काठमाडौं । गोरखाका उत्तरी क्षेत्रमा गए रातिदेखि चलेको तीव्र हावाहुरीले घर तथा विद्यालयका छाना उडाएको छ । धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा हावाहुरीले क्षति पुर्याएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गए राति करिब २ बजेदेखि सुरु भएको हावाहुरी बिहानसम्म चलेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चुडानिधि तिवारीका अनुसार हावाहुरीका कारण धार्चे गाउँपालिका–५, सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको भन्ने अनौपचारिक जानकारी प्राप्त भए पनि यसको औपचारिक जानकारी आएको छैन ।
त्यस्तै, यस क्षेत्रका केही घर तथा गोठका छानासमेत हावाहुरीले उडाएको स्थानीयले बताएका छन् । हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
मंसिर महिनामै आएको असामान्य हावाहुरीले स्थानीय बासिन्दा प्रभावित भए पनि घटनाबारे जिल्ला प्रशासन कार्यालय गोरखाले भने औपचारिक जानकारी नपाएको बताएको छ । सहायक प्रजिअ तिवारीका अनुसार त्यहाँको अवस्थाबारे औपचारिक जानकारी नपाए पनि क्षतिबारे बुझ्ने प्रयास भइरहेको छ ।