काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो अधिकृत पुँजी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव अघि सारेको छ । कम्पनीले हाल कायम अधिकृत पुँजी संरचना संशोधन गरी वृद्धि गर्ने प्रस्ताव आगामी दशौँ वार्षिक साधारण सभामा पेस गरेको हो ।
कम्पनीले जारी तथा चुक्ता पुँजीसमेत १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । यसका लागि हाल कायम चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँको १६.९१ प्रतिशत अर्थात् २ अर्ब २७ करोड सात लाख ११ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयर निष्कासन तथा पुँजी वृद्धि प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस ६ गते सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्तावसमेत रहेको छ । त्यस्तै, २०८१ असारसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि के.जे. एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । उक्त लेखापरीक्षकको पारिश्रमिकसमेत सभाबाट अनुमोदन गरिनेछ ।
त्यसैगरी, सञ्चालक समितिमा संस्थागत तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्न तीन जना सञ्चालक निर्वाचित गरिनेछ । नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट दुई जना र सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक चयन गर्ने कार्यसूची रहेको छ ।
सभामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालक समितिको निर्णयबाट भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै सुझाव वा परिवर्तनको निर्देशन प्राप्त भएमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २४ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा मङ्सिर २३ गतेसम्म सेयर कारोबार गरी कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।