तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री

इटहरी । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने बताएका छन् । आगामी मंसिर १७ गते विवाह गर्न लागेका उनले समारोहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन् ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।

गुरुङले विवाहमा समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने बताए । पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्यले गोरखामा विवाह गर्न लागेको उनको भनाइ छ ।

‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु ।’

विवाहमा अनावश्यक खर्च र तामझाम गर्ने सामाजिक प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउन नहुने बताए । ऋण लिएर भए पनि भव्य भोजभतेर गर्नुपर्ने सोच गलत भएको उनको धारणा छ ।

‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन । दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो । त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

गृहमन्त्री गुरुङले विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिए । सबैलाई निमन्त्रणा गर्न नसक्ने भन्दै उनले पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने भए पनि आफू र हुनेवाला श्रीमती दुवैको इच्छा परम्परागत शैलीमा विवाह गर्ने रहेको बताए ।

उनले विवाह हुने गोरखाको स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना पनि औँल्याए । गाउँका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा आफ्नो विवाहले सहयोग पुर्याउने अपेक्षा रहेको उनले बताए ।

‘एउटा गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला । तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ,’ उनले भने, ‘त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ ।’

विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए । तर, समारोहलाई सीमित र सामान्य बनाउने उनको योजना छ ।

सम्बोधनका क्रममा गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्याएको योगदानको स्मरण गरे । आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका गुरुङ समुदायप्रति आभार व्यक्त गरे ।

उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए । सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे ।

अप्ठ्यारो परिस्थितिमा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनले बताए । आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठ आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।

‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ । मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए । नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ ।’ 

Share News