अजोड इन्स्योरेन्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । अजोड इन्स्योरेन्सले जारी गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा एक लाख २६ हजार आवेदकले ५० लाख कित्ता भन्दा बढी सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले माग गरेको भन्दा १.८३ गुणा बढी हो । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।
ग्लोबल आइएमई बैंक छाेड्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सम्झिए परशुराम कुँवर क्षेत्रीले, यस्ताे छ कारण
स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैकको संचालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ । म मेरो रोज़गार समझौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैकिंग क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ । जिन्दगी भर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरेँ अर्थात विहान ९ बजे देखि बेलुका ९ वजे सम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाइमा त अब्बल नै थिएँ तर सरकारी स्कूल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहवाट बैकिगं क्षेत्रमा प्रवेश गरेको थिएँ । म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो । तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६” को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टासियर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सीईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता / सरकार र समूदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकारयोग्य थिएन । विं.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीईओको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थे । त्यो हिसावले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग साढे ३१ वर्ष सम्बध्द हुन पुगेको छु। ग्लोवल आईएमई बैंकले राम्रो गरेको छ । राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैकको क्षमता छ । बैंकको पूर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ । बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममूखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस गर्ने छु । यस्तो गूणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र, म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु । विगत करिव साढे ३ दशक बैंकिंग क्षेत्र र त्यस भन्दा अघि करिव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु / म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु। यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक दैनिक रूटिङ प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैकिगं क्षेत्रका कर्मचारीलाई तालिम प्रदान गर्नमा बिताउने छु । तालिम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ। मैले बैकिगं क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाढ्न चाहान्छु। मैले सधैं भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् । मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापूर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै मच्जाकाे निद्रा राेजे, मिठाे खाना कहिल्यै रोजिन। यसले मलाई त्रास मुक्त बनायो। कतिपय अवस्थामा यो मेरो शक्ति पनि बन्याे, कमजाेरी पनि । यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबै भन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैकिगंको महाविद्यालय ग्रिन्ड्लेज / स्टैण्डर्ड चार्टड बैंकलाई स्रेय जान्छ । म वहाँहरुलाई सधै सम्झने छु । बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे तीन वर्ष वर्ष नेपाल बैकमा काम गर्दा ( जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु। अन्तमा, बैंकिगं क्षेत्रमा जे जति गर्न सकें यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु । धन्यवाद (ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि क्षेत्रीले सामाजिक सञ्जालमा राखेकाे भनाइ)
गाडी चलाउने सरकारको निर्णयमा व्यवसायीको धारणा ‘सरकारले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरोस्’
काठमाडौं । सरकारले भोलि अर्थात शुक्रबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी खोजेका छन् । सरकारले स्वास्थय सुरक्षाको ग्यारेन्टी गरे आफुहरु गाडी चलाउन तयार भएको यातायात व्यवसायीहरुले धारणा राखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उचित स्वास्थ्य व्यवस्था मिलाए आफुहरु तयार भएको तर महासंको आधिकारिक भनाई भने भोलि बस्ने कार्यसमितिकाे बैठकले नै गर्ने उनले बताएका छन् । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न सकिने निर्णय गरेको लगत्तै उनले विकासन्युज सँग भने, ‘गाडी चलाउने र यातायात व्यवसायीको स्वास्थ्य सुरक्षा सरकारले ग्यारेन्टी गर्नुपर्छ, यसको बारे महासंको आधिकारिक धारणा भने भोलि बस्ने महासंघको कार्यसमितिकाे बैठकले गर्नेछ ।’ सरकारले यातायात व्यवसायीहरुले ५० प्रतिशत भाडा बढाएर सञ्चालन गर्न सकिने निर्णय गरेको छ । तर, सिटौला भने भाडादरको बारेमा पनि भोलिको बैठकले यकिन गर्ने बताउँछन् । धेरै गाडीहरु अहिले ग्यारेजमै कुहिने अवस्थाको भएकोले सरकारले त्यसको उचित प्रवन्ध नगर्दासम्म अहिले नै यही हुन्छ र गाडी चलाउँछौं भन्ने अवस्था नरहेको उनको निजी धारणा छ । गाडीहरु ग्यारेजमा रहेकोले त्यसलाई सही अवस्थामा ल्याउन अर्थात सर्भिस गर्न पनि धेरै समय लाग्ने उनी बताउँछन् । सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि ट्याक्सीहरू तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताएका छन् । सरकारले नयाँ मापदण्डअनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सवारीसाधन चल्न पाउने निर्णय गरेकाे छ । सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ । एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।
टेलिकमले पूर्णरुपमा विस्थापित गर्यो तारवाला फोन
काठमाडौं । नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन(पीएसटीएन) लाई पूर्णरुपमा विस्थापित गरेको छ । फाइबरमा आधारित एफटिटिएच सेवाले उक्त फोनलाई विस्थापित गरेको हो । बर्दघाटमा २०५६ साल चैत्र महिनामा १५० लाइन क्षमताको सि डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १००० क्षमताको जे र्याक प्रणाली जडान गरिएको थियो । २०७२ सालमा ८९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो । सो पश्चात ग्राहकको अत्यधिक मागका कारण ३००० लाइन क्षमताको ओएलटी एक्सचेञ्ज जडान गरीे ०७६ श्रावण २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवाको वितरण शुरु गरिएको थियो । नयाँ एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र इन्टरनेट सेवा उपयोग गर्न सक्दछन् भने कम्पनीले भविष्यमा वितरण गर्ने आइपिटिभी सेवा पनि प्राप्त गर्न सक्नेछन् । सामाजिक दुरी कायम गर्दै कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा वस्यालले ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन अनुरोध गरेका छन् । उनले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्घता पनि व्यक्त गरेका छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले आगामी दिनमा अझ बढी गुणस्तरीय सेवा प्रदान गर्दै निर्देशनालयभित्र पर्ने सबै स्थानहरुमा अत्याधुनिक प्रविधिका दूरसञ्चार सेवाहरु क्रमशः विस्तार गरिने बताए । नेपाल टेलिकमले मुलुकभरी हालसम्म ७० हजारभन्दा बढी एफटिटिएच लाइन वितरण गरिसकेको छ । प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु (सूचीसहित)
काठमाडौं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले लकडाउनका कारण चैत ११ गतेबाट बन्द रहेका सार्वजनिक सवारी सञ्चालदेखि अन्तर्राष्ट्रिय साहयता स्वीकृत गर्नेसम्मका निर्णयहरु गरेको छ । यस्ता छन् सरकारका निर्णय सार्वजनिक यातायात चलाउन पाइनेः सरकारका प्रवक्ता तथा अर्थ र सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु बिहिबार सार्वजनिक गर्दै सार्वजनिक यातायात चलाउने निर्णय भएको बताएका हुन् । तर, सार्वजनिक यातायातले अब भाडादरमा ५० प्रतिशत बढी लिन पाउने छन् । ट्याक्सी पनि चल्नेः यस्तै, अब ट्याक्सी सेवा पनि सञ्चालनमा आउने भएका छन् । यसअघि चालक बाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन पाउने छन्ु । भाडादर भने पुरानै कायम छ । ५४ अर्ब ऋण सहायता स्वीकारः मन्त्रिपरिषद्ले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । सहरी क्षेत्रको शासकिय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । ५ अर्ब ९८ करोड सहायता पनि स्वीकारः यस्तै, नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ । कृषि अनुसन्धान परिषद कार्यकारी निर्देशक नियुक्त गर्न समिति गठनः कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक नियुक्तीका लागि सिफारिस गर्नका लागि ३ सदस्यीय समिति गठन गरिएको छ । जसमा मन्त्रालयका सचिव राजेन्द्र भारी, कृषि वैज्ञानिक श्रीराम न्यौपाने र सर्वराज खड्का समितिमा छन् । त्यसैगरी नेपाल प्रहरीको महानिरिक्षक पदमा शैलेश क्षेत्रलाई बढुवा नियुक्ती गर्ने निर्णय भएको छ । प्रशासनिक भवन बनाउन जग्गा दिनेः यसका साथै खतिवडाले स्याङजा जिल्ला फेदीखोला गाउँपालिकालाई प्रशासनिक भवन बनाउन जग्गा दिने निर्णय भएको पनि बताएका छन् । नेपाल रेडक्रसलाई ७ दिनभित्र सफाई पेशको मौकाः यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको काम कारबाही सम्बन्धमा समाज कल्याण परिषद्बाट भएको छानविनको सिफारिसका आधारमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिलाई समाज कल्याण ऐन, २०४९ को दफा २० वमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत ७ दिनको म्याद दिई सो सोसाइटीको केन्द्रीय कार्यसमितिलाई सफाई पेश गर्न मौका दिने निर्णय पनि गरेकाे छ । काठमाडौं–तराई दु्रतमार्ग सञ्चालन कार्यविधि स्वीकृतः काठमाडौं–तराई दु्रतमार्ग सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । त्यसमा नेपाली सेनाको तर्फबाट खटिने व्यक्तिको सन्दर्भमा एउटा व्यक्ति नभइ अर्कोले गर्ने सक्ने गरी लिचिलो बनाइएको निर्णय गरिएको छ । आइजीपीमा शैलेश थापालाई नियुक्त गर्ने: नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेकाे थियाे । साना व्यवसायी स्वरोजगार कोष नियमावली स्वीकृतः त्यसैगरी बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली २०७७ लाई स्वीकृत गर्ने निर्णय भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ । जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृती: राहुघाट मंगले जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेकाे छ ।
पाँच लाख घरको पुनर्निर्माण सम्पन्न, २५ प्रतिशत घर पुनर्निर्माणको क्रममै
काठमाडौं । भूकम्पबाट क्षति भएका मध्ये हालसम्म ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको बताएका हुन् । साथै, २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको उनले बताए । घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १ सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले ६ लाख भन्दा बढी गुनासाहरु सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताए । उनले भूमिहीन र सुकुम्बासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताए । समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो । समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिए । उनले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनु पर्ने बताए । प्राधिकरणको म्याद आगामी पुसमा सकिंदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ । बैठकमा सांसदहरुले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणले ४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास समिति लगायत सबैको सहयोगले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै राम्रा काममा अपनत्व लिन र कमीकमजोरी सुधारका लागि सुझाव दिन आग्रह गरेका छन् ।
५४ अर्ब ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको बताएका छन् । सो रकमबाट देशभरका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धिको काम अघि बढ्ने उनले बताउ । यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो जीवन बीमा दावी भुक्तानी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी प्रादेशिक कार्यालयले २ लाख ९ हजार ८ सय रुपैयाँ बराबराको जीवन बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित जगदिश कुमार भट्टको २०७६ साल फागुन ८ गते उपचारको क्रममा निधन भएकोले बीमितका श्रीमती मन्जु कुमारी भट्टलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । मृतकका श्रीमती मन्जु कुमारी भट्टले बीमित भट्टको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी पाएकी हुन् । धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले मिति असार २२ गते दाबी रकम दुई लाख तथा बोनस रकम ९ हजार ८ सय रुपैयाँ गरी जम्मा २ लाख ९ हजार ८ सय रुपैयाँ दाबी रकम दाबीकर्ता श्रीमती मन्जु कुमारी भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेका हुन् ।