विकासन्युज

भक्तपुरकाे ३ सय वर्ष पुरानो पोखरीले पायो पुनर्जीवन

भक्तपुर । साँझ ढल्किँदै थियो। वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो। बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रूपमा परिणत गरिरहेको थियो। बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा डुंगा चलिरहेका थिए। पोखरीभित्र सीमित मानिस रहे पनि वरिपरि स्थानीयवासीको बाक्लो उपस्थिति थियो। मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो। थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करिब ३०० वर्षपहिले गंगा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि ‘निगु पुखुः’ निर्माण गराएकी थिइन्। पुनर्निर्माण गरिएको उक्त पोखरी मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका हुन्। विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो। २०६५ सालमा नगरपालिकाले १० लाख रूपैयाँ खर्चमा फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता यो पोखरी मंसिरमा धान सुकाउने र अन्य समय केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो। नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ५० लाख रूपैयाँ बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरू गराएको थियो। कुल १५ करोड लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। चालू आव ०७६/७७ मा १ करोड २५ लाख र बागमती प्रदेशले ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको उनले बताए। पोखरीको चारैतिर माः अप्पा र दाची अप्पाः (इँटा) मा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाइएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ। पोखरीमा तल कालिमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ। यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकाशेपानी संकलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताए। दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ। कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने जानकारी दिए। मध्यपुर थिमिभित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जिर्णोद्धार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउने बताए। रासस

धनगढीमा स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै

धनगढी । कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना सङ्कलन सुस्त भएको छ । आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना सङ्कलनमा कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । मन्त्रालयको तथ्याङ्कका अनुसार, पछिल्लो दुई दिनमा जम्मा ६सय १ जनाको मात्र नमूना सङ्कलन हुन सकेको छ । दुई हप्ता अघिसम्म दैनिक पाँच सयदेखि छ सयसम्म शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन हुने गरेको थियो । पर्याप्त नमूना सङ्कलन नभइरहेको र यसअघि परीक्षणका लागि सङ्कलित नमूनाको चाप पनि घट्दै गएको छ । शनिबारसम्म जाँच गर्नुपर्ने नमूना ९ सय ११ मात्र बाँकी छन् । गत जेठ महिनामा उकालो लागेको सङ्क्रमण दर पछिल्ला दिनमा घट्दै गएको छ । शनिबार कञ्चनपुरका तीन जनामा मात्र कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । यससँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७ सय ५८ पुगेका छन् । यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लागत रुपमा हालसम्म कैलाली ९९४, अछाम ५९२, बैतडी २९८, बझाङ १५९, बाजुरा ४४६, डडेलधुरा २६९, दार्चुला १९, डोटी ५३५ र कञ्चनपुरमा ४४६ जना सङ्क्रमित पुगेका छन् । ९९४ सङ्क्रमित पुगेको कैलाली जिल्ला देशभरमै सम्भवतः सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाका रुपमा देखिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भारतबाट आउनेहरुको सङ्ख्या र क्वारेन्टिनमा बसेकाहरुको सङ्ख्या घट्दै गएको जस्ता कारणले सङ्क्रमण दर घटेको बताए । उनले भने, “सीमामा आइपुग्नेहरु को कहाँ गइरहेका छन् भन्ने यकिन जानकारी थाहा नहुँदा पछिल्ला दिनमा स्वाब सङ्कलनमा पनि कमी आएको छ ।” आगामी चारपाँच दिन भित्रमा प्रदेशका सबै क्वारेन्टिनमा बसेका शङ्कास्पदको स्वाबको नमूना सङ्कलन गर्ने गरी तयारी गरिएको डा अवस्थीले जानकारी दिए । सीमा नाकाबाट आउनेहरुको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले सङ्क्रमण अब समुदायमा देखिने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलोपटक गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । गत वैशाख महिना शुरु हुँदासम्म पाँचजना सङ्क्रमित फेला परेकामा यसपछिको झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो ।

थला परेको पर्यटन क्षेत्र भन्छ– “पचास प्रतिशत क्षमतमा भए पनि सेवा सुरु गरौँ”

काठमाडौं । होटल एसोसिएशन नेपालको तथ्याङ्क भन्छ नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रुपमा आश्रित छन् । होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करीब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ । त्यस्तै नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा होटल क्षेत्रको मात्र योगदान पाँचदेखि सात प्रतिशतसम्म रहेको छ । तर यति समृद्ध क्षेत्रले अहिले दिनप्रतिदिन घाटा व्यहोरिरहेको छ भने जनशक्ति कामविहीन भएर बसेका छन् । प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै छ । यो क्षति होटल क्षेत्रको मात्र हो र यससँग जोडिएर आउने अन्य पर्यटकीय संरचनाहरु हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबास (होमस्टे) आदि अरू धेरैको अलग्गै छ । चैतयता चार महिना भयो देशको समग्र पर्यटन क्षेत्र नै सबै ठप्प छ । एकजना विदेशी पर्यटकले नेपाल प्रवेश पाउँदा उनीबाट कम्तीम पनि ११ जना नेपालीले रोजगारी पाउँछन् । पर्यटक नेपाल भित्रिएपछि दिनुपर्ने सबै सेवामा हुने संलग्नताको तथ्याङ्क हो यो, यद्यपि यो छोटै समयको रोजगारी हुनसक्छ । पर्यटकका लागि हुने हवाईदेखि सडक यातायात हुँदै ट्राभल एजेन्सीदेखि अरू धेरै क्षेत्र यसमा संलग्न हुन्छन् । पर्यटन क्षेत्रको यो पूरै ‘साइकल’ चार महिना यतादेखि ठप्पै छ । संसार यतिखेरको यो महामारीमा नफसेको भए हाम्रा लागि भने यो समय यसरी देशले पर्यटन क्षेत्रबाट भएको क्षतिको हिसाबकिताब गर्ने समय होइन । हामीमाथि पनि अहिलेको प्राकृतिक विपत्ति नपरिदिएको भए आज हाम्रा सञ्चारमाध्यमहरुले यो महिनामा यति पर्यटक भित्रिए र राज्यलाई यति आय भयो भनेर समाचार बनाउने बेला हो । हामीले यस वर्ष (सन् २०२०) लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी सबै पूरा गरिसकेका थियौँ र यस वर्ष नेपाल भित्र्याउने २० लाख पर्यटकमध्ये छ महिनामा यति जना आए भनेर हिसाब गरिरहेका हुन्थ्यौँ । अनि कुन कुन क्षेत्रमा कति पर्यटक भित्रिएका छन् र ती अलग अलग क्षेत्र र स्थान विशेषले यसबाट के कति आर्थिक आर्जन गर्न सके भन्ने हिसाबकिताब गरेका हुन्थ्यौँ । हाम्रो सन् २०२० को आधा वर्ष यसै खेर गइसकेको छ र अरू आउने दिन पनि त्यति सुनिश्चित छैनन् । यसरी हेर्दा हाम्रो देशको पर्यटन क्षेत्रलाई दोहोरो मार परेको छ । किनभने यस क्षेत्रले २० लाख पर्यटकको स्वागत सत्कारका लागि ऋणधन गरेर ठूलो संरचनागत लगानी गरेको थियो । तर प्रतिफल लिने बेलामा मुलुकको सिङ्गो पर्यटन क्षेत्र नै बैंकको ऋण कसरी तिर्ने भन्ने समस्यामा परेको छ । सन् २०२० को आगमनसँगै नेपाल कम्तीमा २० लाख पर्यटकलाई स्वागत गर्ने अन्तिम तयारीमा थियो । पाहुनाको स्वागतार्थ सरकार र निजी क्षेत्रले आवश्यक पर्यटकीय संरचना तथा सेवा क्षेत्रमा अरबौँ रुपैयाँ लगानी पनि गरेको थियो । तर अघिल्लो वर्षको वर्षान्तमा चीनको वुहानबाट सुरु भएको कोभिड¬–१९ को महामारी यसरी संसारमै र यहाँसम्म आइपुग्ला भन्ने कसैलाई रत्तिभर लागेको थिएन । नसोचेको विपत्तिले हामीले वर्षौंदेखि गरेको लगानीको प्रतिफल लिने बेलामा नेपाल भ्रमण वर्षका सबै कार्यक्रमहरु नै रद्द गर्नुपर्ने बाध्यता ल्याइदियो । यो कोरोना जीवाणु महामारीका बाछिटा हामीकहाँ देखिएसँगै संसारभर नै यसको त्रास छायो र यसबाट बच्न यात्रा प्रतिबन्धहरु नै लाग्न थाले । त्यसबाट हामी पनि प्रभावित भयौँ । त्यसपछि त नेपालमा पर्यटक आउने कुरै भएन । सन् २०२० पर्यटनमय हुने हाम्रो वर्षौंको तयारी यसै खेर गयो । निजी क्षेत्रले ऋण धन गरेर विस्तार गरेका होटललगायत सेवा क्षेत्रका संरचना पनि यस वर्षलाई निरर्थक भए । गएको डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको महामारीले विश्वमा पर्यटन क्षेत्रलाई सबैभन्दा बढी असर गरेको छ । विश्वका ट्राभल म्यागेजिनहरुले लेखेका छन् ‘सयौँ वर्षको इतिहासमा संसारका विश्वप्रसिद्ध पर्यटकीय स्थल तथा क्षेत्रहरु यसरी एकैपटक सबै बन्द भएको सायद यो नै पहिलो घटना हो’, ती अखबारहरुको धारणा छ, ‘प्राकृतिक प्रकोपहरु विश्वका कतिपय स्थान या क्षेत्र विशेषमा आउने गरेको भए पनि निश्चित क्षेत्रमात्र प्रभावित हुन्छ । तर यो महामारीले त विश्वलाई नै एकैपटक ठप्प पारिदिएको छ, कामधन्दा नै बन्द गरेर सबैलाई एकै ठाउँमा बस्न बाध्य बनाइदिएको छ । यो महामारीले संसारको धेरै क्षेत्रलाई नराम्ररी प्रभावित पारिदिएकोले विश्वको अर्थतन्त्र आगामी कैयौँ वर्ष उठ्न नसक्ने गरी थला परेको छ । महामारीको आज छ महिना पुगिसक्दा पनि यसको नियन्त्रणको कुनै स्पष्ट आधार देखिएको छैन । जसका कारण अझै यसले विश्वलाई कुन रुपमा प्रभावित पार्ने हो भन्ने स्पष्ट खाका नै बाहिर आउन सकेको छैन । यो अन्योलसँगै विश्वको अर्थतन्त्रका सामुन्ने अझै दुःखका दिन आउन सक्ने देखिँदैछ । अर्थतन्त्रका धेरै अवयव र आयामहरुमध्ये कुनै पनि देशको एक दरिलो खम्बा पर्यटन हो । यसले आर्थिक विकासका लागि सघाउने मात्र नभएर सांस्कृतिक आदानप्रदानका माध्यमबाट विश्व व्यवस्थालाई नै एक प्रकारले ‘भेन्टिलेट’ गर्ने काम गर्दछ । तर यसैको अभावमा अहिले विश्व उकुसमुकुसको अवस्थामा छ । एक देशबाट अर्काेमा त के देशकै एक ठाउँबाट अर्काे ठाउँमा पनि जान सक्ने अवस्था छैन । जसका कारण सिङ्गो पर्यटन क्षेत्र नै स्थिर भएर बसेको छ । नेपाली अर्थ व्यवस्थामा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगट्छ । नेपालमा विभिन्न मुलुकबाट बसेनी आउने लाखौँ पर्यटक वैदेशिक मुद्रा आर्जनको एक महत्वपूर्ण माध्यम बन्दै आइरहेको छ । नेपालको पर्यटन क्षेत्रले मात्र अर्थतन्त्रको कूल रोजगारीमध्ये कम्तीमा पनि २० प्रतिशत योगदान पु¥याउँदै आएको छ भने कूल ग्रार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान उल्लेखनीय छ । पर्यटन क्षेत्र उत्पादन गतिविधिसँग सम्बन्धित उद्योग भएकाले यहाँ आउने विदेशी नागरिकलाई यसले वस्तु तथा सेवा उत्पादन गरी बिक्री गरेर अर्थोपार्जन गर्न सहयोग गर्छ । नेपाली अर्थतन्त्रलाई उकास्न सकिने हाम्रा आफ्नै मुख्य तीन आधार कृषि, पर्यटन र जलस्रोत मध्येको एउटा महत्वपूर्ण आधार पर्यटन नै हो भन्न सकिन्छ । पछिल्ला केही वर्षहरुमा नेपाली दक्ष तथा अदक्ष मानव संसाधनको बहिर्गमन बढ्दो छ । जसका कारण यहाँ कृषि र जलस्रोतको विकास र विस्तारमा बाधा उत्पन्न भइरहेको देखिन्छ । त्यसैले पनि पर्यटन क्षेत्रको विस्तार र विकासबाट नै नेपालको समृद्धिको सुनिश्चितता गर्न सकिन्छ भन्ने प्रशस्त आधारहरु छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्, “यो महामारीको बेला हो त्यसैले निःसन्देह हाम्रो पहिलो काम त मानिसको ज्यान बचाउने नै हो । तर पनि ज्यानका साथसाथै साना तथा मझौला हुन् कि ठूला सबै उद्योगहरु बचाउने बेला पनि त यो हो । त्यसैले बच्ने र बचाउने यो अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाएर, नेपाल सरकारले तय गरेका निश्चित नीतिहरुलाई अनुसरण गर्दै कति क्षमतासम्म हुन्छ अब व्यवसाय खोल्नेतिर जानुपर्छ ।” होटल तथा अन्य पर्यटन क्षेत्रसँग सम्बन्धित साना व्यवसायहरु अब नखोल्ने हो भने उनीहरुको बैंकको ऋणदेखि लिएर अरू धेरै कारणले समस्यामा पर्ने अवस्था आएको र त्यहाँ काम गर्ने ठूलो सङ्ख्याका मजदूर तथा कर्मचारी निकै अप्ठेरो अवस्थामा छन् भन्छन् । ढकालले भने, “अब ती पर्यटन क्षेत्रका संरचनाहरुलाई बिस्तारै सञ्चालनमा ल्याउनुपर्छ र यसका लागि सरकारले बरु ५० प्रतिशत क्षमतामा नै सञ्चालन गर्नु भन्ने नीति बनाएर भए पनि खोल्न लगाउँदा राम्रो हुनेछ ।” “आर्थिक क्रियाकलापहरुलाई चलायमान बनाउनु राज्यका लागि पनि आवश्यक छ”, उनले भने । ढकालको भनाइ छ, “जस्तो कि कर तिर्ने प्रयोजनका लागि पनि केही त व्यवयास चलाउनै प¥यो नि ।” सरकारले पूर्ण रुपमा नभए पनि करीब ५० प्रतिशत क्षमतामा व्यवसाय सञ्चालन गर्नका लागि सरकारले पर्यटन तथा सेवा क्षेत्रका व्यवसायीहरुलाई अघि बढ्ने बाटो खोलिदिनुपर्ने उनले बताए । नेपालका ट्रेकिङ एजेन्सीहरुको संस्था, टानका अध्यक्ष खुम सुवेदी पनि यो धारणाप्रति सहमत छन् । उनले पनि पर्यटन क्षेत्रमा अब धेरै अप्ठेरो अवस्था आएकाले कुन रुपमा हुन्छ अथवा थोरै क्षमतामा नै भए पनि सञ्चालन गर्ने नीति राज्यले ल्याउनुपर्ने बताउँछन् । ट्रेकिङ क्षेत्रका व्यवसायीहरुले पनि अहिलेसम्म कम्तीमा १५ अर्ब नोक्सानी व्यहोरिसकेको उनको भनाइ छ । उनले भने, “यति धेरै घाटा भइसक्यो र करीब साढे तीन लाख जनशक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बेरोजगार भइसकेको अहिलेको अवस्थामा के कसरी मिल्छ व्यवसाय खोल्नुपर्ने पक्षमा राज्यले नीति अख्तियार गर्नुपर्छ र त्यसका लागि हामी पनि तयार हुनुपर्छ ।” होटल एसोसिएशन नेपालका अध्यक्ष सृजना राणाले यो महामारीले धेरै ठूलो क्षति मुलुकको होटल क्षेत्रलाई पुर्याएको भन्दै सुरक्षित मापदण्ड अपनाएर र अहिलेको महामारीबाट कसैलाई पनि असर नपर्नेगरी व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई छ । विश्व स्वास्थ्य संगठन तथा महामारी क्षेत्रका विज्ञहरुहरुले नेपाल ‘रेड जोन’ मा पर्ने अवस्था छकि छैन भन्ने कुरा स्पष्ट भनुन् र यो जोखिमको न्यूनिकरण गरेर व्यवसाय सुचारु गर्नुपर्ने वातावरण छिट्टै तयार होस् भन्ने पक्षमा आफू रहेको उनले बताए । महामारीपछि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने मापदण्ड होटल क्षेत्रले निर्माण गरिसकेको र सुरक्षित मापदण्ड अपनाउने सम्बन्धी जनशक्तिलाई त्यस मापदण्डअनुसारको तालिम दिएर सेवा शुरु गरिने उनले बताए । विभिन्न पाँचतारे होटलहरुमा सञ्चालित ट्रान्क्वीलिटी स्पाका प्रबन्ध निर्देशक विश्वास अधिकारीलाई यस क्षेत्रका दक्ष जनशक्तिलाई बेरोजगार बनाई राख्न अथवा यसै क्षेत्रमा थेगेर राख्न गाह्रो पर्ने चिन्ता छ । उनी भन्छन्, “वेलनेस (जिम, सउना, स्पा आदि) जस्ता क्षेत्रमा काम गर्ने जनशक्ति यसै क्षेत्रका विशेष सीप सिकेका दक्ष हुने भएकोले अहिले यही क्षेत्रमा राख्न सकिएन भने भोलि जनशक्तिको ठूलो अभाव सिर्जना हुने अधिकारी बताउँछन् । उनले भने, “यो वेलनेस क्षेत्र तीन तारेभन्दा माथिका होटलहरुले अनिवार्य राख्नुपर्ने र मानिसलाई नभई नहुने क्षेत्र भएकाले करोडौँ रुपैयाँको लगानी भएको र दशौँ हजार जनशक्ति कार्यरत रहेको यस क्षेत्रलाई पनि स्वास्थ्य सुरक्षाका निश्चित मापदण्ड अपनाएर खोल्न दिनुपर्छ, ती मापदण्ड अपनाएर सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्न हामी तयार छौँ ।” यस क्षेत्रले आफैँले पनि सुरक्षित मापदण्ड अपनाउन सक्ने भन्दै सरकारले हालको क्षमताको कम्तीमा ५० प्रतिशत क्षमतमा भए पनि खोल्न दिन माग गरे । विश्व अहिले कोरोना महामारीबाट जुधिरहेकै भए पनि यसबाट बच्ने खास सुरक्षित मापदण्ड अपनाएर आफ्नो पेशा, व्यवसाय र रोजगारीहरुलाई विस्तारै सामान्यतर्फ फर्काउने प्रयत्नमा लागेको देखिन्छ । भारतमा पनि नयाँ दिल्ली, मुम्बई, बैंगलोरलगायतका मुख्य सहरका होटल रेष्टुरेन्टहरु सरकारले अनुमति दिए बमोजिम बढीमा ५० प्रतिशत क्षमतामा सञ्चालनमा आएका छन् । त्यसैले नेपालमा पनि आर्थिक क्रियाकलापलाई चलायमान बनाउन, व्यवसायलाई क्रियाशील बनाई यसमा आश्रित तथा कार्यरत जनशक्तिलाई केही सन्त्वता दिन तथा अहिलेको उकुसमुकुसको यो अवस्थालाई सहजतातर्फ उन्मुख गराउन पनि सामाजिक दुरी कायम गर्दै आवश्यक सुरक्षा मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई अब सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरुको माग छ ।

मनसुन सक्रिय हुनेक्रम जारी

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ” उनले भने । न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए । यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १९.५, नेपालगञ्जमा ४.६, धनकुटामा ४४.२, विरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ ।   रासस

नबिल बैंककाे ठाउँमा पुग्न अरुलाई धेरै समय लाग्छः अनिल शाहको विचार

हामी जहिले पनि नयाँ र नर्मल कुरा गर्छौं । विश्वमा कोरोना भाइरसको महामारी नभएको भए आज हामी एउटा सानो हलमा हुन्थ्यौं होला । तर, कोरोनाको कारण हामी भच्र्युअल मिटिङमा छौं । आज नबिल बैंकले ३६ वर्ष पुरा गरेको छ । सन् १९८४ मा स्थापना भएको नबिल बैंकले यो ३६ वर्षे यात्रामा धेरै प्रगति गरिसकेको छ । नबिल बैंकले गर्व गर्न लायक धेरै काम गरेको छ । हामीले यो लकडाउनको समयमा पनि धेरै गृहकार्य गर्यौं । हाम्रो अबको योजना र उद्धेश्य भनेको वित्तीय क्षेत्र र डिजिटल बैंकिङमा छलाङ मार्नु हो । डिजिटलमा हामीले छलाङ मार्यौं भने नबिल बैंकलाई कसैले छुन सक्दैन । लकडाउनकै समयमा पनि हामीले धेरै काम गर्यौं । इलेक्ट्रोनिक सिग्नेचरको प्रडक्ट पनि लिएर आयौं । टिममा गृहकार्य गरेर जेन एन एकाउन्ट पनि ल्यायौं । हामीले लकडाउनको समयमा जुनसुकै काम पनि डिजिटल प्रविधिबाट नै गर्ने प्रयास गर्यौं । अब हामीले बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो सोच्नु पर्छ । नबिल बैंकले १२ वर्ष अगाडि अनलाइन एकाउन्ट सुरु गरेको थियो । अब हाम्रो एउटा रणनीति लिएर डिजिटल माध्यमबाट काम गर्न अगाडि बढेका छौं । यसले हाम्रो इफिसियन्सी र प्रडक्टीभिटी बढाओस् भन्ने हो । डिजिटल प्रविधि आजको बजारकोे माग के हो । त्यस अनुसारको योजना बनाएर हामी अगाडि बढाएका छौं । नबिल बैंक विभिन्न योजना तथा कार्यक्रमहरु ल्याउनेमा जहिले अगाडि नै छ । हामीले विभिन्न डिजिटल प्रविधिसँग काम गर्ने संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । अझै आगामी दिनहरुमा डिजिटल प्रविधिमै छलाङ मारेर अगाडि बढ्न चाहन्छौं । हामीले यही समयमा एउटा नयाँ पार्टनर पनि खोजेका छौं । संसारमा सबैभन्दा राम्रो के छ त्यसलाई नेपालमा कसरी ल्याउने भन्ने हाम्रो योजना र चाहना थियो । त्यही चाहना र आवश्यकतालाई मध्येनजर गर्दै हामीले हुवावेसँग समन्वय गर्यौं । अहिले नयाँ पुस्तालाई पनि नबिल बैंकमा संलग्न गराउन र प्रविधिमा फड्को मार्न नबिल बैंक भित्रकै एक नबिल डिजि बैंक सुभारम्भ गरेका छौं । ग्राहकको चाहनालाई कसरी पुरा गर्ने भन्ने तर्फ हाम्रो ध्यान गएको छ । आज भन्दा हाम्रो शुभ दिन अन्य कुन होला ? हामी वित्तीय क्षेत्रमा लिडरको भूमीका खेलेका छौं । हामी डिजिटल बैंकिङलाई अझ सबै नागरिकको पहुँचमा पुर्याउन चाहन्छौं । नबिल बैंकसँग धेरै अनुभवी टीम छ । परिपक्क र अनुभवी मात्र होइन नयाँ युवा पुस्ताको जोस जाँगर पनि हामीसँग छ । यी दुवै समुहको समन्वयले नबिल बैंक केही फरक र पृथक काम गर्न चाहन्छ । अरुलाई हाम्रो ठाउँमा पुग्न धेरै समय लाग्छ । अहिले नयाँ नर्मलमा चुनौती र अवसर पनि हुन्छ । यसैलाई सहकार्य र समन्वयको भूमीकाबाट डिजी बैंकलाई प्राथमिकता दिएका छौं । बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजी बैंकमा जानेछ । नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेका छौं । हामीले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छौं । यसका लागि हामीले ७२ जना कर्मचारी पनि छुट्याइसकेका छाैं । यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने छन् । अब हामी नयाँ टेक्नोलोजीको प्रयोग गरेर हाम्रा ग्राहकलाई सेवा प्रदान गर्नेछौं । नबिल बैंक अहिलेको अवस्थामा पुग्न ३६ बर्ष लाग्यो । अब ६ बर्षमा नै हाम्रो डीजी बैंक निक्कै ठूलो हुने हामीले आशा र अपेक्षा लिएका छौं । अहिले पनि हामी नेपाली बैकिङ क्षेत्रमा पायोनियर लिडर बैंकको रुपमा परिचित छौं । (नबिल बैंकका सीईओ शाहले बैंककाे ३६‌‌‍औं वार्षिकाेत्सव कार्यक्रममा रोखेको विचार)

मर्जर र एक्विजिनमा लाभांश कर छुटः राज्य हिस्स, बैंकका सेयरधनीले करोडौं कमाए

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएका बैंक वित्तीय संस्थाको संख्या घटाउनको लागि सरकारले ठूलो परिमाणको राजस्व गुमाउनु परेको छ । मर्जर तथा एक्विजिसनमा जाने बैंक वित्तीय संस्था तथा त्यसका सेयरधनीलाई सरकारले दिएको कर छुटसहितका सुविधाको कारण ठूलो परिमाणमा राजस्व गुमाउनु परेको हो । सरकारले बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको कारण घटाउन भन्दै मर्जर र एक्वीजीसन कानुनी व्यवस्था गरेर मर्जर र अक्वायरमा जाने बैंक वित्तीय संस्थालाई २ वर्षसम्म डिभिडेन्ड कर नलाग्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाको कारण मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले लाभांश कर तिर्नु नपर्ने भएको हो । गाभ्ने/गाभिने कार्यलाई प्रोत्साहन गर्न आयकर ऐन, २०५८ मा आर्थिक अध्यादेश २०६७ मार्फत दफा ४७(क) थप गरी विभिन्न छुटहरु दिइएको थियो । यस अनुसार ‘गाभ्ने संस्थाले गाभिने संस्थाको कट्टी हुन नसकेको नोक्सानीलाई आगामी सात बर्षसम्म दामासाहीले कट्टा गर्न, गाभ्ने/गाभिने संस्थामा कार्यरत कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ठ भुक्तानीमा लाग्ने करको दरमा पचास प्रतिशत छुट पाउने, गाभ्ने/गाभिने संस्थामा गाभ्नु/गाभिनु अघि कायम रहेका शेयरधनीहरुले गाभिएको दुई बर्षभित्र शेयर बिक्रीबाट आर्जन हुने लाभमा पूँजीगत लाभकर नलाग्ने, गाभ्ने/गाभिने संस्थाले गाभ्ने/गाभिने अघि कायम रहेका शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमा दुई बर्षसम्म कर नलाग्ने व्यवस्थाहरु रहेको छ । यस्तो सुविधा उपभोग गर्नको लागि गाभ्नरगाभिन चाहने संस्थाले २०७५ असार मसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजश्व विभागमा पेश गर्नुपर्ने र २०७६ असार मसान्तभित्र गाभिने प्रक्रिया पूरा गर्नु पर्ने’ व्यवस्था आर्थिक ऐन, २०७३ मा उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै लाइसेन्स दिएका बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र एक्विजिसनलाई प्रोत्साहन गर्ने राज्यको नीतिका कारण यसरी कर गुमेको हो । बैंक वित्तीय संस्थाले प्रदान गरेको लाभांशमा कति रकम लाभांश कर गुम्यो भनेर हिसाव गर्न सकिए पनि मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले २ वर्षसम्म सेयर बिक्री गर्दा पुँजीगत लाभकर तिर्नु पर्ने अर्को व्यवस्थाको कारण राज्यले गुमाएको कर रकम हिसाव हुनै सकेको छैन । आयकर ऐनमा दिइएको सुविधा प्रयोग गरी केही बैंकहरुले भने प्रत्येक २/२ वर्षमा साना साना संस्था खोजेर मर्जरमा जाने वा अक्वायर गर्ने गरेको पनि पाइएको छ । सिभिल बैंकले २०७१ जेठमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक्वायर गर्यो । आर्थिक वर्ष २०७१÷७२ मा सिभिल बैंकको चुत्ता पुँजी ३ अर्ब रुपैयाँको हाराहारीमा थियो भने उसले ७ प्रतिशत लाभांश दिएको थियो । अर्थात लाभांश वापत सो आर्थिक वर्षमा सिभिलले २१ करोड रुपैयाँ बाढ्यो । आर्थिक वर्ष २०७२/७२ मा सिभिलले ३ प्रतिशत लाभांश बाढ्यो । सो आर्थिक वर्षमा बैंकले सेयरधनीलाई ९ करोड रुपैयाँभन्दा बढी लाभांश दियो । आयकर ऐन २०५८ (संशोधनसहित) को व्यवस्था अनुसार सेयरधनीले लाभांश कर ५ प्रतिशत तिर्नुपर्छ । तर, मर्जर र अक्वायरमा गएका बैंक वित्तीय संस्थाले २ वर्षसम्म लाभांश कर तिर्नु नपर्ने व्यवस्था आर्थिक अध्यादेश २०६७ मार्फत गरियो । सो व्यवस्था कायम रहेको कारण आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा गरी १ करोड ५० लाख रुपैयाँभन्दा बढी लाभांश कर तिर्नु परेन । ग्लोबल आइएमई बैंकले २०६९ सालमा आइएमई फाइनान्स कम्पनी र ग्लोबल बैंक मर्ज भए । ग्लोबल बैंक र आइएमई फाइनान्स कम्पनीबीच मर्जरका कारण दुई आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकका सेयरधनीले लाभांश कर तिर्नु परेन । सोही कारण यो बैंकका सेयरधनीले पहिलो वर्ष ६ करोड ९० लाख र दोस्रो वर्ष ५ करोड ६० लाख रुपैयाँ लाभांश कर छुट पाए । एनआइसी बैंक र बैंक अफ एसियाबीच २०७० सालमा मर्जर भयो । मजर्रपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७७ करोड रुपैयाँ नाघ्यो । मर्ज भएपछि बनेको एनआइसी एसिया बैंकले आर्थिक वर्ष २०७१/७२ मा ४१ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत लाभांश दियो । यी दुबैं आर्थिक वर्षमा एनआइसी एसिया बैंकका सेयरधनीले क्रमशः ११ करोड ६५ लाख र ७ करोड ६५ लाख रुपैयाँ लाभांश कर छुट पाए । माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्सबीच २०६९ सालमा मर्जर भयो । मर्जरकै कारण सो आर्थिक वर्षमा माछापुच्छ्रे बैंकका सेयरधनीले २ करोड ९० लाख रुपैयाँभन्दा बढी लाभांश कर छुट पाए । सिटिजन्स बैंक इन्टरनेसनलले २०७१ चैतमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स अक्वायर गर्यो । सोही अक्वायरका कारण सो बैंकका सेयरधनीले २ वर्षसम्म क्रमशः ३ करोड २५ लाख र ३ करोड ४५ लाख रुपैयाँ जोगियो । सिद्धार्थ बैंकले २०७३ जेठमा विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्जर गर्यो । मर्जरमा गएका बैंक वित्तीय संस्थाले लाभांश तिर्नु नपर्ने नीतिगत व्यवस्थाका सिद्धार्थका सेयरधनीले पहिलो वर्ष ४ करोड ६३ लाख र दोस्रो वर्ष ५ करोड रुपैयाँभन्दा बढी कर छुट पाए । २०७३ असारमा बैंक अफ काठमाडू र लुम्बिनी बैंकबीच मर्जर भयो । मर्जरकै कारण लाभांश वितरण गर्दा दुई वर्ष सेयरधनीले लाभांश कर तिर्नु परेन । तिर्नु पर्ने हुन्थ्यो भने आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ६५ लाख र दोस्रो वर्ष ८ करोड ७५ लाख रुपैयाँ लाभांश कर तिर्नुपथ्र्याे । २०७४ असारमा कुमारी बैंकले काष्ठमण्डप, काक्रेविहार र महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी अक्वायर गर्यो । सोही अक्वायरका कारण कुमारी बैंकका सेयरधनीले आर्थिक वर्ष २०७४/७५ मा ३ करोड र आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ५५ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ पुसमा लक्ष्मी बैंकले प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक अक्यायर गर्यो । सोही अक्वायरका कारण लक्ष्मी बैंकका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ९३ लाख र आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ६९ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ पुसमा सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण सानिमाका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड ५१ लाख र आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ६० लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७५ वैशाखमा मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण मेगाका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ७ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ माघमा सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट अक्वायर गर्यो । सोही अक्वायरका कारण सनराइजका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड २५ लाख र त्यसपछिको आर्थिक वर्षमा ४ करोड ६८ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ चैतमा प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण प्राइमका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ८ करोड ५३ लाख र त्यसपछिको आर्थिक वर्षमा ६ करोड ४० लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७४ जेठमा सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण सेन्चुरीका सेयरधनीले २०७४/७५ मा २ करोड ६० लाख रुपैयाँ कर छुट पाए । २०७४ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण आर्थिक वर्ष २०७४÷७५ मा इन्भेष्टमेन्ट बैंकका सेयरधनीले २१ करोड २८ लाख र आर्थिक वर्ष २०७५/७६ मा १२ करोड २१ लाख रुपैयाँ लाभांश कर छुट पाए । कुन बैंकले कहिले कुनसँग गरे मर्जर अक्वीजीसन ? सिभिल बैंक –सिभिल बैंकले २०७१ जेठमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक्वायर गर्यो । –२०७३ असोजमा सिभिल बैंकले इन्टरनेसनल लिजिङ एण्ड फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७४ जेठमा सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७४ असारमा सिभिल बैंकले युनिक फाइनान्स अक्वायर गर्यो । ग्लोबल –२०७० चैतमा ग्लोबल आइएमई बैंकले कमर्ज एण्ड ट्रष्ट बैंक अक्वायर गर्यो । –२०६९ असारमा ग्लोबल बैंक र आइएमइ फाइनान्स कम्पनीबीच मर्जर भएर ग्लोबल आइएमई बैंक बन्यो । –२०७० असारमा ग्लोबल आइएमइ बैंकले सोसल र गुल्मी विकास बैंसँग मर्जर गर्यो । –२०७३ फागनमा ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक अक्यायर गर्यो । –२०७४ असारमा ग्लोबल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७६ भदौमा ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७६ पुसमा गते ग्लोबल आइएमइ बैंक र जनता बैंकबीच मर्जर भयो । एनआइसी एसिया –२०७० बैशाखमा एनआईसी बैंक र बैंकअफ एसिया मर्जर भएर एनआइसी एसिया बैंक बन्यो । माछापुच्छ्रे –२०६९ साउनमा माछापुच्छ्रे बैंक र तत्कालिन स्ट्याण्र्ड फाइनान्सबीच मर्जर भयो । सिटिजन्स –२०७१ चैतमा सिटिजन्स बैंक इन्टरनेसनलले तत्कालिन नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स अक्वायर गर्यो । –२०७३ असारमा सिटिजन्स बैंक इन्टरनेसनलले प्रिमियर फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७७ असारमा सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंक अक्वायर गर्यो । सिद्धार्थ –२०७३ जेठमा सिद्धार्थ बैंकले विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्जर गर्यो । विओके –२०७३ असारमा बैंक अफ काठमाडू र लुम्बिनी बैंकबीच मर्जर भयो । कुमारी –२०७४ असारमा कुमारी बैंकले काष्ठमण्डप, काक्रेविहार र महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी अक्वायर गर्यो । एनसीसी –२०७३ मंसिरमा एनसीसी बैंकसँग इन्फ्रास्टक्चर डेभलपमेन्ट, एपेक्स, सुप्रिम र इन्टरनेसनल डेभलपमेन्ट बैंकबीच मर्जर भयो । लक्ष्मी –२०७३ पुसमा लक्ष्मी बैंकले प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक अक्यायर गर्यो । सानिमा –२०७३ पुसमा सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक अक्वायर गर्यो । मेगा –२०७५ वैशाखमा मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७७ असारमा मेगा बैंकले गण्डकी विकास बैंक अक्वायर गर्ने निर्णय गर्यो । सनराइज –२०७३ माघमा सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट अक्यायर गर्यो । प्राइम –२०७३ चैतमा प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७६ भदौमा गते प्राइम कमर्शियल बैंकले कन्काइ विकास बैंक अक्वायर गर्यो । –२०७६ फागुनमा प्राइम कमर्शियल बैंकले कैलास विकास बैंक अक्वायर गर्यो । सेन्चुरी –२०७४ जेठमा सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७४ असारमा सेन्चुरी कमर्शियल बैंकले सगरमाथा फाइनान्स अक्वायर गर्यो । –२०७४ मंसिर सेन्चुरी कमर्शियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स अक्वायर गर्यो । इन्भेष्टमेन्ट –२०७४ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७६ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्स अक्वायर गर्यो । एनएमबी –२०७६ असोजमा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर भयो ।

डिशहोम योजनाका २ जना भाग्यशाली विजेताले पाए एक एक लाख रुपैयाँ

काठमाडाैं । “डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरी विजेता छनोट गरेको हो । यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआईडी नम्बर ७१९१३०९४८७७, ७१९१४०८१९१५ बिजेता बन्न सफल भएका छन् । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, शोकेस २ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने भएको छ ।

गुगल सटिफाईड एन्ड्रोईड टिभी अब सिजी ब्राण्डमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नेपाली बजारमा एन्ड्रोईड टिभी भित्राएको छ । नेपालकै पहिलो पटक गुगलबाट मान्यता पाएको एन्ड्रोईड टिभीलाई सि.जीले आफ्नो नेपाली ब्राण्डमा ल्याएको हो । गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ । यो टिभी. सिजीले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाईएको हो । अब तपाईहरुले यो टिभी. आफ्नो बजेट अनुरुप विभिन्न साईजहरुमा किन्न सकिन्छ । यो टिभी. ३२ इन्च देखि ७५ इन्च सम्ममा उपलब्ध छ । यो टिभीसँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, आवाज कम वा बढी गर्न, टिभी. बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिन्छ । यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले तपाईले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ । त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिनेछ। त्यसैगरि गुगल प्लेस्टोरको माध्यबाट तपाईले नयाँ नयाँएप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सकिने छ । गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ । त्यसैगरि अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ । जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ ।