कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो
काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५ सय थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो । सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेलाई ज्याकेट हस्तान्तरण गरे । उत्पादक सङ्घका अध्यक्ष पौडेलले नेपालमा आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रभावकै कारण कोरोनाको सन्त्रास कम देखिएको उल्लेख गर्र्दै पछिल्ला दिनमा यसको महत्व बढ्दै गएको बताए । चिकित्सक सङ्घलका अध्यक्ष डा ज्ञवालीले वितरित ज्याकेटले औषधि उत्पादक, चिकित्सक, स्वास्थ्यकर्मी एक ठाउँमा छन् भन्ने सन्देश दिएको बताए । उनले भने, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।” यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ । कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन् । यही बेला आयुर्वेद चिकित्सकले अधिकतमरूपमा आयुर्वेदलाई आम मानिसमाझ पुर्याउनुपर्ने बेला आएको चिकित्सकहरुको भनाइ थियो । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष लामिछानेले अब आयुर्वेद औषधि उत्पादक, व्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीले आयुर्वेदलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए । सरकारले भर्खरै आयुर्वेद ‘गाइडलाइन’ बनाएर आयुर्वेद तथा जडीबुटीजन्य औषधिको प्रवद्र्धनमा ध्यान दिएको छ । नेपालीको रोेगप्रतिरोधात्मक क्षमता आयुर्वेद तथा जडीबुटीहरुकै कारण उच्च रहेको प्रमाणित भइसकेको आयुर्वेद चिकित्सकको भनाइ थियो । रासस
‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’
नेपालगञ्ज । नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ । भाडाको घरमा बसेर रिक्सा चलाउने पेशा अंँगालेका कोरीसँग आम्दानीको कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र आफ्नो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य भए । बन्दाबन्दीका कारण इरिक्सा चलाएर आफ्नाे दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र मात्र हो । उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन इरिक्साको कमाइले धानेको छ । बाँके जिल्लामा झण्डै १० हजार इरिक्सा सञ्चालनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउनु हुन्छ । लामो समयको बन्दाबन्दीले अहिले यिनै रिक्सा चालकको दैनिक कमाइ गुमेको छ । आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न ठूलै समस्या नपरे पनि रिक्सा चलाएरै बिहान बेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमाा भोक र मानसिक तनाव दिएको छ । झण्डै दुई महिनासम्म घरमै लकडाउनको पालना गरेर बसेका यहाँका केही रिक्सा चालक अहिले सडकमा रिक्सा लिएर निस्कन थालेका छन् । उनीहरुको यस्तो प्रयासले भने निरन्तरता पाउन सकेको छैन । स्थानीय प्रशासनले कडाइ गरेका दिन घर फिर्ता जानुको उनीहरुसंँग अरु कुनै विकल्प रहँदैन । ‘अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाइ, आफन्तसंँग ऋण लिएको रकम पनि भ्याइसकियो । रिक्सा नचलाए अब त हाम्रो परिवार भोकभोकै मर्छ’, बन्दाबन्दीमा रिक्सा चलाउने भनेर निस्किनुभएका नेपालगञ्ज—१३ का मोहम्मद हमिद इद्रिसीले दुःख पोखे । बन्दाबन्दीमा ठूलै आँट गरेर रिक्सा सडकमा लिएर निस्कनेलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोक्ने तथा पैदल हिँड्नेहरु पनि कोरोना संक्रमणको डरले रिक्सामा बस्न नरुचाउने कारणले रिक्सा चालकले सोचे जस्तो भएको छैन । ‘रिक्सा चलाउन त दिनै मिल्दैन । समस्या सबैलाई परेको अवस्था हो, रिक्सा चालक त्यसवाट अछुतो रहने सवाल नै रहँदैन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गको भनाइ छ । बन्दाबन्दीको शुरुवाती चरणमा स्थानीय तहका वडा कार्यालयले केही मात्रामा चामल, दाल र नूनतेल राहत उपलब्ध गराए पनि अहिले त्यस्तो सहयोग पनि नपाएको रिक्सा चालकको गुनासो छ । ‘बन्दाबन्दीभरि हामीले छाक टार्ने राहत पाएमा रिक्सा चलाउन जानै पर्दैन नि’, रिक्सा चालक इद्रिसीले भने । रासस
सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द
काठमाडौं । दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालन गरियो । हजारौँ विद्यार्थी विद्यालय पुगे । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला पर्यो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला परेको पहिलो घटना हो । अधिकांश सङ्क्रमित सियोलबाहिरको बुकन शहरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् । शहरको सबै २ सय ५१ विद्यालय बन्द गरिएको छ । राजधानी सियोलमा निर्धारण गरिएको १ सय १७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ । सियोलको एक विद्यालयमा अध्ययनरत एक छात्रमा सङ्क्रमणको पुष्टि भएको छ । छात्रकी आमा बुकनस्थित वेयरहाउसमा कार्यरत हुनुहुन्छ । सियोल शहर र वरिपरिको सार्वजनिक पार्क तथा सङ्ग्रहालय बन्द गरिएको छ । भिड गर्न नहुनेमा जोड दिइएको छ । सन् २०१९ को अन्त्य तथा जनवरी महिनामा दक्षिण कोरिया विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्रको रुपमा देखा पर्यो । तर ‘ट्रेस, टेष्ट र ट्रिट’को नीति कठोरतापूर्वक लागू गर्दा कोरिया एक महिनाभित्रै सङक्रमण नियन्त्रणमा ल्यायो । शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला पर्यो । दक्षिण कोरियामा सङ्क्रमित हुने ११ हजार ४ सय २ पुगेको छ । २ सय ७२ जनाकाे मृत्यु भएकाे छ । (गाेरखापत्र दैनिकबाट)
रुरु गाँउपालिकाकाे रिडीमा तीनमुखे पुल बन्दै
गुल्मी । बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब ६ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र पुल निर्माणलाई अघि बढाउन निर्देशन दिएपछि बन्दाबन्दीमा निर्माण रोकिएको छैन । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीका करणजीत बर्माले झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । पुलको स्याङ्जातर्फको टावर ब्लक निर्माण सम्पन्न भइसकेको छ । अब मुख्य पिलरको पाँचौं तलामा काम भइरहेको छ । पिलर सात तला बनेपछि भ्युटावरको निर्माण काम पूरा हुने बर्माले बताउनुभयो । पाल्पा र गुल्मीतर्फको पिलरको काम यस महिनामा सम्पन्न हुनेछ । कोभिड –१९ को महामारीमा पनि कामदारले कामलाई निरन्तरता दिएका हुन् । कामदारमा अहिले कोभिड –१९ का कारण मनोबल कमजोर भइरहेकाले काम अघि बढाउन आगामी महिना समस्या हुने बर्माको धारणा छ । गुल्मी जिल्लामा कोभिड –१९ को प्रभाव बढ्दो मात्रामा देखिएको छ । यसै आवमा काम सम्पन्न हुने भए पनि बन्दाबन्दीले सामग्री ल्याउन समस्या हुँदै आएको छ । सङ्घीय सरकारको कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ रुपैयाँ लागतमा पुल निर्माण भइरहेको हो । नयाँ बाटो रुबिनामना जेभीले निर्माणको जिम्मा पाए पनि ढिलासुस्ती हुँदा स्थानीय बासिन्दा पुल नै नबन्ने हो कि भन्ने चिन्तामा रहँदा निर्माण धमाधम भएपछि खुशी देखिएका छन् । नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाउँपालिका, पाल्पा तानसेनको अर्गली र स्याङ्गजाको कारीकोट जोड्ने झोलुङ्गेपुल निर्माण हुँदा स्थानीय बासिन्दामा खुशी छाएको हो । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा बन्ने तीनमुखे पुल नेपालकै नमूना बन्ने रुरु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताए । पुल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने उनको विश्वास छ । कालीगण्डकीको किनारबाट नै पाल्पा, गुल्मी र स्याङ्जा जोडिने पुल बनेपछि आवतजातमा सहज हुने स्थानीय बासिन्दा चूरामणि तिमिल्सेनाले बताउनुभयो । धार्मिक पर्यटन गन्तव्यका रुपमा प्रख्यात रिडीमा पर्यटक आगमन बढ्दा समग्र यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने तिमिल्सेनाको जिकिर छ । विसं २०७१ मंसिर १५ गते शिलान्यास गरिएको पुल निर्माण पक्षको लाहपरबाहीका कारण अलपत्र अवस्था रहेको थियो । परराष्ट्रमन्त्रीका सचिवालय सदस्य जंग नेपालीका अनुसार चुनाव जितेपछि अलपत्र पुल निर्माणले निरन्तरता पाएको छ । मन्त्रीको निर्देशनपछि तीनमुखे पुल निरन्तर रुपमा भइरहेको र यसै आव २०७६/७७ मा काम सम्पन्न हुने नेपालीले बताए । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्क विभागको सहयोगमा पुल निर्माण भइरहेको छ । कुल ५४० मिटर लम्बाइ रहने पुलका प्रत्येक तीन लुठ्ठाको लम्बाइ १ सय ८० मिटर हुनेछ । नेपालकै चार धाममध्ये (मुक्तिनाथ, बराह, देवघाट) रुरु एक हो । यस क्षेत्रलाई भारतको बनारससँग पनि तुलना गर्ने चलन छ । रिडीस्थित शालिग्राम पाइने कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्ति हुने विश्वास छ । रिडी पौराणिक कालदेखि नै पवित्र तीर्थस्थलमा रुपमा परिचत छ । पाल्पाको अर्गलीतर्फको भागमा ऋषिकेश मन्दिर र गुल्मी जिल्लाको रिडीतर्फ रुरुकन्याको तपोभूमि रहेको पाइन्छ । रासस
स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना, गण्डकी प्रदेशमा ३७ जना पुगे संक्रमित
काठमाडौं । स्याङ्जा र पर्वत जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लामा भने पहिलो पटक एकैचोटी ५ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार पर्वतको फलेवास नगरपालिकाका २० र ४० वर्षिय पुरुष, र महाशिला गाँउपालिका निवासी ३ जना १९, २०, २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिका निवासी ४ जना २२, २६, ३२, ४० वर्षिय पुरुषहरु र विरुवा गाँउपालिकाका २० वर्षिय पुरुषसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । हालसम्म ३ जना उपचारपछि निको भइ घरफर्किएका छन् ।
इजरायली प्रधानमन्त्री कार्यालयकाे कर्मचारीमा कोरोना
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको हो । ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने जानकारी भने दिइएको छैन । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा यसबारे अनुसन्धान जारी रहेको उल्लेख छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ । यसभन्दा अगाडी पनि प्रधानमन्त्री नेतन्याहुले दुई पटक कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अप्रिल महिनामा तत्कालीन स्वास्थ्यमन्त्रीमा कोरोना परीक्षण गरिएको थियो, यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ ।
फौजी किरा नियन्त्रण गर्दै दुल्लु नगरपालिका
दुल्लु । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो । आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक ६ सय पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिए । ‘किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर र न्यापस्याक टर्की लगायतका विषादी प्रयोग गरेका छौं’, उनले भने । नगरपालिकाले सबै वडामा रोगसँग भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ । एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ । यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ । सबैजसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भए पनि फौजी किराले गत वर्षदेखि ८० प्रतिशत जति क्षति पुर्याउँदै आएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । विगत दुई–तीन वर्षदेखि यो किराको आक्रमणले उत्पादनमा ह्रास आइरहेको उनले बताए । ‘यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौं’, उनले भने । यस्तो अभियान स्थानीय तहका रूपमा नगरपालिकाले प्रदेशमै पहिलोपटक थालेको हो । रासस
हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन : ट्रम्प
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् । प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन् । टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।’ साे सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो । ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो । गभर्नरलाई ट्रम्पको आह्वान ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । भिडिओ सम्मेलनमा ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन् । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन् । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् । स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन् । न्यूयोर्कका पूर्व परीक्षक डाक्टर माइकल बाडेनले पत्रकार सम्मेलनमा भने, ‘मेरो विचारमा हत्याको कारण घाँटीमा दबाइएकाले भएको हो । त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ ।’ एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ । उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ । अमेरिकाका विभिन्न सहरमा छैठौं दिन पनि प्रदर्शनहरू भइरहेका छन् र दशकौंमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ । चिकित्सक बाडेनले फ्लोइडको मृत्यु हुनेगरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए । फ्लोइडको परिवारका वकिलले मानिसलाई नियन्त्रणमा लिने तरिकामा सुधार गरेको भए फ्लोइडको जीवन बचाउन सकिने भन्दै त्यसका लागि मिनियापलिसको प्रहरी कार्यालयलाई आरोप लगाएका छन् । (बीबीसी)