काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट क्षतिग्रस्त स्वास्थ्य सेवा पुनः सञ्चालन तथा सुदृढीकरण गर्न दक्षिण कोरियाले १० लाख अमेरिकी डलर ( १४ करोड ८८ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ ।
उक्त रकम नुवाकोट, धादिङ र रसुवाका १२ स्थानीय तहमा रहेका २१ स्वास्थ्य संस्थाको सेवा पुनस्र्थापनामा खर्च गरिने गरिनेछ ।
सम्झौतामा शुक्रबार कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच हस्ताक्षर भयो ।
सम्झौतामा कोइका नेपालका देशीय निर्देशक कोङ मुहेओन र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले हस्ताक्षर गरे ।
गत अगस्ट २६ मा भोटेकोशी–त्रिशूली करिडोरमा आएको आकस्मिक बाढीले यस क्षेत्रका स्वास्थ्य संस्थामा क्षति पुर्याउनुका साथै बिरामीलाई एक स्वास्थ्य संस्थाबाट अर्कोमा पठाउने सेवा प्रभावित बनाएको थियो ।
बाढीपछि तत्कालीन उद्धार तथा राहतमा सहयोग गरेको कोरियाले अब स्वास्थ्य पूर्वाधार पुनस्र्थापनाका लागि थप सहयोग गर्न लागेको हो ।
आगामी १० महिनाभित्र कार्यान्वयन हुने परियोजनाले त्रिशूली अस्पताललाई केन्द्रमा राखेर सञ्चालन हुने रेफरल सञ्जालका २१ स्वास्थ्य संस्थाको सेवा पुनस्र्थापना गर्नेछ ।
त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण, वैकल्पिक विद्युत् प्रणाली र सूचना प्रविधिसम्बन्धी उपकरण उपलब्ध गराइनेछ ।
त्यस्तै, क्षतिग्रस्त स्वास्थ्य चौकीहरूको मर्मतसम्भार र आवश्यक स्थानमा प्रिफ्याब्रिकेटेड स्वास्थ्य संरचना निर्माण गरिनेछ । परियोजनाबाट १२ स्थानीय तहका २ लाख ५३ हजारभन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कोरियाले यसअघि पनि नुवाकोटको स्वास्थ्य पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।
सन् २०१५ को भूकम्पपछि नेपालको पुनःनिर्माणका लागि १ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धताअनुसार कोइकाले ५० शय्याको त्रिशूली अस्पताल निर्माण गरेको थियो । उक्त अस्पताल सन् २०२१ डिसेम्बरमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी, सोही पुनःनिर्माण कार्यक्रमअन्तर्गत यूएनडीपीले करिब १७ लाख अमेरिकी डलर लगानीमा भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाका भग्नावशेष हटाउनुका साथै नुवाकोटमा १० वटा नयाँ स्वास्थ्य संस्था निर्माण गरेको थियो ।
यसपटकको परियोजना पनि कोरिया र यूएनडीपीबीचको यही सहकार्यको निरन्तरता हो ।
कोइका र यूएनडीपीले नेपालमा पोखरामा पुनः प्रयोग तथा अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना गर्ने परियोजनामा समेत सहकार्य गरिरहेका छन् ।
सम्झौतापछि कोइका नेपालका देशीय निर्देशक कोङ मुहेओनले अन्तर्राष्ट्रिय साझेदारीले विपद्पछिको पुनर्निर्माण र समुदायको उत्थानशीलता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सन् २०१५ को भूकम्पपछि कोरियाको सहयोगमा निर्माण भएको त्रिशूली अस्पताल यस वर्षको बाढी प्रतिकार्यको केन्द्रमा रहेको उल्लेख गर्दै उनले यूएनडीपीसँगको सहकार्यमा आसपासका स्वास्थ्य सेवा पुनस्र्थापना गरिने बताए ।
परियोजना यूएनडीपी नेपालले कोइका, संघीय तथा प्रादेशिक स्वास्थ्य निकाय, त्रिशूली अस्पताल र स्थानीय सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछ ।