रोजगारी सृजना गर्न परिसंघले अघि बढायो ‘मेक इन नेपाल’को अवधारणा
काठमाडौं । नेपाल उद्योग परिसंघले थप रोजगारी सृजना गर्न ‘मेक इन नेपाल’को अवधारणा अघि बढाएको छ । अर्थतन्त्रलाई चलायमान बनाइ थप रोजगारी सृजना गर्न र स्वदेशी उत्पादनमा गौरव गर्दै यसको प्रवद्र्धन गर्नको लागि परिसंघले उक्त अवधारणालाई अघि बढाएको हो । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गर्दै परिसंघले यस अवधारणाले स्वदेशी वस्तुको माग बढाउन मद्दत गर्ने बताएको छ । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले आत्मनिर्भर हुन सक्ने उद्योगहरुको सम्बन्धमा परिसंघको धारणा राखेका थिए । त्यसैगरी, परिसंघले सरकारसँग सदैव सहकार्य गर्दै आइरहेकोले परिसंघले अनुसन्धान सेलको स्थापना गरी अनुसन्धानका कार्यहरु अगाडी बढाएकोले आगामी दिनमा सरकारलाई आवश्यक पर्ने उद्योग व्यवसाय क्षेत्रका अद्यावधिक तथ्यांकहरु उपलब्ध गराउन सहज हुने बताएका छन् । उद्योगी व्यवसायीहरुका मागहरुलाई धेरैहदसम्म सम्बोधन गरेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले आगामी दिनमा पनि वास्तविक मागहरुलाई सम्बोधन गर्दै जाने बताए । हाल उद्योग सञ्चालनका लागि भारतबाट मात्र दक्ष जनशक्ति ल्याउन पाउने व्यवस्था भएकोमा क्रमशः त्यसलाई सहजिकरण गर्दै अन्य देशहरुबाट समेत ल्याउन पाउने व्यवस्थाको लागि पहल गर्ने बताएका छन् ।
‘जलविद्युत उत्पादकलाई प्रतिघण्टा सवा ३८ करोड रुपैयाँ नोक्सान’
काठमाडाैं । देशमा विभिन्न समयमा विद्युत उत्पादन तथा विकासको वहस हुने गर्छ । नेपालको सम्भाव्य विद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट र आर्थिक तथा प्राविधिक सम्भाव्य विद्युत उत्पादन क्षमता ४३ हजार मेगावाट रहेको भन्ने गरिन्छ । जलविद्युत उत्पादनको प्रचुर सम्भावना हुँदा पनि कुल उर्जा खपतमा विद्युतको अंश ३.२ प्रतिशत मात्र रहेको छ । विद्युत प्रणालीका तीन महत्वपूर्ण पक्ष उत्पादन प्रसारण र वितरण प्रभावकारी नहुँदा विद्युत उत्पादक र स्वयमं सरकारलाई पनि नोक्सान भइरहेको सरकारी प्रतिवेदनहरुले पनि पटक-पटक उल्लेख गर्दै आएका छन् । जलविद्युत कम्पनीहरुले समयमै काम सम्पन्न गरेपनि नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणहरु देखाउँदै प्रसारण लाइन निर्माण नगर्दा उत्पादकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको उनीहरुले बताउँदै आएका छन् । सरकारी महालेखा परिक्षक कार्यालयले पनि आफ्नो ५७औं वार्षिक प्रतिवेदनमा जलविद्युत उत्पादकहरुलाई समस्या हुनुको मुख्य कारण प्रसारण लाइनको निर्माण देखाएको छ । एकातर्फ प्रसारण लाइन समयमै निर्माण नहुँदा उत्पादकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको अवस्था छ भने अर्को तर्फ स्वयमं नेपाल सरकारले पनि भारतबाट महँगो बिजुली किन्नु पर्ने अवस्था वर्षेनी सिर्जना हुँदै गएको प्रतिवेदनले देखाउँछ । प्रसारण लाइनको काम छिटो छरितो नहुँदा नेपालमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत बिक्री गर्न नसकी भारतबाट आयात गर्नुपर्ने अवस्था आएको सरकारी महालेखा परिक्षक कार्यालयको प्रतिवेदले पनि उल्लेख गरेको छ । महालेखापरीक्षक कार्यालयको पछिल्लो वार्षिक प्रतिवेदनका अनुसार निजी लगानीको विद्युत उत्पादनको नमुना सर्वेक्षण गर्दा कम प्रसारण क्षमता भएको लाइनबाट बढी विद्युत प्रवाह गर्नुपर्ने, प्रसारण लाइनको नियमित मर्मत सम्भार र गुणस्तर जस्ता कारणले उत्पादित सबै बिजुली प्रयोग हुन नसकेको निष्कर्ष निकालिएको छ । सो प्रतिवदेनमा प्रसारण लाइन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको काम सन्तोषजनक नभएको पनि प्रष्ट लेखिएको छ । प्रतिवेदनमा निर्माणाधीन १७ विद्युत प्रसारणलाइन तथा सवस्टेसन आयोजनाको प्रगतिको विश्लेषण गर्दै प्रतिवेदनले प्राधिकरणको कामप्रति असन्तोष जनाएको हो । प्रतिवेदनमा १५ महिनामा सम्पन्न गर्नुपर्ने आयोजना ९ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको उल्लेख गरेको छ । त्यसैगरी म्याद बाँकी रहेका ६ आयोजनामा पनि ७५ प्रतिशतभन्दा बढी अवधि बितिसक्दा पनि २५ प्रतिशतभन्दा कम प्रगति भएका २, २५ देखि ५० सम्म प्रगति भएका २, ५० देखि ७५ प्रतिशत प्रगति भएको एउटा छ । निर्माणाधीन १७ प्रसारणलाइन तथा सवस्टेसन आयोजनामध्ये सुरु सम्झौता म्याद समाप्त भएका ११ आयोजनामा २५ प्रतिशतभन्दा कम प्रगति भएका ३, २५ देखि ५० सम्म प्रगति भएका ४, ५० देखि ७५ प्रतिशत प्रगति भएका १ र ७५ प्रतिशतभन्दा माथि प्रगति भएका ३ छन् । प्रसारणलाइन समयमा सम्पन्न नहुँदा निर्माण लागत बढ्ने, उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिन नसकी विद्युत खेर जाने र ठेक्का तोडिएको अवस्था छ । यसरी प्रसारण लाइन निर्माणमा समस्या हुँदा विद्युत उत्पादकहरुले ठूलो आर्थिक भार व्यहोर्नु परेको प्रतिवेदनमा लेखिएको छ । सो प्रतिवेदनका अनुसार निजी क्षेत्रका १८ आयोजनाबाट उत्पादित कुल विद्युतमध्ये वार्षिक ९५.६१ गिगावाट प्रतिघण्टा बिक्री गर्न नसकेको अवस्था छ । ९५.६१ गिगावाट प्रतिघण्टा विद्युत खरिद सम्झौता (पीपीए) को औसत ४ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टाका दरले उत्पादकलाई ३८ करोड २४ लाख ५९ हजार नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो कुल अर्थतन्त्रको हिस्सा हो । ९५.६१ गिगावाट प्रतिघण्टा विद्युत खरिद सम्झौता (पीपीए) को औसत ४ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टाका दरले उत्पादकलाई ३८ करोड २४ लाख ५९ हजार नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो कुल अर्थतन्त्रको हिस्सा हो । विद्युत अभाव हटाउन उक्त ९५.६१ गिगावाट प्रतिघण्टा भारतबाट खरिदका लागि औसत ८ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टका दरले ७६ करोड ४९ लाख १९ हजार भुक्तानी गरेको देखिन्छ । प्रसारण लाइनका कारण उत्पादित सबै बिजुली खरिद गर्न नसक्ने एकातिर छ भने अर्कोतिर भारतबाट महँगोमा बिजुली किन्दा १ खर्ब १४ करोड ७४ लाख रुपैयाँ राज्यलाई नोक्सानी हुन गएको बुझिएको छ । यसै कारण नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन मर्मत र सम्भार तथा गुणस्तरमा ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाएको छ । उत्पादकहरुले सम्झौता गरेको समयभन्दा ढिला निर्माण कार्य गरे नेपाल विद्युत प्राधिकरणलाई ५ प्रतिशत जरिवाना स्वरुप तिर्नु पर्छ भने प्राधिकरणले पनि भनेकै समयमा प्रसारण लाइन निर्माण नगरे सो निर्माण कम्पनी तथा आयोजनालाई ५ प्रतिशत क्षतिपुर्ति दिनुपर्छ । आयोजना समयमै सम्पन्न गर्दा पनि प्रसारण लाइन निर्माण नगर्दा उत्पादकहरुलाई ठूलो आर्थिक क्षति हुने उनीहरुको भनाई छ । उनीहरुले अर्बौं लगानी गरेर निर्माण गरेको आयोजना लामो समयसम्म प्रसारण लाइन निर्माण नगरिँदा त्यो ५ प्रतिशतले क्षतिपुर्ति गर्न नसकिने प्रवर्द्दकहरु बताउँछन् । स्वतन्त्र ऊर्जा उत्पादकसँग गरिएको पीपीए दर बमोजिम आयोजना समयमा नै सम्पन्न भए पनि प्रसारणलाइनको अभावमा राष्ट्रिय वितरण प्रणालीमा विद्युत जोड्न नसक्दा प्राधिकरणले ५ देखि ४५ प्रतिशतसम्म क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ । प्रसारण निर्माणमा ढिदाई हुँदा निजी विद्युत उत्पादकहरुलाई मात्र नेपाल विदुत प्राधिकरणले पनि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने हुन्छ । प्रसारण लाइन नबन्दा एकातिर उत्पादकलाई क्षतिपुर्ति दिनु पर्छ भने अर्कातर्फि भारतबाट महँगो मूल्य तिरेर बिजुली किन्नुपर्ने अवस्था आउँछ । यसमा प्राधिकरणलाई प्रतियुनिट औसत ४ रुपैयाँका दरले गणना गर्दा १२ करोड ३४ लाख ४८ हजार नोक्सानी हुन जान्छ । हाल निजी क्षेत्रका ९० आयोजनाबाट उत्पादित ६ सय १८ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । कुलमान घिसिङ भन्छन्ः प्रसारण लाइनमा समस्या छ तर महालेखाले भनेजति होइन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखा परिक्षकले भनेजति समस्या र नोक्सानी प्राधिकरणमा नभएको बताएका छन् । प्रतिवेदनमा उल्लेख गरेको जति क्षति प्राधिकरणलाई नहुने उनको भनाई छ । अहिले कोरोना भाइरसको कारण ६ महिनादेखि काम नभएको, बन कटानी तथा जग्गा अधिग्रहणमा समस्या भएको कारण प्रसारण लाइन निर्माणमा समस्या भएको बताउँदै महालेखा परिक्षक कार्यालयले भनेजति समस्या र आर्थिक नोक्सानी व्यहार्नु नपरेको उनको भनाई छ । ‘महालेखा परिक्षकको कार्यालयल उल्लेख गरेजति समस्या हाम्रोमा छैन, त्यही भएर हामीले त्यसमा कमेन्ट पठाएक छौं, उहाँहरुले केही कुरा थप्नु भएको छ, त्यति समस्या हाम्रोमा छैन,’ उनले भने । प्रवर्द्धककले नाेक्सानी ब्यहाेर्नु पर्ने मु्ख्य कारण नै प्रसारण लाइन हाे: सुर्यप्रसाद अधिकारी रुग्ण जलविद्युत आयोजनाका संयोजक सुर्यप्रसाद अधिकारी प्रसारण लाइनको समस्याको कारण जलविद्युत प्रवद्र्धकहरुले धेरै नोक्सानी ब्यहोर्नु परेको बताउँछन् । पुरानो प्रसारण लाइनबाट विद्युत उत्पादन गर्ने विद्युत उत्पादन गर्ने विद्युत गृहहरु थपिँदै गएका गइरहेको र त्यसको मर्मत सम्भार नभएकोले पनि अर्को समस्या देखिन थालेको उनको भनाई छ । ‘पुराना प्रसारण लाइनको सुधार पनि भइरहेको अवस्था छैन, नयाँ बन्ने प्रसारण लाइन पनि बनिरहेका छैनन्, यसले विद्युत उत्पादन गर्ने प्रवद्र्धकलाई धेरै नोक्सान भइरहेको छ,’ उनले भने । ‘अहिले निजी क्षेत्रका १ सय ४० मेगावाटका साना परियोजनाहरुमध्ये ४० मेगावाटको विद्युत उत्पादन पनि हुन सकेको अवस्था छैन, नेपालमा प्रसारण लाइन नबनेकै कारण भारतबाट महँगोमा बिजुली ल्याउनु परेको छ, यसले देशलाई पनि धेरै घाटा भइरहेको छ,’ उनले भने । उत्पादन घाटा हुँदा त्यसको प्रत्यक्ष मारमा जलविद्युत प्रवद्र्धकहरु पर्ने गरेको उनको भनाई छ । ‘प्रसारण लाइन कहिले सम्म बनाउने हो भनेर प्रासधकरणले समय तोक्दैन, तर निर्माण आयोजनालाई भने समय तोक्छ । उत्पादन घाटा हुँदा त्यसको प्रत्यक्ष मारमा जलविद्युत प्रवद्र्धकहरु पर्ने गरेको उनको भनाई छ । ‘प्रसारण लाइन कहिले सम्म बनाउने हो भनेर प्रासधकरणले समय तोक्दैन, तर निर्माण आयोजनालाई भने समय तोक्छ, उनी भन्छन् ‘त्यो समय भित्र बनाउन नसक्यो भने जरिवाना तिराउँछ, वर्र्षौंंसम्म प्रसारण लाइन नबनाउँदा प्रवद्र्धकलाई समस्या आउँछ ।’ वषौंदेखि आयोजनाको लागि प्रसारण लाइन निर्माण नगरिँदा ५ प्रतिशत क्षतिपुर्तिले आयोजना नधानिने उनको भनाई छ । जलविद्युत निर्माण कार्यमा धेरै समस्या तथा अवरोधहरु हुँदा पनि प्रवद्र्धकले समयमै काम सकेको उनको दावी छ । प्रसारण लाइन छिटो छरिो निर्माण गर्नुको सट्टा प्राधिकरणले भारतबाट हमँगो बिजुली आयात गरिरहेको जलविद्युत प्रवद्र्धकहरुको भनाई छ । नेपाल विद्युत प्राधिकरणले भारतसँग वार्षिक ३ सय ५० मेगावाट विद्युत ल्याउने भनेर को पीपीए गरेको छ । प्राधिकरणले स्वदेशी जलविद्युत प्रवद्र्धकभन्दा भारतलाई दुई गुणा बढी पीपीए दरमा बिद्युत आयात गर्छ । क्षतिपूर्ति निर्धारण गर्दा लिइने आधारहरु कमजोर हुनु, समय सापेक्ष जग्गाको मूल्याङ्कन हुन नसक्नु, कृषियोग्य भूमी हुनु, निर्माण क्षेत्रमा आवास क्षेत्र, औधोगिक क्षेत्र, शहरी क्षेत्र, वन क्षेत्रको स्पष्ट रुपमा सिमांकन नहुनुका साथै क्षतिपूर्तिको मूल्याङ्कन आधार तय नहुँदा प्रसारण लाइन नर्माणमा सस्या हुने गरेको छ । समाधानकाे उपाय के ? देश विकासको एक महत्वपूर्ण पक्ष र आधार भनेको जलविद्युत हो । जलविद्युत बिना अन्य पक्षको विकास सम्भव हुन कठिन नै हुन्छ । विद्युतको माग, उत्पादन र बजारीकरणलाई अध्ययन गरी समस्याहरुको समाधान गर्न आवश्यक छ । विद्युत विकासको उक महत्वपूर्ण पक्ष भनेको प्रसारण लाइन हो । प्रसारण लाइना निर्माणलाई उच्च प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । विद्युत प्रसारण लाइन विना उत्पादित विद्युत खेर जाने भएकोले समयमै निमार्ण कार्य सम्पन्न गर्नु आजको आवश्यकता हो । विद्युत प्रसारण लाइन निर्माणको क्रममा उत्पन्न हुने अवरोधलाई समयमै पहिचान गरी प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले औंल्याएका प्रभाव न्यूनिकरणका कार्यक्रम समयमै सम्पन्न गर्नुपर्दछ । प्रभावित समुदायका जायज र उचित मागलाई समयमै सम्बोधन गरी विवाद बढ्न दिनु हुँदैन । निर्माणकार्य ढिला हुंदै जाँदा थप जटिलताहरु बढ्दै जाने हुन्छ । तसर्थ, यथोचित र जायज मागलाई आयोजना, सरकारी निकाय र अन्य सरोकारवाला निकाय बीच समन्वयात्मक ढंगबाट समयमै संबोधन हुनु पर्दछ । प्रसारण लाइन निर्माणबाट हुने फाइदा र जोखिम न्यूनिकरण बारे सम्बन्धित क्षेत्रका बासिन्दालाई सूचनामुलक तालीम कार्यक्रम संचालन गरी चेतना बढाउनु पर्दछ ।
अब काठमाडौं महानगरपालिकाकाे सेवा एकै स्थानबाट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो । आगामी दिनमा नेपाल ट्रष्टसँग भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्न बाटो खुलेसँगै सेवाग्राहीलाई सहज हुने भएको हो । ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रालिबीच भएको लिज/भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै उक्त भवन भाडामा बस्नका लागि कामपालाई पनि सहज भएको छ । कामपाले अहिले मासिक भाडका लागि रु करिब रु २९ लाख खर्च गरिरहेको छ ।
सेयर धितो राखेर कर्जा लिने हो ? यी बैंकले ल्याए आकर्षक स्कीम
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयर धितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरेको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि भनेको छ । यसअघि १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ६५ प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो । मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम आकर्षक स्कीम ल्याउन थालेका छन् । हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले सेयर धिताे कर्जा याेजना सार्वजनिक गरिसकेका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्ताे व्याजदरमा कर्जा दिने भएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन आकर्षक स्कीम ल्याएको हो । इन्भेष्टमेन्ट बैंकले एक वर्षसम्म व्याजदर परिवर्तन नहुने गरी ९.९९ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने स्कीम ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले ९.३२ प्रतिशत ब्याजदरमा सेयर धितोमा ऋण दिने भएको छ । ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंकले ९.४९ प्रतिशत व्याजदरमा सेयरको धितो कर्जा दिने भएको छ । कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा पाउन सक्ने बैंकले जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले ९.८९ प्रतिशत व्याजदरमा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा दिने भएको छ । यी कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने बैंकले जनाएको छ । साथै, यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन् । सनराइज बैंक सनराइज बैंकले ९.९५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा (लोन एगेनिष्ट सेयर) दिने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला सेयर कर्जा योजना ल्याएकाे छ । यस योजना अन्तर्गत सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ । यस सेयर कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नेछन् । बैंकले दुई दिनमै उक्त ऋण स्वीकृति गर्ने छ । नेपाल एसबिआई बैंक एसबिआई बैंकले १४.२५ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । साउन १ गतेबाट लागू हुने गरी उक्त सुविधा दिन थालेको हो । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले १४.२१ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ
काठमाडौं । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका हुन् । बन्दाबन्दी खुलेसँगै पर्यटन व्यवसायीले नयाँ उत्साहका स्वास्थ्य प्रोटोकल पालना गर्दै व्यवसाय अघि बढाउने योजनामा छन् । विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहँुदा अझै होटल व्यवसायीमा अन्यौलता कायमै छ । विदेशी पर्यटक नेपाल घुम्न आउँदा क्वारेन्टिन बस्नुपर्ने नपर्ने अथवा पिसिआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनका अनुसार प्राटोकलले हवाई जहाज कम्पनी, होटल, रेष्टुँरा तथा अन्य पर्यटनसँग सम्बन्धित कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटन नेपाल छिरे पछि तत्कालै के गर्ने भन्ने अन्योलले विदेशी नेपाल आउन चाहे पनि तत्काल आउने सम्भावना कम रहेको छ । व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् । चार महिनादेखि प्रायः ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ । अहिले पनि अल्पाइन क्लबका सदस्य, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेका अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उनको भनाइ छ । पदयात्रा वा पर्वतारोहणमा जाँदा सामाजिक दूरी कायम रहने भएकाले नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान प्रकृतिसँग रम्न चाहने भएकाले उसलाई आउनासाथ कसरी त्यहाँ कसरी लैजाने भन्ने टुङ्गो सरोकारवालाले लगाउनुपर्ने टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानले जनाएको छ । शुरुआती चरणमा पर्यटक कम सङ्ख्यामा आउने आँकलन गर्दै होटलले पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने गरी होटल सञ्चालनमा ल्याउने व्यवसायीको तयारी छ । पछिल्लो एक साता होटल, रेष्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानले जनाएको छ । अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताएका छन् । यस्तै होटेल सञ्चालन गर्न आवश्यकताबमोजिम कर्मचारीलाई तालीम दिइसकेका रेष्टुराँ तथा बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । अहिले पूर्णरुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उनले बताए । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । उडान खुलेपछि विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण सिर्जना हुनेछ । रासस
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो। ट्रकका चालक भने सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ। वेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। रासस
नेपाल प्रहरीको प्रवक्ता परिवर्तन
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता परिवर्तन भएका छन् । नयाँ प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी बुधबार देखि तोकिएको हो। यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डिआईजी निरजबहादुर शाही थिए ।
सञ्चालनमा आए सौराहाका होटल
भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ । यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौँ, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उनले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताए । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए । उनले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताए । प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो । होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहनुभएका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उनले बताए । यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने जानकारी दिए । उनले खाना र पेयपदार्थमा १०/१० प्रतिशत छुट घोषणा गरिएको बताए । उनले भने, “पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छुट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।” सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् । होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ ।