प्रचण्डको आरोप : सरकार जनताका अधिकार खोस्नेतर्फ उद्यत छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेको विषयमा पर्याप्त ध्यान दिन नसकेको बताएका हुन् ।

दाहालले शान्ति सम्झौता, गणतन्त्र, संघीयता, समावेशिता र संविधानसभाबाट संविधान निर्माण हुन नदिन चाहने शक्तिहरू विगतदेखि नै सक्रिय रहेको जिकिर गरे । आफूहरूले पटकपटक सचेत गराउने प्रयास गरे पनि राज्य संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक लिन नसकेको उनको आरोप छ ।

सरकारमा रहेकाहरूले समेत देशमा विकसित राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसकेको भन्दै उनले दुई तिहाइ बहुमतको दाबी गरिरहेको सरकारका प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रको कमजोरी भएको टिप्पणी गरे ।

दाहालले पछिल्लो राजनीतिक परिस्थितिमा जनताले आन्दोलन र बलिदानबाट प्राप्त गरेका सार्वभौम अधिकार तथा समावेशी प्रतिनिधित्वको अधिकारमाथि प्रहार भइरहेको आरोप लगाए । उनले नयाँ सरकारबाट जनताका अधिकारमाथि निरन्तर हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकसमेतलाई आतंकित पार्ने तथा दमन गर्ने काम भइरहेको बताए ।

वर्गसंघर्ष विश्वव्यापी रूपमा जारी रहेको उल्लेख गर्दै दाहालले वर्तमान सरकार मजदुर, किसान र नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाए ।

उनले भने, ‘हामी अलि बढी सरकार गिराउने, बनाउने चलखेलमा बढी ध्यान दिऔँ । हाम्रो गल्ती त्यहीँ भयो । प्रतिक्रियावादीहरू, जो हिजो शान्ति सम्झौता हुन नदिने, देशमा गणतन्त्र, संघीयता, समावेशिता आउन नदिने, देशमा संविधानसभापछि निर्वाचन हुन नदिने पंक्तिहरू थिए, तिनीहरू चुप लागेर बसेका थिएनन् । बरु उनीहरू ग्रान्ड डिजाइनअन्तर्गत एउटा लामो योजनाअन्तर्गत नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेका थिए । हामी एक हदसम्म बेखबरजस्तै भयौँ । हामीले सचेत गराउने प्रयास गरिरह्यौँ तर राज्यमा भएकाहरू त झन् अन्धा र बहिरा नै भएका रहेछन् ।’

संयोजक दाहालले नेकपाले अब तत्कालीन घटनाक्रममा मात्रै ध्यान नदिई दीर्घकालीन रूपमा राष्ट्रियस्तरमा संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामलाई क्षणिक आँधीको संज्ञा दिँदै उनले त्यो सदाबहार नरहने बताए । राज्य संयन्त्र आतंक सिर्जना गरेर चलिरहेको उनको जिकिर छ। 

Share News