काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
कुल निष्कासित सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ११ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बिक्री गरिसकेको छ भने १ लाख २६ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
यी सबै समूहमा सेयर बाँडफाँट गरेपछि अब कम्पनीले सर्वसाधारणका लागि ३४ करोड ६४ लाख ५० हजार रुपैयाँबराबरको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद मंसिर २३ गतेसम्म तोकिएको छ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस ३ गतेसम्म थपिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।