बजेट छुट्टयाइएको छ । यो कुल बजेटको ६.१५ प्रतिशत हो । आगामी आर्थिक वर्षको लागि विनियोजन गरिएको बजेट पछिल्लो वर्षकोभन्दा करिब २१ अर्ब ९२ करोड बढी हो र यो अन्य आर्थिक वर्षको स्वास्थ्य बजेटहरुमा तुलनात्मक रुपमा धेरै नै बढी हो । स्वास्थ्य मन्त्रालयका मुख्य कार्यक्रमहरु कोरोना भाइरस रोग रोकथामका लागि तत्काल आवश्यक पर्न सक्ने औषधी, उपकरण तथा उपचार सामाग्री कम हुन नदिन लागि ६ अर्ब रकम रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी वर्ष काठमाडौं उपत्यकामा ३ सय शैयाको छुट्टै सरुवा रोग अस्पताल निर्माण गरिने छ । यस्तै, काठमाडौं उपत्यका र प्रदेश राजधानीको सरकारी अस्पतालमा थप २ सय ५० आइसीयु बेड स्थापना गरिने छ । सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल संचालन गरिने छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तराष्ट्रिय मापदण्ड अनरुपको बनाउने, सबै प्रदेशका राजधानीमा अत्याधुनिक प्रयोगशाला स्थापना गर्न, सबै स्वास्थ्य संस्थाहरुमा उपचारको लागि आवश्यक प्रयोगशाला विस्तार गर्न तथा रोग निदान र फार्मेसी सेवा अनिवार्य संचालन गर्न र विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थय जाँच गर्न प्रमुख प्रदेश नाकामा आवश्यक उपकरण सहितको स्वास्थ्य डेस्क स्थापना गर्ने कार्यक्रम बजेटमा छ । निजी क्षेत्रबाट संचालित अस्पतालले प्रदान गर्ने सेवाको प्रभावकारी अनुगमन गर्दै विपद तथा महामारीको समयमा निजी क्षेत्रको स्वास्थ्य संस्थालाई सरकारले उपयोग गरिने व्यवस्था मिलाईने कार्यक्रम बजेटमा आएको छ । राजमार्गको बढी दुर्घटना हुने अस्पतालमा ट्रामा सेन्टर स्थापना गर्न र मुलुकभर एउटै टेलिफोन नंम्बर सम्र्पक गरी बिरामीले सहज र सहज रुपमा एम्बुलेन्स सेवा विस्तार गर्न पाउने अवस्था सिर्जना गर्ने कार्यक्रम पनि बजेटमा छ । यस्तै, स्वास्थ्य क्षेत्रका विद्यमान दरबन्दीलाई पुनरवालोकन गरी स्वास्थ्यकर्मीको संख्या थप गर्ने, सेन्टर फर डिजिज कन्ट्रोल फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन र राष्ट्रिय स्वास्थ्य प्रत्यायान प्राधिकरण स्थापना लागि प्रारम्भिक कार्यक्रम शुरु गर्न बजेट छुट्टयाइएको छ ।
सङ्क्रमितकाे सङ्ख्या बढेसँगै ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी
काठमाडाैं । मुलुकमा कोभिड-१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए । उनले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए । हिजोसम्म एक हजार ५६७ जना सङ्क्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ । ‘सङ्क्रमितको सङ्ख्या हाम्रो हातमा रहेको छैन । केही दिनको तथ्याङ्क हेर्दा यो सङ्ख्या बढ्छ’, उनले भने, ‘त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छाैं ।’ उनका अनुसार पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरेका थियौं । केही दिनअघि मात्र पाँच हजारको सङ्ख्यामा सङ्क्रमित हुने अनुमान गरिएको छ । दैनिक १५० जनाभन्दामाथि सङ्क्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै सङ्क्रमितको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनले बताए । रासस
थप २ सय २६ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं । साेमबार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय २६ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए। याेसँगै नेपालमा काेराना संक्रमितकाे संख्या १७ सय ९८ पुगेकाे छ जसमा २ सय २१ जना निकाे भएर घर गईसकेका छन् र ८ जनाकाे मृत्यु भएकाे छ ।