झापामा बाढी : एकको मृत्यु, पाँच परिवार विस्थापित
बनियानी । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ । बाढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा विस्थापित बनेको हो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ । असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बाढीका कारण पाँच परिवार विस्थापित भएका थिए । विस्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इमेर्जेन्सी अपरेशन सेन्टर (इओसी) का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए । खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका १ हजार ३ सय १० परिवार बाढीको जोखिममा छन् । कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जोखिममा रहेको छ । त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । झापा गाउँपालिका–७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन् । यता भद्रपुर नगरपालिका वडा नं ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन् । प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन् । उच्च सतर्कता अपनाउन आग्रह झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागले आज बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बाढी आउन सक्ने जानकारी दिएको छ । विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ । विगत २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ । झापाको कनकाई नदीमा जलसतह शनिबार दिउँसो नै जोखिमउन्मुख तहमा पुगिसकेको थियो । कनकाई नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि सतर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ । घर बनाउने क्रममा लडेर मृत्यु झापा दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो पौने २ बजे दमक–६ स्थित एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको हो । घरको दोस्रो तलामा फिनिसिङको काम गर्ने क्रममा एक्कासी लडेर बेहोस भएका धोनियालाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
नेपाल रेडक्रस र कोका—कोलाको पहिलो चरणको सुरक्षा सामग्री वितरण जारी
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । यो साता नेपाल रेडक्रस र कोका—कोला नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । यस वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो । हालसम्म ९ सय ५० थान एन ९५ मास्क, २ सय ६५ थान सुरक्षा बुट, स्यानिटाइजर १ हजार ८ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३ सय र १३ हजार १ सय २ थान साबुन वितरण भइसकेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, “कोभिड विरुद्धको लडाईमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो । चिकित्सक र नर्सहरुको लागि यो एउटा प्रेरणा पनि हो ।” कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. चुमनलाल दासले सामग्री हस्तान्तरण लिदैँ भने, “यो महामारीमा सेवाको लागि चाहिने सामग्री प्रदान गरेकोमा रेडक्रस र कोका—कोला नेपालप्रति आभारी छौं । यस संकटमा अझ तीव्र सेवा विस्तार गर्न भेन्टिलेटर सहितको थप सुरक्षा सामग्री छिटै उपलब्ध गराइने कुराले हामी थप उत्साहित भएका छौं ।” कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “स्वास्थ्य संस्थाहरुले कोभिड—१९ विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर गरिरहेका सबै काम र शाहसी प्रयास गहन कृतज्ञताका हकदार छन् । हामी यहाँ स्वास्थ्यकर्मीहरुको सहयोगका लागि छौं जबकी उनीहरु हामी सबैको हेरचाह गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीका साथ हामी आशा गर्दछौं कि हाम्रो सहयोगले अग्रपंक्तिका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न मद्दत गर्नेछ र उनीहरुले यी चुनौतिपूर्ण समयमा आफ्नो मुल्यवान कामलाई जारी राख्न सक्नेछन् ।” प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेत स्थित मध्यपश्चिम अस्पताल र सुदुरपश्चिमाञ्चल स्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना बनाइएकाे जानकारी गराउँदै नेरेसोका निर्देशक दिव्यराज पौडेलले नेरेसो कोका—कोलाको साझेदारीबाट उपलब्ध सामग्री प्राप्त गर्ने अस्पताल तथा संस्थाहरुले हार्दिकताका साथ स्वीकार गरेको पाइएको बताएका छन् ।
विजय लघुवित्तका सीईओ बसन्तराज लम्सालको कार्यकाल थपियो
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालको कार्यकाल थपिएको छ । असार २७ गते बसेकाे संस्थाको सञ्चालक समितिको बैठकले लम्सालको कार्यकाल आगामी चार वर्षसम्मलाई थप्ने निर्णय गरेको हो । सीईओ लम्सालको पदावधी यही असार मसान्तबाट सकिने भएकाले लघुवित्तले साउन १ गतेदेखि लागू हुने अर्काे कार्यकाल थपेको संस्थाका डेपुटी सीईओ तथा कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिएका हुन् । कार्यकाल थप पश्चात लम्सालले २०८१ साल असार मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस विजय लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । साथै, हाल उनी नेपाल लघुवित्त बैंकर्स संघमा अध्यक्ष समेत रहेका छन् । यसअघि उनी सोही वित्तीय संस्थामा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा र बेलायतबाट डेभलपमेन्ट स्टडीज्मा मास्टर डिग्री हासिल गरेका लम्सालले करिव २० वर्ष विभिन्न एनजीओ आइएनजीमा काम गरेका छन् । सेफर वल्डको कन्ट्री डाईरेक्ट भएर काम गरिसकेका लम्सालसँग यूएन लगायत अन्य अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा रहेर पूर्वी यूरोप, अफगानिस्तानसहित विभिन्न देशमा सामाजिक विकासका क्षेत्रमा काम गरेको अनुभव छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको यो संस्था ७ वर्षअघि सञ्चालनमा आएको हो ।
पाँच सय परिवार विस्थापित, नौ शव भेटिए
जाजरकाेट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । सिंहका अनुसार ५ सयभन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेको बताए । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य शनिबार बिहानैदेखि जारी रहेको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिबाट र सर्वसाधारण बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । नौको शव भेटियो बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकामा अहिलेसम्म शव फेला परेको छैन । घाइतेको उद्धार बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । विस्थापितलाई खाने छैन सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ । घर छाडेर जङ्गलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् । रासस
इरानले फेरि लकडाउन जोखिम लिन सक्दैन – रुहानी
काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले कोरोना भाइरसको संक्रमण बढेसँगै पुन लकडाउन गर्दा अर्थतन्त्रमा असर पर्ने बताए । मुलुकमा कोरोना संक्रमण द्रुत गतिमा फैलिरहेको छ । यद्यपि देशले फेरि एकपटक लकडाउन गर्ने हो भने अर्थव्यवस्था नै लकहुने र सो जोखिम तिर लाग्न नसक्ने जनाएका छन् । अधिकारीहरुका अनुसार गएको चौबीस घण्टामा १ सय ८८ जनाको व्यक्तिको मृत्यु भएको छ भने २ हजार ३ सय ९७ जनामा थप कोरोना संक्रमण देखिएको छ । योसँगै इरानमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार नाघेको छ भने हालसम्म १२ हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ । इरानले पहिले नै अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका साथ संघर्ष गरिरहेको छ र कोरोना भाइरसको फैलावट रोक्नका लागि लगाइएको तालाबन्दी अप्रिलमा हटाइएको थियो । (बीबीसीकाे सहयाेग)
ट्रम्प पहिलो पटक मास्कमा सार्वजनिक, उनले भने, ‘हरेक चीजको समय र ठाउँ हुन्छ’
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलाे पटक सार्वजनिक रुपमा मास्क लगाएर देखा परेका छन् । ट्रम्पले वासिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमण गर्दा तथा घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटे । यस अघि ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गरेका थिए । उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्द जो बिडेनलाई अनुहारको मास्क लगाएकोमा गिज्याएकाे थिए । शनिबार व्हाइट हाउस छोड्ने बेला ट्रम्पले मास्क लगाएका थिए । उनले भने, ‘अस्पतालमा जहाँ तपाई धेरै मानिसहरूलाई भेट्नुहुन्छ, तपाईले मास्क लगाउनु पर्ने हुन्छ ।’ ट्रम्पले भने, ‘म कहिले मास्क लगाउनेको विरुद्धमा थिइनँ । तर मलाई लाग्छ हरेक चीजको समय र ठाउँ हुन्छ ।’ कोरोना महामारीले अमेरिकामा सताएपछि ट्रम्प सार्वजनिक रूपमा मास्क लगाएको यो पहिलो पटक हो । (बीबीसीकाे सहयाेगमा)
विश्वमा कोरोना संक्रमितको १ करोड २८ लाख नाघ्यो, उपचारपछि निको हुने ७४ लाख बढी
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २८ लाख ३९ हजार ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार आइतबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ६७ हजार ५ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७४ लाख ७७ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजार ६ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४ सयभन्दा बढी रहेका छन् । उपचारपछि १४ लाख ९० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१ हजार ४ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ४० हजार ८ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ५० हजारभन्दा बढी संक्रमित छन् । २२ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ३६ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ७ सय १७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार २ सय ३९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
उन्नती र सहकार्यको एकिकृत कारोबार सुरु
बुटवल । रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय उन्नति लघुुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाहरूले मर्जर मार्फत २६ गते शुक्रबार एक औपराचिककार्यक्रम गरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन । मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । सोपश्चात् कम्पनी रजिष्टर्डको कार्यालयले भने एकीकृत कारोबारको लागि जेठ १९ गते स्वीकृति दिएको थियो । दुवै निकायबाट स्वीकृति पाएपछि संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेसँगै पूर्वनिर्धारित मिति २६ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन । १५ वटा जिल्लामा लघुुवित्तसम्बन्धी कार्य गर्दै आएको उन्नती र दश जिल्लामा लघुुवित्त सम्बन्धी कार्य गर्दै सहकार्य बीच भएको भएको मर्ज पश्चात बनेको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको तीस करोड रुपैयाँ अधिकृत पुँजी, १४ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी, २ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी, ८० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन हुनुका साथै ५० हजार भन्दा बढी सेवाग्राही पुग्ने छन् । ५५ वटा शाखा कार्यालयहरु मार्फत २५ जिल्लामा सेवा प्रवाह गर्ने संस्थामा तीन सय भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाउनेछन् । मर्जर पछि बनेको एकिकृत संस्था उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा साविकको उन्नतीकी अध्यक्ष अनिता ढुङ्गाना शाह र प्रमुख कार्यकारी अधिकृत साविकको उन्नतीका प्रेम बहादुर पाठक रहने व्यवस्था भएको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी गराए । पाठकले संस्थाको केन्द्रिय कार्यालय रुपन्देहीको भैरहवामा रहने बताए ।