हुलास फिनसर्भको सीईओमा समीर ठाकुर नियुक्त

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समीर ठाकुरलाई नियुक्त गरेको छ ।

ठाकुर कम्पनीको पहिलो सीईओ हुन् ।

कम्पनीले यो नियुक्ति कम्पनीको संस्थागत विकास र व्यावसायिक यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको जनाएको छ ।

कम्पनीले नेपालको हायर पर्चेज फाइनान्सिङ क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै विभिन्न उत्पादन तथा सेवा क्षेत्रमा वित्तीय सेवाको विस्तार गरिरहेको महत्त्वपूर्ण समयमा ठाकुरको नियुक्ति भएको हो ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज वित्तीय संस्था हो । कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, ल्यापटप, मोबाइल फोनलगायतका उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ ।

उपभोक्ता वित्तीय सेवाको बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको कम्पनीले नवीन वित्तीय समाधान तथा रणनीतिक साझेदारीमार्फत ग्राहकका लागि वित्तीय सेवाहरूलाई अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृतको नियुक्तिले नेतृत्व, कार्यसञ्चालन क्षमता तथा रणनीतिक दिशालाई थप बलियो बनाउँदै नेपालको वित्तीय सेवा क्षेत्रमा दिगो विकास हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

उनको नेतृत्वले कम्पनीलाई थप उचाइमा पुर्याउनुका साथै विकसित हुँदै गएको हायर पर्चेज फाइनान्सिङ बजारमा नयाँ अवसरहरूको पहिचान र विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास गरेको छ । 

Share News