लकडाउन खुकुलो पार्ने तयारी गरिँदै, यी हुन् खुल्ने क्षेत्र
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम हेरेर लकडाउन माेडल फेर्ने तयारी गरेको छ । संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन माेडल फेर्ने तयारी सरकारले गरेकाे हाे । काठमाडौं लगायतका कम जाेखिम भएका क्षेत्रमा विस्तारै लकडाउन खकुलाे गर्ने तयारीमा सरकार रहेकाे बताईएकाे छ । जेठ ३२ सम्मकाे लकडाउनलाई कम जाेखिम भएकाे क्षेत्रमा नबढाईन विषयमा छलफल भईरहेकाे एक स्रोतले जनाएकाे छ । यसरी कम जाेखिम भएका क्षेत्रमा जनजिवनलाई विस्तारै सामान्य बनाउँदै लैजाने तयारी भईरहेकाे स्रोतले जनाएकाे छ । लकडाउन खकुलाे पार्दै जाँदा सुरुमा कम भिडभाड हुने स्थानहरु खाेलिने र विस्तारै अन्यलाई पनि संचालनमा ल्याईने बारे छलफः भईरहेकाे बताईएकाे छ । रेष्टुरेन्टहरुलाई विस्तारै खाेल्दै लैजाने, सुरुमा हाेम डेलिभरी, टेक वे जस्ताे व्यवस्था गरिने र विस्तारै सामाजिक दुरी कायम गर्दै थप अन्य पनि संचालन हुने तयारीमा रहेकाे स्रोतले बतायाे । मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।
मोबाइल र ल्यापटपको माग वृद्धि
हेटाैडा । “लौ है छिटो लिनु पसल बन्द हुने बेला भो, पैसा घट्दैन लिए लिनु नत्र छोड्दिनु”, यी भनाइ हेटौँडास्थित एक मोबाइल व्यवसायीको हो । हेटौँडा–४ का ती व्यवसायीले हेटौँडा–४ की सुनिता पौडेललाई भनिरहँदा पौडेलले पनि सोही रकम तिरेर मोबाइल लिँदै थिए । उनले लकडाउनको समयमा छोरालाई अनलाइन शिक्षाका लागि मोबाइल खरिद गरिएको जानकारी दिए । घरमा चलाउँदै आएको मोबाइलले राम्रो काम नगरेपछि छोराको पढाइ नबिगार्नको लागि नयाँ मोबाइल किनेको उनको भनाइ छ । कक्षा ९ मा अध्ययन गर्ने छोरालाई विद्यालयले अनलाइन कक्षा शुरु गरेपछि नेट जोडेसँगै नयाँ मोबाइको आवश्यकता परेको उनले बताउए । त्यसैगरी हेटौँडा–९ कि विष्णु राईले आफ्नो बच्चालाई जसोतसो निजी विद्यालय पठाएको भए पनि हाल ल्यापटन किन्न र नेट जोड्दिन नसककेकाले अरुसरह पढ्न नपाएको गुनासो गरिन् । उनकाे श्रीमानले गाडी चलाउने र उनले एक उद्योगमा मजदुरी गर्ने गरेको बताउँदै यस्ता खर्च आफूहरुले गर्न गाह्रो भएको सुनाइन् । केही अभिभावक ल्यापटप र मोबाइल किन्न ब्यस्त छन् भने केही अभिभावक आफ्नो आर्थिक अवस्थाका कारण किन्न नसक्दा बच्चाको पढाइ बिग्रँनेमा चिन्तित देखिन्छन् । मोबाइल व्यवसायीले आफूले बिहान मात्र मोबाइल र ल्यापटप बेच्न नभ्याएका कारण साँझको समयमा घरघरमा पुर्याइदिने गरेको बताए । उनले बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्ने व्यापार गर्न भ्याइनभ्याइ भएको जानकारी दिँदै बन्दाबन्दीमा मोबाइलसँगै ल्यापटपको माग बढेको जानकारी दिए । बन्दाबन्दीका कारण शैक्षिक संस्था पूर्णरुपमा बन्द रहेका छन् । लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरिरहेका छन् । यसै क्रममा मकवानपुरका सामुदायिक र निजी विद्यालयले निश्चित समय तोकेर अनलाइनबाट सञ्चालन गरिरहेका छन् । मकवानपुर जिल्लाका साथै सदरमुकाम हेटौँडाका केही निजी तथा सामुदायिक विद्यालयले अनलाइनबाट सञ्चालन गर्न थालेपछि मोबाइल र ल्याप्टपको बिक्रीवितरण र व्यापार बढेको बताइएको छ । अनलाइनबाट सञ्चालनका लागि इन्टरनेट, मोबाइल, ल्यापटप र कम्प्युटरको आवश्यकपर्ने र जुम, वाट्सअप, फेसबुक म्यासेनजरलगायतका न्यु मिडियाको सहयोगमा अनलाइन कक्षा हुने भएकाले अभिभावक मोबाइल र ल्यापटप किन्न आउने गरेको मोबाइल तथा कम्प्युटर व्यवसायीको भनाइ छ । बिहान व्यापार गर्न नभ्याएकाले फोनमा माग गर्नेलाई घरमा नै पुर्याउने गरेको उनीहरुको भनाइ छ । केही विद्यालयले दैनिक अनलाइन कक्षा सञ्चालन गर्ने पाइएकाले अभिभावकले अनलाइन कक्षाका लागि फोन गरेर मोबाइलका बारेमा सोध्ने गर्छन्, विशेषगरी राम्रो क्यामरा भएको १० देखि २० हजार मूल्यका मोबाइलको बढी बिक्ने गरेको मोबाइल व्यवसायी सुजन घिमिरेको भनाइ छ । उनले दैनिक पाँचदेखि १० वटा मोबाइल बिकेको जानकारी दिए । मोबाइल तथा ल्यापटपको व्यवसाय फस्टाउँदा निम्न वर्गको विद्यार्थीलाई यसले असर पुर्याएको बताइएको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पूर्वप्राचार्य ऋषिराम पोखरेलले यस्तो अवस्थाले निम्नवर्गका विद्यार्थीलाई मर्कामा पार्ने बताए । अनलाइन कक्षा फाइदाजनक भए पनि सबैको पहुँचमा नहुनुले दुःखित तुल्याएको उनको भनाइ छ ।
थप १३ जनामा कोरोना पुष्टि, एकैदिन २३९ जनामा देखियो, संक्रमितको संख्या १८ सय नाघ्यो
काठमाडौं । सोमबार थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये पाल्पाका १७ र ३६ वर्षीय पुरुष रहेका छन् । नवलपरासीका ६ वर्षीय बालक, गुल्मीका २६ वर्षीय पुरुष, रुपन्देहीका ३ वर्षीय बालिका र ५४ वर्षीय पुरुष रहेका छन् । त्यस्तै, कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षको पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै सोमबार मात्रै थप २३९ जनामा कोरोना संक्रमण देखिएको छ । साथै, नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ ।
सुदूरपश्चिमकाे नीति तथा कार्यक्रम: सीमा नाकामा बस्ने नागरिकका लागि विशेष कार्यक्रम ल्याइने (पूर्णपाठसहित)
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ। प्रदेश सभाको छैठौं अधिवेसनको सातौं बैठकमा प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पन्तले कोभिड १९ को महामारीपछि जारी लकडाउनले सुदूरपश्चिमको अर्थतन्त्रमा पारेको प्रभाव र भविष्यमा पर्न सक्ने असरको क्षति न्यूनीकरण तथा अर्थतन्त्र पुनउत्थानमा सहयोग पुग्ने कार्यक्रम गरिने बताइन् । प्रदेशकाे नीित तथा कार्यक्रमममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र रहेको व्यास गाउँपालिकाको विकासलाई ध्यानमा राखी त्यस क्षेत्रका जनताको जीवन स्तर उकास्न विशेष कार्यक्रम ल्याइने उल्लेख गरिएकाे छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बासोबास गर्ने जनसमुदायका लागि सामाजिक सुरक्षा र विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उनले अर्थिक वर्ष २०७७/२०७८ को बजेट तथा कार्यक्रममा कोरोना प्रभावितलाई कृषिमा प्रथामिकता र कृषि ऋण उपलब्ध गराइने बताइन् । साथै, उनले रोजगारी गुमाएका व्यक्तिको रोजगारी अभिबृद्धि गरिने पनि बताइन् । पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः
चलाउने भनेका ४४ प्रकारका उद्योग चल्न सकेनन्, उद्योगी भन्छन्ः दुईटा पासले उद्योग कसरी चलाउने ?
काठमाडौं । लकडाउनले अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पुर्ण रुपमा बन्द भए पनि निजी क्षेत्र र सरकारबीचको छलफल पछि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । तर सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका अधिकांश उद्योगहरु सञ्चानल हुन सकेका छैनन् । प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीले सबै प्रकारका उद्योग सञ्चालन गर्न सरकारले सहयोग गर्ने भनेर धेरै पटक भनिसकेका पनि छन् । तर उद्योगीहरुले सरकारले उद्योग खोल्न सहजीकरण गर्नुको साटो भाषणबाजीमा मात्रै लागेको आरोप लगाएका छन् । उद्योगीहरु सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योगहरुमध्ये अधिकांश सञ्चालन नभएको बताउँछन् । सरकारले उद्योग संचालनको लागि पासको व्यवस्था मिलाउने भनेको तर उद्योग सञ्चालन गर्न सरकारले २ वटा पास मात्र दिएको उद्योगीहरु बताउँछन् । लकडाउनको बेला सहज रुपमा आवतजावत गर्न नसकिने अवस्थामा उद्योगमा धेरै संख्यामा कामदार तथा श्रमिक खट्नु पर्ने र पास २ वटा मात्र भएकाे अवस्थामा उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भनेर उद्योगीहरु नै सरकारसगँ प्रश्न गरिरहेको छन् । उद्योगमन्त्री लेखराज भट्टले लकडाउनको मोडालीटी परिवर्तन गरेर उद्योग सञ्चालन गर्ने भनेर बताइरहेका छन् । बैशाख २६ गतेदेखि देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले सुरुमा ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिने र बिस्तारै बाँकी रहेका अन्य उद्योगहरु सञ्चालन गर्ने भनेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योग सञ्चालन नभएको बताए । सरकारले उद्योग सञ्चालन गर्ने भनेर निर्णय पनि उद्योग सञ्चालनका लागि माथिल्लो तहदेखि तल्लो तहसम्म समन्वय नभएकोले समस्या आएको गोल्छाको भनाइ छ । नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा साखस स्टीलका डाइरेक्टर किरण साखसले स्टील उद्योगहरु बन्द नै रहेको बताए । सरकारले उद्योग सञ्चालन गर भनेर मात्रै नहुने भन्दै उनले मजदुर कसरी व्यवस्थापन गर्ने, उत्पादित वस्तु कहाँ लगेर बिक्री गर्ने भन्ने समस्या रहेको बताए । ‘सरकारले उद्योग सञ्चालन गर्ने मात्रै भनेको छ, एउटा उद्योग सञ्चालनका लागि सरकारले जम्मा २ वटा पासको व्यवस्था गरेको छ, २ वटा पासले कसरी उद्योग सञ्चालन गर्ने ? स्टील उद्योगमा त भारतका मजदुरहरु पनि आवश्यक पर्छ, अहिले भारतबाट मजदुर ल्याउने अवस्था पनि छैन, त्यसैले उद्योग संचालन गर्न सकिएन,’ साखसले भने । आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी व्यवसायी उत्साहित भए पनि शुरुका दिनमा कच्चा पदार्थ तथा श्रमिक व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको व्यवसायीको गुनासो रहेको साखसले बताए । बाहिरी जिल्ला र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उद्योग सञ्चालन नभएको उद्योगीको भनाइ छ । लकडाउनमा नै सरकारले उद्योग सञ्चालन गर्ने भनेर सरकारले निर्णय गरे पनि अझैसम्म उद्योग सञ्चालन हुन नसकेको उद्योगीहरु बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले थोरै संख्याका सिमेन्ट उद्योग मात्रै संचालन भएको बताए । सरकारले चुनढुङ्गा खानी सञ्चालन गर्न दिए पनि स्थानीय तहको अवरोधको कारण खानी सञ्चालन गर्न नसक्दा सिमेन्ट उद्योग सञ्चालन नभएको थापा बताउँछन् । ‘सरकारले खानी सञ्चालन गर्दा हुन्छ भनेर उत्साहित हुँदै उद्योगहरु खानी सञ्चालन गर्न गएका थिए, तर स्थानीयले अवरोध गरेपछि सिडिओलाई जानकारी गराउँदा मिलाउनुस न भन्नुहुन्छ, यस वर्ष सिमेन्ट उद्योग धेरै बन्द हुने अवस्था आयो, भारतबाट चुनढुङ्गा ल्याएर सबै उद्योगले उद्योग सञ्चालन गर्न कठिन छ,’ अध्यक्ष थापाले भने । उद्योग विभागका महानिर्देशक जिवन प्रकाश सिटौलाले सरकारको नीतिअनुसार नै उद्योग सञ्चालका लागि पास वितरण भएको बताए । कारोनाको महामारी रहेकोले त्यसलाई पनि ख्याल गर्नुपर्ने महानिर्देशक सिटौला बताउँछन् । पास वितरणको पनि नियम भएकोले त्यो नियमलाई हेरेर दिइएको उनको भनाइ छ । उद्योग सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीले के के भनेका थिए ? प्रधानमन्त्री केपी शर्मा ओली- जेठ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनमा नै विभिन्न आयोजनाहरुको काम नरोकिएको बताएका थिए । कोरोना नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगलाई सञ्चालनको अनुमति दिई संचालनको व्यवस्था गर्ने उनको भनाइ थियो । उद्योग व्यवसाय संचालनको प्रबन्ध मिलाइने भन्दै प्रधानमन्त्री ओलीले लकडाउन मात्र गर्ने हो भने अर्थतन्त्र थप धराशायी हुने भएकाले उद्योग सञ्चालन गर्ने बताएका थिए । अर्थमन्त्री- अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दा उद्योग संचालनका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले उद्योग धेरै समय बन्द रहँदा आर्थिक क्रियाकलाप बन्द हुने भएकाले सरकारले उद्योग सञ्चालनका लागि सहयोग गर्ने बताएका थिए । उद्योगमन्त्री- नेपाल उद्योग परिसंघले जुममार्फत गरेको एक कार्यकममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोनासगँ डराएरभन्दा पनि सावधानीका उपाए अपनाएर उद्योग कलाकारखाना चलाउने तयारी भएको बताएका थिए । सरकारले सुरुमा कोरोना नेपालमा भित्रनै नदिने भने पनि नेपालमा कोरोना फैलिदै गएको छ । अब कोरोना भाइरसबाट सावधानी अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउदै लैजाने तयारीमा सरकार रहेको भट्टले जानकारी दिएका थिए । तर, मन्त्रीले भने जस्तो उद्योग संचालन हुन सकेका छैनन् । सरकार लकडाउन खुकुलो बनाउनुपर्ने बाध्यतामा पर्दै गएको छ । हाल निजी क्षेत्र सरकारले उद्योग संचालनको व्यवस्था मिलाउने पर्ने नत्र निजी क्षेत्रले उद्योग संचालन गर्दा सरकारले हस्तक्षेप गर्न नपाउने भनेर माग गरिरहेको छ । निजी क्षेत्रले यस्तो माग गर्दै गर्दा कोरोना भाइरसको सङ्क्रमण पनि फैलँदो क्रममा छ । यस्तो बेला सरकारले कोरोना सङ्क्रमण पनि रोक्ने र अर्थतन्त्रलाई चलायमान कसरी गर्ने भनेर गम्भीर गृहकार्य आवयश्य देखिन्छ । यी हुन् सञ्चालन भइरहेका ४४ प्रकारका उद्योग प्रतिष्ठान १. खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २. दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग ३. औषधी, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु ४. खानेपानी उत्पादन गर्ने उद्योगहरु ५. इँटा उद्योग ६. पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग ७. खाने तेल तथा घ्यू उद्योग ८. चिनी उद्योग ९. चिया प्रशोधन उद्योग १०. एलपीजी ग्याँस उद्योग ११. प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग १२. कफि उद्योग १३. पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग १४. नूडल्स तथा तयारी चाउचाउ उद्योग १५. मसला उद्योग १६. अलैंची र अदुवा प्रशोधन उद्योग १७. कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग १८. धान चामल र चिउरा उद्योग १९. दाल उद्योग २०. पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग २१. खानी तथा खनिजजन्य उद्योग २२. बालुवा प्रशोधन तथा क्रसर उद्योग २३. सिमेण्ट उद्योग २४. आइरन तथा स्टिल उद्योग २५. पेन्टिङ्गस (रंगरोगन) उद्योग २६. जीआई र प्लास्टिक पाईप र फिटिंग्स उद्योग २७. बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग २८. जुुस तथा हल्का पेयपदार्थ उद्योग २९. प्लाइउड र भेनिर उद्योग ३०. विद्युत उत्पादन, विद्युतीय सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धित उद्योगहरु ३१. जस्ता पाता उद्योग ३२. हेभी मेशीनरी औजार मर्मत संभार ३३० खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरी, डोलोमाइट, रेडक्ले, फलाम लगायत) ३४. सःमिल र काष्ठ उद्योग ३५. आल्मुनियम उद्योग ३६. ग्रील उद्योग ३७. फोहोरमैला संकलन तथा प्रशोधन उद्योग ३८. ढुवानी तथा कार्गाे सेवा उद्योग ३९. मेसिन पार्टपूर्जा वर्कसप उद्योग ४०. मोटर ग्यारेज वर्कसप उद्योग ४१. छापाखाना तथा प्रेस सम्बन्धी उद्योग ४२. सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग ४३. विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग ४४. औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग उद्योग पूर्णरुपमा बन्द रहने स्थलहरु सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु, होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फनपार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न पाइदैन । १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाइने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ । नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा सरकारले संचालन गर्ने भनेर किटान गरेका क्रियाकलाप स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था सरकारले गरेको छ ।
जग्गा कित्ताकाटको बाहनामा लाखौं रकम असुल्ने अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा
काठमाडाैं । रुपन्देहीको भैरहवास्थित नापी कार्यालका अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर भएको छ । जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो । नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी र लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुले आपसी मिलोमतोमा १७ लाख रुपैयाँ बराबरको घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । लेखन्दास शर्माविरुद्ध १७ लाख, नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीलाई १२ लाख रुपैयाँ र नायव सुब्बा पन्थीविरुद्ध ५ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको उनले बताए ।
करिब ३३ अर्बको बजेट कृषि र रोजगारी सिर्जनामा केन्द्रित हुनेछ
हामी अहिले बजेट निर्माणको प्रक्रियामा छौं । आज मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको छ । सो नीति तथा कार्यक्रममा पनि धेरै विषयहरु समेटिएका छन् । प्रदेशमा कृषि आधुनिकरणदेखि पर्यटन, उद्योथ पर्यटन विकासमा सुदूरपश्चिम सरकारले ध्यान दिएको छ । अहलिे हामीले हेर्ने भनेको कोरोना भाइरसले पारेको प्रभाव हो । सुदूरपश्चिम सरकारको मात्र नभएर समग्र देशको ध्यान अहिले कोरोना भाइरसको जोखिम कम गर्न र यसले पारेको असर पुर्नत्थगान गर्न तर्फ छ । हामीसँग उद्योग, कलकारखाना छैन । हामी सँग त्यति धेरै अन्य कुनै उत्पादन पनि छैन । अहिले हाम्रो रणनीती कृषि आधुनिकीकरण नै हो । हामीले कृषिमा लगानी बढाउने र त्यसपछि शिक्षा स्वास्थ्य, उद्योग पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्नका लागि अगाडि बढ्छौं । त्यही अनुसारको नीति तथा कार्यक्रम पनि आएको छ भने बजेट पनि त्यसैलाई आधार मानेर आउँछ । प्रदेशको बेरोजगारी दर घटाउन र आर्थिक वृद्धिदर बढाउनका लागि अहिलेको मुख्य प्राथमिकता कृषि नै हो । चालू आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएका थियौं । अब आगामी आर्थिक वर्षका लागि हामी त्यसलाई बढाएर करिब ३३ अर्ब हाराहारीको पुर्याउने गृहकार्यमा छौं । सुदूरपश्चिम सरकारको आगामी बजेटमा कृषि, स्वास्थ्य, उद्योग र पर्यटन क्षेत्र मुख्य प्राथमिकतामा छन् । यो वर्ष कृषिमा गत आवभन्दा ३२ देखि ३५ प्रतिशत बढी बजेट विनियोजन गर्दैछौँ । गत वर्ष हामीले कृषि मन्त्रालयलाई २ अर्ब २५ करोड रकम दिएका थियौँ । यो वर्ष ३ अर्बको बजेटको सिलिङ मन्त्रालयलाई पठाएका छौँ । हामीसँग सीमित वित्तीय स्रोत र असीमित उद्देश्य छन् । अहिले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको कारणले हाम्रो ध्यान त्यतातर्फ पनि जानेछ । आज प्रस्तुत भएको नीति तथा कार्यक्रमको आधारमा बजेट तयार हुन्छ । १ असारमा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता भएकोले त्यहीअनुसार गृहकार्य गरिरहेका छौँ । अहिले रोजगारीको सिलसिलामा भारत गएका सुदूरपश्चिमका लाखौं मानिसहरु स्वदेश फर्किरहेका छन् । अबको चुनौती भनेको उनीहरुलाई रोजगारी दिनु पनि हो । उनीहरुलाई स्वरोजगार बनाउनका लागि सुदूरपश्चिम प्िरदेश सरकारले स्वरोजगार विकासकोष पनि ल्याएको छ । सो कोष मार्फत धेरैलाई रोजगारी तथा आत्मर्निभर पनि बनाउन सकिन्छ । उनीहरुलाई कृषिमा लगाउनको लागि पनि हामी सँग धेरै योजना तथा कार्यक्रमहरु छन् । एक अर्बको बिउ पुँजी कोषमा छ । किसानलाई हामीले न्यूनतम ब्याजदरमा पुँजी, बिना धितोमा ऋण दिने योजना पनि बनाएका छौं । सो मार्फत पनि धेरे किसानहरु लाभान्वित हुनेछन् । उनीहरुलाई उनीहरुले चाहे अनुुसारको तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने तर्फ प्रदेश सरकारको ध्यान जानेछ । प्रदेश र स्थानीय तहहरुबाट सञ्चालन भइरहेका र हुने कार्यक्रमहरुलाई उनीहरुलाई परिचालन गर्नेछौं । सबैभन्दा धेरै रोजगारीको क्षेत्र कृषि हो । समग्र आर्थिक वृद्धिदरको करिब ३७ प्रतिशत कृषिले ओगटेको छ । बजेटमा यो क्षेत्रले बढी प्राथमिकता पायो भने हाम्रो खाद्य संकट पनि विस्तारै हटेर जान्छ । हामी आत्मनिर्भर बन्ने तर्फ अगाडि बढ्छौं । चालु आवको बजेट कार्यान्वयनको अवस्था कस्तो रह्यो ? चालू आर्थिक वर्षका लागि हामीले २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएका थियौं । जुन रुपमा हामीले नीत ितथा कार्यक्रम प्रस्तुत गरेका थियौं । बजेट पनि त्यही अनुसार नै आएको थियो । नीति तथा कार्यक्रममा नै रहेर हामीले बजेट ल्याएका थियौं । समग्र रुपमा हामीले बजेटलाई राम्रै कार्यान्वयन गरेका छौं । हामीले प्रदेशमा वित्तीय सम्मेलन र्गयौँ । यसबाट हामीले अर्थतन्त्रमा सुधार ल्याउन धेरै कुराहरू सिकेका छौँ । यो वर्ष विकास निर्माणका काम तीव्र गतिमा बढाउने सोचेका थियौँ । तर, अहिले जुन रुपमा विश्व महामारीका रुपमा कोरोना भाइरसको महामारी आयो त्यसले अवश्य नै यसमा असर पुर्याएको छ । कोरोना भाइरसकै कारण हामीले सोचे अनुरुपको गर्न नसकिएकै हो । तर, पनि चालू आर्थिक वर्ष २०७६/७७ सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर अन्य प्रदेशको भन्दा बढी अर्थात ४.०८ प्रतिशत हुने भएको छ । यो हाम्रा लागि राम्रो कुरा हो । संघको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका विषयहरु समेटिएका छन् । यसले पनि हामीलाई धेरै सहयोग पुर्याएको छ । (अर्थमन्त्री बोहरासँग विकासन्यूजका सन्तोष रोकायाले गरेको कुराकनीमा आधारित)
घुस लिएको अभियोगमा नापी कार्यालयका पाँच जनाविरुद्ध मुद्दा दायर
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट र नामसारी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भन्दै मतियारको भूमिकामा रहेको राजकुमार अर्यालविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले मिलेमतोमा १७ लाख रूपैयाँ बराबरको घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगले लेखन्दास शर्माविरुद्ध १७ लाख रूपैयाँ, नापी कार्यालय भैरहवाका नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीविरुद्ध १२ लाख रूपैयाँ, नायबसुब्बा पन्थीविरुद्ध पाँच लाख रूपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस