विकासन्युज

कालिका लघुवित्तको का.मु सिइओमा खत्री नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृतमा कमल खत्री नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०७७ असार ३१ को बोर्ड बैठकले खत्रीलाई का.मु सिईओमा नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत रहेका मिन बहादुर बोहरा बाहिरिएपछि सोही संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीले का.मु. प्रमुखको जिम्मेवारी पाएका हुन् । २३ वर्षको वित्तिय अनुभव संगालेका खत्री कालिका लघुवित्त बाहेक जनसेवी लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरिसकेका व्यक्ति हुन् । जनसेवी र कालिका मर्जरपछि उनी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

यो वर्ष मुद्रास्फिती ७ प्रतिशतमै कायम राख्ने

काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुद्रास्फिती ७ प्रतिशतमै कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष मुद्रास्फिती ७ प्रतिशतमै कायम गर्ने बताएका हुन् ।  

१० वर्षमा १५० बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विगत १ दशकमा १५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । मर्जर तथा एक्वीजीसन प्रक्रियामा गएका बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गभर्नर अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् । बाँकी रहेका १५० वटा बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज भएको हो ।

नेकपा स्थायी कमिटी बैठक साउन ४ मा

काठमाडौं । आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आज बिहान ११ बजेका लागि तोकिएको बैठक आजै अपराह्न ३ बजे बस्ने भनिएकामा पुनः सरेर आइतबार ३ बजे बस्ने तय भएको जानकारी दिए । पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि कार्यसूची स्थायी कमिटीमा राखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।

नाष्टबाट नवप्रवर्तन प्रवर्धन गर्न ३३ प्रस्तावलाई अनुदान

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मार्फत मुलुकका ३३ व्यक्ति वा संस्थाले अनुदान प्राप्त गरेका छन् । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने सोचलाई बढावा दिन नाष्टले पहिलो पटक सरकारीस्तरबाट उक्त रकम सहयोग गरेको हो । नाष्टले ‘समृद्धिका लागि नवप्रवत्र्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ नामक दुई कार्यक्रमलाई प्रभावकारी बनाउन करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेको छ । नवप्रवत्र्तन शीर्षकमा १६२ व्यक्तिले प्रस्ताव पेश गरेका थिए । यसमा २६ जनाको अन्तर्वार्ता लिएर १३ जनालाई अनुदान प्रदान गरिएको नाष्टका प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने, “कोभिड–१९ प्रविधि विकासमा ११८ जनाको प्रस्ताव आएको थियो । यसमा हामीले ३१ जनाको अन्तर्वार्ता लिएर २० जनालाई अनुदान प्रदान गरेका छाैँ ।” सो अनुदान रकम भने गत आव २०७६/७७ को बजेटको कार्यक्रममा रहेको ढकालले जानकारी दिए । उक्त कार्यक्रमको कार्यविधि निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, काठमाडौँ र त्रिभुवन विश्वविद्यालय आदिको सहकार्य थियो । नयाँ सोचलाई उत्पादनमा रुपान्तरण गर्न, नवप्रवत्र्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न, नवप्रवत्र्तकलाई अघि बढाउने माध्यम चयन गर्न र समाजमा विज्ञान क्षेत्रप्रति के कस्ता कार्य भइरहेका छन् भन्नेबारे जानकारी हासिल गर्न उक्त कार्यक्रमले निकै सहयोग गर्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए । उनले भने, “हामीले मुलुकमा पहिलो पटक अघि बढाएको यस कार्यक्रममा नवप्रवत्र्तनको माध्यमले उखु पेल्ने मेसिनलाई स्वचालित बनाउने प्रविधि विकास, कपालजन्य फोहरलाई मलमा रुपान्तरण गर्ने प्रविधिमा जोड, कुहिने वस्तुबाट मलखाद बनाउने , घरेलु कीरालाई औद्योगिक रुपमा पोषण एवं दानामा प्रयोग गर्ने र विभिन्न थरिका अण्डा कोरल्ने स्मार्ट प्रविधिको विकास गरिनेलगायत प्रस्तावलाई छनोट गरिएको छ । यसैगरी कोभिड–१९ विषयतर्फ भने पिसिआर र आरडिटी प्रविधि निर्माणमा जोड, कोभिड–१९ क्षेत्रमा निर्णय गर्न आवश्यक तथ्याङ्क सङ्कलनका लागि उचित व्यवस्था, कोभिड–१९ परीक्षण प्रभावकारी बनाउन दायरा विकास र थर्माेग्राफी क्यामेराद्वारा समूहमा तापक्रम मापनसहित सफ्ट्वेयरमा प्रयोग, फोहरपानी र ढलमा बगेर आउने कोरोनाको परीक्षण गरी समुदायलाई सचेत बनाउने, कृषि तथा ऊर्जाको विकास, खाद्यान्न प्रशोधन, कुखुरा भुत्ल्याउने तथा काठ चिर्ने प्रविधि विकास जस्ता प्रस्तावलाई वृत्ति प्रदान गरिएको छ ।” नाष्टले मुलुकका केही विज्ञसँग छलफल गरेर सो कार्यक्रम समाजमा प्रभावकारी रहने ठहर गरेसँगै आफूहरु यसमा लागिपरेको ढुङ्गेलले जानकारी दिए । उक्त कार्यक्रममा दुई थरिका व्यक्तिलाई अनुदान प्रदान गरिएको छ । यसमा सामान्य अध्ययन गरेकादेखि उच्च शिक्षा हासिल गरेका मानिसले अनुदान प्राप्त गरेको नाष्टका प्रविधि सङ्काय प्रशासन अधिकृत दीपेन्द्रराम भण्डारीले बताए । उनले भने, “हामीले नवप्रवत्र्तन र कोभिड–१९ का क्षेत्रमा केही गर्छु भन्ने इच्छुक व्यक्तिलाई रु ६ हजार ७०० देखि रु १० लाखसम्मको रकम सहयोग गरेका छाैँ ।यसमा कूल रकममध्ये नवप्रवत्र्तनतर्फ रु ९६ लाख र बाँकी रहेको अन्य रकम भने कोभिड–१९ तर्फ प्रदान गरिएको छ ।” नाष्टले बिहीबार मात्र यी विभिन्न कार्यक्रममा लागिपरेका व्यक्तिलाई रकम सहयोग गरेको भण्डारीले जानकारी दिए । नाष्टले उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन समिति बनाएर प्रस्तुतीकरण गर्ने, उक्त कार्यक्रममा लागिपरेका व्यक्ति वा संस्थाले यन्त्र वा सैद्धान्तिक समस्या भोग्नुपरेमा पनि त्यसको निराकरण गर्न सकेसम्म सहयोग गर्ने वातावरण निर्माण गर्ने र नवप्रवत्र्तनका क्षेत्रमा नयाँ ज्ञान भएका व्यक्तिलाई आउँदा वर्षमा पनि यसैगरी रकम सहयोग गर्ने उद्देश्य रहेको डा ढकालले बताए ।

घरेलु लघुवित्तद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पोखरिया, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले पर्सा जिल्ला धोवनि गाँउपालिका वडा नं. ०३ का केन्द्र नं. २७ कि सदस्य ललिता देवीको मृत्यू पश्चात निजका श्रीमान रामनारायण ठाकुर लोहारलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएकाे हाे । सदस्य श्रीमति ललिता देवीलेले संस्थाबाट ६० हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्वारा निज मृतक सदस्यका श्रीमान रामनारायण ठाकुर लोहारलाई एकमुष्ट भुक्तानी गरिएको छ । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

सडक आयोजनामा विश्व बैंकले ५४ अर्ब रूपैयाँ बराबरको आर्थिक सहयाेग गर्ने

 काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४५ करोड अमेरिकी डलर (करिब रु. ५४ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएकाे छ । जसले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत  सीमापार व्यापारको दक्षतामा सुधार गर्नेछ र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेछ ।  यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो । अर्थमन्त्री डा. युवराज खतिवडाको समुपस्थितिमा, नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले यस सम्झौतामा शुक्रबार हस्ताक्षर भएकाे छ । यस महत्वपूर्ण आयोजनामा सहयोगका लागि विश्व बैंक समुहलाई धन्यवाद दिंदै अर्थमन्त्री डा. युवराज खतिवडाले यो आयोजनाले सीमापार बजार लगायत सडक सञ्जाल(कनेक्टिभिटी) को विस्तार र राष्ट्रिय एकीकरणलाइ बढावा दिदैं कोभिड-१९ पश्चातको आर्थिक पुनरुत्थानलाइ सघाउने बताए । नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै माननीय अर्थमन्त्रीले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्च-गुणस्तरीय पूर्वाधारहरूको महत्व सर्वव्यापी रहेको जानकारी गराए । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले  यस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड-१९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउनमा आयोजना केन्द्रित रहने बताए । सुरक्षा तथा जलवायु अनुकुलन देखि सडक व्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा नागरिक सहितको सहभागितामा यस आयोजना  मार्फत असल अभ्यासहरूको शुरुवात गर्न तयार रहेको र संघ, प्रदेश  तथा स्थानीय तहमा समेत यी  असल अभ्यासहरूलाई अवलम्बन गर्न तयार रहेको  सचिव ढुंगानाले जानकारी दिए । कोभिड-१९ संकटका असरका कारण नेपाल सरकारले  पहिलेको भन्दा उच्च र दिगो पुनर्निमाण गर्न ‘उद्धार, पुनर्लाभ र उत्थानशीलता’को रणनीति अपनाएको  जनाउँदै सचिव ढुंगानाले अर्थिक सम्भाव्यता र व्यापार सहजीकरणलाइ बढावा दिन यस आयोजनाले आर्थिक पुनरुत्थान र उत्थानशीलतालाइ तिव्रता दिने  विश्वास व्यक्त गरेका छन् । यस रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाले भारत लगायतका छिमेकी राष्ट्रहरूसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धि गर्न सघाउनेछ । यसले नागढुंगा-नौबिसे-मुग्लिंग खण्डलाई सुधार गर्नुका साथै कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउनेछ । विद्यमान व्यापारिक सेवालाई सहज बनाउनुका साथै कृषिजन्य निर्यातलाई प्रवर्द्धन गर्नका लागि यस आयोजनाले सीमा-नाकाहरूमा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्नेछ । कोभिड-१९ महामारीका बीच यस आयोजनाले सीमा-नाकाहरूमा वस्तु तथा मानिसहरूको जाँच गर्ने प्रक्रियाको सुधार गर्नेछ र सुरक्षित दुरी कायम गर्दै टाढाबाट काम गर्ने लगायतका कामकाजका विशेष प्रबन्धहरू समेत विकास गर्नेछ । कोभिड-१९ संकटका बावजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाइ यस आयोजनाले सघाउने बताउँदै रणनैतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार तथा सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरूको सिर्जना गर्न यस आयोजनाले सहजीकरण गर्ने जानकारी माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले गराए । राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरण लगायत रणनैतिक सडक सञ्जाल भित्रका उच्च चाप रहेका अन्य सडकहरूको आवधिक मर्मत गर्नमा समेत यस आयोजनाले सहयोग गर्नेछ । आपतकालीन अवस्थाको  सम्बोधन र पुनरूत्थानलाई सघाउन आयोजनाको रकम आवश्यकतानुसार पुनर्विनियोजन् गर्नसक्ने गरी यस आयोजनामा आपतकालीन सहयोग कार्यक्रम समेत समावेश गरिएको छ ।

मौद्रिक नीतिको पर्खाइमा यातायात व्यवसायी, बम्पर राहतको अपेक्षामा

काठमाडौं । यातायात व्यवसायीहरु पनि मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नेपाल राष्ट्र बैंकले आज ३ बजे सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत यातायात व्यवसायीहरुले बम्पर प्याकेज आउने अपेक्षा गरेका छन् । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा ग्यारेजमै थन्किएका सवारी साधनहरुलाई सडकमा निकाल्नको लागि उनीहरुले राहतका कार्यक्रमहरुको अपेक्षा गरेका छन् । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक हप्ता बितिसक्दा पनि सार्वजनिक यातायात अझै चल्न सकेका छैनन् । तर, केही छुटपुट रुपमा भने काठमाडौंको सडकमा गाडी देखिन्छन् । अहिले यातायात व्यवसायीहरु सार्वजनिक यातायात कसरी चलाउने भनेर दैनिक छलफलमै व्यस्त छन् । सरकारको निर्णयपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार बैठक गरी तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको निर्णय गरेको थियो । बजेटमार्फत धेरै राहतको अपेक्षा गरेका उनीहरुले बजेटमा आफ्ना धेरै समस्याहरु नसमेटिएपछि गाडी चलाउन नसकिने बताउँदै आएका थिए । उनीहरुले आर्थिक पुनरुत्थानका लागि धेरै राहत हुनु पर्ने माग राख्दै आएका छन् । लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्नेलगायत व्यवसायीका माग छन् । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अहिले यातायात व्यवसायीहरु सरकारबाट राहतको अपेक्षा गरेको बताएका छन् । उनले आज आउने मौद्रिक नीतिबाट पनि आफुहरुले धेरै अपेक्षा गरेका बताए । ‘हामी सवारी साधन चलाउने बारे छलफलमै छौं, सरकारले साउन ७ गतेसम्म लकडाउन नै कायम गरेको छ, त्यसपछि के हुन्छ हामी छलफलमै छौं,’ उनले भने । सरकारले अविलम्ब छलफल गरेर अन्योलको वातावरण हटाउनुपर्ने यातायात उनीहरुको माग छ । व्यवसायीलाई बैंकले पेलेको भन्दै मौद्रिक नीति मार्फत त्यो समास्याको समाधान हुनु पर्ने उनको भनाई छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक यातायात व्यवसायीका लागि मौद्रिक नीतिले सम्बोधन गर्ने पटक-पटक बताउँदै आएका छन् ।