४ हजारभन्दा बढीले गरे नास-आईटी एक्स्पोको अवलोकन, सहभागी कम्पनी उत्साहित

काठमाडौं । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार र आइतबार सम्पन्न नास-आईटी एक्स्पोमा ४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । सूचना प्रविधि (आईटी) क्षेत्रका कम्पनी, सम्भावित लगानीकर्ता, व्यवसायी तथा विद्यार्थीको सहभागितामा सम्पन्न एक्स्पोले नेपाली प्रविधि क्षेत्रका उत्पादन र सेवाको प्रवद्र्धनमा सहयोग पुगेको आयोजकले जनाएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) का अध्यक्ष दीपेन चापागाईंका अनुसार यसपटकको एक्स्पो अपेक्षाभन्दा सफल भएको छ । एक्स्पोमा करिब ४ हजारभन्दा बढी आगन्तुक सहभागी भएका थिए । तीमध्ये अधिकांश व्यवसायी तथा संस्थागत खरिदकर्ता (बीटुबी) प्रकृतिका आगन्तुक रहेको उनले बताए ।

एक्स्पोमा आईटी कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नुका साथै सम्भावित ग्राहक र व्यावसायिक साझेदारसँग प्रत्यक्ष छलफल गर्ने अवसर पाएका थिए । त्यस्तै, लगानीकर्ताहरूले पनि नेपाली प्रविधि क्षेत्रका सम्भावना र उत्पादनबारे जानकारी लिन एक्स्पो अवलोकन गरेका थिए ।

एक्स्पोमा सहभागी कम्पनीहरूमध्ये काताहो, ¥यापिड (रारा ल्याब्सद्वारा सञ्चालित), एम्निल टेक्नोलोजिज र थर्डफ्याक्टर एआईलगायत ३० भन्दा बढि कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए ।

चापागाईंका अनुसार एक्स्पोबाट कम्पनीहरूले तत्कालै व्यावसायिक कारोबार र सम्भावित ग्राहकसँग सम्पर्क स्थापित गर्ने अवसर पाएका छन् । कतिपय कम्पनीका लागि तत्काल बिक्रीभन्दा पनि आफ्नो ब्रान्ड र उत्पादनबारे बजारमा जानकारी पु¥याउनु महत्त्वपूर्ण उपलब्धि बनेको छ ।

‘कतिपय व्यवसायले सीमित बजारमा मात्रै आफ्ना उत्पादन बिक्री गरिरहेका हुन्छन् । तर, यस्ता प्रदर्शनीले नयाँ ग्राहक र सम्भावित साझेदारसम्म पुग्ने अवसर दिन्छन् । आज नभए पनि दुई/चार महिनापछि कसैलाई सेवा आवश्यक पर्दा एक्स्पोमा देखेको ब्रान्ड सम्झिन सक्छन्, उनले भने ।

एक्स्पोमा तीनवटा अन्तरक्रिया तथा प्यानल छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो । तीमध्ये एउटा प्यानल छलफलमा नेपालस्थित बेलायती, स्विस र युरोपेली संघका राजदूत सहभागी भएका थिए । छलफलमा नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आवश्यक तयारी, अन्तर्राष्ट्रिय बजारको अपेक्षा र नेपालको विद्यमान अवस्थाबीचको दूरी कसरी कम गर्ने भन्ने विषयमा विचार आदानप्रदान भएको चापागाईंले बताए ।

उनका अनुसार एक्स्पोमा सहभागी अधिकांश कम्पनीले आफ्नो सहभागिताप्रति उच्च सन्तुष्टि व्यक्त गरेका छन् । प्रत्यक्ष व्यावसायिक सम्पर्क, सम्भावित ग्राहकसँगको छलफल र ब्रान्ड पहिचान विस्तारका दृष्टिले एक्स्पो उपलब्धिमूलक बनेको उनको भनाइ छ ।

यसपटक विद्यालय तथा कलेजका विद्यार्थीको सहभागितासमेत उल्लेख्य देखिएको थियो । केही विद्यालय तथा कलेजले विद्यार्थीलाई भविष्यको प्रविधि क्षेत्रबारे जानकारी गराउने उद्देश्यले आफैँ पहल गरेर एक्स्पो अवलोकन गराएका थिए ।

विद्यार्थीको सहभागिता सकारात्मक भए पनि आगामी संस्करणको योजना बनाउँदा व्यावसायिक आगन्तुक र विद्यार्थी दुवैलाई कसरी समेट्ने भन्ने विषयमा आयोजकलाई नयाँ चुनौती थपिएको चापागाईंले बताए । उनका अनुसार विद्यार्थीलाई प्रविधिको विकास र सम्भावनाबारे जानकारी दिने अवसर उपलब्ध गराउनु आवश्यक छ भने व्यवसायीबीचको अन्तरक्रियालाई पनि प्रभावकारी बनाउनुपर्ने हुन्छ ।

एक्स्पोबाट नेपाली आईटी क्षेत्रका कम्पनीलाई आफ्ना उत्पादन प्रदर्शन गर्ने, बजारको आवश्यकता बुझ्ने र सम्भावित व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर मिलेको आयोजकको निष्कर्ष छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता एक्स्पोले देखाएको चापागाईंले बताए ।

Share News