विकासन्युज

सरकारले कोरोना संक्रमितकाे उपचार गर्ने अस्पताललाई अनुदान दिने

काठमाडौं । सरकारले कोरोना संक्रमितकाे उपचार गर्न अस्पताललाई अनुदान दिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सरकारले कोरोना संक्रमितकाे उपचार गर्न अस्पताललाई अनुदान दिने भएकाे बताएका हुन् । सरकारकाे असार १५ गते बसेकाे बैठकले कोरोना भाईरसको संक्रमितको उपचार गरे बापत  अस्पताललाई अनुदान दिने विषय स्विकृत भएसँगै अनुदान दिने भएकाे हाे । यस अनुदान अन्तर्गत सरकारले ६० वर्षभन्दा माथिका सामान्य लक्षण भएका वृद्ध तथा दिर्घ रोगीलाई उपचार गर्ने अस्पताललाई प्रति व्यक्ति प्रति दिन ३५ सय र मध्यम जटिल अवस्थाका व्यक्तिहरुलाई उपचार गर्ने अस्पताललाई ७ हजार दिने निर्णय गरेकाे गौतमले बताए । यस्तै सामान्य लक्षण भएका र क्वारेन्टिनमा राखेर उपचार गर्ने अस्पताललाई प्रति व्यक्ति २ हजार र घरमै उपचार गर्न जानुपर्ने सामान्य लक्षण वा लक्षण नभएका व्यक्तिको हकमा भने प्रति दिन २ सय दिने उनले बताए ।  

भारतमा काेराेना संङ्क्रमितको संख्या १५ लाख नाघ्यो

भारत । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । रासस

प्रभु क्यापिटलले ल्यायो ३ वर्षे निःशुल्क डिम्याट योजना, अनलाइनबाटै खाेल्न सकिने

काठमाडौं । पुँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । क्यापिटलले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकका लागि उक्त योजना ल्याएको हो । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल तथा प्रभु बैंकको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ । लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ । क्यापिटलकाे डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाई भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नम्बर पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।

सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितलाई नेपाल बङ्गलादेश बैंकको सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका बाढी तथा पहिरो पीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त स्थानका पीडितलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकले आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले उक्त बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

काठमाडाैं उपत्यकामा १५ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १४ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ४ सय ८७ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ४९, ललितपुरकाे ८९ र भक्तपुरकाे ५१ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

नेपालमा थप २ सय १० जनामा कोरोना पुष्टि, १४६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय १० जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १४६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सिटिजन्स बैंकले ३ दिनमै एसएमई र घर कर्जा दिने, व्याजदर कति ?

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ । यस घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न ऋण लिन सक्नेछन् । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामू पस्कने उद्देश्यका साथ बैंकले यो आकर्षक योजना सार्वजनिक गरेको हो । ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिन भित्र निर्णय हुने सरल प्रक्रिया सहितको यस २५ वर्ष सम्मको समयावधि भएको योजना अन्तगर्त घर कर्जा लिने ग्राहकलाई नि:शुल्क क्रेडिट कार्ड प्रदान गरिने कुरा बैंकले जनाएको छ । यस आर्कषक घर कर्जा योजनाबाट ग्राहकहरुको जीवनमा खुसियाली थपिने अपेक्षा बैंकले लिएको छ । छोटो समयावधिको लागि संचालनमा ल्याईएको यस योजना बाट लाभन्वित हुन तथा थप जानकारीका लागि बैंकको देशै भरी रहेको नजिकैको शााखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यसका साथ साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुकालागि सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न देशै भरी छरिएका बैंकका १०९ शाखाहरुबाट कार्यारम्भ समेत थालिएको छ ।सो को लागि आवश्यक तयारी गरिसकिएको कुरा बैंकले जनाएको छ ।

चालकलाई व्यावसायिक सीप अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा चालकको योग्यता, सीप र उमेरका विषयमा छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको खाकामा सार्वजनिक सवरीसाधन चलाउने चालकका लागि उमेर २५ वर्ष उमेर पूरा हुनुपर्ने प्रस्ताव गरिएको छ । चालकले अनुमतिपत्र लिनका लागि १० कक्षा उत्तीर्ण हुनुपर्ने र पहिले निजी सवारीसाधन चलाएको अनुभव हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । बर्सेनी सडक दुर्घटनाका कारण हजारौँ नेपालीले अकालमा ज्यान गुमाइरहेकाले सार्वजनिक यातायातका चालकलाई व्यावसायिक बनाउन लागिएको हो । चालकको योग्यताका कतिपय विषय ऐनमा समेटिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “हामीले प्रस्ताव गरेकामा मन्त्रालयले थपघट गर्नसक्छ ।” झण्डै एक दशक पहिलेदेखि लिइँदै आएको प्रयोगात्मक परीक्षा (ट्रायल) समेत परिवर्तन गरिने भएको छ । अहिलेसम्म निश्चित ठाउँमा लिइने गरिएकामा सडकमै प्रयोगात्मक परीक्षा लिइने गरी व्यवस्था गरिएको महानिर्देशक हमालले बताए । उनका अनुसार सार्वजनिक र निजी दुवै सवारीसाधनको चालक अनुमतिपत्र लिन १० कक्षा उत्तीर्ण हुनुपर्ने भनिएको छ । त्यस्तै, पुरानो ऐनअनुसार निजी सवारीसाधन चलाउन १६ वर्षमा नै चालक अनुमतिपत्र पाउने भए पनि नयाँमा त्यसका लागि १८ वर्ष पुग्नुपर्ने प्रस्ताव गरिएको छ । निजी सवारीसाधन चलाउने व्यक्तिभन्दा सार्वजनिक सवारीसाधन चलाउने व्यक्ति बढी जिम्मेवार बनाउने गरी छलफल अघि बढेको मन्त्रालयका प्रवक्ता सरोज प्रधानले बताए । उनका अनुसार सार्वजनिक सवारीसाधन, विद्यालयका बसलगायत बढी यात्रु रहने सवारीसाधन चलाउन थप अनुभवको प्रस्ताव गर्न लागिएको हो । झण्डै तीन दशक पुरानो ऐनका धेरै कुरा अहिले सान्दर्भिक नभएकाले पनि कसरी सान्दर्भिक बनाउने भनी छलफल भइरहेको छ । उनका अनुसार विसं २०४९ मा सो ऐन बन्दाका समयभन्दा अहिले यातायातका क्षेत्रमा धेरै परिवर्तन भइसकेको छ । पुरानो ऐनलाई कसरी नयाँ सन्दर्भमा जोड्ने भनी मन्त्रालयभित्र विभिन्न पक्षसँग छलफल जारी रहेको छ । उनले भने, “यसमा टुटल पठाओ पनि समेटिन सक्ने गरी छलफल भइरहेको छ ।” संविधानमा यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई पनि दिइएको छ । पहिले सङ्घीय ऐन बनेपछि त्यसैका आधारमा प्रदेश ऐन बन्नुपर्ने भने पनि कतिपय प्रदेश सरकारले यातायात ऐन बनाए पनि नेपाल सरकारले बनाइसकेको छैन ।