नाडेप लघुवित्तको भाखा नाघेको कर्जा व्यवस्थापन तालिम पोखरामा सम्पन्न

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी पोखरामा सम्पन्न गरेको छ ।

धादिङको धुनिबेसी नगरपालिका–६ धार्केमा केन्द्रीय कार्यालय रहेको संस्थाले मंसिर ८ गते पोखरा इलाका कार्यालयअन्तर्गतका ११ शाखा प्रमुखको सहभागितामा तालिम तथा गोष्ठी आयोजना गरेको हो ।

कार्यक्रममा ११ वटै शाखाका प्रमुखले २०८३ कात्तिक मसान्तसम्मको कामको प्रगति प्रस्तुत गरेका थिए । तालिममा भाखा नाघेको कर्जा कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, शाखा प्रमुखको जिम्मेवारी, ग्राहकसँग राम्रो सम्बन्ध बनाउने, कर्जा विश्लेषण गर्ने र राम्रो परियोजना छनोट गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको थियो ।

संस्थाका वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुर्मी, प्रमुख व्यवस्थापक बाबुराम सुवेदी, वरिष्ठ अधिकृत हरि बहादुर पण्डित र पोखरा इलाका प्रमुख बलराम पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा शाखामा देखिएका समस्या र चुनौती तथा निष्क्रिय कर्जाका विषयमा पनि छलफल गरिएको थियो ।

नाडेप लघुवित्तले ५६ जिल्लामा ८८ शाखामार्फत २०५२ सालदेखि लघुवित्त सेवा दिँदै आएको छ । संस्थाले २०८३ कात्तिक मसान्तसम्म ७६ हजार २७९ घरपरिवारलाई सेवा विस्तार गरेको जनाएको छ ।

उक्त अवधिसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने ग्राहक सदस्यबाट २ अर्ब ४४ करोड रुपैयाँ बचत परिचालन गरेको छ ।

तालिमको समापनमा सहभागीका तर्फबाट देवचुली शाखा प्रमुख रवि बहादुर पण्डित र माडी शाखा प्रमुख रामकृष्ण खतिवडाले तालिमको समीक्षा गरेका थिए । तालिमको समापन वरिष्ठ प्रमुख व्यवस्थापक उमेश कुर्मीले गरेका थिए । कार्यक्रम सञ्चालन पोखरा इलाका प्रमुख बलराम पौडेलले गरेका थिए । 

Share News