काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक (फिल्ड सहायक) पदमा कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको हो ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाले मङ्सिर ९ गते कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
संस्थाका अनुसार कनिष्ठ सहायक पदका लागि न्यूनतम एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ । उक्त पदमा प्रशिक्षार्थी स्थायी सेवाअन्तर्गत नियुक्त गरिनेछ । आवेदन दिने उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ ।
कम्प्युटरमा वर्ड, एक्सेल, इमेल, इन्टरनेट तथा नेपाली टाइपिङसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ । मोटरसाइकल चालक अनुमतिपत्र प्राप्त गरी आफ्नै सवारीसाधन भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ । काठमाडौं उपत्यकाबाहिरका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका कार्यालयमा काम गर्न इच्छुक उम्मेदवारलाई पनि प्राथमिकता दिइनेछ ।
उम्मेदवारको छनोट प्रस्तुतीकरण तथा अन्तर्वार्तामार्फत गरिनेछ । छनोट सूचीमा परेका उम्मेदवारलाई मात्र त्यसपछिको प्रक्रियामा सहभागी गराइने संस्थाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदनसँगै बायोडाटा, हालसालै खिचेको फोटो, नागरिकताको प्रतिलिपि र अनुभव भएमा अनुभव खुल्ने पत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
उम्मेदवारले यहाँ आवेदन दिन सक्नेछन् वा संस्थाको पायक पर्ने शाखा कार्यालय तथा चाबहिलस्थित केन्द्रीय कार्यालयमा दरखास्त बुझाउन सक्नेछन् । तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।