सफ्ट्वेरिका कलेज उत्कृष्ट करदाताका रूपमा सम्मानित

काठमाडौं । सूचना प्रविधि (आईटी) शिक्षा प्रदान गर्दै आएको सफ्ट्वेरिका कलेज अफ आईटी एन्ड ई-कमर्स आर्थिक वर्ष २०८१/८२ का उत्कृष्ट तीन करदातामध्ये छनोट हुँदै सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व कार्यालय बत्तीसपुतली, काठमाडौंले कलेजलाई उत्कृष्ट तीन करदाताका रूपमा सम्मान गरेको हो ।

सोमबार, मंसिर ७ गते आयोजित कार्यक्रममा कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो ।

सम्मान प्राप्तिपछि कलेजका सञ्चालक मनोजकुमार श्रेष्ठले यो उपलब्धि संस्थाका लागि गौरवको क्षण भएको बताए । उनका अनुसार सम्मान कलेजले अवलम्बन गर्दै आएको पारदर्शिता, वित्तीय अनुशासन, कर दायित्वप्रतिको जिम्मेवारी र संस्थागत सुशासनको प्रतिबिम्ब हो ।

नेपालमै गुणस्तरीय आईटी शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्नुका साथै राष्ट्रको आर्थिक विकास र सरकारी राजस्वमा योगदान पुर्याउन पाउनु गर्वको विषय भएको श्रेष्ठले बताए ।

उनले सम्मानका लागि आन्तरिक राजस्व कार्यालय बत्तीसपुतली तथा कार्यालयमा कार्यरत कर्मचारीप्रति धन्यवाद व्यक्त गरे । साथै, कलेजको यात्रामा साथ र सहयोग गर्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरे ।

आईटी शिक्षा क्षेत्रमा क्रियाशील शैक्षिक संस्थाले शैक्षिक गुणस्तरसँगै आर्थिक पारदर्शिता, कर अनुपालन र संस्थागत उत्तरदायित्वलाई पनि प्राथमिकता दिनुपर्ने सन्देश यस सम्मानले दिएको कलेजले जनाएको छ ।

कलेजले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, पारदर्शी व्यवसाय र समृद्ध नेपाल निर्माणको प्रतिबद्धतासहित आफ्नो यात्रा अघि बढाउने जनाएको छ । 

Share News