विकासन्युज

मुस्ताङसंँग सम्पर्क टुट्यो

बलेवा। बाढीले जमिनको बाटोे बगाएको २६ औँ दिन भयाे । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ । गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिबृज बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो बज्र प¥यो । “हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ”, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, “घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।” जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिबृज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्टनै छैनन् । “एकदुई ठाउँ बनाएरमात्रै सडक चल्ने अवस्थामा छैनन्”, उनले भने, “वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।” सडक सम्पर्क टुटेको जिल्लामा हवाईसेवा समेत प्रभावित भएको छ । लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज चल्दै आएका थिए । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले जिल्ला पूर्णरुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद भएको छ । सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । “खाद्यान्नको अभाव अझलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भने, “तेल, ग्यास छैन ल्याउने बाटो छैन ।” मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव हुँदा बिग्रिएका सडक मर्मतको कामसमेत प्रभावित भएको छ । “बजारमा अनुगमन गरेर तेल खोज्दा छ ब्यारेल मात्रै पाइयो”, प्रजिअ अर्यालले भने, “कम्तीमा म्याग्दीको सीमासम्मको सडक चले तेलको समस्या टर्ने थियो ।” सडक र हवाई सेवा बन्द हुँदा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र बिरामी परेर उपचारका लागि जानेलाई समस्या भएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए । “किसानका बारीमा आलु खन्ने बेला भयो, गाजर पनि राम्रो फलेको छ”, उहाँले भने, “बाटो बन्द हुँदा किसानले निर्यात गर्न पाएनन् ।” सडकका कारण सबैभन्दा धेरै किसान मर्कामा परेको उनले बताए । मुस्ताङको आलु पोखरा, काठमाडौँलगायतका ठूला शहरमा निर्यात हुन्छ । “भण्डार गरेर राख्दा किसानलाई फाइदा हुँदैन, गाजर कुहिने सम्भावना छ”, उनले भने, “यो वर्ष आलु, गाजरमा गरेको लगानी खेर जानेमा किसान चिन्तित छन् ।” ठाउँ ठाउँमा भत्किएको सडक मर्मत गर्न समय लाग्ने उनले बताए । स्थानीय सरकारले मात्रै सडक मर्मत गर्नसक्ने अवस्था नरहेकाले समयमा प्रदेश र केन्द्र सरकारले समय ध्यान दिनुपर्ने उनको भनाइ छ । “भदौदेखि स्याउ बिक्रीका लागि तयार हुन्छ तर बाटो बन्ने छाँट छैन” अध्यक्ष थकालीले भने, “स्याउ पनि रोकियो भने मुस्ताङलाई ठूलो क्षति पुग्छ ।” मौसम सफा भए जहाजमा आउजाउ महँगो भाडा तिरेर गर्न सकिने भए पनि किसानको उत्पादन निर्यातमा भने समस्या हुने उनको गुनासो थियो । खराब मौसमका कारण मुस्ताङका सर्वसाधारण अत्यावश्यक आवतजावतका लागि चार्टर गरेका हेलिकप्टरसमेत बिचमै रोकिने गरेको सङ्घका अध्यक्ष तुलाचन बताउँछन् ।

राखेपका सदस्य सचिव सिलवालद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन् । राखेपको १९ औं सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताए । नेपालको खेलकुद जगतलाई विश्वले हेर्नेगरी आकर्षित रुपमा अगाडी बढाउने उनले बताए । खेलकुदलाई खेलकुदका रुपमा मात्रै सिमित नगरी यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उनले बताए । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो । शपद लगत्तै पदाबहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेका थिए । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुँनेछ ।

राष्ट्रिय गौरबका आयोजना अगाडि बढाउन चुनौती- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको बताएका छन् । वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरबका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताएका हुन् । संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण निर्माण शुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताए । दातृ निकायहरुले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उनले बताए । अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरुमा कोभिडका कारण बजेट भने अभाव हुन नदिने बताए । अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरेर व्यवस्थापन गरिने उनले बताए । अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायता आश्रित केही आयोजनाहरुमा समस्या हुने गरेको समेत जानकारी गराउँदै उनीहरुले राख्ने गरेका सर्तहरु पुरा गर्न नसक्ने अवस्था सधै नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको उनले बताए । डा. खतिवडाले एमसीसी अनुमोदनको विषय संसदमा विचाराधिन रहेकाले एमसीए नेपाल अन्तरर्गतको काम प्रभावित भएको बताए । सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भएपनि दाताले दिने रकमको टुंगो नभएको बताए । विदेशी सहायताका विषयहरुमा गम्भिर छलफल गरी अगाडी बढाउनुपर्ने उनले बताए । एमसीसीको विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडी बढ्नुपर्ने उनले बताए । एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडी बढाउने उनले बताए । एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माणको योजना अगाडी बढाएको छ । एमसीसी संसदबाट अनुमोदन नभए सरकारले अन्य स्रोतबाट पुरा गर्ने यसअघि नै बताइसकेको छ ।

विदेश पढ्न जाने विद्यार्थीलाई धक्का, विदेशी मुद्रा सटही गर्दा १५ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । अब विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले पनि कर तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै वाणिज्य र विकास बैंकहरुलाई विदेश जाने विद्यार्थीहरुबाट कर कर असुल गर्न निर्देशन दिएको हो । विदेश अधययन गर्न जाने विद्यार्थीहरुलाई भाषा परीक्षा तथा मानकिकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्क वापतको रकमममा अग्रिम कर असुल गर्न निर्देशन दिएको हो । परिपत्रमा भनिएको छ, ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई भाषा परीक्षा तथा मानकिकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्क वापतको रकममा आयकर ऐन २०५८ को दफा ९५ (क) ले तोके बमोजिमको अग्रिम कर असुल गर्नु पर्नेछ । अबदेखि विदेशमा पढ्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकिकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंकहरुले सटही सुविधा दिएवापत उनीहरुबाट कर असुल गर्नु पर्ने हुन्छ । राष्ट्र बैंकले आयकर २०५८ को दफा ९५ (क) ले तोके बमोजिम कर तिर्नु पर्ने भनेको छ । सो ऐन अनुसार अब विद्यार्थीहरुले विदेशी मुद्रा सटही गर्दा १५ अग्रिम कर तिर्नु पर्नेछ । यसको अर्थ बाहिर जानका लागि आयल्स र टोफेललगायतका परीक्षामा तिर्नुपर्ने दस्तुर उनीहरुले तिर्नु पर्ने हुन्छ । हाल आयल्स र टोफेल परीक्षाका लागि विद्यार्थीहरुले हाल २१ हजार ५०० रुपैयाँ बुझाउनुपर्छ । सरकारको यो नीतिले विदेश पढ्न जाने विद्यार्थीहरुलाई निरुत्साहित गर्न सक्ने बुझिन्छ ।

माछापुच्छ्रे बैंकले चिकित्सक संघका स्वास्थ्यकर्मीलाई विशेष बैंकिङ्ग सेवा दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल चिकित्सक संघका स्वास्थ्यकर्मीलाई विशेष बैंकिङ्ग सेवा दिने भएकाे छ । बैंकले नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने भएकाे हाे । साे सम्बन्धि माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । राज्यको अभिन्न अङ्गको रुपमा रहेको चिकित्सा क्षेत्रमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

विद्यार्थीलाई एनसेलकाे विशेष अफरः साढे २ सय रूपैयाँमै अनलाइन कक्षा लिन सकिने

काठमाडौं । एनसेलले हिसानअन्तर्गतका विद्यार्थीलाई लक्षित गरी विशेष अफर ल्याएकाे छ  । अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्य स्वरूप कम्पनीले नयाँ अफर ल्याएकाे हाे । यस विषेश योजनाअन्तर्गत विद्यार्थीले मासिक २ सय ५० रूपैयाँ (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक ३ सय ५० रूपैयाँ (करबाहेक) को योजना पनि उपलब्ध छ । यसकाे लागि एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्दछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिन्छ । ‘यस कोभिड-१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ । विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पुर्याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।’-  एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । ‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन’, उनले भने, ‘भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।’ यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

अजोड इन्स्योरेन्सको सेयर कारोबार किन भएन ? यसो भन्छ नेप्से

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको अजोड इन्स्योरेन्सको हालसम्म सेयर कारोबार भएको छैन । साउन १३ गते कारोबार हुन सक्ने गरी सूचीकृत भएको इन्स्योरेन्सको सेयर दुई दिन अर्थात साउन १४ गतेसम्म पनि सेयर किनबेच भएन । नेप्सेका अनुसार कम्पनीको पहिलो कारोबारको लागि ९७ रुपैयाँदेखि २ सय ९१ रुपैयाँसम्मको सिमा प्रदान गरिएको थियो । सोहि सिमा भित्र पहिलो दिन (साउन १३) मा ५ सय ६९ वटा र दोश्रो दिन(साउन १४) मा ५ सय ६७ वटा खरिद आदेश आएको थियो । तर सो अवधिसम्म कुनै पनि बिक्री आदेश प्राप्त नभएकाले कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । यससँगै, कम्पनीको कारोबार अर्को कारोबार दिनको स्पेसियल प्रि-ओपन सेसन भए पश्चात मात्र निरन्तर कारोबार सत्रमा कारोबार गर्न सक्ने नेप्सेले जानकारी गराएको छ । नेप्सेमा सूचीकृत कुनै पनि नयाँ धितोपत्रको पहिलो कारोबार स्पेसियल प्रि-ओपन सेसन मार्फत मात्र हुने व्यवस्था रहेको छ । उक्त सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र उक्त धितोपत्रको निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले निक्षेपकर्ताको हित हेर्दा सेयरधनीलाई झट्का, यो वर्ष ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाइने

काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुका सेयरधनीले औसतमा ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थि वर्षको मौद्रिक नीतिमार्फत नगद लाभांशमा कडाइ गरेका कारण सोभन्दा बढी पाइने अवस्था नरहेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले दिने नगद लाभांशमा सीमा तोकिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण अर्थतन्त्रमा गम्भीर असर परेकोले बैंक वित्तीय संस्था समस्या नआओस भनेर राष्ट्र बैंकले नगद लाभांशमा सीमा तोकेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी लाभांश बाड्न नपाइने व्यवस्था गरेको छ । तर, नगद लाभांशमा लगाइएको सीमाका कारण चालु आर्थिक वर्षमा सेयरधनीले ५ देखि ६ प्रतिशतसम्म मात्रै नगद लाभांश पाउने अवस्था छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत व्याजदर भन्दा बढी नहुनेगरी) मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिनेछ । तर कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम खुद वितरणयोग्य मुनाफा भएका इजाजतपत्र प्राप्त संस्थाको नगद लाभांस वितरणमा रोक लगाइने छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुदा नम्बर १२२ मा उल्लेख छ । सो बुँदामा भएको कोष्ट (ब्राकेट) भित्रको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने नगद लाभांशमा कडाइ गरिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक वर्षको निक्षेप व्याजको भारित औसतभन्दा बढी नहुने गरी नगद लाभांश दिन भनेको छ । राष्ट्र बैंकले नै प्रकाशित गरेको गत आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्मको देशको देशको आर्थिक अवस्था अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत छ । यस्तै, मौद्रिक नीतिले ५ प्रतिशतभन्दा कम वितरणयोग्य नाफा भएका बैंक वित्तीय संस्थाहरुलाई नगद लाभांश दिन रोक लगाएको छ । त्यसैकारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सेयरधनीले चालु आर्थिक वर्षमा ५ देखि ६ प्रतिशतसम्म मात्रै नगद लाभांश पाउने देखिएको हो । बैंक तथा वित्तीय संस्था निक्षेपकर्तालाई व्याज कम दिन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । निक्षेपको व्याज कम हुने वित्तिकै बैंकका सेयरधनीले कम नगद लाभांश पाउने अवस्था रहन्छ । संस्थापक सेयरधनीले नगद लाभांशमा जोड दिने भएकोले राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न निक्षेपको व्याज र नगद लाभांशलाई परिपुरकको रुपमा व्यवहार गर्न लागेको हो ।