ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशलाई दियो १० लाख रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।
जाजरकोटकाे पहिराेमा १२ बेपत्ता
जाजरकोट । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् । त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए । घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । पानी नियमित परिरहेकाले सम्पर्क गर्न समस्या भएको बताइएको छ ।
कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण
काठमाडौं । कुमारी बैंकको सम्पूर्ण कारोबार दुई दिन अर्थात शुक्रबार र शनिबार बन्द हुने भएको छ । बैंकले डाटा माइग्रेशन गर्नको लागि असार २६ गते र २७ गते दुई दिन सबै बैंकिङ् सेवा बन्द गर्न लागेको हो । देवः विकास बैंकलाई प्राप्ती गरेको यस बैंकले असार २८ गते आइतबारदेखि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले डाटा माइग्रेशन गर्न लागेको हो । साथै, डाटा माइग्रेशनको तयारीको लागि एटीएम, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ्ग लगायतका सबै डिजिटल कारोबारहरु उक्त दुई दिन बन्द हुने बैंकले जानकारी गराएको छ ।
पहिरोले भीमफेदी-कुलेखानी सडक अवरूद्ध
काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुनेबित्तिकै पहिरो पन्छाई भीमफेदी-कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। हेटौंडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथबाटै सञ्चालन गरिएको र त्रिभुवन राजपथको भैंसेबाट सबै यातायातलाई त्रिभुवन राजपथतर्फ पठाइएको भैंसे प्रहरीचौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए। मकवानपुरको विभिन्न ठाउँमा आज बिहानसम्ममा बाढी पहिरोले कुनै क्षति नपुर्याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
म्याग्दीकाे मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ । धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिए । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन । ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिए । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटानको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उहाँले जानकारी दिए । गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ । पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । वर्षा भइरहेको र बादल लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । मङ्गला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । भू–तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाइ म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सीमित ठाउँमा भएको अत्यधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताए । रासस
भाडा तिर्न नसकेर सिभिल मलका व्यवसायी तनावमा
काठमाडाैं । कोरोनाको संक्रमण बढेसँगै व्यापार पनि ठप्प भइरहेको बेला काठमाडामौ सञ्चालित सिभिल मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई भाडा तिर्न पनि समस्या देखिएको छ । लामो समयदेखि मलमा व्यवसाय गर्दै आएका उनीहरुको व्यवसाय ठप्प भएसँगै घरभाडा तिर्न पनि समस्या भएको गुनासो गरेका छन् । लामो समयदेखि मल सञ्चालक र व्यवसायीहरुबीच भाडा छुट गर्ने बारे छलफल भएपनि अझै सम्म त्यसको टुङ्गो भने लाग्न सकेको छैन । सञ्चालक पक्षले समय समयमा भाडा तिर्न भने पनि उनीहरुले भाडा तिर्न सकिरहेका छैनन् । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरले सञ्चालक र वयवासयीबीच भाडा छुट गर्ने कुरा विभिन्न समयमा भएपनि अहिलेसम्म निश्कर्षमा नपुगेको बताए । अन्तिमसम्म पनि यसको निश्कर्ष हुन नसके आफुहरु सञ्चालकसमक्ष तालाचावी बुझाउन बाध्य हुने उनले बताएका छन् । व्यवसायी के खाने र जीवन के धान्ने भन्ने अवस्थामा बैंकले पनि ऋण नदिने र सरकारले पनि कुनै राहत नदिएको बेला आफुहरुले सञ्चालकसमक्ष छलफल गरको तर अहिले सम्म कुनै निश्कर्ष नभएको उनले बताए । ‘हामीले सञ्चालक सँग यो शुन्य समयको भाडा हामी तिर्न सक्दैनौं भनेका थियौं, उनीहरुले पनि लकडाउन अवधिको भाडा ५० प्रतिशत छुट गर्न सक्छौं भनेका थिए तर सबै भाडा असार २५ गतेभित्र तिरिसक्नु पर्छ भन्ने उनीहरुको भनाई थियो, हामीले त्यो समय भित्र भाडा तिर्न सकेनौं, अहिले दवाव आएको छ, पैसा होइन हामीसँग भएको सम्पत्ति यही पसल हो भनेर ताला जावी बुझाउने मनासायमा छौं, उनले भने । अझै पनि यसको बारेमा छलफल भइरहेको छ उनको भनाई छ । अहिले सिभिल मलमा १ सय ६० पसल र त्यही अुनुसार पनि कामदार पनि रहेको उनले बताए । सबै व्यापारीको मुद्दा उठेको उनको भनाई छ । कोरोना महामारीसँगै आर्थिक संकट पनि भइरहेको बेला सरकारले पनि कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । अर्बौंको लगानी गरेर सिभिल मलमा व्यवसाय गर्दै आएका उनीहरु आर्थिक जोखिमा परेसँगै अत्तालिएका छन् ।
कास्कीमा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो
काठमाडौं । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ज्यान गुमाउनेमा पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापा उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको बताईएकाे छ । यस्तै पहिराेले ११ जना घाइते भएका छन् ।
वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द, माग पूरा गर्न आयात बढाउने गृहकार्य
काठमाडौं । अविरल भारी वर्षाले खोला तथा नदीमा आएको बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’, घिसिङले भने । उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको प्राधिकरणले जानकारी दिएको छ । बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेका कार्यकारी निर्देशक घिसिङले बताए । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युतगृह कतिवेला संचालन गर्न सकिन्छ भनेर अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमको भनाइ छ । प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणको भनाइ छ ।