विकासन्युज

यी हुन् बालेन सरकारले फिर्ता बोलाएका ६ राजदूत

काठमाडौं । सरकारले विभिन्न देशमा रहेका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाम्फे, अस्ट्रेलियाकाका लागि राजदूत चित्रलेखा यादव, श्रीलङ्काका डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।  उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनीहरुलाई फिर्ता बोलाएर अन्य व्यक्तिलाई नियुक्त गरेर त्यहाँ पठाउने तयारी गरेको हो । 

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।  नेपाली सुनचाँदी व्यवसायीका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने ४ सयले बढेर सुनको मूल्य तोलामा २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।  साथै चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ४ हजार ८ सय २० रुपैयाँले बढेको हो ।     

भ्यासलिनको ‘पिंक कार्पेट’ सरप्राइज : नयाँ ग्लुटा–ह्या सिरम-इन-लोशन बजारमा सार्वजनिक

काठमाडौं । युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासलिनले आफ्नो विश्वव्यापी रूपमा चर्चित उत्पादन ‘भ्यासलिन ग्लुटा–ह्या सिरम-इन-लोशन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘स्टपर स्किन’ नामक एक विशेष प्रत्यक्ष (लाइभ) सडक कार्यक्रममार्फत उत्पादन सार्वजनिक गरेको हो । परम्परागत लन्च कार्यक्रमभन्दा फरक शैली अपनाउँदै आयोजना गरिएको यस अभियानले राजधानीका व्यस्त सार्वजनिक स्थानहरूलाई एकाएक आकर्षक दृश्यमा परिणत गर्‍यो । कुनै पूर्व सूचना वा ब्रान्डिङबिना नै भीडभाडयुक्त क्षेत्रमा अचानक चम्किलो ‘पिंक कार्पेट’ बिछ्याइयो, जसले सर्वसाधारणको ध्यान तुरुन्तै खिच्यो र उनीहरूलाई कार्यक्रममा सहभागी हुन प्रेरित गर्‍यो । यस क्रममा चर्चित कलाकार तथा प्रभावशाली व्यक्तित्वहरू अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका माहत पिंक कार्पेटमा आत्मविश्वासका साथ उत्रिएका थिए । उनीहरूको उपस्थितिले कार्यक्रमलाई झन् आकर्षक बनाउँदै वरपरको सामान्य वातावरणलाई केही समयका लागि रोकिदिएको देखिन्थ्यो । युनिलिभर नेपालकी मार्केटिङ प्रमुख सुरभि गोस्वामीका अनुसार ‘स्टपर स्किन’ अभियानको मूल सन्देश आत्मविश्वास र आफ्नै छालाप्रतिको विश्वासमा आधारित छ । उनले भनिन्, 'आकर्षणको केन्द्र कुनै व्यक्ति होइन, आत्मविश्वासी छाला हो । हाम्रो उत्पादनले स्वस्थ, उज्यालो र चम्किलो छाला प्रदान गर्दै यही सन्देशलाई व्यवहारमा उतार्छ ।' नयाँ ‘ग्लुटा–ह्या सिरम-इन-लोशन’ हल्का, छिटो अवशोषित हुने र चिपचिपाहट नराख्ने विशेषतासहित आएको कम्पनीले जनाएको छ । यसको उन्नत प्रविधिले छालालाई गहिरोसम्म पोषण दिँदै उज्यालोपन र नमी कायम राख्न सहयोग गर्ने दाबी गरिएको छ । डिजिटल प्रचारप्रसारले भरिएको वर्तमान समयमा भ्यासलिनले फरक शैलीमा उत्पादन सार्वजनिक गर्दै उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको जनाएको छ । कम्पनीका अनुसार यस्तो अनुभवात्मक अभियानले युवा पुस्तासँग सशक्त सम्बन्ध निर्माण गर्न मद्दत पुर्‍याउँछ । उक्त उत्पादन हाल बजारमा २०० मिलिलिटर र ७० मिलिलिटर प्याकमा उपलब्ध रहेको छ भने अनलाइन तथा अफलाइन दुवै माध्यमबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २४ गते अन्तिम दिन रहेको छ । चैत १० गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ९ लाख १० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका-४ र ५, बित्थडचिर गाउँपालिका-६ र ८, बुंगल नगरपालिका-३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी गाउँपालिका-१ र २, दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का स्थानीयलाई र ४ लाख ९० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीयलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ९१, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका-१०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर-९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका र डिलासैनी गाउँपालिका र कृषि विकास बैंकको बुंगल नगरपालिका-४ मा रहेका शाखाबाट आवेदन दिन सक्नेछन् ।

आज राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त हुन सक्ने, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमबार र बिहीबार मन्त्रिपरिष् बैठक बस्ने कार्यसूची रहे पनि बालेनले मंगलबार आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्न सक्ने उच्च सम्भावना रहेको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष डेपुटी गभर्नरका लागि अन्तिम सूची सिफारिस गरिसकेको बुझिएको छ ।  स्रोतका अनुसार सम्भवतः आजै अर्थमन्त्री वाग्लेले डेपुटी गभर्नरको लागि मन्त्रिपरिषदमा नाम प्रस्ताव गरेर राष्ट्र बैंक्ले दुई जना नयाँ डेपुटी गभर्नर पाउन सक्नेछ । राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशक (ईडी)बाट दुई जनालाई डेपुटी गभर्नर बनाउने व्यवस्था छ । तर, अहिले राष्ट्र बैंकमा १७ जनामात्रै कार्यकारी निर्देशक छन् । एक जना ईडी गत साता अवकास भएपछि १७ जनामात्रै डेपुटी गभर्नर बन्ने दौडमा छन् ।  

चैतको वर्षा र हिमपातले रसुवामा आलु उत्पादन बढ्ने किसानको अपेक्षा

रसुवा । चैत महिनामा परेको वर्षाले यहाँका किसान यस वर्ष आलु उत्पादन बढ्ने आशामा उत्साहित देखिएका छन् । सोमबार परेको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादन वृद्धि हुने आशा उत्तरी रसुवाका किसानको छ । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुग्ने बताइएको छ । उत्तरी रसुवाको गतलाङ क्षेत्रमा उल्लेख्य मात्रामा हिमापत भएको स्थानीय किसान मार लामाले बताए ।  विगत चार वर्षदेखि माथिल्लो क्षेत्रमा मात्र सीमित हिमपात यसपटक गाउँ आसपाससम्म देखिनु सकारात्मक रहेको स्थानीयको भनाइ छ । हाल आलुबाली गोडमेल गरी दाना लाग्ने चरणमा छ । यही समयमा परेको वर्षाले बोटलाई आवश्यक चिस्यान प्रदान गरेको हो ।  गतलाङ क्षेत्रमा आलु खनेपछि बन्दागोभी खेती गर्ने प्रचलन छ । यसका कारण यहाँ उत्पादन हुने आलु असारदेखि बजारमा आउने किसानले बताएका छन् । जसले किसानलाई थप आम्दानीको अवसर सिर्जना गरेको छ । कृषि विकास कार्यालय रसुवाले २०५० सालमा गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवारको आलु प्रमुख नगदे बाली हो । आलु बिक्री गरेर किसानले चामल खरिद गरी ल्याउने गरेका छन् । यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने किसानले अनुमान गरेका छन् । रासस

बागलुङ बजारमा पहिलोपटक हाइमास्ट प्रविधिको स्मार्ट सडक बत्ती जडान

गलकोट । बागलुङमा पहिलोपटक बागलुङ बजारमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको छ ।  बागलुङ बजारका मुख्य चोक, पर्यटकीयस्थल, बसपार्क तथा अस्पताल क्षेत्रमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राविधिकरणको साझेदारी बजेटमा उक्त सडक बत्ती जडान गरिएको हो ।  उज्यालो बागलुङ कार्यक्रमअन्तर्गत पहिलो चरणमा बागलुङ बजारको मुख्य १० स्थानमा हाइमास्ट प्रविधिको बत्ती जडान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेठका अनुसार क्रमश नगरलाई नै उज्यालो बनाउने अभियानले निरन्तरता दिने उनको भनाइ छ ।  नगरपालिकाले उज्यालो बागलुङ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा बत्ती जडान गरिएको हो । नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणका ३५ प्रतिशत लागत साझेदारीमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको इन्जिनियर सोविन घर्तीले जानकारी दिए । कूल रु ३६ लाख ८२ हजार लागतमा पहिलो चरणमा १० वटा मिटरसहितका सडक बत्ती जडान गरिएको हो ।  राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यावसायिक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालमा सडकमा बत्ती जडान गरिएको हो । यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियानअन्तर्गत बत्ती जडान गरिएको हो । बागलुङ जिल्लाकै प्रवेशद्वार मालढुङ्गा, कालिका भवगती मन्दिर प्रवेशद्वार, धौलागिरि अस्पताल, ट्राफिक चोक, चिप्लेटी बसपार्क, जिल्ला प्रशासन, बाघ चोक, अस्पताल रोड, व्यारोक चोक र बागलुङ बसपार्कमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गरिएको हो ।  अग्लो पोलमा जडान गरिने शक्तिशाली बत्तीले बजारलाई झलमल बनाउन सहज बनाउने इन्जिनियर घर्तीले जानकारी दिए । मुख्यतया सहरका चोक, ठूला सडक, रङ्गशाला र खुला क्षेत्रहरूमा हामास्ट प्रविधियुक्त सड बत्ती प्रयोग गर्न थालिएको छ । ठूलो क्षेत्रफलमा उज्यालो प्रदान गर्दै सहरलाई आधुनिक तथा सुरक्षित बनाउन सहयोग गर्ने भएकाले बत्ती जनालाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।  रासस

हुप्सेकोटमा बालिकाहरूलाई पाँच हजारसहितको बैंक खाता

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत  चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो ।  हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद रु पाँच हजार जम्मा गरिदिने गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए ।  'चालु आवको फागुन मसान्तसम्म जन्मिएका ३६ जना छोरीहरुको बैंक खातामा रु पाँच हजारका दरले एक लाख ८० हजार रकम गाउँपालिकाले निकासा गरेको छ', उनले भने, 'छोरीको बैंखक खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।' ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । छोरीकै नाममा हुने बैंक खाताको संरक्षक अभिभावक हुनेछन् । छोरीको नाममा बैंक खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताए ।  'यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ', उनले भने, 'छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण  हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।'  हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सुरु गरेको हो । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरिएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्यचौकी आएर गर्व परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकाश भएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए । रासस