अब नबिल बैंकका ग्राहकको हरेक काम घरबाटै, सुरु भयो ‘नबिल डिजी बैंक’
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा नबिल डिजि बैंकको सुभारम्भ गरेको छ । वर्तमान डिजिटल प्रविधिको माग र ग्राहकलाई डिजिटल प्रविधिमा संलग्न गराउने उद्धेश्यका साथ नबिल डिजिटल बैंक योजना सुभारम्भ गरेको हो । बैंकले आफुलाई पुर्ण रुपमा डिजिटल रुपमा सञ्चालन गर्न र ग्राहकमा डिजिटल माध्यमबाट नै वित्तीय साक्षरता बढाउने उद्धेश्यका साथ साे योजना सुभारम्भ गरेको बताएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आइतबार वेबिनार कार्यक्रम मार्फत उक्त सेवाको सुभारम्भ गरेका हुन् । उनले बजारको मागलाई मध्येनजर गर्दै नबिल बैंकले नबिल डिजी बैंङ्ककाे योजना ल्याएको बताए । ‘डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छु, बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो त्यसलाई आधार मानेर हामी अगाडि बढिरहेका छौं, उनले भने । ‘बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजिी बैंकमा जानेछ, उनले भने । बैंकको पहुँचमा नभएका तथा बैंकभन्दा टाढा रहेका ग्राहलाई मध्येनजर गर्दै र बैंकको लागत घटाएर त्यसको फाइदा ग्राहकलाई दिने मुख्य उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको डिजि बैंकका प्रमुख विनय रेग्ग्मीले बताए । ग्राहकले बैंकमा गर्ने हरेक कारोबार र सेवाहरु डिजिटल माध्यमाटै गर्ने उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको उनको भनाई छ । संसारमा बैंकिङ सम्बन्धि पाइने प्रविधि ल्याएर सो सेवाहरु ग्राहकलाई दिने बैंककाे याेजना छ । रेग्मीले ग्राहकले पाउने डेबिट क्रेडिट कार्ड पनि डिजिटलको माध्यमबाटै पाउने बताए । उनले ग्राहकमा डिजिटल सम्बन्धि सचेतना दिने खालका कार्यक्रम पनि गर्दै जाने योजना रहको बताए । नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेको उनले बताए । बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ । बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने बैंकले जनाएको छ । अहिले पनि डिजिटल माध्यमबाट ग्राहकको काम भइरहेको भएपनि अब द्रुत र उच्च प्राथमिकताका साथ डिजी बैंकमार्फत काम हुने बैंकले बताएको छ ।
सिसुवामा बगे ७ घरः ११ बेपत्ता
खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ । घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ । रासस
बबई नदीको बाढीमा बगेर दुई बेपत्ता
बर्दिया । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन् । ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । रासस
अरुण तेस्रोले निर्माण व्यवसायीलाई भुक्तानी नदिएको गुनासो
खाँदबारी । निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्ने सङ्खुवासभाका स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । अरुण तेस्रो परियाजनाको मकालु गाउँपालिकामा ड्यामसाइट (बाँधस्थल) र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम चलिरहेको छ । परियोजनामा काम गर्ने अधिकांश स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाउँदा मारमा परेको बताएका छन् । परियोजना निर्माणको काम भारतको सतलज जलविद्युत् निगमले गरिरहेको छ । एसजेभिएनले पावरहाउसतर्फको काम गर्ने जिम्मा पटेल इञ्जीनियरिङ कम्पनी र बाँधस्थलतर्फको काम जयप्रकाश एशोसिएट निर्माण कम्पनीलाई दिइएको छ । यी दुई ठेकेदार कम्पनीले स्थानीय नेपाली निर्माण कम्पनीलाई पूर्वाधार विकासको काम पेटी ठेक्कामा दिए पनि कामअनुसार रकम भुक्तानी समयमा नदिँदा नेपाली निर्माण व्यवसायी निरुत्साहित बनेका हुन् । आयोजनाको ३० प्रतिशतभन्दा बढी निर्माणको काम भइसकेको छ । परियोजनामा रौता कन्स्ट्रक्शन प्रालिले गत असारमा सडकको कजवे निर्माणको काम सके पनि हालसम्म पनि सम्झौताअनुसारको रकम पाउन नसकेको प्रालिका प्रतिनिधि भीम थापा थापाले बताए । रौताले १४ वटा कजवेसहित सडक मर्मतको काम एक वर्ष पहिले नै सम्पन्न गरे पनि नौ वटा कजवे निर्माण गरेको रकम पटेल इञ्जीनियरिङ कम्पनीले हालसम्म भुक्तानी नगरेको थापाको भनाइ छ । पटेल कम्पनीले रौतालाई रु दुई करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनले भने । कार्यसम्पन्न भएको एक वर्ष पूरा हुँदा पनि कार्य मूल्याङ्कनसमेत गरेको थापाले गुनासो गरे । रौताले मकालु गाउँपालिकाको आम्राङबाट अडिट–२ (सोलाखनी) सडकखण्डमा कजवे र पर्खाल निर्माणको जिम्मा लिएको थियो । रौता कम्पनीमार्फत स्थानीय निर्माण व्यवसायी निमा लामा, इन्द्र कटुवाल, दुर्गा पराजुली, धनकुमार राई, नवराज थापालगायतलाई ठूलो रकम भुक्तानी हुन बाँकी रहेको व्यवसायीको भनाइ छ । परियोजनाले दर्जनभन्दा बढी नेपाली निर्माण कम्पनीहरुलाई कामको जिम्मेवारी दिए पनि समयमा रकम भुक्तानी नहुँदा उनीहरु मारमा पर्ने गरेका हुन् । निर्माणको जिम्मा लिएर एकपटक काम गरेका कम्पनीले पुनः अर्को निर्माणकार्यको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । समयमा रकम भुक्तानी नहुँदा स्थानीय कामदार र व्यापारीसमेत मारमा पर्ने गरेका छन् । निर्माण व्यवसायीले स्थानीय हार्डवेयर व्यापारीलाई समेत लाखौँ तिर्न बाँकी छ । परियोजनाको काम शुरु भएसँगै स्थानीयस्तरमा दुई दर्जनभन्दा बढी निर्माण व्यवसायी कम्पनी खोलिए पनि उनीहरुले परियोजनामा काम पाएका छैनन् । काम पाएका निर्माण कम्पनी पनि समयमा रकम भुक्तानी नपाएपछि काम नगर्ने पक्षमा छन् । काम सम्पन्न भएको महिनौंसम्म रकम भुक्तानी नहुँदा थोरै पूँजी भएका व्यवसायीले कामदार र निर्माण सामग्रीको रकम भुक्तानी गर्नसमेत नसकेको बताएका छन् । निर्माण व्यवसायीले रकम नपाउँदा कामदार र व्यापारीसमेत मारमा पर्ने गरेका छन् । परियोजनामा सात हजार नेपाली कामदरलाई रोजगारी दिने परियोजना विकास सम्झौता (पिडिए)मा उल्लेख छ । अहिलेसम्म पनि परियोजना प्रभावित क्षेत्रका स्थानीय कामदार न्यून छन् । लामो समयदेखि अल्झिएको अरुण तेस्रो परियोजना सरकारले विसं २०७१ मङ्सिर ९ गते परियोजना विकास सम्झौता (पिडिए) गरेको हो । परियोजनाको नेपाल प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाखमा काठमाडौँको द्वारिका होटलबाट स्वीच थिचेर उद्घाटन गरे । निर्माण कम्पनी सतलजले अबको पाँच वर्षमा विद्युत् उत्पादन शुरु गर्ने जनाएको छ । परियोजनाले करिब रु एक अर्ब २९ करोड मुआब्जा प्रभावित क्षेत्रका स्थानीयवासीलाई बाँडिसकेको छ । दुई सय ६५ परिवारको घर तथा जग्गा अधिग्रहण गरेको परियोजनाले जनाएको छ । परियोजनाबाट नेपालले २५ वर्षमा कूल ३ खर्ब ६२ अर्ब प्राप्त गर्नेछ । सो रकममध्ये रोयल्टीबापत १ खर्ब १६ अर्ब र आयकरवापत ८० अर्ब पाउनेछ । नेपालले १ खर्ब ६६ अर्बबराबरको निःशुल्क विद्युत् पनि पाउनेछ । स्थानीयवासीलाई ३० युनिट र नेपाललाई परियोजनाले उत्पादनको २१ दशमलव नौ प्रतिशत अर्थात् पूर्ण क्षमतामा उत्पादन भए १९७ दशमलव एक मेगावाट बिजुली निःशुल्क दिनेछ । बिजुली उत्पादन शुरु भएको २५ वर्षपछि सतलज कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । रासस
सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन
खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । रासस
चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा, जगेडा कोषबाट लाभांश वितरणका लागि राष्ट्र बैंकसँग स्वीकृति माग
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा जान सक्ने बताएका छन् । कर्जा असुली नहुँदा गर्नु पर्ने प्रोभिजनको कारण बैंकहरु नोक्सानमा जाने उनले बताए । ‘अवस्था राम्रो छैन’ दाहालले भने- ‘बैंकहरुकाे अपरेशन लसमा हुँदैनन, तर प्रोभिजनले लस गराउँछ ।’ बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले यस वर्षको नाफाबाट नसके संचित कोषबाट भएपनि सेयरधनीलाई लाभांश दिनुपर्ने बताए । साना लगानीकर्ताको घर चलाउन, सेयर बजारमा राम्रो सन्देश दिन मौद्रिक नीति मार्फत नै यस्तो व्यवस्था हुनुपर्ने उनले बताए । तर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले यस्तो सम्भावना कम रहेको संकेत गरेका छन् । ‘बैंकको सल्भेन्सीमा असर पर्नु भएन । अन्तर्राष्ट्रिय रुपमा स्थापित नर्म्समा असर पर्नुभएन’ उनले भने । भारत लगायत केही देशमा बैंकहरुलाई लाभांश वितरणमा रोक लगाएको सन्दर्भ पनि उनले उल्लेख गरे । उनले एनएफआरएस अनुसार अक्रोलबेस वासलात नबनाई क्यासबेस वासलात बनाउनु पर्ने बताए । हिसावमा नाफा देखिन, सरकारलाई कर बुझाउनु पर्ने तर लगानीकर्ताले लाभांश नपाउने खालको वासलात सच्याउनु पर्ने गोल्यानले बताए । यस विषयमा राष्ट्र बैंक, आईक्यान, कर प्रशासनका प्रतिनिधि संलग्न एक समितिले अध्ययन गरिरहेको र माैद्रिक नीतिमा सम्बोधन हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए । भिडियाे हेर्नुहाेस्
विदेशमा काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त
काठमाडौं । विदेशमा रहेका काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका जानकारी दिएकाे छ । साथै पछिल्ला दिनमा काेराेनाबाट मृत्यु हुने नेपालीको दरमा उल्लेख्य कमी देखिएकाे जनाएकाे छ । संसारभर २९ हजार ६ सय २४ जना संक्रमित नेपालीमध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले बताएकाे छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ । काेराेनाबाट नेपालमासहित ज्याने नेपालीकाे संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएका छन् । गत सातासम्म विदेशका १४ देशमा संख्या रहेका १ सय ४३ नेपालीले कोरोना संक्रमण कै कारणले ज्यान गुमाएका थिए ।
निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण
काठमाडाैं । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरे । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण शुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री विश्वकर्माले अहिलेको चुनौतीपूर्ण समयमा पनि रङ्गशाला निर्माण शुरु भएको भन्दै खुशी व्यक्त गरे । विकासका लागि बजेट अभाव नहुने चर्चा गर्दैै उहाँले दिगो विकास, प्रभावकारी तथा स्थायित्वसहितको डिजाइनमा रङ्गशाला सुन्दर, स्रोतसाधन परिचालनमा योजनाबद्ध एवं व्यवस्थित हुनुपर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले खेलकूद हुनेखाने मानिसका लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्यसँग जोडिएको बताउँदै रङ्गशाला निर्माणमा नगरपालिकाको सहयोगमा थप सहयोग गर्दै आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणकार्यलाई पूर्णता दिने बताए । सांसद एवं पूर्व मन्त्री बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने सपना पूरा हुने भएको बताएका छन् । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न खोज्दा चौतर्फीरूपमा नेमकिपाले विरोध गरेको उल्लेख गर्दै उनले भँगेरीडाँडामा बन्न लागेको रङ्गशालाको समेत सांसद प्रेम सुवालले संसद्मै विरोध गरेको बताए । नेपाल सरकारले उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कार्यक्रम ल्याएको र सोहीअनुसार प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले उक्त स्थानमा खेलकूद तथा पर्यटनको महत्वपूर्ण उद्गमस्थलका रूपमा विकास गर्ने योजना बनिरहेकोसमेत जानकारी गराए । रङ्गशाला निर्माण सम्पन्न भएसँगै चाँगुनारायणको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, रोजगारी, व्यापार व्यवसायलगायतका क्षेत्रमा भक्तपुरले ठूलो फड्का मार्ने विश्वास व्यक्त गरिएको छ । चाँगुनारायण नगरपालिकाले वडा नं ४ र ७ को भँगेरीडाँडामा जग्गा उपलब्ध गराएसँगै रङ्गशाला निर्माण शुरु भएको हो । सङ्घीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला निर्माण गर्ने उल्लेख गरेको थियो । सोहीअनुसार उक्त क्षेत्रमा रङ्गशालाको निर्माण शुरु गरिएको सांसद बस्नेतले बताए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रङ्गशाला नगरापालिकाले ५० लाख बजेट व्यवस्थापन गरी निर्माण शुरु गरेको छ । रङ्गशाला निर्माणका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता आएको छ । त्यस अवसरमा रङ्गशाला निर्माणको नेतृत्व लिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले रङ्गशाला निर्माणसँगै स्थानीय विकास, पर्यटन एवं कृषिको विकास, रोजगारीको व्यवस्थासँगै आर्थिक अवस्था वृद्धि हुने बताए । रासस